काठमाडौं: राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत महेश शर्मा पौडेलले आइतबार दिउँसो जारी गर्नुभएको विज्ञप्तिमा अष्टलक्ष्मी शाक्य (बोहोरा), प्रमिला कुमारी, ममता झा र रामसहाय प्रसाद यादव गरी चार जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ। बुवा तीर्थबहादुर शाक्य र आमा कुल माया शाक्यकी सुपुत्री अष्टलक्ष्मी शाक्यको पति अमृत बोहोरा हुनुहुन्छ। काठमाडौं नागार्जुन नगरपालिका-३, पाँचधाराकी ६९ वर्षीय शाक्य महिला एवम् आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। उहाँ नेकपा (एमाले) को तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार हुनुभएको हो। बुवा सत्यनारायण यादव र आमा मुनियाँ देवी यादवकी सुपुत्री प्रमिला कुमारीको पति विजेन्द्र कुमार राय हुनुहुन्छ। सुनसरीको कोशी गाउँपालिका - १, लौकही बजारकी ५५ वर्षीया यादव महिला एवम् मधेसी समुदायबाट उम्मेदवार हुनुभएको विज्ञप्तिमा जनाइएको छ। यसैगरी, बुवा प्रमादराय यादव र आमा सिहवा देवीको पुत्र रामसहाय यादवकी पत्नी चम्पा देवी यादव हुनुहुन्छ। बाराको सिम्रौनगढ नगरपालिका-९, बसवरियाका ५२ वर्षीया यादव पुरुष एवम् मधेसी समुदायबाट हुनुहुन्छ। जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहाय यादव उपराष्ट्रपति पदमा उम्मेदवार बन्नुभएको हो। बुवा जगदीश झा र आमा जयश्री झाकी सुपुत्री ममता झा महिला एवम् मधेसी समुदायबाट हुनुहुन्छ। सप्तरीको राजविराज नगरपालिका- ७ की ५४ वर्षीया झा जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार हुनुभएको हो। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा उपराष्ट्रपति पदमा फरक लिङ्ग वा समुदाय हुनुपर्ने व्यवस्था बमोजिम दलहरूले फागुन २७ गते शनिबार उम्मेदवारी मनोनयन गराएका थिए। उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुँदैछ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारले लिएको नीतिहरूका कारण मुलुकको आर्थिक समस्या सुधार हु्ँदै आएको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा मुलुक संकटमा पर्ने खतरा देखिएपनि बाह्य क्षेत्र सन्तुलनमा राख्न सरकारले लिएका नीति सफल भएका कारण आर्थिक संकट टरेको बताए । उनले अहिले १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति रहेकाले अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको जिकिर गरे। अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता रहेको र सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने,निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको उनले बताए। निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार संकल्पवद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले कोभिड महामारी, बाह्य युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारण केही निर्माण सामग्रीहरूको मूल्य बढेकाले निर्माण व्यवसायीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर रहेको धारणा राखे। निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने,विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू आउने गरेको भन्दै उनले निर्माण व्यवसायीहरू अत्यन्त जिम्मेवार भएर काम गर्न जरूरी रहेको बताए।
काठमाडौं : उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टीका राम सहायप्रसाद यादवको उम्मेदवारी यथावत रहने भएको छ । मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडैलले यादवको उम्मेदवारी यथावत रहने बताए । शर्माले भने,‘लिंग वा समुदाय फरक हुनुपर्ने गरी संवैधानिक र कानुनी व्यवस्था भइरहेको देखिदा खस आर्य समुदायको भन्दा फरक मधेशी समुदाय राम सहाय यादव उम्मेदवार हुन अयोग्य भन्न नमिल्ने देखियो ।’ यादवको उम्मेदवारी खारेजीको माग गर्दै उपराष्ट्रपतिका उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जतमत पार्टीकी ममता झाले उजुरी दिएका थिए। उनीहरूले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरित रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ मा हुँदैछ।
काठमाडौं: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा उहाँले प्रधानन्यायाधीशसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्नु हुनेछ । राष्ट्रपतिको शपथ ग्रहणको विशेष समारोहमा समाचार सङ्कलन तथा छायाङ्कनका लागि राष्ट्रपति कार्यालयले सञ्चार माध्यमलाई सोमबार दिउँसो १ बजे आउन निमन्त्रणा गरेको छ । राष्ट्रपतिले प्रधान न्यायाधीशसँग शपथ लिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । पौडेलले शपथ ग्रहण गरेसँगै उहाँको औपचारिक पदावधि सुरु हुन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आजबाट सकिँदैछ । राष्ट्रपति पदको जिम्मेवारी प्राप्त गर्ने पौडेल तेस्रो व्यक्ति हुनुहुन्छ ।
काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताएका हुन्। ‘माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको छ। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ। आइतबार संयुक्त अपील गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ। केही दिनमा समाजवादी मोर्चा बन्छ।’ प्रचण्डले भने, ‘नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ। बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ।’ समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने उनको भनाई छ। प्रचण्डले एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा रहेको आरोप लगाए। ‘एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्।’ उनले माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति आफूहरुले नेतृत्व लिनुपर्ने बताए। उनले भने, ‘तसर्थ, त्यो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आयो। माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति हामीले नै नेतृत्व लिनुपर्छ।’ प्रधानमन्त्री प्रचण्डले नेता–कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढंगले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने स्पष्ट पारे।
दमौली: सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गर्नुभयो । मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताउनुभयो । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको सुखदुःखको साथी हो ।” विकास निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । स्थानीय सरकारलाई बलियो बनाउनका लागि कानुन निर्माण गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न दिँदैनौँ । स्थानीय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध छ ।” गाउँपालिकाले अगाडि सारेका गौरवका योजनाका लागि बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार व्यवस्थामन्त्री हरिबहादुर चुमानले स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्थानीय सरकार प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाको विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ ।
काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता नहुने बताएका छन् । संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै राउतले सकभर सहमति हुने नभए मित्रवत् प्रतिष्पर्धा हुने बताएका हुन् । उनले भने,‘छलफलकै क्रममा छौं । संविधानको मर्म पनि पुरुष राष्ट्रपति भएपछि महिला नै उपराष्ट्रपति हुनुपर्छ भन्ने हो । त्यहि आधारमा हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएका हौं । गठबन्धनमा कुरा मिल्न सक्छ । उहाँकै पक्षमा निर्णय हुनसक्छ भन्नेमा विश्वास छ । ’ उनले आफ्ना पार्टीका उम्मेदवारको पक्षमा सहमति हुनेमा आफू आशावादी रहेको बताए। 'हामीले गठबन्धनको निर्णय अनुसार नै मनोनयन दर्ता गराएका हौं । साझा उम्मेदवारको विषयमा हामी छलफलकै क्रममा रहेका छौँ । हाम्रै उम्मेदवारको पक्षमा सहमति हुनेमा आसावादी छौँ । सहमति नभए आफूहरूले दर्ता गराएको मनोनयन फिर्ता हुँदैन ।’ जनमत पार्टीका अध्यक्ष राउतले झालाई जनमत,लोसपा,नागरिक उन्मुक्तिलगायत अन्य पार्टीको समर्थन रहेको बताए। अध्यक्ष राउतका अनुसार राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको थियो। उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन् । झाको प्रस्तावकमा अब्दुल खान,अनिता देवी,गंगाराम चौधरी,अभिराम शर्मा ,रुपाकुमारी यादव रहेका छन्। यस्तै समर्थकमा गोमालाभ सापकोटा,विनिता कुमारी सिंह,वसन्तकुमार कुसवाह,रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन् । झालाई जनमत,लोसपा र नागरिक उन्मुक्तिको समर्थन छ । उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य,जनता समाजवादी पार्टीबाट राम सहाय यादव र प्रमिला यादव र जनमतबाट ममता झाको उम्मेदवारी परेको हो। आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता भएको हो।
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन्। एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताएका हुन्। उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए। यस्तै सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताइन्। उनले भनिन्, 'लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।' एमालेले आज बिहान एमाले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन्। त्यस्तै, समर्थकममा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन्।
काठमाडौँ: जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न प्रमिला यादव नयाँ वानेश्वर पुगेकी छन् । यादव उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन वानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेकी हुन् । यादवको बारेमा जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने कुनै औपचारिक निर्णय भने गरेको छैन । जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी पर्नेछ ।