काठमाण्डौँ: नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर समितिले संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो कार्यकालमा महत्वपूर्ण काम गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म पर्सावासीलाई धन्यवाद भन्न र मन्त्रालयको काम गर्नुभन्दा अघि आशीर्वाद लिन वीरगञ्ज आएको हुँ ।” जिल्लाका सबै सडकको ‘डिपिआर’ बनाएर बोलपत्र आह्वान गर्नुका साथै पर्यटनको विकासका लागि चिडियाखाना बनाउने कामसमेत अगाडि बढाउने मन्त्री यादवले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री यादवलाई ५१ किलोको माला लगाएर सम्मान गरिएको थियो । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई लगायत नवनिर्वाचित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।
काठमाण्डौँ: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मङ्सिर महिनाभित्रै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभयो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मङ्सिरभन्दा पर नजाने भएकाले आफ्नो पार्टीले निर्वाचन केन्द्रित गतिविधि सुरु गरेको बताउनुभयो । पाँचदलीय गठबन्धन समयको आवश्यकता र माग हो भन्दै अहिले पनि गठबन्धनको औचित्य र आवश्यकता रहेको उहाँले बताउनुभयो । आगामी दिनमा गठबन्धनलाई अझै बलियो बनाउँदै लोकतन्त्र, गणतन्त्रलाई अझै संस्थागत र बलियो बनाउने दिशामा काम गर्नुपर्ने उहाँको भनाइ छ । समाजवादीबाट मन्त्री भएका नेतालाई लक्षित गर्दै अध्यक्ष नेपालले जनताको हित, जनताको दुःखसुखमा जनताकै साथमा रहेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो । नेकपा (एकीकृत समाजवादी)बाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् भन्दै अध्यक्ष नेपालले भन्नुभयो– “हाम्रा मन्त्रीहरुले राम्रो गर्नुपर्छ, जनताको बीचमा रहेर उनीहरुको सेवा गर्नुपर्छ । हाम्रा मन्त्रीहरुको शिर झुक्नुहुँदैन ।” लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरु सबैसँग हातेमालो गरेर अघि बढ्न चाहेको उहाँले बताउनुभयो ।
काठमाण्डौँ: नेकपा माओवादी केन्द्रले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम चलाउने भएको छ । पार्टीको शनिबार बनेको स्थायी समिति बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महरा अनुसार पार्टीले साउन १६ गते बागमती प्रदेश, १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २२ गते लुम्बिनी प्रदेश, २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते कर्णाली प्रदेश, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय ३ गते प्रवासको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ । त्यस्तै पार्टीले आगामी चुनावसम्मका लागि प्रदेश कमिटी र केन्द्रबीच समन्वय गर्न एउटा समिति बनाउने निर्णय गरेको छ । प्रदेश इन्चार्जको नेतृत्व बन्ने सो प्रदेश समन्वय समितिमा केन्द्रीय सदस्य तथा प्रदेशका सबै पदाधिकारी सदस्य रहनेछन् ।
काठमाण्डौँ: माओवादी केन्द्रको स्थायी कमिटीका निर्णय नेकपा स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजक समेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टी भित्रैबाट घात(अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरूले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको बताए। उनले छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको बताए। प्रवक्ता महराले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति गठन गरेको पनि बताए।
बाजुरा: बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिएपनि ढिलाइ भएको थियो । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिनुभयो । बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनस् चुनाव गरेको हो । बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिनुभएको छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने सदस्यको नाम प्रस्ताव गर्नुभएको हो । माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्यूरोमा प्रस्तावित रामप्रसाद सापकोटाका अनुसार अध्यक्ष दाहालले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँका अनुसार नाम वाचनका क्रममा केही प्राविधिक त्रुटि देखिए पनि बैठक नियमित रुपमा चलिरहेको जानकारी दिनुभयो । माओवादीले पुराना र वरिष्ठ नेतालाई स्थायी समिति, दोस्रो तहका नेतालाई पोलिटब्यूरोमा समावेश गरेको छ । माओवादी केन्द्रीय समिति ३७७ सदस्यीय रहेको छ । त्यसको एक तिहाई अर्थात् १२५ जनाको पोलिटब्यूरो रहने व्यवस्था गरिएको छ । केहीलाई भने वैकल्पिक पोलिटब्यूरो सदस्यका रुपमा समेट्ने प्रयास गरिएको छ । स्थायी समितिमा अध्यक्ष प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेललगायत समेटिनु भएको छ । केन्द्रीय कार्यालय सचिव, पार्र्टी मातहतका आयोगका अध्यक्षलगायत पनि सो समितिमा रहनेछन् ।
काठमाण्डौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ । सहकारी विभागले तयार पारेकोे सहकारीको दशवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रका विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सहकारी सञ्चालनका लागि प्रशस्त कानुन भए पनि कार्यान्वयनमा भने समस्या रहेको औँल्याउनुभएको हो । उहाँले भन्नुभयो, “सहकारीसम्बन्धी भएका व्यवस्थालाई समयानुकूल सुधार गर्दै प्रभावकारीरूपमा कार्यान्वयनमा लैजानु आजको आवश्यकता हो ।” मन्त्री श्रेष्ठले सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकायले नयाँ संरचना बनाउनेभन्दा पनि विद्यमान संरचनालाई पुनरावलोकन गरी सशक्त बनाउन र कमजोरी हटाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । विभागले तयार पारिरहेको सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र निर्माण गर्न ढिलाइ भइसकेको भन्दै सरोकारवाला सबैको राय र सुझाव समेटेर यसलाई छिटोभन्दा छिटो अन्तिम रुप दिन उहाँले जोड दिनुभयोे । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रको सुधारका लागि आएको दशवर्षे सोचपत्रका विषयमा छलफलमा आएका विषय समेटेर अझै समृद्ध बनाएर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुुभयो । राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दबाडीले सदस्यहरूको उद्यमशीलता विकास गरी गरिबी निवारण गर्ने उद्देश्य राखेर सहकारीका कार्यक्रम बनाउनुपर्छ भन्नुभयो । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले अवधारणापत्रको प्रारम्भिक मस्यौदा तयार भएको र सबैको सुझाव समेटेर यसलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाण्डौँ: अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले आफूले पदबाट राजीनामा दिएको बताउनुभयो । विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उहाँले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउनुभयो । उहाँले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताउनुभयो । त्यसअघि प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रतिपक्षी दलले आफूप्रति पूर्वाग्रह देखाएको भए पनि सहमतिमा छानबिन समिति गठन भएको बताउनुभयो । समितिले छानबिन गरोस् भन्ने आग्रह गर्दै उहाँले आफूबाट कुनै पनि अनधिकृत काम नभएकोस्पष्ट पार्नुभयो । तोकिएको मानिस बाहेक बजेट निर्माणका अन्य कोही पनि मानिस संलग्न नभएको उहाँले दोहो¥याउनुभयो । अर्थमन्त्रीले भन्नुभयो, “सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।” उहाँले आफू विरुद्ध अनेक कथा बुनिएको भन्दै गलत प्रचारको खण्डन गर्नुभयो । अर्थमन्त्रीले मन्त्रालयमा राखिएको सिसिटिभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको बताउनुभयो । विगतमा अनधिकृतरूपमा सुपारी, केराउ र मरिच आयात गरेर तस्करी गर्ने गरिएको जानकारी दिँदै उहाँले त्यसलाई आफूले रोकिदिएको बताउनुभयो । आगामी आवको बजेटमा विलासी विद्युतीय सवारी साधनको हकमा सामान्य मात्रै करको दर हेरफेर गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माले माइतीघर मण्डलमा ‘रातो कर माफ गर’ भन्दै महिलाले गरेको आन्दोलन र उनीहरूले उठाएको माग सम्बोधन गर्न स्यानेटरी प्याडमा कर छुट दिइएको बताउनुभयो । निर्यात बढाउने लक्ष्यका साथ आफूले बजेटमा विशेष प्रबन्ध गरेको, कृषि क्षेत्रको विकासमा जोड दिएको तथा समाजमा सबै वर्ग तथा क्षेत्रलाई उत्साहित बनाएको उहाँले स्पष्ट पार्नुभयो । अर्थमन्त्रीले विगतमा बच्चाले खाने दूधमा कर बढाएर चकलेट आयातमा कर घटाइएको तथ्यसमेत पेश गर्नुभयो । सीमित व्यक्तिलाई लाभ हुने गरी विगतमा करका दरमा हेरफेर गरिएको भन्दै उहाँले आफूले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिएकाले विरोध गरिएको त होइन भन्ने प्रश्न गर्नुभयो ।
काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारलाई आगामी मंसिर २ गते एकै चरणमा गर्नेगरी मिति सिफारिस गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै सो मिति सिफारिस गरेको हो । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार आयोगको तर्फबाट सरकारलाई २०७९ मंसिर २ गते शुक्रबारका लागि एकैचरणमा निर्वाचन गर्न आयोगको तर्फबाट सिफारिस गरिएको बताउनुभयो । सो अवसरमा सरकारको तर्फबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतको सहभागिता थियो । त्यस्तै, आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर राणा, आयोगका सचिव गोकर्णमणि दुवाडी लगायतको सहभागिता थियो ।