पोखरा: गण्डकी प्रदेश सरकारका कानून संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेश सभाबाट हालसम्म ५४ वटा ऐन पारित भएको बताउनुभएको छ । बुधबारको प्रदेश सभामा सांसदहरुले उठाएका सवालको जवाफ दिँँदै मन्त्री थापाले ५४ ऐन मध्ये कार्यान्वयनमा ३९ ऐन रहेको जानकारी गराउनुभयो । ‘गण्डकी प्रदेश सभाको गठन भए पश्चात हालसम्म विभिन्न ५४ वटा ऐन निर्माण भएका छन । तीमध्ये २ वटा ऐन (स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि ऐन, २०७४ र प्रदेश नं ४, प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४) खारेज भएका छन् भने ४ वटा ऐन संशोधन गर्ने ऐनको रुपमा रहेका छन् । त्यसैगरी ९ वटा सालबसाली रुपमा आउने आर्थिक ऐन र विनियोजन ऐन रहेका छन् । यसरी हेर्दा कार्यान्वयनका क्रममा रहेका मूल ऐनको संख्या ३९ रहेको छ ।’, उहाँले भन्नुभयो । मन्त्री थापाले गण्डकी प्रदेश गौरवको आयोजनाका रुपमा रहेको सूचना प्रविधि पार्क निर्माणको लागि पोखरा महानगरपालिका वडा नं १८ जामुनबोटमा ९६ रोपनी जग्गाको भोगाधिकार प्राप्त भै सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको जानकारी गराउनुभयो । विस्तृत परियोजना प्रतिवेदन तयार गर्न परामर्शदाता छनौट गर्न सूचना प्रकाशन भएको र भौतिक संरचना निर्माण अन्तर्गत सूचना प्रविधि पार्कमा पर्खाल निर्माण कार्य भैरहेको उहाँले बताउनुभयो । मन्त्री थापाले मन्त्रालयले आ.व २०७८÷०७९ मा १६७ वटा संचार माध्यमहरुलाई लोक कल्याणकारी विज्ञापन वितरण गरेको जानकारी गराउनुभयो । उहाँले पत्रकार महासंघ गण्डकी प्रदेश समिति लगायत विभिन्न पत्रकार संगठनहरु मार्फत पत्रकारहरुको क्षमता अभिबृद्धि सम्बन्धि कार्यक्रम हरु सम्पन्न भएको बताउनुभयो । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत पत्रकार महासंघ गोरखा र लमजुङको भवन निर्माण कार्यमा सहयोग गरिएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री थापाले प्रदेश कानूनलाई परिमार्जन तथा संशोधन गर्न केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा मिति २०७८ चैत्र २० मा दर्ता गरिएको जानकारी गराउनुभयो । राजपत्रको सम्पादन तथा प्रकाशन गर्ने कार्य नियमित भैरहेको र मानव अधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून तथा अन्य कानूनी व्यवस्था सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । मन्त्री थापाले सूचनाको हक सम्बन्धि प्रवोधिकरणका कार्यक्रमहरु सम्पन्न भएको बताउनुभयो । गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा मिति २०७८ चैत्र २० मा दर्ता गरिएको उहाँले उल्लेख गर्नुभयो । स्थानीय तहका न्यायिक समितिका संयोजक हरुको क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न गरी प्रदेश सरकार र स्थानीय तहहरु बीच समन्वय र सहकारिता प्रवर्धन गर्ने कार्य मन्त्रालयले सम्पन्न गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत सम्पन्न गरिएको उहाँले बताउनुभयो । हालसम्म मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, घरेलु हिंसा, कसूर र सजाय सम्बन्धी विधेयक, प्रदेश विद्युत विधेयक, प्रदेश जनस्वास्थ्य सम्बन्धी विधेयक, साझेदारी फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सम्बन्धी विधेयक तथा जीवनाशक विषादी नियमन गर्ने सम्बन्धमा बनेको विधेयकहरुको तर्जुमाको लागि सैद्धान्तिक सहमति प्रदान गरिएको उहाँले उल्लेख गर्नुभयो । प्रदेश सभाबाट पारित विभिन्न ऐनहरु मध्ये प्रदेश लोक सेवा आयोग ऐन, पारिश्रमिक सम्बन्धी ऐनहरु, प्रदेश विकास समिति ऐन, दुग्ध विकास वोर्ड ऐन, गण्डकी विश्व विद्यालय ऐन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, गण्डकी प्रदेश विज्ञान प्रविधि ऐन, सहकारी ऐन लगायतका ऐनहरु प्रदेशको एकल अधिकार क्षेत्रमा पर्ने हुँदा यी ऐनहरु÷कानूनहरु कार्यान्वयनमा रहेका छन् र ती ऐन अन्तर्गत विभिन्न नियमावली, कार्यविधि समेत प्रदेश सरकारबाट जारी गरी कार्यान्वयनमा ल्याइएको मन्त्री थापाले बताउनुभयो । साझा अधिकारको सूचीमा परेका विषयवस्तुसँग सम्बन्धित ऐनहरुमा रहेका कतिपय व्यवस्था संघीय कानूनले नै सम्बोधन गरेका विषय भएकोले प्रदेश कानून कार्यान्वयन नभएको होकी भन्ने प्रश्न उठ्नु जायज भएको तर्क उहाँको छ । यद्यपी प्रदेश कानून कार्यान्वयनमा प्रदेश सरकार जिम्मेवारीका साथ अगाडि बढेको उहाँले बताउनुभयो । प्रदेशमा निर्माण भएका कानून प्रत्येक स्थानीय तहमा पुर्याइएको र प्रदेश कानूनमा स्थानीय तहलाई दिइएको भूमिका सम्बन्धमा समेत स्थानीय तहसँग प्रभावकारी रुपमा अन्तरक्रिया गरी कानून कार्यान्वयनलाई जोड दिइएको उहाँले जानकारी गराउनुभयो । गण्डकी प्रदेशमा हालसम्म १४ वटा नियमावली र सम्बन्धित मन्त्रालयको कार्यप्रकृति अनुसार आवश्यकता बमोजिम कार्यविधि समेत बनाई कानून कार्यान्वयनलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । प्रदेश ऐन अन्तर्गत बनाउनु पर्ने नियम तर्जुमाका लागि समेत सम्बन्धित मन्त्रालयलाई कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले सहजीकरण गर्दै आएको र प्रदेश कानून कार्यान्वयनका लागि प्रदेश सभाबाट प्रत्यायोजित विधायनको सिद्धान्त बमोजिम आवश्यक नियम बनाउनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । मन्त्री थापाले आम सञ्चार विधेयक प्रदेश सभामा प्रस्तुत भई सम्मानित सभामा सैद्धान्तिक छलफल भएर दफावार छलफलको लागि विधायन समितिमा रहेको जानकारी गराउनुभयो । केहि नटुङ्गीएका विषयमा विधायन समितिमा सरोकारवाला र विज्ञहरु सँग व्यापक छलफल गरी यसलाई छिट्टै पारित गरिने भनाई उहाँको छ ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ । नेपालको चार दिने भ्रमणको अन्तिम दिन बुधबार राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।
काठमाडौँ : ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ राष्ट्रियसभाबाट सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या ल्याएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानून ल्याइएको बताउनुभयो । तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक प्रस्ताव गरिएको जनाउँदै उहाँले विधेयक पारित भएसँगै तेजाब तथा घातक पदार्थको दुरुपयोग नियन्त्रण हुने तथा यसको दुरुपयोग गर्नेलाई आवश्यक कारबाही हुने बताउनुभयो । पाँच विधेयक टेबुल राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पाँच विधेयक टेबुल भएका छन् । ‘फौजदारी कसूर तथा फैजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ टेबुल भएको हो । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले उक्त विधेयक टेबुल गर्नुभयो । ती विधेयकमाथि राष्ट्रियसभामा छलफल हुनेछ । राष्ट्रियसभाको अर्को बैठक आजै ४५ मिनेटपछि पुनः बस्ने गरी स्थगित भएको छ ।
अनेरास्ववियु र युवा मञ्चका कार्यकर्ता यतिबेला गण्डकी प्रदेशसभा अगाडी भत्ताविरोधी मन्त्री, सांसदविरुद्ध नारा लगाउँदै आन्दोलित भएका छन् । उनीहरुले लगाएको नारामध्ये आकर्षक नारा बनेको छ ‘कता गयौं पियारी, एक करोड सिंगारी ।’ गण्डकी प्रदेश सभा सदस्य तथा राष्ट्रिय जनमोर्चाका संसदीय दलकी नेतृ पियारी थापाले गाउँमैत्री अक्षयकोष (जिमाक) लाई छुट्याएको बजेट विरुद्ध यो नारा हो । थापाले जिमाकको नाममा यसअघि पनि १ करोड २० लाख रुपैयाँ लिइसकेको बताइएको छ । यसपटकको बजेटमा सोही संस्थालाई ६० लाख रुपैयाँ विनियोजन गरेपछि थापा आलोचित बनेका छन् । परिवार र नातेदारको नाममा बजेट छुट्याउनेमा मुख्यमन्त्रीदेखि अन्य मन्त्रीसमेत रहेका छन् । प्रदर्शनकाक्रममा ‘मुख्यमन्त्री राजीनमा दे’, ‘देश लुट्न पाइँदैन’, ‘वडामन्त्री मुर्दावाद’ लगायतका नारा लगाएका छन् । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको विरोधमा उनीहरुले क्याम्पसको होस्टल तत्काल निर्माण गर्न समेत अनुरोध गरेका छन् । यसै विषयमा केहिछिन पछि मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेल नेपालीले सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पोखरा: गण्डकी प्रदेश सभा सदस्य तथा राष्ट्रिय जनमोर्चाका संसदीय दलकी नेतृ पियारी थापाले गलत नियतसहित बजेट विनियोजन नगरेको बताएकी छिन् । उनले नेपालका वाद्ययन्त्रहरु संग्रहित संग्राहलयको भवन निर्माणको लागि स्थानीय वडाका जनप्रतिनिधिहरुको आग्रह अनुसार बजेट विनियोजन गरेको आज (सोमबार) विज्ञप्ती जारी गर्दै गलत मनसायले बजेट विनियोजन नगरेको स्पष्ट पारेकी हुन् । विज्ञप्तीमा भनिएको छ, ‘गाउँमैत्री अक्षयकोष (जिमाक) २०६८ सालमा दर्ता भएर लगातार१० वर्षसम्म ट्यालेन्ट आफ भिलेज कार्यक्रम सञ्चालन गरेर दुर्गम गाउँमा हुर्केका प्रतिभाहरुको खोजी गर्ने कार्य सम्पन्न गरिसकेको छ । हालसम्म संस्थाले आफ्नो नाममा ६ रोपनी जग्गा व्यवस्थापन गरेर अहिले वृहत सांस्कृतिक संग्राहलय निर्माण कार्यमा लागिपरेको छ । हाल यस संस्थामा म कुनै पनि भुमिकामा संलग्न छैन, विज्ञप्तीमा भनिएको छ, ‘यो संस्थामा अहिलेसम्म धेरै पदाधिकारी र सदस्यहरुले आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । यो आर्थिक वर्षमा विनियोजित ६० लाख रकम संस्था तथा सोही वार्डका जनप्रतिनिधिहरुको माग र आग्रहमा विनियोजन भएको हो । सो बजेट चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएको तेस्रो तलाको हवाई ढलानसहितको संग्राहलय भवनको सम्पन्नताको लागि खर्चिने उद्देश्य हो । हाल दोस्र्रो अध्यक्षको रुपमा हेमराज आश्रम रहेपनि संस्थाको विधान अनुसार साधारण सभापश्चात नेतृत्व परिवर्तन गरेर यो योजना कार्यान्वयनमा लगिने कुराको प्रतिवद्धता गर्दछु । साथै यसमा हाम्रो कुनैपनि प्रकारको गलत नियत नजोडिएको कुरा पनि स्पष्ट गर्न चाहान्छु ।’ राष्ट्रिय जनमोर्चा पार्टीबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य थापाले विहे गरेपछि स्थापित कोषका लागि बजेट विनियोजन गरेको आरोप लागेको थियो । २०६६ सालमा जनमोर्चाको सांस्कृतिक समूह रक्तिमका प्रशिक्षक हेमराज पुन आश्रमसँग विवाह गरेपश्चात उनीहरूले गाउँमैत्री अक्षयकोष (जिमाक) सुरू गरिएको बताइएको छ ।
काठमाण्डौँ: खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो भन्नुभएको छ । गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा आज पूर्वप्रधानमन्त्री स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताउनुभएको हो । भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गर्नुभएको स्मरण गर्दै सो पहल गरेकाले उहाँको सालिक यहाँ निर्माण गर्न लागिएको बताउनुभयो । गत स्थानीय तहको चुनावअघि नै मन्त्रिपरिषद्को निर्णयबाट सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको सालिक बनाउने निर्णय भएको थियो । सोही निर्णयानुसार मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा पार्कसहितको सालिक बनाउन लागेको हो । विकास समिति साउनदेखि खारेज हुने भए पनि त्यसको संरचना जुन निकायलाई हस्तान्तरण हुन्छ सोही निकायले निर्माण गर्ने गरी शिलान्यास गरिएको हो । पूर्वप्रधानमन्त्रीले सुन्दरीजलमा खानेपानीको उद्घाटन गर्दै गर्दा कृष्णप्रसाद भट्टराईको नामसमेत उच्चारण नगरेकामा दुःख व्यक्त गर्नुभयो । मन्त्री चौधरीले मेलम्चीको बाढीपछि बन्द भएको खानेपानीलाई पुनःसञ्चालन गरेको बताउँदै बर्खा सकिनेवित्तिकै पुनःसञ्चालनमा आउनेसमेत बताउनुभयो । मेलम्चीको पानी झर्ने सुन्दरीजलमा भट्टराईको पूर्ण कदको सालिकसहित पार्क निर्माण गर्न लागेको खानेपानी मन्त्रालयका सचिव मणिलाल गेलालले बताउनुभयो ।
काठमाण्डौँ: प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सांसद विष्णु शर्माले सरकारले मङ्सिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताउनुभयो । सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बीउ सकिएको र नयाँ बीउ देशभर पु¥याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताउनुभयो । सांसद हितबहादुर तामाङले कृषि उत्पादन बढाउने सरकारको घोषणा भए पनि खेतीको समयमा मल नपाउँदा नारा नारामै सीमित हुने अवस्था आएको आएको बताउनुभयो । सांसद सरलाकुमारी यादवले सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि किसानले महसुस गर्न नसकेको बताउनुभयो । सांसद शान्तिमाया तामाङ पाख्रिनले किसानले मल तथा विद्यार्थीले पुस्तक नपाएको बताउनुभयो । सांसद सञ्जयकुमार गौतमले बाँके र बर्दियामा कपास विकास समिति विघटन गरेर किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । सांसद लक्ष्मी परियारले वर्षाको समयमा उदयपुरका धेरै भूभागलाई कोसी कटानले क्षत्विक्षत बनाएकाले जोखिममा परेका नागरिकलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । सांसद लक्ष्मीकुमारी चौधरीले बलत्कारका घटनामा सत्यतथ्य बुझेर र पीडितले न्याय पाउनुपर्नेमा जोड दिनुभयो । सांसद लालप्रसाद साँवा लिम्बूले राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गका पुल २०६८ सालमा ठेक्का भएकामा अझै ५० प्रतिशत नसकिएकाले निर्माण कम्पनीलाई कारवाहीको माग गर्नुभयो । सांसद लीलादेवी सिटौला ९गौतम०ले नेपालमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्ने, केन्द्रमा पाँच÷छ मन्त्रालय राख्नुपर्ने र विकासको पुँजी विकेन्द्रीकृत गर्नुपर्ने बताउनुभयो । सांसद विद्या भट्टराईले प्राध्यापक र सहप्राध्यापकको अन्तवार्ता एक वर्षसम्म नहुँदा शिक्षामा सुधार नआउने उल्लेख गर्नुभयो । सांसद बीनाकुमारी श्रेष्ठले दक्षिणकाली क्षेत्रमा जथाभावी उत्खनन भएकाले पहिरोको जोखिम रहेकाले नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । सांसद वृन्दा पाण्डेले काठमाडौँलगायतका सहरी क्षेत्रमा फोहर बढिरहेको र अशुद्ध पानीका कारण हैजा फैलिरहेको बताउनुभयो । सांसद विशाल भट्टराईले बूढीगङ्गामा पहिले विनाकारण निर्वाचन राकिएको र अहिले एमालेकै उम्मेदवार विजयी भएको बताउनुभयो । सांसद शक्तिबहादुर बस्नेतले शिक्षामा राज्यको लगानी कम भएको र भएको लगानी पनि सदुप्रयोग नभएको औँल्याउनुभयो । सांसद डा शिवमाया तुम्बाहाम्फेले राष्ट्रियसभामा सर्वोच्च विचाराधीन मुद्दामा छलफल भइरहेकाले त्यसो हुनु नहुने उल्लेख गर्नुभयो । सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोक सङ्कटग्रस्त घोषणा भए पनि सरकारले नागरिकलाई त्यसबाट मुक्त बनाउन नसकेको बताउनुभयो । सांसद सत्य पहाडीले डोल्पाको दुनै पहिराका कारण जोखिममा रहेको र त्यसको व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उल्लेख गर्नुभयो । सांसद सरिताकुमारी गिरी कानुनको कारवाही हुनुपर्नेमा जोड दिनुभयो । सांसद सरवत आरा खानमले सरकारले इदमा बिदा दिएर मुस्लिम धर्मावलम्बीलाई देशप्रति अपनत्वको महसुस गराएको बताउनुभयो । सांसद सीताराम महतोले इटहरी उपमहानगरपालिकामा शिक्षा र स्वास्थ्यमा सुधारको आवश्यकता औँल्याउनुभयो । सांसद डा सूर्यप्रसाद पाठकले जापानका लोकप्रिय नेता गुमाउँदा शोकमा डुबेको बताउनुभयो । सांसद हिरा गुरुङले भारत र चीनमा कोभिड सङ्क्रमण बढिरहेकाले सरकारको तयारी अघि बढाउनुपर्ने बताउनुभयो ।
काठमाण्डौँ: नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रदेशको बजेटले संघीयताको धज्जी उडाएको बताएका छन्। नेता पौडेलले फेसबुकमार्फत यस्तो प्रतिक्रिया लिएका हुन्। उनले प्रदेशका बजेट पहुँचका आधारमा वितरण हुने गरेको र यसको निरन्तरताबाट आर्थिक विकास सम्भव नहुने उनको भनाइ छ। ‘प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्राथमिकताको फेहरिस्तले संघीयताको ध्वजी उडेको छ। व्यक्तिका नाममा आफूखुसी बजेट विनियोजन गर्ने, पहुँचका आधारमा आफ्ना निहित स्वार्थ पूरा गर्न सधैँ बजेटलाई कनिकाजस्तो छर्ने। यस्तै निरन्तरता हुने हो भने सयौँ वर्षमा पनि आर्थिक विकास हासिल गर्न सकिँदैन । बजेटको प्राथमिकता जनताका आधारभूत आवश्यकता पूरा गर्न र उत्पादनमा जोड दिन केन्द्रित हुनुपर्दछ,’ उनले लेखेका छन्।
काठमाडौँ ः बाजुराको बुढीगंगा नगरपालिका मेयर/ उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सम्पन्न मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ७ ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए । मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई पराजित गरे । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले र कांग्रेसकी रिता शाहीलाई पराजित गरेकी छन् ।बानियाँले ४ हजार ७७७ मत पाउँदा कांग्रेसका रंगबहादुर खाती ३ हजार ७७४ मतमा रोकिए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ७२७ र कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याए । मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ ।