पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

पोखरा: प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन(पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी फेब्रुुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।      पाटा नेपाल नेपालले परिषद् सहित नेपाल पर्यटन बोर्ड, अन्य प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका साझेदार तथा स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका सरोकारवालाहरू सँगको सहकार्यमा गर्न लागेको एक्स्पोका सन्दर्भमा पाटा नेपालका तर्फबाट महासचिव नरेन्द्रदेव भट्ट र पोखरा पर्यटन परिषद्का तर्फबाट परिषद्का अध्यक्ष तारानाथ पहारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुुभएको हो ।      सरोकारवाला व्यक्ति एवम् निकायको आपसी अनुभवहरूको आदानप्रदानका साथै नेटवर्किङ र व्यापार अवसरहरूको सुविधाको लागि एक्स्पो महत्वपूर्ण प्लेटफर्म हुने सम्झौतापत्रमा उल्लेख छ ।      तीन छिमेकी राष्ट्रहरू नेपाल, भारत र चीनका सार्वजनिक तथा निजी क्षेत्रका पर्यटन व्यवसायी एवम् सरोकारवाला  संस्थाहरूलाई एकै ठाउँमा सहभागी गराउँदै व्यवसायिक साझेदारी लगायतमा छलफल गर्ने उद्देश्यका साथ एक्स्पो गर्न लागिएको सम्झौतापत्रमा भनिएको छ ।      दुई उदीयमान अर्थतन्त्र र पर्यटनका केन्द्र जस्तै रहेका भारत र चीनलाई एकै ठाउँमा ल्याएर नेपालसँगको पर्यटन सम्भाव्यता र व्यवसायिक अवसरहरूलाई प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्देश्य हुने भनिएको छ ।  कार्यक्रमले मुख्यतया पर्यटन र आतिथ्यताको क्षेत्रमा तीन देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्ने उल्लेख गरिएको छ ।      नेपाल रणनीतिक रूपमा विश्वका दुई ठूला अर्थतन्त्रहरूको बीचमा अवस्थित रहेको र यसले यी राष्ट्रहरूको पर्यटन सम्भावनालाई उजागर गर्न पूलको रुपमा काम गर्ने विश्वास लिइएको छ । यी देशहरू बीच द्विपक्षीय व्यापार पहलहरू राम्रोसँग स्थापित भए तापनि यो त्रि–राष्ट्रिय कार्यक्रमले नयाँ र आशाजनक अवसर प्रस्तुत गर्ने भनिएको छ ।          सम्झौतापत्र अनुुसार पाटा नेपाल च्याप्टरले संगठन साझेदार को रूपमा स्वीकृति समाचारपत्रहरू, प्रत्यक्ष इमेलहरू, मार्केटिङ सन्देशहरू र आधिकारिक नाइस वेबसाइटमा प्रमुख रूपमा चित्रित गर्नेछ ।       राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रेस विज्ञप्तिको वितरण मार्फत प्रचार, साथै पाटा च्याप्टर्स नेटवर्क भित्र पोखराको विविध पर्यटनका आयामको प्रदर्शन र प्रवद्र्धन गरिनेछ ।      त्यस्तै परिषद्का तर्फबाट कार्यक्रमको लागि स्थानीय पर्यटन अधिकारीहरू, सरोकारवालाहरू, प्रायोजकहरू, र साझेदारहरूसँग आवश्यक समन्वय गरिनेछ ।      परिषद्का न्यूजलेटरहरू, सामाजिक सञ्जाल र अन्य मिडिया प्लेटफर्महरू मार्फत एक्स्पोका लागि मार्केटिङ र प्रवद्र्धनका काम गरिनेछ । कार्यक्रमका अतिथि र प्रतिनिधिहरूलाई स्वागत गर्न सहयोग लगायतका विभिन्न कामहरू गरिने सम्झौतापत्रमा उल्लेख छ ।      पोखरामा हुन लागेको एक्स्पोले पर्यटन राजधानी पोखरा सहित समग्र नेपालको पर्यटकीय गतिविधि अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने परिषद्का अध्यक्ष पहारीले विश्वास व्यक्त गर्नुुभयो । –––

पोखरा:   कास्कीको लेखनाथमा जारी  २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा बढी प्रजातीका माछाको अवलोकन गर्न सकिनेछ ।  महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरुको ध्यान तान्ने गरेको छ ।  अक्वेरियम भित्र समुद्र मुनीको यात्राको महशुस गर्दै दर्शक र विद्यार्थीहरु फोटो खिचाउन भिड लाग्ने गरेको छ । अक्वारियमले महोत्सवमा थप आकर्षण दिएको र माछा सम्बन्धी थप अनुसन्धानका लागि पनि उपयुक्त भएको छ ।  माछालाई उपयुक्त वातावरण र पानीको गुणस्तर मापन गरी व्यवस्थापन गर्न ठूलो लगानी र वातावरणलाई ख्याल राख्नु पर्ने हुँदा थप ब्यवस्थापन गर्न आवश्यक रहेको छ ।   विशेष गरी बालबालिकाको लागि थप आकर्षक बनेको  लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं अर्थ तथा वित्त व्यवस्थापन समितिका संयोजक धु्रवबाबु भट्राईले जानकारी दिए ।    यसैबिच महोत्सवको छैंटौ दिन मंगलबार करिव १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ३० लाख बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिईन । हालसम्म महोत्सवको ९६ हजार दर्शकहरुले अवलोकन गरेका छन भने ३ करोडको कारोबार गर्न सफल भएको छ । महोत्सवमा बुधबार लोकदोहोरीतर्फ बद्री पँगेनी, टिका सानु, प्रेमराज अधिकारी, रिया खड्का, रतिमाया खड्का, सन्तोष सुवेदी र बेलुका कन्सर्टमा रमेशराज भटृराई र सिर्जना खत्री हाउडे मायाको प्रस्तुती रहने कलाकार ब्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए ।  महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन ।  महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा राखिएको छ ।

पोखरा:    आगामी पुष २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ ।  महोत्सव आयोजक युनाईटेड क्लव पोखराले मंगलबार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।   पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षण संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको युनाईटेड क्लबले १३ औं संस्करणको पोखरा महोत्सवदेखि युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा वोल्दै युनाईटेड क्लबका महासचिव तथा प्रचार प्रसार संयोजक दिनेश सुनारले १३ औं संस्करणको महोत्सवको पूर्व सन्ध्यामा युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा युनाईटेड छात्राबासको सिलान्यास समेत सम्पन्न भइसकेकाले १३ औं संस्करणको पोखरा महोत्सव पश्चात छात्राबासको कामको शुरुवात हुने बताए ।  पोखरा महोत्सवकै आम्दानीबाट १३ औं पोखरा महोत्सव सम्म आइपुग्दा पोखरा र आसपासमा रहेका १९ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको र स्वास्थ्यको क्षेत्रमा विभिन्न दुर दराजका ग्रामीण भेगमा रहेकाहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइरहेको युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले बताए ।  त्यसैगरी क्लबले खेलकुदको क्षेत्रमा आफै खेलकुदका प्रतियोगिता संगै खेलकुदका कार्यक्रमहरुमा प्रायोजन संगै सहयोगी संस्थाको रुपमा काम गर्दै आइरहेको बताउदै अध्यक्ष थापाले महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले हाल सम्म पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखाना निर्माणमा  ५८ लाख ८५ हजार हस्तान्तरण गरिसकेको र हाल उक्त परियोजना  गण्डकी प्रदेश सरकार अन्तर्गत जिल्ला डिभिजन बन कार्यालयले स्वामित्व लिएर प्रदेश सरकारकै गौरवको आयोजना अन्तर्गत काम भइरहेको बताए ।  पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणको क्षेत्रमा समेत काम गर्दै आइरहेको र यस वर्ष पनि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणको लागि छुट्याउने कार्यलाई निरन्ता दिएको छ ।  १३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर, प्रायोजकहरुमा बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालि, युएनआई एक्सपर्ट एलइडी लाइटिङ, स्टार सीड टेक्नोलोजीस, विवश इलेक्ट्रीकल प्रालि, साकुरा डिजाइनर्स एण्ड बिल्डर्स प्रालि, रारा तयारी चाउचाउ, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप (शिवचोक पोखरा १०), ओमडा जेको, भिजन लिंक कन्सल्टेन्सी प्रालि रहेका छन ।  महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन ।  महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिनेछ ।  महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद ५० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्नेछन ।  महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निशुलक प्रवेश गराइने छ ।  १२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ ।  महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । महोत्सवको आकर्षणमा टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमहरुसँगै राष्टिय कलाकारहरुको सांगितिक प्रस्तुति रहनेछन् । १३ औं महोत्सवको थप आकर्षण र व्यवसायीक जानकारीको लागि अष्ट्रिच पंक्षीको प्रदर्शनी र जानकारी दिइने छ ।   

पोखरा:  पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका लागि अद्वैत ज्ञान मार्ग शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा तनहुँले एक लाख पाँच रुपैयाँ अक्षयकोष रकम सहयोग गरेको छ ।       राधाकृष्ण मन्दिर शान्ति आश्रममा आयोजित एक कार्यक्रमका बीच संस्थाका तर्फबाट उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।      कार्यक्रमका प्रमुख अतिथि राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस्ता सहयोगले गुरुकुलको सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै सहयोगका प्रति आभार व्यक्त गर्नुभयो ।      सहयोगी एवम् सहभागीलाई स्वागत गर्दै राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम खनालले गुरुकुलको सुव्यवस्थित एवम् दीगो सञ्चालनका लागि यस्ता सहयोगहरू आवश्यक भएको धारणा राख्नुभयो ।      कार्यक्रममा अद्वैत संस्थाका तर्फबाट अद्वैत ज्ञान मार्ग नेपालका बरिष्ठ सल्लाहकार सोमप्रसाद पौडेल, संरक्षक ठाकुरप्रसाद वाग्ले शास्त्री, अध्यक्ष सुवेदार डिलकुमार श्रेष्ठ, वेलचौतारा शाखा प्रमुख भगवती लामिछाने, कल्पवृक्ष शाखा सचिव कान्ता भट्टराईको उपस्थिति थियो ।      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मीको सभापत्वि एवम् विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीद्वारा सञ्चालित कार्यक्रममा अक्षयकोष सहयोगका लागि विद्यालय व्यवस्थापन समितिका सदस्य माधवशरण उपाध्यायले समन्वय गर्नुभएको थियो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुबहादुर बस्नेत, हरिराज घिमिरे लगायतको उपस्थिति थियो । 

पोखरा । पोखरा महोत्सवलाई सफल बनाउन पोखराका विभिन्न संघ संस्थाहरुले साथ दिने भएका छन् ।   आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं पोखरा महोत्सवलाई सफल बनाउनका लागि आयोजना गरिएको संघ संस्थाहरुको बैठकले पोखरा महोत्सवलाई सफल बनाउनका लागि आ आफ्नो ठाँउबाट साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।   पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झांकी तथा र्यालीमा पोखरामा रहेका संघ संस्थाहरुले स्व स्फुर्त रुपमा सहभागी भइ महोत्सवको सोभा बढाउने समेत निर्णय गरेका छन् ।   सो अवसरमा वोल्दै सुमार्ग टोल बिकास संस्थाका अध्यक्ष तारा प्रसाद तिवारीले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले सामाजिक काम गरेकै कारण विगतका महोत्सवहरुमा समेत आफुहरुले साथ र सहयोग प्रदान गर्दै आइरहेको बताए । तेह्रौं संस्करणको पोखरा महोत्सवमा समेत आफ्नो टोल बिकास संस्थाबाट सहयोग गर्ने समेत तिवारीले प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै हिमाल आमा समुहकी अध्यक्ष तारा सापकोटाले पोखरा महोत्सवमा आफुहरुको उल्लेख्य सहभागीता रहने बताइन् ।   पाटन बेसीका सम्झना गुरुङले महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न आफुहरुको तर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता जनाइन् ।   सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष तथा तेह्रौं पोखरा महोत्सव अतिथि ब्यवस्थापन उपसमिति संयोजक हिमालय बख्रेलले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी सहित स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गर्दै १३ औं संस्करणमा आइपुग्दा चिडियाखाना निर्माणमा हाल सम्म ५८ लाख ८५ हजार चिडियाखाना निर्माणमा खर्च गरिएको बताए । हाल चिडियाखाना निर्माणको काम प्रदेश सरकार मातहतमा रहेको र सम्पूर्णले खबरदारी सहित खुल्ला चिडियाखाना निर्माणका लागि आवाज बुलंद गर्नुपर्नेमा जोड दिए ।   युनाईटेड क्लबले खुल्ला चिडियाखानाको अवधारणा सहित अगाडी बढेको भएतापनि हाल उक्त स्थानमा बन्यजन्तु उद्धार केन्द्रको रुपमा बिकसित भइरहेकाले उक्त कार्यप्रति खबरदारी आवश्यक रहेको उनको भनाइ छ ।   सो अवसरमा वोल्दै पोखरा महोत्सव झांकी र्याली तथा संघ संस्था ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले पोखरा महोत्सवलाई सफल बनाउनका लागि पोखरामा रहेका विभिन्न संघ संस्था, टोल बिकास, आमा समुह, महिला समुह लगायतको महत्वपूर्ण भुमिका रहेको बताए । युनाईटेड क्लबका अध्यक्ष तथा तेह्रौं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव पोखरेलीको महोत्सव भएकाले सम्पूर्ण पोखरेलीको साथ र सहयोग आवश्यक रहेको बताए । पोखरामा रहेका संघ संस्था, आमा समुह, युवा समुह, टोल बिकास संस्थाहरुको साथ र सहयोगले पोखरा महोत्सव आजको दिन सम्म आइपुगेको बताउदै अध्यक्ष थापाले तेह्राैं संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउनका लागि समेत सम्पुर्ण पोखरेलीहरु समक्ष आग्रह गरे ।   युनाईटेड क्लबका महासचिव तथा तेह्रौं पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा तेह्रौं पोखरा महोत्सव झांकी र्याली तथा संघ संस्था ब्यवस्थापन उपसमितिका सदस्यहरु उत्तम जोशी र गिता भण्डारी, प्रगतिशिल टोल बिकास संस्थाको अध्यक्ष अग्नि कुमार श्रेष्ठ, संगम टोल बिकास संस्थाका अध्यक्ष धनराज पौडेल लगायतले बोलेका थिए ।

पोखरा:    पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले आठौं विरेन स्मृति १८ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको मिति घोषणा गरेको छ ।   क्लबका अध्यक्ष असिम थापाले पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी माघ २२ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिए ।   उनका अनुसार फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।    ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १८ औं संस्करणसम्म निरन्तर आइपुगेका छौ, अध्यक्ष थापाले भने, ‘यस प्रतियोगिताले फुटलबको विकासमा थप सघाउ पुग्ने विश्वास लिएका छौं ।’   अध्यक्ष थापाले माघ २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने बताउदै पुरस्कार राशी र समापन मिति तय गरिने बताए ।   ‘हाम्रो प्रतियोगिता पोखराको चर्चित र लोकप्रिय प्रतियोगिता हो, अध्यक्ष थापाले भने, ‘त्यसैले यसमा सहभागि हुन धेरै टिमहरु इच्छुक हुनुहुन्छ । उहाँहरुको सहभागिताकै आधारमा समापन मिति पनि तय हुनेछ । र पुरस्कार राशी पनि पहिलेकोमा केही बढाएर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौ ।’   गत वर्ष भएको प्रतियोगिताको विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।   यसअघिको संस्करणको उपाधि लामागाउँ गुम्बाले जितेको थियो ।  

पोखरा:  तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा जारी २६ औं घलेल ल्होछार उत्सवमा आयोजित घोडा दौडमा हितमान गुरुङ च्याम्पियन बनेका छन् ।   लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दुरी घान्द्रुकका गुरुङले ८ मिनेट २७.७४ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।   यस्तै गरीका विवेक पुन (८ मिनेट ३१.५७ सेकेन्ड) द्वित्तिय बने । भने, घान्द्रुकका विनोद थापा (८ मिनेट ५०.५० सेकेन्ड) तृतीय बने ।    प्रथम, द्वित्तिय र तृतीय बनेका उनीहरुले क्रमश नगद रु ४० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।   उनीहरुलाई २३ गते उत्सवको समापनका दिन पुरस्कृत गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । घोडा दौडमा कुल २३ टिमको सहभागिता रहेको थियो ।   यस्तै जारी उत्सवमा पुरुषतर्फको भलिबल प्रतियोगिता अन्तरगत दोस्रो चरणका खेलहरु जारी रहेको  क्लबका सचिव अमृत गुरुङले जानकारी दिए ।    उनका अनुसार पुरुष भलिबलतर्फ कुल ३४ टिमको सहभागिता रहेको छ ।   यसअघि भएको महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरिसकेको छ । भने, प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा पुगेको भलिबल खेल संयोजक गणेश बिसीले बताए ।   उनका अनुसार फाइनल खेल आगामी २३ गते हुने छ ।

पोखरा:    प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेल संघहरुले दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।  गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले निर्धारित मिति यही पुष २० गते भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिएका हुन् ।  समय भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघका प्रतिनिधिहरुले खेल संघको लेटर प्याड तथा छाप समेत प्रयोग गर्न नपाउने उनले जनाए । यदि कसैले कानूनको पालना नगरेको खण्डमा सरकारी छाप कृते दस्तखत अन्र्तगत मुद्धा समेत हाल्ने सदस्य सचिव शर्माले बताए । करिब २८ वटा खेलसंघहरु प्रदेशमा आबद्ध भएको उनले बताए ।  खेलकुद प्रबद्र्धन र खेलाडी उत्पादनमा खेल संघ, क्लवहरु सहित केही संस्थाहरु रहेको उल्लेख गर्दै उनले खेलकुदको विकासको लागि संघहरुसंगै बसेर जिम्मेवारी दिने बताए ।  खेलकुद क्षेत्रमा बजेट कम भएको दाबी गर्दै उनले जनप्रतिनिधिहरुले यस बिषयमा खासै आवाज उठाउन नसकेको गुनासो गरे । नेपाली खेलकुदमा न्यून बजेटको कारणले नै सोचे अनुरुप विकास हुन नसकेको सदस्य सचिब शर्माले बताए ।  खेलकुदमा विशेष गरी मार्शल आर्ट खेलका केही संघहरुमा आर्थिक परादर्शिता नभएको र ग्रेडिङमा समेत मनपरी रुपमा प्रशिक्षार्थी खेलाडीहरु संग रकम उठाएको विषयमा परिषदको गम्भिर ध्यानाकर्षण भएको उनले बताए ।  सदस्य सचिब शर्माले अबको सम्पूर्ण तयारी १० औं राष्ट्रिय खेलकुदका लागि अघि बढ्नु पर्ने जनाउँदै गण्डकीले पदक प्राप्त गर्ने गरी तेक्वान्दोलाई आफ्नो तयारी सुरू गर्न आग्रह गरे ।  कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले तेक्वान्दो खेलको विकासका लागि डोजाङहरुको स्थापना हुनुपर्नेमा जोड दिए । स्वस्थ नागरिक उत्पादन संगै घर–घरमा तेक्वान्दो पु¥याउन डोजाङहरुको स्थापना आवश्यक रहेको उनको भनाई थियो ।  गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी पाण्डे, महासचिब रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्माचार्यले बोलेका थिए ।  कोषाध्यक्ष कर्माचार्यले आर्थिक वर्ष २०८०÷०८१ मा आम्दानीतर्फ २९ लाख ६२ हजार ९ सय २८ र खर्चतर्फ २५ लाख २३ हजार ८ सय ६४ रहेको जानकारी दिए । बाँकी रहेको ४ लाख ३९ हजार ६४ रुपैसा यस बर्ष भुक्तानी गर्न बाँकी रहेको सेवा प्रदायकहरुलाई भुक्तानी गरिने भएको कोषाध्यक्ष कर्माचार्यले बताए । संघका अध्यक्ष गुरूङले पोखरा रंगशालामा निर्माण हुन लागेको तेक्वान्दो प्रशिक्षण हल निर्माण सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरे । 

पोखरा:   ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।  शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो । महोत्सवको तेस्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुती दिएका थिए भने हाँस्यव्यङ्ग्य तर्फ पवन खतिवडा ‘म्याकुरी’को प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । यस्तै बेलुकापख लाईभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुतीले स्टेज तताएको थियो । शुक्रबार विद्यालयस्तरीय नृत्यतर्फ त्रिवेणी पब्लिक मावि पोखरा–२७, एपेक्स प्रि स्कुल पोखरा–३० र लेकसिटी एकेडेमी मण्टेश्वरी पोखरा–२६ ले नृत्य प्रस्तुत गरेका थिए ।  महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरु श्याम राना, भुमिका गिरी, शंकर विरही गुरुङ, बिन्दा परियार, टेक क्षेत्री, कमला गैह्रे, शिवहरी ढुंगाना र उमादेवी खनालको प्रस्तुती रहनेछ भने बेलुका लाईभ कन्सर्टमा सहिमा श्रेष्ठ, सन्तोष बस्याल र र्यापर शुसिलले प्रस्तुती दिनेछन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।