पोखरा: टेण्डी ब्राण्डको सिसीटिभी क्यामेराका बिक्रेताहरुका लागि नलेज शेयरिङ प्रोग्राम पोखरामा सम्पन्न भएको छ । पोखराको न्युरोडमा रहेको आयुषा ईन्टरनेश्नलकोे आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सिसिटिभि जडान प्रक्रिया, सिसिटिभिका विशेषता लगायतको बारेमा जानकारी दिईएको थियो । टेण्डी नेपालका लागि आधिकारीक बिक्रेता हाइटेक इन्टरनेश्नलको सहयोग र गण्डकी प्रदेशका लागि आधिकारिक बिक्रेता आयुषा इन्टरनेश्नलको आयोजनामा उक्त कार्यक्रममा गण्डकी प्रदेशका ८० वटा बिक्रेताहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बोल्दै हाइटेक इन्टरनेश्नलका प्रमुख हरि कुमार श्रेष्ठले हाइटेकले मेमोरी, पेनड्राइभबाट शुरु गरेको ब्यापार, कम्प्युटर र ल्यापटप र ग्याजेटका प्रोडक्टहरु इन्पोर्ट र होलसेलको काम गर्दै आइरहेको र पछिल्लो समय टेन्डी सिसिटीभी क्यामेराको बिक्रीवितरण गर्दै आइरहेको बताए । नेपालमा टेन्डी ब्राण्डले बजार पाइरहेको सन्दर्भमा प्रवद्र्धन गर्दै बिक्री वितरण गर्ने काम गर्दै आइरहेको र ब्यापारको हिसाबले टेण्डी धेरै राम्रो ब्राण्ड बनेको बताए । टेण्डी ब्राण्ड क्वालिटीमा राम्रो रहेकाले ग्राहकहरुको रोजाइमा परेको श्रेष्ठको भनाइ थियो । ब्यापार गरेर सरकारलाई कर तिर्न समेत बिक्रेताहरुलाई आग्रह गर्दै श्रेष्ठले ग्राहक सन्तुष्ट रहेको खण्डमा प्रोडक्टलाई प्राथमिकतामा राखेर काम गर्न समेत बिक्रेताहरुलाई आग्रह गरे । ब्राण्डकै कारण बजारमा लोकल ब्राण्डका सिसिटिभी क्यामेराहरु विस्थापित भइसकेको उनको भनाइ रहेको थियो । कार्यक्रममा टेण्डी टेक्नोलोजीस कम्पनी लिमिटेडका नेपालका लागि सेल्स डाईरेक्टर नवीन भण्डारी र नेपालका लागि आधिकारिक बिक्रेता हाईटेक ईन्टरनेश्नलका टेक्निकल म्यानेजर शिव बस्ताकोटीले सिसिटीभी क्यामेराको जडान प्रविधी, हालै बजारमा आएका सिसिटिभी क्यामेराको प्रविधीको बारेमा बिक्रेताहरुलाई जानकारी दिएका थिए ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । ‘शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ’–महोत्सवका मुल संयोजक बिनोद श्रेष्ठले भने । महोत्सवमा हालसम्म पाँच करोड ८५ लाख वरावरको आर्थीक कारोबार भएको छ । महोत्सवको १० औं दिन शनिबार मात्रै अहिलेसम्मकै सर्वाधिक एक करोड ३५ लाख बराबरको कारोबार भएको हो । यसै गरी महोत्सवको हालसम्म एक लाख ९० हजार दर्शकहरुले अवलोकन गरेका छन र शनिबार मात्र ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव एवंम प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिईन । शनिबार दिउँसो महोत्सव स्थलमा दर्शहरुको अत्याधिक चाप वढेपछि आपतकालिन गेट खुला गरि दर्शकहरुलाई सहज रुपमा आवागमनको व्यवस्था मिलाईएको थियो । स्थानिय क्षेत्रका विद्यालयहरुमा परिक्षा सकिएर जाडो विदा पनि भएका कारण बाल बालिका सहित अभिभावकहरुको उपस्थीती पनि उल्लेख्य वृद्धि भएको हो । महोत्सव सकिन अव तीन दिन मात्र बाँकी रहेको र एक पटक महोत्सव जानैपर्ने मान्यता स्थापित भएकले पनि महोत्सवको पछिल्ला दिनहरुमा दर्शक र कारोवारमा बृद्धि हुने अपेक्षा गरिएको छ । हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखीएको दर्शकहरुको उपस्थिति र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह संयोजक राजेन्द्र ओझाले बताए । शनिबार लोकदोहोरी कलाकारहरु सुप्रिम मल्ल, आशा बिसी, कृष्ण अखेली, रमा राना, जिवन दाहाल, शिवहरी ढुंगाना लगायतले प्रस्तुती राखेका थिए भने बेलुका राजु लामाको लाईभ व्याण्ड मंगोलियन हर्टको प्रस्तुतीले स्टेज तताएको थियो । महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, प्रिती आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु वि.क. लगायतले प्रस्तुती राख्नेछन भने बेलुका लाईभ कन्सर्टम भाष्करध्वज श्रेष्ठको डिमर्चा व्याण्डको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी(राजु)ले जानकारी दिएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन ।
पोखरा: अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभा एक समारोहका बिच सम्पन्न भएको छ । शनिबार पोखरामा संघले साधारणसभा सम्पन्न गर्दै राज्यलाई सबैभन्दा बढि कर तिरिरहँदा ट्राफिक प्रहरीबाट पाउउने गरेको दुःखको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रमा सहभागि विभिन्न व्यवसायीहरुले राज्यले ढुवानी सेवाको लागि प्रयोग हुने सवारी करमा विशेष छुटको व्यवस्थापन गरेपनि सडकमा भने निकै दुःख दिइरहेको बताएका हुन् । नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्तले अधिकृत विक्रेताको पेशा मर्यादित पेशा रहेको सुनाउँदै गुणस्तरमा लाग्न सुझाव दिए । राज्यले देशमा वेरोजगार बढिरहेको बताउँदा आफुहरुको क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको उनको भनाइ छ । वक्ताहरुले भने झै सडकमा सामान बोक्ने सवारी माथि ट्राफिक प्रहरी गर्ने व्यवहारको अन्त्य हुनै पर्नेमा उनको जोड थियो । संघका पुर्व अध्यक्ष गोविन्द कर्माचार्यले अधिकृत विक्रेताहरुले आपुर्ति व्यवस्थापनमा ठूलो योगदान दिदैँ आएको कारण सहर र गाउँमा सामानको मुल्य एकै भएको बताए । उनले राज्यले ढुवानी सवारी करमा छुट दिएपनि साधारण कुरामा भने निकै दुःख दिदैँ आइरहेको सुनाए । ‘हामीले दिएको सेवाका कारण आज सहर र बजारमा दररेट एउटै छ । सेवा नदिएको भए गाउँमा सामानहरु महँगो हुने थियो’ उनले भने, ‘यहाँ राज्यले केही नगरेको होइन गरेको छ, ढुवानी गर्ने सवारीको भन्सारमा विशेष छुटको व्यवस्था गरेकै हो तर, दोहोरो चरित्र सरकारले देखाएको छ हामीलाई साना–साना कुरामा दुख दिएको छ ।’ पोखरा इलेक्ट्रिक व्यवसायी संघका अध्यक्ष चिन्तामणि खरेलले व्यवसाय गर्दा सडकमा ट्राफिक प्रहरीको ज्यादति धेरै भएको सुनाए । उक्त साधारण सभाको उद्घाटन पश्चात सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताए । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको उनको भनाइ छ । लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह र सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा जोड दिएका थिए । सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको र पछिल्लो तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान करिब ८१ प्रतिशत तथा कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको उल्लेख गर्दै उनले यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको बताएका हुन् । ‘आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे । निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो । निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि हो’ उनले भने, ‘नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने यात्रा सहज तुल्याउन सबै पक्षको सहकार्य आवश्यक छ । यद्यपी, निजी क्षेत्रलाई संस्थागत सामाजिक जिम्मेवारी निर्वाह गराउन पनि सरकारले नियमन गर्नुपर्ने हुन्छ ।’ नेपाल वितरक महासंघ गण्डकीका प्रमुख बद्री ढुंगानाले कानुनी झन्झटले निकै सास्ती खेप्न बाध्य भएको सुनाए । आफुहरु राज्यलाई कर तिरिरहेको तर राज्यबाट सद्यैँ अपहेलित हुनु परेको उनको भनाइ थियो । अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष मनोज कुमार श्रेष्ठले अधिकृत विक्रेताहरुलाई एकै ठाउँमा ल्याउनका लागि २०६४ सालमा संस्थाको स्थापना भएको जानकारी दिए । उनले एकै प्रकृतिका व्यवसायीलाई व्यवसाय संगै सामाजिक उत्तरदायित्व वहन गर्दै व्यवसायमा आउने समस्याको न्युनिकरण गर्न संस्था अग्रस्थानमा रहेको सुनाए । सचिव दिलिप कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा हिमालय एभरेष्ट इन्सुरेन्स प्रालि गण्डकीका प्रमुख शिव सुवेदी, अधिकृत विक्रेता संघका निवर्तमान अध्यक्ष सुरेश अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले आफ्नो धारणा राखेका थिए । सोही क्रममा संस्थामा रहेको सदस्यका परिवार मध्येबाट २०८० को एसईईमा उतिर्ण प्रन्सुदेव पालिखेलाई सम्मान समेत गरेको थियो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताएका छन् । अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने उल्लेख गरे । ‘आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे । निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो । निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि हो ।’ प्रदेश प्रमुख भट्टले भने । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै उनले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको बताए । लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा जोड दिए । सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको र पछिल्लो तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान करिब ८१ प्रतिशत तथा कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको उल्लेख गर्दै उहाँले यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको बताए । ‘नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने यात्रा सहज तुल्याउन सबै पक्षको सहकार्य आवश्यक छ । यद्यपी, निजी क्षेत्रलाई संस्थागत सामाजिक जिम्मेवारी निर्वाह गराउन पनि सरकारले नियमन गर्नुपर्ने हुन्छ ।’ उनले भने । एकै प्रकृतिका व्यवसायीहरू एकीकृत भई उद्योगबाट उत्पादित एवं आयातित सामाग्रीहरू सर्वसुलभ रुपमा उपभोक्ताहरू समक्ष उपलब्ध गराउने उद्देश्यका साथ २०६४ सालमा स्थापना भएको अधिकृत विक्रेता संघ पोखराले लक्ष्य अनुरुप काम तथा गतिविधि गर्दै आएकोमा आफू विश्वस्त रहेको उनको भनाई छ । आफ्ना व्यवसायिक हकहितलाई सर्वोपरी राख्दै सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ्नु संस्थाको पवित्र उद्देश्य हुनुपर्नेमा पनि उनले जोड दिए ।
पोखरा: यही पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो बनेको छ । वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने कारण आफन्त र साथीभाइको लामो अन्तरालमा भेट हुने गरेको छ । पोखरा–३२ निवासी भरत ओझाले भने कति “साथी यहाँ भेटेर अचम्म लाग्यो, १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई भेट्न पाएँ” यसरी अचम्म पर्नेमा ओझा मात्र होइन थुप्रै दर्शक थिए । पोखरा २७ का कृष्ण रानाभाटले ४८ सालमा भेटेका आफनो आत्मीय साथी कृष्ण ठकुरीले अहिले महोत्सवमै भेटे । अन्य दर्शकहरुसमेत स्कुल पढ्दाका साथी र टाढाका आफन्त भेटेर खुसी व्यक्त गरिरहेका थिए । नयाँपन खोज्नका लागि लेखनाथ महोत्सव आउने दर्शकले बालापनको साथी भेट्ने रहरसमेत राख्ने गर्छन् । पुरानो सम्बन्धमा रमाउन पाउँदा दर्शक निकै खुसी भएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले बताए । उनले भने, ’यो महोत्सव खाली महोत्सवका लागि मात्र नभएर आत्मीयता र भेटघाटको थलो पनि बनेको छ ।’ महोत्सवमा चर्चित दोहरी कलाकारबाट दोहोरी प्रस्तुति, हास्यव्यंग्य कलाकार बाट हास्य प्रस्तुति, पप कलाकारबाट पप कन्र्सट साथमा मोडन डान्समा दर्शकहरू रमाइलो लिएका छन् । शनिबार दोहोरीतर्फ बाल कलाकार सुप्रिम मल्ल ठकुरी, आशा बिसी, जिवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, रमा राना, माया केसी लगायतको प्रस्तुत रहनेछ भने बेलुका लाईभ कन्सर्टमा राजु लामा (मंगोलियन हर्ट)को प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए । महोत्सवमा शुक्रबार २७ हजार दर्शकले अवलोकन गरेका छन भने ७५लाख बराबरको कारोबार भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिईन । हालसम्म १ लाख ५० हजार दर्शकले अवलोकन र ४ करोड ५० लाखको कारोबार भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।
पोखरा: राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संगीतबिना पर्यटन अधुरो हुने बताए । उनले भने, ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीतामार्फत पर्यटनको विकासमा अघि बढ्नुपर्छ ।’ संविधानसभा सदस्य समेत रहेका उनले गाउँ विकासका लागि सधैं दत्तचित्त रहेको बताउँदै बिदा उनेवित्तिकै सिरुबारी आउने गरेको उल्लेख गरे । संस्कृतिविद् प्राडा कुसुमाकर न्यौपानेले संगीतमा निकै ठूलो शक्ति रहेको बताए । संगीत र पर्यटनबारे गोष्ठीपत्र प्रस्तुत गर्दै उनले मन र मस्तिष्क दुवैलाई धक्का दिन सक्ने संगीतले मानवमात्र नभई पशुपंक्षीलाई पनि मन्त्रमुग्ध बनाउने बताए । उनले संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा मिल्दै आएको उनको भनाइ थियो । रेडियो नेपाल प्रादेशिक केन्द्र पोखराका प्रमुख शान्ति गुरुङले संगीत जति बुभ्mयो त्यति गहिरो रहेको बताइन् । राष्ट्रि«य संगीतकर्मी संघका केन्द्रीय महासचिव विनोद ढकालले हाल देशभर संघका ६२ जिल्लामा शाखा संचालित रहेको बताए । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, संस्कृतिकर्मी प्राडा कुसुमाकर न्यौपाने, संघका महासचिव विनोद ढकाल, केन्द्रीय सदस्य शंकर ढकाल, संघका स्याङ्जा प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो । सो अवसरमा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, गाउँपालिका सदस्य अमन सुनार, गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, आँधीखोला गाउँपालिका वडा १ का अध्यक्ष पवनकाजी अधिकारी, संघका केन्द्रीय सदस्यद्वय शंकर ढकाल, ऋषिराम दाहाल, संघका स्याङ्जा शाखाका प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मी, वाराही मावि पोखराका प्रअ शिवप्रसाद भण्डारी, संघ गण्डकीका मानार्थ सदस्य प्रेमबहादुर रोका, संघका स्याङ्जा अध्यक्ष बुद्धिबहादुर परियार, संघ गण्डकी प्रथम उपाध्यक्ष लीलाराम पौडेल, लायन्स क्लब अफ पोखरा सेन्ट्र«ल सिटीका सचिव इन्द्रप्रसाद ढकाल लगायतको उपस्थिति थियो । राष्ट्रि«य संगीतकर्मी संघ गण्डकी प्रदेशक अध्यक्ष रामचन्द्र ढकालले संस्थाका गतिविधिबारे प्रकाश पारे । अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका द्वितीय उपाध्यक्ष सागर कार्की र संचालन महासचिव बालकृष्ण शर्माले गरेका थिए । कलाकारको हकहितमा काम गर्दै आएको संघको विदेशमा पनि शाखा बिस्तार छ । बेलायत, अमेरिका, जापान, दुवई, भारत लगायत राष्ट्र«मा पनि शाखा बिस्तार गरेको संघका महासचिव ढकालले जानकारी दिए ।
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमार्फत लेखनाथस्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको सहयोगार्थ सहयोग आउन शुरु भएको छ । पोखरा १६ अर्मलाकोट पुरानो घर भई हाल पोखरा १२ अन्नपूर्णटोल बस्ने स्वर्गीय छोेरा देव गुरुङको स्मृतिमा बाबा कमलबहादुर गुरुङ आमा रनसुबा गुरुङले युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड छात्राबास निर्माण सहयोगार्थ ५१ हजार पोखरा महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुलाई सहयोग हस्तान्तरण गरेका हुन् । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लबले पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको आफ्नै जग्गामा युनाईटेड छात्राबास निर्माण गर्दैछ । उक्त कार्यको महोत्सव अगाडी शिलान्यास भइसकेको र १३ औं पोखरा महोत्सव संमापनसँगै निर्माण कार्यलाई अगाडी बढाइने युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । युनाइटेड छात्राबासको निर्माणका लागि जो कोही पनि सहयोगमार्फत जोडिन सक्ने बताए । यसैबीच महोत्सवको दोश्रो दिन दर्शकको उल्लेख्य उपस्थिती रहेको थापाले बताए । उनका अनुसार महोत्सवमा उपस्थित दर्शकहरुलाई लोक तथा दोहोरी गायक राजु परियारले आफ्नो प्रस्तुती दिए । परियारले आफ्नो एकल गीत र दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । शुक्रबार महोत्सवमा राजु परियारसंगै चालेन्द्र पौडेल, तुलसा क्षेत्री, मन्जु बिक, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमेश थापा मगर, हास्यब्यंग्यतर्फ बलराम गिरी सरकारको प्रस्तुतीमार्फत दर्शकहरुले मनोरन्जन लिए । शनिबार टुकीको बेजोड प्रस्तुती महोत्सवको तेश्रो दिन शनिवार लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, अमर धिताल, सविना गुरुङ, डिप्लप खाती, नविना सुवेदी नवु, सनम तामाङ लगायतको प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार लाइभ ब्याण्ड तर्फ शनिबार टुकी र स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा राखिएको आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको सेवा कक्षबाट आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रालि पोखरा ११ रानीपौवा बाट प्रत्येक दिन एक जनालाई निशुल्क होलबडी चेकअप र फिजिसियन कन्सल्ट र एकजनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको छ । महोत्सवको दोश्रो दिन पोखरा ७ का बावुराम पौडेलले उक्त सेवामा निशुल्क सुविधा र पोखरा ८ का अर्जुन बहादुर गुरुङले उक्त सेवा ५० प्रतिशत छुट पाउने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । उनका अनुसार महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन् । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरुमध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन् । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिनेछ । त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि ब्याक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन् । महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ । फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन् । महोत्सवको टिकट रेभल एपमार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्नेछन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभएको छ । कास्की नेत्रहीन संघको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले मुलुकमा समग्र जनसंख्याको दुई प्रतिशत बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक रहेकाले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मान र पहिचानसहित स्वतन्त्र रुपले हिँडडुल गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु मुख्य दायित्व रहेको बताउनुभयो । ‘रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्नका लागि सरकारको प्रतिबद्ध छ । अपाङ्गतामैत्री संरचना र सेवा जरूरी छ । सामाजिक सुरक्षाको प्रबन्ध गर्नुपर्नेछ ।’ उहाँले भन्नुभयो– ‘अपाङ्गता भएकाहरुको समानुपातिक समावेशी सहभागिता अपरिहार्य छ । उनीहरूको सहजताका लागि राज्यसहित सबै क्षेत्र जिम्मेवार तथा जबाफदेही बन्न आवश्यक ठानेको छु।’ दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको छापा अक्षरमा अन्य व्यक्तिसरह पहुँच स्थापित गर्न आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो । ‘नेपालमा एकातिर विभिन्न स्वास्थ्यसम्बन्धी कारणबाट दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या बढ्दै गइरहेको देखिन्छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘अर्कोतर्फ समाजमा उनीहरूप्रति गरिने व्यवहार, मुलुकमा दशकौँदेखि व्याप्त रुढी, अन्धविश्वास र भेदभावलगायतका कारण दृष्टिविहीन अपाङ्गहरूले मानव भएर पनि न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।’ प्रदेश प्रमुख भट्टले नेपाल नेत्रहीन संघमा निर्वाचित अध्यक्ष शिशिर खनालसहितका संघीय पदाधिकारीहहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालमा दृष्टिविहीनहरूको हक अधिकार स्थापित गर्न उल्लेखनीय कार्यसम्पादन हुने अपेक्षा पनि राख्नुभयो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले मृत्युपर्यन्त नेत्रदान गर्ने घोषणा पनि गर्नुभयो । ‘आँखासहित मेरा अंगहरु कसैको जीवनप्राप्तिमा काम लाग्छ भने यसको लागि म प्रतिवद्धता व्यक्त गर्दछु।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । कार्यक्रममा दृष्टिविहीनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेहरूलाई सम्मान पनि गरिएको थियो । कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, नेपाल नत्रहीन संघका अध्यक्ष शिशिर खनाल, संस्कृत माविका अध्यक्ष विष्णुप्रसाद अधिकारी, पोखरा वडा नं. १ का अध्यक्ष सहारा प्रधान, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेपाल सरकार उपसचिव मिरा अधिकारी, संस्थाकी उपाध्यक्ष सुनिता ज्ञवालीलगायतले दृष्टिविहीनका हकअधिकारका बारेमा बोलेका थिए ।
पोखरा: पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइ सकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन् । सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ शुरु गरेका हुन् । शुक्रबार देखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन स्काई डाइभ कम्पनीका सञ्चाल तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए । यसअवधिमा स्काई डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी दुइवटा प्याकेज बनाएको थापाले बताए । भिआइपीको १ लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ पर्ने उनले जानकारी दिए । विदेशीलाई भने थप ५ हजार बढि लाग्ने उनले बताए । स्काई डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ । स्काई डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा २३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्ने छन् । माथिबाट डाइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन् । यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताए । एलिसलाई सुवास थापा, मनिष हिराचन, आशिष थापा र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसीले साथ दिएका छन् । नेपालको प्राकृतिक सुन्दरतालाई विश्वभरका साहसिक पर्यटकलाई पु¥याएर नेपालमा आकर्षित गर्नु रहेको बताए ।

