सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज.१.च.८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा.३.ख.६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा परी एम्बुलेन्समा सवार पाँच जना घाइते भएका छन्। एम्बुलेन्समा सवार महोत्तरीको महोत्तरी नगरपालिका-१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी र भंगाहा नगरपालिका-१ का २१ वर्षीय जयकुमार राउत घाइते भएका छन्। उनीहरू १ वर्षीय बालक अबरारको उपचारका लागि काठमाडौं आउँदै थिए। दुर्घटनाबाट ती बालकको टाउकोमा चोट लागेको छ। उनीहरूलाई आज बिहानै अर्कै एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको डिएसपी दाहालले जानकारी दिए। एम्बुलेन्सका महोत्तरीको मनरासिसुवा नगरपालिका-१ का राजु सिंह र ट्रक रामेछापको मन्थली नगरपालिका-१ का ४५ वर्षीय भेष बहादुर पाण्डेले चलाएका थिए।
हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बाँकी भू–भागका आंशिक बदली रहनेछ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि आंशिक बदली छ ।
हुम्लामा १७ वर्षीया युवतीकाे भिरबाट लडेर ज्यान गएकाे छ । सिमकाेट गाउँपालिका वडा नम्बर ८ मा रहेकाे खाेल्सी गाउँकी सुस्मिता शाहीकाे भिरबाट लडेर ज्यान गएकाे हाे । हिजाे दिउँसाे गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनकाे ज्यान गएकाे सुस्मिताका आफन्तले बताएका छन्। उनी सिमकोट गाउँपालिका-११ मा रहेकाे कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत थिइन् ।
काठमाडौं: नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकामा आज बुधवार दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह कानुनी रूपमा दर्ता भएको हो ।गाउँपालिकाको वडा नम्बर २ ले समलिङ्गी विवाहको प्रमाणपत्र दिएको छ । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको हो । नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र र लमजुङको दोर्दी गाउँपालिका–२ का रामबहादुरले विवाह गरेका हुन् । यसअघि गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि रामबहादुर र सुरेन्द्रले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।
तनहुँ: तनहुँको भिमाद नगरपालिका–६ मा आज सम्पन्न खेलमा भिमाद अर्ना कपको उपाधि पोखराको एलजी एशोसिएसनले जितेको छ । आयोजक भिमाद युवा क्लब (रातो) लाई पराजित गर्दै एलजीले उपाधि हात पारेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै टोली गोल गर्नबाट वञ्चित भए । अतिरिक्त समयमा पनि गोल हुन पाएन र टुङ्गो ट्राइबेकरबाट लिनुपरेको थियो । ट्राइबेकरमा एलजीले भिमादलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । एलजी एशोसिएसन तनहुँ ११ लाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै आयोजक भीमाद युवा क्लबले सङ्गम एफसी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो । उपाधिसँगै एलजीले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । हरिबोधनी एकादशीको अवसर पारेर सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
पोखरा: नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको हो । आठौं संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागेको महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए । यसवर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन मुख्य आकर्षणको रुपमा रहनेछ । आयोजक नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फस्र्टका विद्यार्थीले मञ्चन गर्नेछन् । ‘विद्यार्थीहरुले स्टेजमा गिद्धहरुको भेषमा मास्क लगाई गिद्धको महत्वबारे साथसाथै नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पु¥याउनेछ,’ लम्सालले भने, ‘यो कार्यक्रमको संरक्षणबारे जानकारी दिने विश्वास लिएका छौं ।’ त्यस्तै, महोत्सवमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन गरिने भएको छ । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन् । महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उनले भनिन् ।
पोखरा: फेवातालको ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । बुधबार पोखरामा बसेको गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवातालको मापदण्ड कार्यन्वयन गर्न गण्डकीका मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी सरकारकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, पृतनापति दीपककुमार बानियाँ, गण्डकीका मुख्य न्यायाधिवक्ता रामचन्द्र उपाध्याय, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे रहेका छन् । त्यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी वुद्धिराज गुरुङ, सशत्र प्रहरीका डीआईजी कालिदास धौवजी, राष्ट्रिय अनुसन्धान निर्देशक कृष्ण खनाल, पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र ताल प्राधिकरण गण्डकीकी निर्देशक कल्पना देवकोटा पनि सदस्य छन् । सर्वोच्च अदालतबाट २०८० साल असोज ९ गते फेवातालको मापदण्ड कार्यान्वयन गर्ने सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो । पूर्णपाठमा फैसला अनुसार फेवातालको मापदण्ड ६ महिनाभित्र कायम गरेर संरक्षण गर्न भनिएको छ ।
काठमाडौं: नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरे। उनले भने, “पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज÷अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ ।” प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन पनि अनुरोध गरेको छ । पछिल्लो समयमा अनलाइन कारोबार फस्टाएर ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर घर आइपुग्दा कमसल मल प्राप्त हुने गरेको गुनासो यसअघि पटकपटक सार्वजनिक भइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सहित सबै सांसद केन्द्रीय समितिमा मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो। रास्वपामा ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए। स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपाली केन्द्रीय सदस्यमा मनोनीत भएको एक नेताले जानकारी दिए। यसअघि रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय थियो। मोहन थापाले ढाकाकुमार श्रेष्ठले अडियो प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन्।

