पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

गोरखा:    पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।   पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् ।

भोजपुर:    भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाडौंका अनुसार गएराति १ बजेर ११ मिनेटमा तुङ्गेछा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो । भोजपुर आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ । यसअघि गएको साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको पहाडी क्षेत्रलाई भूकम्पको उच्च जोखिम क्षेत्र मानिन्छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम निरन्तर छ ।

काठमाडौं:     सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।       निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशस् प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।  

पोखरा:   ट्रकको ठक्करबाट तनहुँकी वर्षा कुमालको मृत्यु भएको दुई दिनपछि फेरि मोटरसाइकलको ठक्करबाट अर्का युवतीले ज्यान गुमाएकी छिन् ।   जिल्ला ट्राफिक प्रहरी कास्की प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ नायव निरिक्षक शिव पाठकका अनुसार पोखरा १० अमरसिंहचोकमा हिजो (बुधबार) बिहानै मोटरसाइकलले ठक्कर दिँदा महोत्तरी जिल्लाको गौशाला नगरपालिका ७ घर भई पोखरा १० बुद्धचोक बस्दै आएकी ३३ वर्षीया सविता कुमारी सिंह दनुवारको मृत्यु भएको हो ।   मर्निङ वाक हिडेकी उनलाई हिजो (बुधबार) बिहान करिब ५ बजे पृथ्वीचोकबाट औधोगिक क्षेत्रतर्फ जाँदै गरेको ग १० प ३५७६ को (पल्सर २२० सिसी) मोटरसाइकलले पैदल यात्री दनुवारलाई ठक्कर दिएको थियो ।   घाइते भएकी दनुवारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।    दुर्घटनापछि मोटरसाइकल चालक रिठेपानीका २१ वर्षीय सुजन गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।     यसअघि गत ११ गते सोमबार सभागृहचोकमा मालबहाक ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहुँ म्याग्देकी २० वर्षीय वर्षा कुमालको घटनास्थलमै मृत्यु भएको थियो ।   क्षतिपुर्ति नपाएसम्म शव नउठाउने पीडित परिवारको अडान    मृतक सविताको श्रीमान् दीपेन्द्र दनुवारले क्षतिपुर्ती नपाएसम्म शव नउठाने बताए । उनका अनुसार अहिले सविताको शव मणिपाल अस्पतालमा छ ।   उनले मोटरसाइकल चालकको लापरबाहीको कारण आफ्नो श्रीमतीले ज्यान गुमाउनुपरेको बताए ।   ‘मोटरसाइकल चलाउनेको चरम लापरबाही देखिएको छ । त्यसैले जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएको छु । घरमा दुइटा सानो बच्चा छ । हामी ज्याला मजदुरी गरेर छाक टार्ने परिवार हो, उनले सुनगाभा न्यूजसँग भने, ‘कानून बमोजिम चालकलाई कारवाही र उचित क्षतिपुर्ति नपाएसम्म बुढीको शव उठाउदिन ।’   उनले क्षतिपुर्तिको मागसहित जिल्ला प्रहरी कार्यालय कास्की अगाडी शुक्रबार धर्ना दिनेसमेत बताए ।   ‘गाउँबाट आफन्तहरुलाई बोलाइसकेछु । भोलि धर्ना दिने तयारी छ । मोटरसाइकल चलाउने नेपाली कांग्रेसको नेताको मान्छे भन्ने सुनेको छु । हामीलाई उचित क्षतिपुर्ति चाहिन्छ, नत्र राँको बाल्छौ,’ दनुवारले भने ।    पोखरा १० बुद्धचोकमा बस्दै आएको दनुवार परिवारको ३ वर्षीय दुधे बालक र ५ वर्षीय छोरा छन् ।  

पोखरा:  समाजवादी मोर्चा, नेपाल गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भएका छन् ।    प्रधानमन्त्री प्रचण्डसहित एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सभालाई सम्बोधन गर्न पोखरा आउने लागेका हुन् ।    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश ईन्चार्ज एवम् पार्टी सचिव देवेन्द्र पौडेलले समाजवाद स्थापना गर्ने मूल उद्धेश्यसहित मोर्चा गठन गरेको बताए ।    ‘संघीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक र सामाजिक न्याय सहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मुल उद्धेश्य हो’, पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरुको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिवद्धतासहित समाजवादी मोर्चा गठन भएको हो ।’   उनले समाजवादी मोर्चा नेपाल गण्डकी प्रदेशको संयोजन समितिमा हरेक दलबाट तीन–तीन जना प्रतिनिधि हुने बताए ।    समितिमा माओवादी केन्द्रबाट गायत्री गुरुङ, ज्ञामनाथ गैरे, जगन्नाथ खनाल, एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपालबाट गोपाल गुरुङ, निर्मल जिसी,रमेश नेपाली, नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दिपा सी र काजी सी रहेका छन् ।    मोर्चाको अध्यक्षता आलोपालो प्रणाली अन्तर्गत अहिले नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले समाल्दै  आएकी छिन् ।    समाजवादी मोर्चा, नेपाल केन्द्रीय संयोजन समितिले तय गरेको कार्यक्रम अनुसार भोलि भदौं १५ गते पोखरामा सभा आयोजना गरेको अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।

ढोरपाटन:     उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज (बिहीबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ । ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यकामा अवस्थित यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । केही वर्षअघिसम्म जनैपूर्णिमामा मात्रै पूजाआजा गर्ने गरिएकामा टाढाबाट भाकल गरी आउने दर्शनार्थीलाई लक्ष गरी वैशाखपूर्णिमा पनि पूजा गर्न थालिएको स्थानीय कुलबहादुर घर्तीमगरले बताउनुभयो । वर्षमा दुई पटक मन्दिरमा पूजाआजा गर्न थालेपछि उत्तरगङ्गा बराह मन्दिरमा जनैपूर्णिमाका दिन केही कम दर्शनार्थी आउन थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले त जनैपूर्णिमाका दिन हजारौँ बोका, पाठा र भेडाको बलि दिइन्थ्यो, लाखको हाराहारीमा पूजा गर्नका लागि दर्शनार्थी आउथे, बर्खाको हिलो, बुर्तिबाङबाट आउने सडक पनि अप्ठ्यारो हुँदा दर्शनार्थीले दुःख पाउँथे । अहिले वर्षमा दुईपटक पूजा गर्न थालेपछि यहाँ आउने भक्तजनलाई पनि सहज भएको छ । ढोरपाटन सडकले जोडिएपछि भक्तजनलाई सहज भएको छ । सडक नहुँदा भाकल गरेका बोकापाठा ल्याउन गाह्रो थियो, अहिले सजिलो भएको छ । भक्तजनको सजिलोका लागि ढोरपाटन नगरपालिकाले ठाउँठाउँमा डोजर राखेर सडक मर्मत गरिरहेको छ । वर्षाले सडकका विभिन्न स्थानमा क्षति पु¥याएकाले मर्मत गरिएकोध  ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । आज बिहानैदेखि उत्तरगङ्गा मन्दिरमा बलि दिइ पूजाआजा भइरहेको बताउनुभयो । यस अवसरमा यहाँका स्थानीय क्लबले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छन् ।

पोखरा:  नेवार समुदायमा प्रचलित जात्राको पनि जात्रा ऐतिहासिक बाघजात्रा पोखरामा २३ वर्षपछि प्रदर्शन हुने भएको छ ।   बाघजात्रा आयोजक समिति पोखराले आगामी १८, १९ र २० गते पोखराको चोकचोकमा विभिन्न समुदायको सहभागितामा बाघजात्रा निकालिने आज (बिहीबार) आयोजिन पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   आयोजक संस्थाका सचिव सुनिल उलकले वि.स. २०५७ सालमा मोहरियाटोलले बाघजात्रा प्रदर्शन गरेपश्चात रोकिएको बताउदै यस वर्षदेखि निरन्तरता दिइने बताए ।    उलकले  विशेषगरी नेवार समुदायमा भैरवजात्रा, गाइजात्रा, गणेशजात्रा, माघेजात्रा प्रचलित रहेपनि बाघजात्रा ओझेलमा परेकाले संरक्षणका लागि फेरि प्रदर्शन सुरु गरिएको सुनाए । उनका अनुसार १८ गते नेवा छें हुदैं मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवा छेमा समापन हुनेछ ।    यस्तै १९ गते नेवा छे हुदैं गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदैं नेवा छेमा पुगेर जात्रा समापन हुनेछ ।    २० गते मुख्य समापन समारोहका लागि नेवा छे हुँदैं भिमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदैं रंगशाला पुगेर समापन गरिने सचिव उलकले बताए ।   यस्तै आयोजक संस्थाका सदस्य शान्ति श्रेष्ठ उदासले सो जात्रामा किंवदन्तीमा आधारित बाघको डमी प्रयोग गरेर जात्रा प्रदर्शन गरिने जानकारी दिइन् । उनले बाइसे चौबिसे राजाको प्रतिमा झल्कनेगरी भाँकाीसमेत देखाइने बताइन् ।   तीन दिन हुने बाघजात्रामा नेवार संगै मगर, गुरुङ, तामााङ लगायतका अन्य समुदायको पनि सहभागिता रहने उनले बताइन् ।    उनका अनुसार भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर घिन्ताघिसी (५० जनाको समुह) ले विभिन्न साँस्कृतिक नृत्यहरु प्रदर्शन गर्नेछन् ।    २३ वर्षपछि पोखरामा प्रदर्शन हुन लागेको बाघजात्रालाई पोखरा महानगरपालिका र नेवा खल कास्कीले सहयोग गरेको आयोजकले जनाएको छ ।

काठमाडौं:    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।   चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् । ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय  गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ।   नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो ।

काठमाडौं:    आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । पचासी रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको पारी ७९ रनमा समेटियो । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन । उनले ५४ बल खेल्दै एक चौकासमेत हिर्काइन् । यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेकनन् । बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक/एक विकेट लिए । मलेसियाले भने निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विनीफ्रेड दुरैसिङ्घमले २८, ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रन बनाइन् । बलिङतर्फ नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई/दुई तथा कप्तान रुबिना क्षेत्री बेलबासे र अश्मिना कर्माचार्यले एक एक विकेट लिए । नेपालले अब शुक्रबार दोस्रो खेल बहराइनसित खेल्ने छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् । त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।