विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–२ घर भई दीपेश मेडिकल हलका सञ्चालक ६८ वर्षीय डा.तपेश्वरलाल कर्ण, विराटनगर महानगरपालिका–९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका–२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका–१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका–४ बस्ने २७ वर्षीय गोविन्द राई छन् । ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको थियो । उक्त घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले डा.तपेश्वरलाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य चार जनालाई मङ्गलबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै पक्राउ परेकाहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ । उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ। काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३(०१(००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। बस त्रिशूली नदीमा पुगेको छ। बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको उनले बताए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका- २ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन्। ‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उपचार सम्भव नभएकालाई काठमाडौं पठाइएको छ,’ उनले भनिन्।
काठमाडौं: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको त्रिशुली नदीमा बस खसेको छ । यतिबेला इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ । दुर्घटनामा परेको बसको नम्बर खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
काठमाण्डौ: वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो । चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताउनुभयो । अहिले नेपाली विद्यार्थीहरु नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् । चिकित्सा शिक्षा आयोगका सदस्यसचिव काप्रीले सम्बद्ध निकायले सूचना मार्फत् विद्यार्थीलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा तथ्याङ्कगत अध्ययन रहेकोमा पनि जोड दिनुभयो । उहाँले नियमनकारी निकायको प्रभावकारीता नदेखिँदा अभिभावक र विद्यार्थी अन्योलमा परेका बताउनुभयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगले समन्वय नगर्दा समस्या निम्तिएको टिप्पणी गर्नुभएको छ । उहाँले भारत सरकारले एक सय ५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै ती मध्ये धेरैजसो सीमा क्षेत्रमै स्थापना भएका बताउनुभयो । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका अध्यक्ष निर्मल सापकोटाले २० वर्षदेखि सञ्चालनमा रहेका पुराना शिक्षण संस्थालाई राज्यले उपेक्षा गर्न खोजेको बताउनुभयो । पछिल्लो समय चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच प्रभावकारी समन्वय नहुँदा र क्षेत्राधिकार बाँडफाँटमा मतभेद हुँदा नर्सिङ शिक्षामा समस्या उत्पन्न भएको छ ।
अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गर्नुभएको छ । भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो । होलान नेपाली समुदायका बीच परिचित सिनेटर हुनुहुन्छ । उहाँले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपीएस) मार्फत स्थायी बसोबासका लागि समेत बिल तयार पार्नुभएको थियो । मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने होलान डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुनुहुन्छ । रासस
पोखरा: कास्कीको मादी गाउँपालिका ६ चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला –सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । अविरल वर्षासंगै चिप्ली खोलामा पहिरो जाँदा काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको मादी गाउँपालिका ६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए । ‘केहीदिन यता वर्षा निरन्तर भइरहेको छ, वर्षासँगै मादी ६ चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘यही स्थानमा एक महिना अगाडि पनि पहिरो गएको थियो, आज पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको छ, घाम नलागेसम्म पहिरो हटाउन सकिदैन ।’ उनले काहुँखोला–सिक्लेस सडकखण्ड पहिरोका कारण अवरुद्ध भएकाले यात्रुहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुग्न सक्ने बताए । ‘काहुँखोला–सिक्लेस सडकखण्ड चिप्लीमा मात्र अवरुद्ध भएको हो, पहिरोबाट नै हिडेर सडक पार गर्न सकिदैन जोखिम धेरै छ’, उनले भने, ‘केही मिनेटको यात्रामा नजिकैको झुलुङ्गे पुल तरेपछि पुनः सडकमा जोडिन सकिन्छ, यात्रुले सवारी परिवर्तन गरेपछि गन्तव्यमा पुग्न सक्छन् ।’ वर्षा रोकिएपछि सडक खुलाउने तयारी भइरहेको उनले जानकारी दिए ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ। केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो। नेकपा ९एकीकृत समाजवादी०को विद्यार्थी संगठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै तालाबन्दी गरेको हो। ३८ दिनदेखिको तालाबन्दीले विश्वविद्यालयका कामकाज प्रभावित भएका छन्। विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आङ्गिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ। एमाले निकट अनेरास्ववियुले सहमतिमा ताला खोले पनि अरूविद्यार्थी सङ्गठनको ताला हालसम्म खुल्न नसकेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए। ‘विद्यार्थी सङ्गठनले नियुक्ति खारेजीको माग राखेका छन्,’ उनले भने, ‘विश्वविद्यालयले नियमसङ्गत गरेको नियुक्त खारेज नहुने भएपछि पटक–पटक वार्ता र संवाद हुँदा पनि निष्कर्षमा पुग्न सकिएको छैन।’ विश्वविद्यालयमा भएको तालाबन्दी महिनाभन्दा बढी हुँदासमेत विश्वविद्यालय सञ्चालन गर्न कसैले चासो लिएको पाइँदैन। विश्वविद्यालयले गरेका हरेक निर्णयमा जहिले पनि तालाबन्दी हुने गरेको छ। यसअघि पनि विश्वविद्यालयमा नौ महिनासम्म तालाबन्दी गरिएको थियो। विद्यार्थी सङ्गठनले भने आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी खोल्न नसक्ने बताएका छन्। राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष प्रेम रावलले एक महिनासम्म तालाबन्दी हुँदासमेत विश्वविद्यालयका पदाधिकारीले कुनै चासो नदिएको बताए। ‘विश्वविद्यालयमा राजनीतिक भागवन्डा अन्त्य हुनुपर्छ,’ उनले भने, ‘माग पूरा नभएसम्म ताल खुल्दैन।’ एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले समाजशास्त्र छैटौं सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएकाले तालाबन्दी गरेको बताए। ‘विश्वविद्यालयका पदाधिकारीले आफ्नो कार्यकाल सकिने बेला आर्थिकलाभ हुने गरी आङ्गिक क्याम्पसको सम्बन्धन दिएका छन्,’ उनले भने, ‘विश्वविद्यालयले गरेका अवैध नियुक्ति खारेज हुनुपर्छ।’ विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा राजनीतिक भागवन्डाले विशवविद्यालय धरासायी हुँदै गएको छ। विश्वविद्यालयसँग कुनै माग भए वार्ता र संवादका माध्यमबाट सामाधान गर्नुको साटो लामो समयसम्म बन्द, हडताल हुनु दुःखद् भएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन डा टेकराज पन्तले बताए। ‘राजनीतिले हाम्रा संस्थालाई दुस्प्रभावित गर्दै आएको छ,’ उनले भने, ‘विश्वविद्यालयमा प्राध्यापक कर्मचारीको राजनीतिक संलग्नताले पनि विवाद हुने गरेको छ।’ उच्च शिक्षाको पहुँचबाट लामो समय बञ्चित रहेको सुदूरपश्चिममा स्थानीय जनताको माग र सबैको साझा प्रयासले २०६७ सालमा सुदूरपश्चिमेलीको मागबमोजिम नेपाल सरकारले यस भेगमा विश्वविद्यालयको स्थापना गर्यो। विश्वविद्यालय स्थापना हुनु खुसीको विषय भए पनि विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक र अन्य कर्मचारी नियुक्तिमा हुने राजनीतिक भागवन्डाले विश्वविद्यालयको साख खस्किँदै गएको छ।
काठमाडौं: प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले श्रेष्ठलाई सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

