विराटनगर: कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्। यसअघि थापाले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन्। यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दाबी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात् ४७ सांसद छन्। गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आजै पदबाट राजीनामा दिएका थिए ।
पोखरा: जिल्ला प्रहरी कार्यालयमा अनलाइनमार्फत ठगी गरेको भन्दै ४ सय २ वटा उजरी परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्ष २०७९/०८० मा भएको कार्यप्रगति सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत विभिन्न चिठ्ठा परेको भन्दै ठगी गर्ने विरुद्ध ४ सय २ वटा उजरी परेको जानकारी दिइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डिएसपी श्रवण कुमार बिकले अनलाइनमार्फत ४ करोड ३५ लाख बराबरको ठगी गरेको भन्दै उजुरी परेको बताए । ‘सामाजिक सञ्जा मार्फत विभिन्न व्यक्तिहरुलाई उपहार परेको भन्दै म्यासेज पठाउने र उपहार पाउन केही रकम पठाउनुपर्ने सर्त गिरोहले ठगी गर्ने गरेको पाइएको छ’ सूचना अधिकारीले भने, ‘अनलाइनमार्फत कास्कीमा ४ सय २ वटा उजुरी पर्दा ४ करोड ३५ लाख बढी ठगी गरेको पाइएको छ ।’ उनका अनुसार पीडितलाई ५७ लाख ५२ हजार ७ सय ७० रुपैयाँ फिर्ता गरिएको छ । थप अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी बिकले बताए । यस्तै उनका अनुसार सामाजिक सञ्जालमार्फत आइडी फेक बनाएर गाली बेइज्जत, अश्लिल वा अर्यादित कुराकानी गरेको भन्दै ४ सय १९ जनाले उजुरी दिएका छन् । कास्की प्रहरीमा गत आर्थिक वर्ष २ सय २६ जना महिला, १ सय ६६ जना पुरुष, २३ जना बालिका र ४ जना बालकले आइडी फेक बनाएर सामाजिक सञ्जाल मार्फत अमर्यादित कुराकानी गरेको भन्दै उजुरी दिइएको तथ्याङ्का उल्लेख छ । यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष विभिन्न स्थानबाट २ हजार २ सय ८६ वटा मोवाइल हराएको भन्दै उजरी परेको जानकारी दिएको छ । प्रहरीले उजुरीको आधारमा २ सय ८६ वटा मोवाईल फेला पारेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको र बाँकी अनुसन्धानमा रहेको जनाएको छ । यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष बर्दीको दुरुपयोग गर्दै टिकटक बनाउने ८ जनासहित ४९ जना प्रहरीलाई कारवाही गरेको जनाएको छ ।
काठमाडौं: नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमानदारीबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताउनुभएको छ। मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै नेताहरु बन्नुपर्ने जति इमानदार बन्न नसकेको बताउनुभएको हो। उहाँले देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने बताउनुभयो। उहाँले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको बताउनुभयो। नेपालले कुनै पनि कार्य गर्न इमानदारी मुख्य कुरा रहेको भन्दै सबै व्यक्ति आफूप्रति इमानदार हुनुपर्ने बताउनुभयो। नेपालले भन्नुभयो,ूजे सुकै गर्नका लागि पहिलो कुरा इमानदारी हो। आफूप्रति इमानदार हौं। आफ्नो पढाइप्रति इमानदार हौं। र, मिहिनेती बन्नुपर्छ। इमानदार र मेहनती भयो भने जस्तोसुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ। अल्छी हुनुहुँदैन, ढाँट्नु हुँदैन, छलछाम गर्नु हुँदैन। हामी आफ्नो देश बनाउन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न खडा भएको छ। हाम्रो स्वाधीनता र सम्मानमा ठेस लाग्ने काम भयो भने नेपालीलाई त्यो स्वीकार्य हुँदैन। जनताको सन्दर्भमा पनि जनतामा भेदभाव, अन्याय, अत्याचार भयो भने थिचोमिचो भयो भने अनि एउटाले अर्कोलाई विभिन्न हिसाबले गरिब भनेर हेला गर्ने, दलित भनेर हेला गर्ने, विपन्न भनेर हेला गर्ने यस्तो प्रवृत्ति भयो भने यो देशले प्रगति गर्न सक्दैन।’’ नेपालले संविधानमा अधिकारहरु थुप्रै दिए पनि लागू हुने कुरामा कमी देखिएको उहाँको भनाइ छ।
काठमाण्डौ: प्रतिनिधिसभाको आज मङ्गलवारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । हिजो सोमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुनः सूचना टाँस गर्दै स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक साउन २२ गते सोमवारका लागि तोक्नुभएको छ । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
पोखरा: ‘जीवनमा सपना देख्नका लागि आँखा होइन, हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ ।’ सोमबार दिउँसो पामे फाँटको प्यारा ल्याण्डिङ जोनमा झरेपछि ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसीले पत्रकारहरुमाझ आफ्नो साहस पस्किइन् । ‘आज एउटा सपना पुरा भएको छ । मैले बादल छोए र हिमाल देखे, फेवाताल नियाले,’ उनले थपिन् । सृष्टीसँग आँखा छन् तर त्यो आँखाले संसार देख्न छाडेको करिब १३ वर्ष बितिसकेको छ । सृष्टिलाई १६ वर्षको उमेरसम्म सेतो छडीको आवश्यक थिएन । पछि उनले आँखाको ज्योति गुमाइन् र दृष्टिबिहीन बनिन् । उनै सृष्टि ब्लाइन्ड रक्स नेपालको संस्थापक अध्यक्ष बनिन् । संस्थाको नेतृत्वको जिम्मेवारी पाएसँगै उनको एउटै धेय छ, फरक क्षमता भएका (दृष्टिबिहीन) हरु पनि अन्य अन्य नागरिक सरहनै अब्बल हुन्छन् भन्ने सन्देश दिने । त्यसैले उनलाई चुनौती सामना गर्न औधी मन पर्छ । विशेषगरी शाहसिक गतिविधिमा रुचि राख्ने उनी आफुसँगै अन्य दृष्टिबिहीनहरुलाई पनि हातेमालो गर्दै रक क्लाइम्बिङ र र्याफ्टिङको अनुभव बटुले । त्यसपछि ब्लाइन्ड रक्सको टोलीलाई पोखराको आकाशमा उड्ने हुटहुटी बढ्यो र सोमबारको सेडुअल बन्यो । यो पनि पढ्नुहोस पोखराको आकाशमा ‘ब्लाइन्ड रक्स’ (फोटोफिचर) सृष्टिसँगै अन्य ११ जना (सम्भवी दवाडी (सुनिता), नारायणी दवाडी, मीना भुजेल, मोम्सरा सुनार, चाँदनी शर्मा र रोजिना घिमिरे, क्रिष्टोफर जे जोन्स र थोमस सिड्लिङ (विदेशी), अमीता खड्का, वासिम अन्सारी र सहबाज अन्सारी) पोखराको खुला आकाशमा उडे । प्याराग्लाइडिङ गरे । जोसँग आँखाको दृष्टी नभएपनि मन र आत्माको दृष्टिले खुलेका हिमाल देखे, फेवाताल हेरे । यो कुरा सृष्टिले अवतरण पश्चात अनुभवमार्फत सुनाइन् । ब्लाइन्ड रक्सको अन्य टोलीले पहिलोपटक प्याराग्लाइडिङ गरेपनि सृष्टीले भने दोस्रो पटक प्याराग्लाइडिङको अनुभव बटुलिन् । उनीहरुलाई यो अवसर नेपाल हवाई खेलकुद संस्था (ना), लायन्स क्लब, पोखरा महानगरपालिकाले जुटाइदिएको हो । ‘हामीलाई यो अवसर जुटाइदिनुहुने ‘ना’ टिम, लायन्स क्लब र पोखरा महानगरपालिकाको मेयर सरप्रति आभारी छौ, उनले भनिन्, ‘दृष्टिबिहीनहरु पनि शासहिक गतिविधिमा सहभागि हुन सक्छन् भन्ने सन्देश दिन पायौ । यो अवसरका लागि धन्यवाद पोखरा ।’ सृष्टिसँग प्याराग्लाइडिङको अनुभव भएपनि त्यो महसुस अन्य साथीहरुलाई पनि गराउनु थियो । त्यसैले आफ्नै जोडबलमा सेडुअल बनाएको बताइन् । ‘यो भन्दा अगाडि पनि मैले प्याराग्लाइडिङ गरेको थिए, मैले त्यो बेलाको उत्साह सुनाएको भए उनीहरु सुन्नी मात्र थिए तर उनीहरु आफैले पनि महसुस गर्नुपर्छ भनेर यो सेडुअल बनाएका हौं,’ उनले भनिन् । ब्लाइन्ड रक्सको प्याराग्लाडिङले समावेशी पर्यटन प्रर्वद्धन गर्न टेवा पुर्याउने बताइन् । ‘शारीरिक अपाङ्गता भएको नागरिकलाई हेर्ने दृष्टिकोण समाजमा फरक छ’, केसीले भनिन्, ‘समावेशी पर्यटनको विकास गर्नका निम्ति नै प्याराग्लाइडिङ गरेका हौं । यसले केही सघाउ पुग्छ भन्ने हाम्रो विश्वास छ ।’ उनले जीवनमा सफलता प्राप्त गर्न दृष्टि मात्रै बाधक नहुने बताउदै भनिन्, ‘जीवनको उचाइमा पुग्न, सफलता हाँसिल गर्न दृष्टिबिहीनतामा सिमित हुनुहुदैन । त्यो भन्दामाथि उठ्न सक्छौ, उड्न सक्छौ त्यसैले जीवनमा सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ ।’
पाेखरा: मंगलबार बिहान बगरबाट महिन्द्रा पिकअपमा फोहोर राखेर शान्तिवनमा फाल्न आउनेक्रममा रेशम थापामगर समातिएका छन् । मगरले बिहान ८ बजेतिर गाडीमा फोहोर लिएर आएको र शान्तिवन क्षेत्रमा फाल्न लाग्दा नजिकै रहेको तरकारी बजारमा कार्यरत सुरक्षाकर्मीले चाल पाएपछि समातिएका हुन् । उनीहरुले बताएअनुसार यसअघि पनि मगरले यसरी नै फोहोर फालेको आशंका छ । ‘यसअघि पनि यहाँको सडकक्षेत्रमा फोहोरको डंगुर फालिएको पाइएको छ’ त्यहाँका एक सुरक्षाकर्मीले भने ‘यही रेशमकै काम हो भन्नेमा आज विश्वस्त भइयो ।’ मगरले आज बिहान तरकारी बजारबाट एक गाडी सामान बगर पुर्याएका थिए । त्यसपछि फर्कदा उनले त्यहाँको पसल र अन्यत्र स्थानबाट फोहोर संकलन गरेर ल्याएका थिए । मगरले महिन्द्रा पिकअपबाट बिहान तरकारी डेलिभरी गर्दै आएका छन् । उनलाई समातेपछि महानगर र वडा सचिव लोकदर्शन कोइरालालाई खबर गरिएको थियो । फोहोर बोकेर आउने पिकअप शान्तिवनस्थित दमकल परिसरमा राखिएको छ । सचिव कोइराला भन्छन् ‘गाडीवालाले फोहोर उठाउने मासिक काम लिएको शंका छ, उनी पटके हुन् भन्ने सूचना पाएका छौं ।’ सम्बन्धित गाडीधनी र चालकलाई कुरेर बसेको भन्दै कोइरालाले उनीहरु आएपछि के–कस्तो जरिवाना गर्ने भन्ने विषयमा छलफल हुने बताए । पोखरा ३३ लामेआहालमा फोहोर फाल्न नदिएपछि अहिले पोखराका सडकमा फोहोर थुप्रिएको र वर्षाले उक्त फोहोर सडकभर छरिने गरेको छ ।
काठमाण्डाै: कोशी प्रदेशको नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ । सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भए पछि गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा सभामुख गौतम राजीनामा दिन सहमत हुनु भएको हो । गठबन्धन दलबाट कांग्रेस नेता उद्धव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भएको बुझिएको छ । सरकार गठनका लागि ९३ सदस्यीय प्रदेश सभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउन लागिएको हो । मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ । गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठनको तयारी भएको हो ।
जनकपुरधाम: सिरहामा एक युवकको शव फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो । युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी राजनराज पाण्डेले जानकारी दिए । आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी पाण्डेले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए ।
काठमाण्डौ: विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ । स्तनपानको महत्त्वबारे जानकारी दिन हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँ र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आह्वान गर्दै आएको छ । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ। दूधमा रोग निरोधक तत्त्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । डाक्टरकाअनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर ६ महिनामुनिका ४४ प्रतिशत शिशुलाई मात्र स्तनपान गराउने गरेको पाइएको छ । यस्तै, स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिक रूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ ।

