गण्डकी: सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा लगायको कर खारेज गर्नुको विकल्प नभएको बताउनु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आज आयोजित वन महासंघ गण्डकी प्रदेशको दोश्रो पूर्ण बैठकलाई सम्वोधन गर्दै उहाँले वनका हेरालोका रुपमा रहेका समुहसंग कर लिनु न्यायोचित नहुने बताउनुभयो । कृषिको मौसम र प्रचण्ड गर्मीको प्रवाह नगरि वागमती र लुम्विनी प्रदेश सरकारले वनमा लगाएको २० प्रतिशत कर फिर्ता लिन माग गर्दै उपभोक्ताहरु आन्दोलनरत रहेको बताउँदै उहाँले सामुदायिक वन प्रकृति, संस्कृति, वातावरणमैत्री, सामाजिक र आर्थिक पक्ष भएको हुदा कर छुट गर्न आग्रह गर्नुभयो । कृषि वन, पर्यापर्यटन, उद्यम विकास र व्यवसायिक वन्यजन्तु पालनबाट समृद्धि प्राप्ति गर्न सकिनेमा महासंघले जोड दिंदंै आएको बताउँदै उहाँले प्राकृतिक श्रोतको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिनुपर्ने आवश्यकता औल्याउनुभयो । वन पैदावार समितिमा सवै भन्दा बढी अनियमितता हुने गरेको बताउँदै उहाँले त्यसबाट संकलित रकमबाट समाजका गरिव, दलित एवम् विपन्न वर्गलाई सुविधा दिन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । सामुदायिक वनका अभियन्ताले वन ऐन र विनियमले गरेका व्यवस्थावारे सुस्म तरिकाले अध्ययन गर्नुपर्नेमा जोड दिंदै भण्डारीले भन्नुभयो, परियोजनाहरु महासंघको समन्वयमा सञ्चालन हुनु पर्ने आवश्यकता औल्याउनुभयो । वन महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले गण्डकी प्रदेश सरकारले तयार गरेको प्रदेश वन ऐन मस्यौदामा विभिन्न १४ बुँदे सम्शोधन प्रस्ताव पेश गरेको जानकारी दिनुभयो । कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु हरि बास्तोला, दोवबहादुर कार्की र खुमप्रसाद सुवेदी प्रदेश महासंघ उपाध्यक्षव्दय खगराज सापकोटा र किशोर सापकोटा, महासचिव आँशु विश्वकर्मा, कोषाध्यक्ष लिला दवाडी लगायतले वनको महत्व र भए गरेका गतिविधि माथि चर्चा गर्नुभयो । गण्डकी प्रदेश अन्तर्गतका महासंघका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्य, जिल्ला अध्यक्षहरु र विभिन्न समितिका संयोजक एवम् सदस्यको सहभागिता रहेको बैठकले करको खारेजीको माग गर्दै वागमती र लुम्विनी प्रदेश महासंघले शुरु गरेको आन्दोलनमा एकेवद्धता जनाएको छ ।
छापा मारेर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो २ बजे धनगढीको बोराडाडीको एक होटलमा किनबेच गर्न लागिएको अवस्थामा चितुवाको छाला बरामद गरिएको हो। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको सादा पोसाकमा खटिएको टोलीले छालासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ४८ वर्षीय बामदेव जोशी र डडेल्धुराको परशुराम नगरपालिका–१२ का १७ वर्षीय गोविन्द भट्टराई छन्। उनीहरूले ३ लाख ५० हजार रुपैयाँमा चितुवाको छाला किनबेच गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा आवश्यक कारबाहीका लागि पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
काठमाडौँ: जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा। सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गर्नुभएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताउनुभयो । बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने निर्णय गरेको छ । पार्टीले आज स्थानीय जनप्रतिनिधिसम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ । बैठकमा वडाध्यक्ष, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ । रासस
दोलखामा पहिरोमा परेर तीन वर्षका एक बालकको ज्यान गएको छ । यस्तै पहिरोमा परेर तीन जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गए राति पहिरो गएको हो । पहिरोको विस्तृत जानकारी आउन सकेको छैन । तर पहिरोले पाँच घर बगाएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परेर ज्यान गुमाएका तीन वर्षका प्रिन्स थामीका आमाबुवाको नाम खुल्न बाँकी छ भने घाइते भएकाको पनि परिचय खुलेको छैन । दुई जना घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको छ । एक जनाको भने दोलखामा नै उपचार भइरहेको छ । यस्तै पहिरोमा परेर हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती बेपत्ता भएका छन् ।
काठमाडौं: हनी ट्रयाप पारी लाखौं ठगी गरिसकेको अवस्थामा एक गिरोह समातिएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले एक युवतीसहित ४ जनालाई नियन्त्रण लिएको हो। जसमा झापा बिर्तामोड नगरपालिका ९ घरभइ काठमाडौं बानेश्वर बस्ने २४ वर्षकी अनिता मगर भनेर चिनिने सिया मगर रहेकी छन्। उनले बिवाहित केटाहरुसँग सामाजिक सञ्जालमा जोडिएर सम्बन्धमा बस्ने सम्मको कुरा गर्ने गरेकी थिइन्। त्यसपछि गिरोह लगाएर पैसाको माग गर्ने गरेकी प्रहरीले जनाएको छ। गिरोहले पीडितहरुलाई फेसबुकमा अनिता मगरको नामबाट साथी बनाउने गरेका थिए। त्यसपछि मेसेन्जरबाट कुराकानी गर्ने र सियाले पिडितहरुलाई विभिन्न स्थान तथा होटलमा जानको लागि अनुरोध गर्ने गरेकी प्रहरीले जनाएको छ। होटलमा सामान्य कुराकानी गरी विभिन्न बाहानामा बाहिर निस्कने र सियाले आफुहरुको सम्बन्ध आफ्नो दाजु भाउजुले थाहा पाएको भन्दै उनीहरुले भने अनुसार नै गर्न अह्राउने गरेकी अनुसन्धानबाट खुलेको छ। त्यसलगत्तै गिरोहका अन्य सदस्यले पीडितहरुलाई कल तथा म्यासेज गरी धाकधम्की दिने, रकम माग गर्ने तथा ब्याल्यकमेलिङ गर्ने गरेपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए। सिया मगरलाई पत्रकारको भुमिका खेली पैसाको डिमाण्ड गर्न सिन्धुपाल्चोक बलेफी गा.पा. ४ मान्खा घर भई बानेश्वर बस्ने दिपक पराजुलीले सहयोग गरेका थिए। गिरोहमा पक्राउ परेका उनी पेशाले गाडी चालक हुन्। उनले पिडितहरुलाई भने आफु गृह मन्त्रालयको प्रेस सल्लाहकार बताउने गरेका प्रहरीले बताएको छ। पराजुलीले पीडितको सम्पुर्ण विवरण रेकर्ड राखी पैसाको माग गरी पत्रकार हुँ भन्दै तर्साउने भुमिका खेलेका थिए। गिरोहमा म्यासेज र भेट गरी ब्याल्यकमेलिङ गर्ने भुमिका राइडरले खेलेका थिए। पेशाले राइठ सेयरिङ गर्ने बलेफीकै २७ वर्षका विमल सुवेदीले धाक धम्की दिएर पैसा माग गर्ने गरेका प्रहरीले जनाएको छ। सोही पेशामा लागेका सिन्धुपाल्चोक सुनकोशी गा।पा। ७ घरभइ भक्तपुर जिल्ला सानोठिमी बस्ने २४ वर्षका सरोज तिमल्सेनाले भने भेट गर्न बोलाएका बेला निगरानी गरेर डर त्रास देखाउने गरेका ललितपुर प्रहरीले जनाएको छ। गिरोहविरुद्धको उजुरीमाथि अनुसन्धानका क्रममा ३ लाखको चेक लिइसकेको अवस्थामा काठमाडौं बालकुमारीस्थित द बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकनबाट बुधबार पक्राउगरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो। उनीहरुको साथबाट धाकधम्की दिन प्रयोग गरिएको मोबाइलको सीमकार्ड, पिडितले दिएको चेकसहित अन्य प्रमाणहरुसमेत बरामद गरेको छ। उक्त गिरोहले अर्का एक जना पीडितबाट समेत २०८० असार २८ गते ३ लाख २५ हजार रुपैंया लिएको पाइएको ललितपुर प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध दुइ जना पिडितहरुले आपराधिक लाभको कसुरमा जाहेरी दिएका छन्। उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
काठमाडौँ: नेकपा ९एकीकृत समाजवादी० को सचिवालय बैठक शुक्रवार बिहान सुरु भएको छ । एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले काठमाडौँको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा ६२ औँ सचिवालय बैठक सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा स्थायी कमिटी बैठक, पोलिटब्युरो बैठकको तयारी, सङ्गठनात्मक व्यवस्थापन एवम् समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, वेदुराम भुसाल लगायतका नेता सहभागी हुनुहुन्छ ।
विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् । हिजो बिहीवार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सुनिल थापा नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो । यस्तै तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी हुनुहुन्छ । उहाँको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर नेपालीले बताउनुभयो ।
स्याङ्जा: स्याङ्जाका सबै पालिकाका खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै पालिकाका खानेपानीका मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धारा शर्माका अनुसार जिल्लाका ११ पालिकाबाट खानेपानीका ९४ नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो । कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आँधीखोलामा आठ–आठ, बिरुवा र गल्याङ्मा छ–छ, अर्जुनचौपारीमा पाँच, फेदीखोला र हरिनासमा चार–चार खानेपानीका नमुना सङ्कलन गरी परीक्षण गरेको थियो । ‘मुहान, ट्याङ्की, धारा र घरबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा हुने कोलीफर्मको किटाणु अत्यधिक मात्रा पाइएको छ’, प्रमुख शर्माले भन्नुभयो, ‘सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराबाट समेत पानीका नमुना परीक्षण गरिएका थिए ।’ सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव छ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्म भेटिएको छ । चापाकोट नगरपालिकामा ६२ दशमलव छ, फेदीखोला र हरिनास गाउँपालिकामा ५० दशमलव ५०, भिरकोट नगरपालिकामा ४६ दशमलव एक, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माले बताउनुभयो । यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७ दशमलव पाँच प्रतिशत कोलीफर्मका किटाणु भेटिएका थिए । प्रमुख शर्माले गएको वर्षको तुलनामा यस वर्ष पानीको शुद्धतामा केही प्रतिशत वृद्धि भएको बताउनुभयो । उहाँले पानीको शुद्धता बढे पनि अत्यधिक कोलीर्फम भेटिनु सुखद नतिजा नभएको उल्लेख गर्नुभयो । गएको आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ नमुना परीक्षण गरिएकामा ५२ प्रतिशत कोलीफर्म भेटिएको थियो । कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि असर गर्छ ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गरेको समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ मा १ करोड २०लाख ३१ हजार ५ सय ८६ रुपैयाँ आम्दानी भएको जनाएको छ । गएको मंसिर १६ देखि २५ गते सम्म पोखरा ९ नयाँबजार प्रर्दशनी केन्द्रमा सञ्चालन गरेको मेलामा उक्त आम्दानी भएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए । ‘समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार २०७९ सफलतापूर्वक सम्पन्न भएको थियो, मेलामा १ करोड २० लाख ३१ हजार ५ सय ८६रुपैयाँ आम्दानी भएको थियो’, अध्यक्ष प्रजापतिले भने, ‘मेलामा आम्दानी भएको रकम मध्ये १ करोड ५ लाख ९० हजार ९ सय ६० रुपैयाँ खर्च भएको छ ।’ मेलामा आम्दानी र खर्च कटाएर १३ लाख ४० हजार ६ सय २६ रुपैयाँ बचत भएको अध्यक्ष पजापतिले बताए । संघका अध्यक्ष प्रजापतिले व्यवसायीहरुलाई उद्यमशीलता बनाउने गरी मेला आयोजना गरिएको दावी गरे । ‘मेला भनेर हामीले टाउको गन्न होइन, व्यवसायी प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य लिएका थियौं’, उनले भने, ‘मेलामा उत्पादन क्षेत्र बढाउने, व्यवसायीक प्रवद्र्धन र उद्यमशीलताको विकास लक्षित मेला आयोजना गरेका हौं ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा व्यवसायीमा भार थपिएको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पोखरा उद्योग वाणिज्य संघले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ’, उनले भने, ‘विमानस्थलमा अन्र्तराष्ट्रिय उडान नहुँदा व्यवसायीमा भार थपिएको छ ।’ मेलामा डोमतर्फ ७८, अटो मोबाइल्सका ४५ र अन्य विभिन्न खालका १ सय २० गरी २ सय ५० स्टल राखिएको थियो । पोखरा उद्योग वाणिज्य संघले आगामी मंसिर तेस्रो सातादेखि अर्को संस्करणको राष्ट्रिय औद्योगिक व्यापार आयोजना गर्ने जानकारी दिए । ‘मंसिर तेस्रो सातादेखि पुस १ गतेसम्म अर्को संस्करणको औद्योगिक व्यापार मेला २०८० आयोजना गर्दै छौें’, उनले भने, ‘मेलालाई देखाउन भन्दा पनि व्यवसायीहरुलाई प्रत्यक्ष लाभ मिल्ने गरी औद्योगिक व्यापार मेला सञ्चालन गर्ने छौं ।’ आगामी संस्करणमा सञ्चालन हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा संघ सुरक्षाको विषयमा गम्भिर भएको जनाएको छ ।

