पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:      बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतले बतायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् । ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालको नामसमेत यही मुद्दामा जोडिने गरेको छ । मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता) मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यसबारे अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा र शोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित छ । २०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन् । अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।

चितवन: चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङको ज्यान गएको हो ।    उहाँलाई खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेको केरा घारीमा हिजो आइतवार दिउँसो बाघले आक्रमण गरेको थियो ।    चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।   बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिवारदेखि नै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

पोखरा:  गाँस, बास र कपासको जोहो गर्न समस्या भएको भन्दै दैलेखबाट राउटे समुदायका अगुवाहरु गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट्न पोखरा आएका छन् ।    आर्थिक सहायताका लागि अनुरोध गरेपछि मुख्यमन्त्री ज्यूले गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन्  ।    मुख्यमन्त्री पाण्डेले राउटे समुदायले भोग्नुपरेको समस्या, अहिलेको अवस्था, कानुनी अड्चन लगायतका बारेमा जानकारी लिदै आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।   राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।     राउटे समुदायले हरेक वर्ष जस्तै यस वर्षपनि विभिन्न प्रदेशबाट सहयोग संकलन गरेको बताए ।    उक्त रकम राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गर्दै आएको राउटे अगुवा लालबहादुर शाहीले सुनाए ।   सो अवसरमा राउटे समुदायको तर्फबाट काठको चौका उपहार दिएका थिए ।  

काठमाडौं:    नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले ‘जनतासँग माओवादी’ तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले अध्यक्षले प्रस्ताव गरेको ‘जनतामा माओवादी’, ‘जनतासँग माओवादी’, ‘विशेष रुपान्तरणका लागि तीन महिने अभियान सर्वसम्मतले पारित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा अभियान अध्यक्षले राख्नुभएको प्रस्ताव सर्वसम्मतले पास भयो।जनतामा माओवादी, जनतासँग माओवादी विशेष रुपान्तरणका लागि तीन महिने अभियान।भाद्र १६ गत त्यो अनुसार अभियानमा जनताको घर–घरमा जाने, आठौं राष्ट्रिय महाधिवेशन लगायतका अभियान ।” उहाँले यसका लागि दस्तावेज तयार एवम् कार्य विभाजन भएको बताउनुभयो।

पोखरा:  नेपाली कांग्रेस गोरखा निर्वाचन क्षेत्र नम्बर २(१) का सभापति दीर्घमान गुरुङ (नारायण) जेल चलान भएका छन् ।   गुरुङविरुद्ध सरकारी दस्तखत किर्ते कसुरमा २०६१ जेठ १८ गते जिल्ला अदालतले एक वर्षको कैद सजाँय सुनाएको थियो ।    त्यसपछि उनी फरार थिए ।  फरार रहेका गुरुङलाई प्रहरीले गत असार २० गते पक्राउ गरेको थियो । त्यसपछि अदालतको फैसला कार्यान्वयनका लागि गुरुङलाई पक्राउ गरेसँगै डिल्लीबजार जेल चलान गरेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।   उनले पहिल्यैदेखि सरकारी कागजात बनाउनका लागि किर्ते दस्तखत गर्दै आएकाे बताइएकाे छ ।   अहिले जेल चलान भएपछि नेपाली कांग्रेसले गुरुङलाई निलम्बन गरेको छ ।    जिल्ला समिति गोरखाले प्रेस विज्ञप्ति जारी गर्दै गुरुङ फौजदारी अभियोगमा थुनामा रहेकाले उनलाई पार्टीको सदस्य पदबाट निलम्बन गरेको बताएको छ ।   जिल्ला सचिव कृष्णबहादुर आलेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद २, दफा ४ को उपदफा १३(ङ) अनुसार गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. २(१) का दीर्घमान गुरुङ फौजदारी अभियोगमा थुनामा रहेकाले पार्टीको सदस्य पदबाट निलम्बन गरिएको छ ।’   

सल्यानमा एक जना महिलाको शव फेला परेको छ।   आइतबार शारदा नगरपालिका- १४ धारपानीस्थित मकैबारीमा ४५ वर्षीया प्रमिला गिरीको शव फेला परेको हो।  जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीका अनुसार प्रमिलाको घाँटीमा चोट देखिएको छ।   ‘केही बेर अगाडि सूचना आएपछि घटनास्थलमा आइपुगेका छौं, ’ उनले भने, ‘घटना आजै बिहान भएको हो वा रातिमा त्यो अनुसन्धान पछि थाहा हुन्छ।’   प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। प्रहरीले स्थानीयसँग सोधपुछ गरिरहेको छ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोजको पहिलो वा तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्नुहुने भएको छ ।  परराष्ट्रमन्त्री एनपी साउदले आइतबार उहाँले सेप्टेम्बरको तेस्रो÷चौथो  (असोजको पहिलो वा तेस्रो) साता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो ।  प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भन्नुभयो, “हामी त्यसको तयारी अवस्थामा छौँ ।” उहाँले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पार्नुभयो । वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मनाङ:     यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक  आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनामा पर्यटकले मोहित हुँदै मनाङ प्रवेश गर्छन् । यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन् । यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको मज्जा लिने गरेको उनीहरु भनाइ  छ ।  जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो होला भन्दै लोभ्याउने गरेको उनीहरु बताउँछन् । कजिनसारा ताल, ड्रोना ताल, गङ्गापूर्ण ताल, क्लिन लेक, ग्रिन लेक, ढुकुर पोखरी, आइसलेक, पोङ्कर ताल, तिलिचो ताललगायत छन् ।  यी तालले पर्यटकलाई आकर्षित गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आउने पर्यटकले विशेषगरी ताल, हिमशृङ्खला, झरनाले आकर्षित गरेको बताउँछन्, यहाँका ताल, झरनामा रमाउने र सहजरूपमा पुग्ने बनाउन लागिपरेका छौँ ।”     झरना र तालतलैयामा सहज पुग्ने विकास निर्माण र नयाँ तालको खोजीमा गाउँपालिका जुटेको उहाँले बताउनुभयो । “नयाँ ताल खोजी, भएका तालमा पूर्वाधार निर्माणका लागि बजेट नै छुट्याएका छौँ, हाम्रा गहनाको हामीले नै संरक्षण गर्ने हो”, उहाँले भन्नुभयो । चामे गाउँपालिकामा कजिनसारा, ड्रोना ताल पर्दछन् । मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल छन् । यहाँ ढुकुर पोखरी, ग्रिन लेक, क्लिन लेक, गङ्गापूर्ण ताल, तिलिचो ताल, आइसलेक, पोङ्कर ताल पर्दछन् । यहाँका तालसम्म पुग्ने बाटो बनाउने र तालसम्म पुग्ने पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको छ ।  यहाँका तालतलैयासम्म पुग्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि सघाउँदै आएको छ । तालसम्म पुग्ने बाटोमा गाउँपालिकासँगै एक्यापले विभिन्न चिह्न राख्ने काम गरेको जनाएको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यहाँका ताललाई सुरक्षित र संरक्षणका लागि बजेट छुट्याएको बताउनुभयो । यहाँ धेरै ताल रहेकाले कति ताल अझै गुमनाम रहेको उहाँले बताउनुभयो ।  हिमालबाट लुकेर आएको पानीले नै यहाँ अधिकांश ताल बन्ने गरेका छन् । यहाँको विकासका लागि पर्यटकको आगमनले अझै उत्साहित बनाउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । पर्यटनको हबका साथै मनाङलाई फिल्म छायाँङ्कनको क्षेत्रसमेत बनाउने गरी विकास गर्नुपर्ने उहाँको भनाइ छ ।  दुई याममा पर्यटक यहाँ घुम्न आउने गर्दछन् । ती यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।  अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । 

पोखरा:   गण्डकी प्रदेशको राजधानी पोखराबाट १ सय ५ जना खेलाडी यू–१९ फुटबलका लागि छनौट भएका छन् ।   मुख्य प्रशिक्षक किरण श्रेष्ठको टोलिले पोखराको रङ्गशालामा भएको २ दिने छनौट चरणबाट १ सय ५ जना चुनेका हुन् ।   गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङका अनुसार छनौट हुनेमा कास्कीबाट २६ जना, नवलपुरबाट १६, बागलुङबाट ३, लमजुङबाट १०, तनहुँबाट १७, स्याङजाबाट ११, गोरखाबाट ९, पर्वतबाट १ र म्याग्दीबाट ७ जना  छनौट भए ।    गण्डकी प्रदेशको मनाङ र मुस्ताङबाट खेलाडी छनौटमा नपरेको गुरुङले जानकारी दिए । यद्यपी पाल्पा, सुनकोशी, डोल्पाबाट १/१ जना परेका छन् भने नवलपरासीबाट २ जना चुनिएका छन् ।   ‘हामीले केन्द्रसँग समन्यव गरेर नै काम गरेका छौं, खेलाडीलाई जहाँ पायक पर्छ त्यही छनौट गर्न पाउने व्यवस्था मिलाएका कारण पोखराबाट अन्य प्रदेशका ५ जना खेलाडी भाइहरु पनि छनौट हुनुभाछ,’ गुरुङले भने ।   अब उनीहरु अन्तिम छनौटका लागि काठमाडौं जानेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)  का अनुसार अन्तिम छनौट आगामी अगष्ट ११ देखि १५ तारिखसम्म एन्फा कम्प्लेक्समा हुनेछ ।   नेपालका लागि अन्तिम छनौट भएपछि आगामी सेप्टेम्बर २१–३० सम्म आयोजना हुने एएफसी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।   गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङका अनुसार छनौट प्रतियोगितामा  २ सय ७२ बढी खेलाडी सहभागि थिए ।