काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गण्डकी प्रदेशको पोखरा लगायत आठ जिल्लामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को आय–ब्यय सार्वजनिक गरेको छ । नवौं आयोजनाको क्रममा ब्यवस्थापकीय र आर्थिक दृष्टिले आलोचित बनेको राखेपले प्रतियोगिता सकिएको १० महिनापछि बुधबार खर्च विवरण सार्वजनिक गरेको हो । प्राविधिक र प्रक्रियागत कारणले खर्च सार्वजनिक गर्न केही समय ढिला भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । ‘‘प्रतियोगिता दशैं र तिहारको बीचमा भयो । लगत्यै मंसिरमा भएको निर्वाचनमा राखेप कर्मचारी खटिनुपर्ने अवस्था आयो । विभिन्न शीर्षकको रकम रकमान्तरको प्रक्रिया पूरा गर्न २०८० को असार मसान्तको पहिलो सातासम्म लाग्यो । त्यसपछि खर्चको एकिन विवरण सार्वजनिक गर्न सकिएको हो,’’ सदस्य सचिव घिसिङले भन्नुभयो । घिसिङले नवौं प्रतियोगिता आठौंभन्दा भिन्न हिसावले भएको र कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता थप ब्यवस्थित र संघीयताको मर्मअनुसार आयोजना गरिने दावी पनि गर्नुभयो । ‘‘१०औं को मोडालिटी पूर्ण परिवर्तन हुनेछ । पूर्वाधार निर्माण, खेलाडीको खेल पोशाक, किट्स, बसोबास, खेल स्थलको ब्यवस्थापन जस्ता विषयलाई प्रदेशकै जिम्मा लगाईने छ । यसको विषयमा राखेपले थप अध्ययन गर्नेछ,’’ घिसिङले भन्नुभयो । नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि नेपाल सरकारले ६० करोड १० लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो । त्यससँगै राखेपले प्रायोजक, टिकट विक्री र बीमा संस्थानबाट ५१ लाख ५२ हजार सात सय रुपियाँ प्राप्त गरेको थियो । सरकार र प्रायोजक लगायतबाट कूल ६० करोड ६१ लाख ५२ हजार ७०० रुपियाँ प्राप्त गरेको राखेपले प्रतियोगिता सम्पन्न गर्न ५३ करोड ७९ लाख ४ हजार २३९ रुपियाँ खर्च गरेको उल्लेख गरेको छ । ६ करोड ८२ लाख बचत प्रतियोगिता आयोजना खर्च कटाएर ६ करोड ८२ लाख ४८ हजार ४६० रुपियाँ बचत गरेको पनि राखेपले जनाएको छ । राखेपले नवौंमा सहभागी खेलाडीले पाउने रकम सम्बिन्धित खेलाडीको खातामा पठाएको जानकारी पनि सदस्य सचिव घिसिङले दिनुभयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन हजार ४१४ पुरुष र दुई हजार ७१३ महिला गरी कूल ६ हजार १२७ खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कांस्यसहित कूल एक हजार ३४७ पदका प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सात प्रदेश, विभागीय तीन र एनआरएनए गरी ११ टिमले भाग लिएका थिए । जसमा विभागीय टोली त्रिभुवन आर्मी टिम च्याम्पियन बनेको थियो । राखेपले पहिलो पटक टिम च्याम्पियन टोलीलाई १० लाख रुपियाँको छुट्टै च्याम्पियन ट्रफी पुरस्कारको समेत ब्यवस्था गरेको थियो ।
पोखरा: आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले परम्परागत सीप, ज्ञान पुस्तान्तरण नहुँदा अहिले युवाहर बेरोजगार भएको बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले आयोजना गरेको २९ औं विश्व आदिवासी दिवसको उद्घाटनपछि बोल्दै अध्यक्ष थापामगरले यस्तो बताएका हुन् । संयुक्त राष्ट्रसंघले अहिले दिवस मनाउन, ‘आत्मनिर्माणको लागि परिवर्तनको सम्भाहक आदिवासी युवा’ मुख्य नारा अगाडि सारेको बताउँदै उनले यो नारालाई आदिवासी युवाहरु गलिे गम्भिर भए लिन आवश्यक रहेको बताए । ‘संयुक्त राष्ट्र संघको घोषणापत्रमा पनि आत्मनिर्णयको अधिकार आदिवासी जनजातिमा छ, त्यो अधिकारलाई प्रयोग गरेर आदिवासी जनजातिहरुले सामाजिक सांस्कृतिक,राजनीतिक निर्णयहरु गर्न पाउने उल्लेख गरेको छ’, अध्यक्ष थापामगरले भने । उनले यो अधिकारलाई नेपालको संविधानले पनि व्यवस्था गरेकाले आदिवासी जनजातिहरु सामाजिक, सांस्कृतिक र राजनीतिक निर्णयहरु गर्न पाउने अधिकार रहेको पुनः दोहो¥याए । संयुक्त राष्ट्रसंघले अहिले अगाडि सारेको नारामा तीन वटा नारालाई गम्भीर रुपमा अगाडि सारेको उनले बताए । ‘जलवायु परिवर्तनले गरेको असरलाई नारामा समेटिएको छ, इतिहासकै उच्च गर्मी भएको भनेको छ, किन गर्मी भयो त’, उनले भने, ‘वनजंगलहरु मासिदै गए, तपाई हामी सबैलाई थाहा छ, वनजङ्गलसँग आदिवासी जनजातिको सम्बन्ध जोडिएको छ, वनजंगल मासियो भने, आदिवासीको अस्तित्व पनि मासिन्छ ।’ उनले वनजंगल जोगाउन आदिवासी जनजातिले भूमिका खेल्नुपर्छ भन्ने सन्र्दभ जोडिएको बताए । दोस्रो न्यायको लागि गोलबद्ध हुनुपर्छ भन्ने नारालाई अगाडि सारेको छ ।‘अगाडिका वक्ताहरुले धेरै चर्चा गरिसक्नुभएको छ’, उनले भने, ‘एकजना अधिवक्ताको वक्तव्यले गर्दा सारा आदिवासी जनजातिलाई चोट पु¥यायो, यो किन हुन्छ रु, यसको लागि हामी अगाडि बढ्नुपर्छ, संगठित हुनुपर्छ, न्यायका लागि आदिवासी जनजातिहरु गोलबद्ध हुनुपर्छ ।’ यस्तै तेस्रो नारामा पुस्ता हस्तातरणलाई अगाडि सारेको बताए । ‘अहिले धेरै आदिवासी युवाहरु विदेशीनु भएको छ, त्यसको कारण खोज्नु आवश्यक छ’, उनले भने, ‘सरकारले आदिवासी जनजाति युवा मैत्री कार्यक्रम ल्याउनुपर्छ ।’ उनले परम्परागत ज्ञान सीप पुस्ता हस्तान्तरण नहुँदा युवाहरुमा बेरोजगार बढेको बताए । ‘अहिले युवाहरुले परम्परागत ज्ञान सीपलाई घृणा गर्ने द्धेष फैलाउने यो कामले केही हुँदैन भन्दा बेरोजगार बढेको छ’, उनले भने, ‘हामीसँग जुन ज्ञान सीप छ त्यसलाई प्रयोग गर्न जानेनौ भने गरिव हुन्छौं, बेरोजगार हुन्छौं ।’ उनले आदिवासी जनजातिहरुमा भएको ज्ञान सीपलाई पुस्तान्तरण गर्दै व्यवसायीक क्षेत्रमा प्रवेश गर्न सके मात्र अगाडि बढ्न सक्ने बताए । २९ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले पोखराको चिप्लेढुङ्गादेखि महेन्द्रपुल, नयाँबजार, लखनचोकहुँदै सभागृहमा कोण सभा गरेको थियो । विश्व आदिवासी दिवसको अवसरमा लामो समयदेखि आदिवासी जनजातिको हक अधिकारका लागि योगदान पु¥याउँदै आएको भन्दै प्राध्यापक ज्योति भट्टचन र समाजसेवी हक पहरे पुनलाई सम्मान गरिएको थियो । आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिहरुले आफ्नो मौलिक पोशाकमा जातिय झाँकी, नृत्य प्रस्तुत गरेका थिए । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाउँदै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको र्यापिड एक्सन टिम (र्याट) लाई सरकारका स्थानीय निकायसँग अनुमति लिएर समन्वयमा काम गर्न निर्देशन दिएको छ। बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै रास्वपा प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकालले नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशन दिएका हुन्। ‘आम नेपाली जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विशुद्ध समाज हितका हेतु र्यापिड एक्सन टिम गठन गरेको हो। अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र र्याट जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार र्याट, पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचित गराइएको जानकारी गराइन्छ।’ यसअघि आजै जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन(नारायणगढ सडकको जाम हटाउन सरकारी संयन्त्रले काम गरिरहेकाले रास्वपाको र्याट नचाहिने बताएको थियो। मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो। जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। विजयी भएको एक सय दिन पुगेको अवसरमा केही दिनअघि रास्वपाका सभापति रहेका चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि र्यापिड एक्सन टिम (आरएटी) निर्माण गर्ने घोषणा गरेका थिए। उक्त पहिरो सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अंगबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको प्रशासन कार्यालयले स्पष्ट पारेको छ। ‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ प्रशासन कार्यालयले भनेको छ, ‘विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम छन्।’ प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ठूला विपद्का घटनामा कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीकोरुपमा राजनीतिक दल, नागरिक समाजलगायतका आम सर्वसाधारण नागरिकले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर, खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बताए। तर मंगलबार कुनै अमुक दल तथा सो अन्तर्गतको संगठनको सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको उनले बताए।
पाँचथर: पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ । बुधवार बिहान घरसँगै रहेको भान्साघरमा आगो लागेको र छानो खसेर थिच्दा लेकगाउँकी ५५ वर्षीया सरिता राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीको कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिनुभयो ।
काठमाण्डौ: अनलाइनमार्फत यौन हिंसा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्टु पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौन हिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज बुधवार सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरूलाई प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारबाहीको माग गर्दै दायर गरेको उजुरीमा काठमाण्डौ जिल्ला अदालतबाट दुवै जनालाई पाँच दिनको म्याद थप गराई अनुन्धान भइरहेको उहाँले बताउनुभयो ।
काठमाण्डौ: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज बुधवार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । आजको बैठकमा पनि एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै अवरोध गरेको हो । बैठकको शुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मङ्गलवारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरूको विरोध जारी रहने बताउनुभयो । सभामुखले बैठक सञ्चालन गर्न सघाउन पटक–पटक आग्रह गरे पनि एमालेले नाराबाजी गर्दै बेल घेराउ गरेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी नियमावली चाँडै ल्याउने बताएका छन्। मिडिया एड्भोकेसी ग्रुप तथा महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा आज ललितपुरमा आयोजना गरेको नागरिकता ऐनको कार्यान्वयनसम्बन्धी छलफलमा उनले नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनौंसम्म कुराएर राख्ने अवस्थाको अन्त्य हुने बताएका छन्। ‘हामी तत्कालै नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पेस गर्दैछौँ, यसका लागि कानुन मन्त्रालयको राय लिन बाँकी छ, नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनौंसम्म कुराएर राख्नु पर्दैन,’ मन्त्री श्रेष्ठले भने, ‘अहिले अङ्गीकृत नागरिकता वितरणमा केही सरलीकृत मात्रै गरिएको छ, पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा गरे मात्रै पुग्ने व्यवस्था गरिएको हो।’ नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा तिनका सन्तानले वंशजका आधारमा नागरिक पाउने व्यवस्था संविधानमा नभएको र संविधानमा नभएको कुरा नियमावलीबाट अपेक्षा गर्न नसकिने पनि श्रेष्ठले बताए। उनले नेपाली आमाका सन्तानले सहज रुपमा नागरिकता पाउने व्यवस्था अहिलेको संविधान र ऐनले गरेको बताए।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर ज्यान गएको छ । यादव दाजुभाइको ज्यान गएपछि बगही गाउँ शोकमा डुबेको छ । गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो । खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको थियो । माटो निकालेर पानी जमेको पोखरीमा दाजुभाइको शव फेला परेको उहाँले बताउनुभयो । मंगलवार बेलुकादेखि हराएका दाजुभाइको शव घर नजिकैको पोखरीमा फेला परेपछि तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ: सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मंगलवार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । सोमवार रातिदेखि नै बेपत्ता चौधरीको शव मंगलवार बाँके खोलामा फेला परेको थियो । त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बाग्मती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको ज्यान गएको हो । स्थानीयले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए । बाग्मतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ । यसैबीच बाढीका कारण बाग्मती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मंगलवार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए । बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए । त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बाग्मती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ । बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए ।

