पोखराः पोखरा स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । इन्सटिच्युटका सञ्चालक किसानले सुनारले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । उनका अनुसार जापानमा नेपाली विद्यार्थीहरुलाई जापनिज भाषा अध्ययन तथा नर्सिङ केयर गिभरमा अध्ययनका लागी विद्यार्थीहरुलाई एक जना बराबर ३० लाखको छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी दिए । सञ्चालक सुनारका अनुसार इन्टरनेशनल जापान स्थीत जापनीज स्कुल तथा कलेज, इसिन नागाओका जापनीज ल्याङगोज स्कुल र टोवामा अध्ययनरत विद्यार्थीहरुले छात्रवृत्तिको अवसर पाउनेछन् । विगत छवर्षदेखि जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर प्रदान गर्दै आएको इन्सच्यिुटले यस वर्ष नर्सिङ केयर गिभरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ३० लाख बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो । छात्रवृत्ति प्राप्त गर्नका लागि १२ कक्षा उतिर्ण हुनुपर्ने, जापनिज भाषा तथा संस्कृतिकमा एन फाइभ लेबलको भाषा पास हुनुपर्ने र महिलाहरुलाई बढी प्राथमिकता दिएको इन्सटिच्युटले जनाएको छ । छात्रवृत्ति प्राप्त गर्न पोखरा पृथ्वीचोक स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटमा आएर विद्यार्थीहरुले आवेदन दिन सकिने जानकारी दिएको छ ।
काठमाण्डौ: काठमाण्डौ महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । आज बिहीवार महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोला मिचेर बनेका भन्दै घरटहरा भत्काउन डोजरसहित गएपछि स्थानीय र नगर प्रहरीबीच झडप भएको हो । बूढानीलकण्ठ नगरपालिका–१० नम्बर वडाको सिमानामा पर्ने साततले घर नजिकैको खोला मिचेर बनाएको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डीएसपी मीनबहादुर थापाले बताउनुभयो । स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिकाका स्थानीयले भने वर्षाको समयमा डोजर आतङ्क गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् । बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईका अनुसार काठमाण्डौ महानगर र बूढानीलकण्ठ नगरपालिकाको सिमानाबारे पहिलेदेखि नै केही विवाद थियो। दुवै पक्षका वडाध्यक्षहरूबीच समन्वय भइरहेका बेला एक्कासी महानगरपालिकाको डोजर पुगेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उनीहरूले उक्त घटना शंकास्पद भएको र प्रहरीको पनि मिलोमतो भएको आशङ्का गरेका छन्। सुरक्षा घेराभित्र रहेको व्यक्तिको कुटपिटबाट हत्या हुँदा प्रहरी प्रशासन मौन बसेको आरोप लगाउँदै मृतककी दिदी भीमा रम्तेलले सत्यतथ्य बाहिर नआउञ्जेल शव नउठाउने बताए। प्रहरीले सिसीटिभी क्यामेरा फुटेज अझै बाहिर नल्याएकोमा उँहाले शङ्का व्यक्त गरे । प्रहरीले भने जिल्ला कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको बताउँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रहरी र कारागार प्रशासनका कर्मचारी संलग्न रहेछन् भने अनुसन्धान गरेर कारबाही गरिने र छानबिन समितिले पनि १० दिनभित्र यथार्थ बाहिर ल्याइने उनले बताए । हत्याको घटनापछि प्रहरीले नौ कैदीबन्दीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । यो कारागार २५ जना अटाउनेक्षमताको भए पनि विभिन्न मुद्दाका एक सय ३६ कैदीबन्दी राखिएको छ। मृत्यु भएका नुवाकोट ककनी ७ का आकाश बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए। अर्का मृतक जबर्जस्ती करणीमा मुद्दा खेपिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का विनोद तोलाङ्गी थिए। कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले बुधबार बिहान एक बजे नियन्त्रणमा लिइएको र नियन्त्रण लगतै भएको कुटपीटपछि ती दुईको मृत्यु भएको प्रहरीको जिकिर छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले प्रधानमन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दैछन्। मन्त्रालयहरूको समीक्षागत बैठक सकेपछि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हुन लागेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। प्रधानमन्त्रीले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग अघिल्लो वर्षको प्रगति विवरण बुझ्ने र त्यसपछि कार्यसम्पादन सम्झौता गर्ने कार्यतालिका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको छ। यसअघि २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहतका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए। प्रधानमन्त्रीले मन्त्री र मन्त्रीहरूले सचिवसँग कार्यसम्पादन सम्झौता गर्ने र तोकिएका कामका आधारमा नम्बर दिने परम्परा ओलीका पालामा सुरू भएको थियो। अहिले प्रधामन्त्री प्रचण्डले पनि विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्न लागेका हुन्।
काठमाण्डौ: बैतडीकी सरस्वती नेपाली अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले प्रदान गर्ने ‘ग्लोबल एन्टी–रेसिजम च्याम्पियन्स अवार्ड’ ९जीएआरसी० बाट सम्मानित हुनु भएको छ । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई सम्मान गर्नु भएको हो । एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा उहाँले नेपालमा सीमान्तकृत जाति, अपाङ्गता भएका र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्षभन्दा बढी समय बिताएको भन्दै यो अवार्ड दिइएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै नेपाली दूतावासले जनाएको छ । सरस्वती नेपालीको प्रयासले नेपालको पश्चिमी जिल्लाका ग्रामीण क्षेत्रका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएको खबरमा उल्लेख छ । उहाँले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा जातीय भेदभाव विरुद्धको मुद्दा जितेको पनि दूतावासले जनाएको छ । उहाँसहित ट्युनिसिया, बङ्लादेश, ब्राजिल, मोल्डोभो र पेरुका एकरएक जना सामाजिक अभियन्तालाई पनि यो अवार्डबाट सम्मान गरिएको छ ।
मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दसरदस लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्री समिमले राहत तथा उद्धार सामग्री खरिद गर्न आठवटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम पठाउने निर्णय गरेको जानकारी दिए। ‘प्रदेशका आठै जिल्लामा बाढी तथा डुबानको समस्या छ । त्यसलाई मध्यनजर गरी तत्काललाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि राहत रकम दिने निर्णय भएको छ,’ उनले भने, ‘यसका अतिरिक्त एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरणको काम गर्ने निर्णय पनि गरिएको छ। त्यसको समन्वय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्था, स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत हुने मन्त्री समिमले बताए। राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्ने विषयमा पनि छलफल भएको छ। केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मधेसमा जनजीवन प्रभावित भएको छ।
बाढी- पहिरोका कारण दुई वटा राजमार्ग दुई स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको। विभागका अनुसार विभिन्न राजमार्गहरू ३३ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको छ। पहिरोका कारण अवरूद्ध भइरहने मुग्लिन-नारायणगढ सडक भने अहिले दुवैतर्फ सञ्चालनमा रहेको छ। विभागले वेबबसाइटमा अद्यावधिक गरेको विवरणअनुसार धनगढी,सहजपुर,वुडर,स्याउले, सतबाँझ,थाकतोली,दार्चुला,टिङ्कर जोड्ने सडक कैलालीको बुढीतोलामा अवरूद्ध छ। यस्तै तमोर कोरिडोर अन्तर्गत चतरा,मुलघाट,माझीटार,अमरापुरडाँडा,गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ। विभागले जानकारी दिएअनुसार मनसुन सुरू भएयता विभिन्न राजमार्गहरू १७३ स्थानमा अवरूद्ध भएका थिए। अहिले १३८ स्थानमा दुवैतर्फ सञ्चालनमा आइसकेका छन्। विभागले उल्लेख गरेअनुसार यस वर्षको मनसुनजन्य विपद्बाट सडक भत्कँदा १ अर्ब २६ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबर क्षति भएको छ। पुलपुलेसा, कल्भर्ट बगाउँदा २५ करोड रूपैयाँ बराब क्षति हुन पुगेको विभागको आकलन छ।
पोखराः काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित एक महिला पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरा आएको बस पृथ्वीचोकमा चेकजाँच गर्ने क्रममा कल्पना गुरुङ सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीका अनुसार बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित गुरुङ पक्राउ परेको पुष्टि गरे । झापाको बिर्तामोड घर भएका गुरुङ काठमाडौं बस्दै आएको र आज बिहान काठमाडौंबाट पोखरा आएको बस चेकजाँच गर्ने क्रममा उनी सुन जस्तो देखिने पहेलो धातुसहित प्रकाउ परेकी हुन् । पक्राउ परेका गुरुङका साथबाट बरामत भएको सुन जस्तै देखिने धातु २८० ग्राम २९ मिलीग्राम रहेको जसमा सुन नै प्रमाणित भए करिव २४ तोला रहेको डिएसपी जोशीले बताए । प्रहरीले भने पक्राउ परेकी महिलाको साथबाट बरामत गरिएको सुन जस्तो देखिने पहेलो धातु भएकाले परिक्षण गर्न बाँकी रहेको जनाएको छ ।
बागलुङ: बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

