दाङ: दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयाे । विकलाई घर नजिकै रहेको पत्रेखोलाले आज आइतवार बिहान बगाएको हाे । ‘घरमा शाैचालय नभएका कारण विक शाैच गर्न सधैँ खोलामा जाने गर्ने गरेका थिए, त्यही क्रममा आज खोलामा गएको समयमा उहाँकलाई बगाएको भन्ने खुलेको छ’, डीएसपी गाैतमले भन्नुभयाे । अहिले बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन भएको छ ।
गोरखा: केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा रहेको झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिनुभयो । पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उहाँको भनाइ छ । त्यस्तै, पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उहाँको भनाइ छ । ुपहिरोले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छु, अध्यक्ष लामाले भन्नुभयो, ुघर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन् । पहिरो रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ। थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो। प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उहाँको भनाइ छ ।
पोखरा: सर्वदलीय बैठकमार्फत पोखरा महानगरभित्र रहेका सडक चोकका मुर्तिहरु सहिद पार्क लाने निर्णयप्रति कास्की कांग्रेसले आपत्ती जनाएको छ । विज्ञप्ती जारी गर्दै आज (आइतबार) महानगरपालिकाको ध्यानाकर्षण गराएको हो । जारी विज्ञप्तीमा भनिएको छ, ‘पोखरा शहरका मुख्य सडकहरुमा रहेका सालिकहरुको व्यवस्थापन तथा स्थानान्तरण गर्नका लागि सर्वदलीय निर्णय भएको भनी पोखरा महानगर पालिकाबाट मिति २०८०÷४÷२७ मा सार्वजनिक भएको अनुरोधका प्रति नेपाली काँग्रेस कास्कीको ध्यानाकर्षण भएको छ । पोखराको शहरी सौन्दर्यीकरण हामी सवैको साझा चासोको विषय हो जसका लागि हामी सबै पोख्रेलीहरु एक ठाउँमा उभिनै पर्छ । पोख्रेलीहरुको साझा चासोको यो विषयलाई राजनीतिक पार्टीहरुको धारणाले मात्रै सम्बोधन गर्न सक्दैन । यसैले पोखरालाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि राजनैतिक पार्टीहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि नेपाली काँग्रेस कास्की अनुरोध गर्दछ ।’ कास्की कांग्रेसले शालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनी पोखरा महानगर पालिकाबाट सार्वजनिक गरिएको उक्त सर्वपक्षीय निर्णयमा नेपाली काँग्रेस कास्कीको कुनै पनि किसिमको संलग्नता नरहेकोसमेत जनाएको छ ।
पर्वत: मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र संवर्द्धनमा जोड दिइएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तक्र्रियामा सहभागीले नेपालमा मात्र नभई विश्वमै कालीगण्डकी नदीको छुट्टै पहिचान र विशेषता रहेको तथा मानव जीवनसँग प्रत्यक्ष जोडिएकाले यसको सभ्यता जोगाउनुपर्ने बताएका छन् । नदीको पर्यावरणीय संरक्षण र यहाँको प्राकृतिक स्रोत तथा सम्पदाको उचित सदुपयोग गरी नदीको सभ्यतालाई जोगाउनुपर्ने, पर्यावरण नखलबल्लिने गरी नदीजन्य पदार्थ उपयोग गर्नुपर्नेजस्ता विभिन्न विषयमा चर्चा-परिचर्चा गरिएको हो । कालीगण्डकीको संरक्षण र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले कागवेनीबाट त्रिवेणीधामसम्मको कालीगण्डकीको सभ्यता जोगाउनका लागि सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं पर्यटकीय र पर्यावरणीय हिसाबले समेत उत्तिकै महत्त्वपूर्ण रहेको कालीगण्डकी नदी र शालग्राम शिला सङ्कटमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको संरक्षण तथा विकासका लागि आफू निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो । उहाँले कालीगण्डकीको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन आगामी फागुन ९ देखि २३ गतेसम्म बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा प्राध्यापक डा जगन्नाथ रेग्मीले कालीगण्डकीको अस्तित्व जोगाउन नसके मानव जीवन नै सङ्कटमा पर्ने बताउनुभयो । जन्मेदेखि मृत्युपर्यन्त आवश्यक गण्डकीको जल संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा उहाँको जोड छ । पछिल्लो समय अवैधरूपमा भइरहेको नदीजन्य वस्तु उत्खननले कालीगण्डकी र शालिग्राम शिला सङ्कटमा परेको जनाउँदै यस्तो गैरकानुनी कार्य तत्काल रोकिनुपर्नेमा जोड दिनुभयो । कालीगण्डकी नदी धार्मिक एवं पर्यटकीय हिसाबले उत्तिकै महत्त्वपूर्ण रहेकाले यसको उचित संरक्षण र संवर्द्धन गर्न सकेमा सिङ्गो मुलुकको अर्थतन्त्र माथि उकासिने उहाँको भनाइ छ । कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वमन्त्री विकास लम्सालले कालीगण्डकीको सभ्यता संरक्षणका लागि आफू लामो समयदेखि सक्रिय रहँदै आएको जनाउँदै मुक्तिनाथबाट देवघाटसम्मको नदीको अस्तित्व जोगाउनका राज्यले नै ध्यान दिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण पवित्र कालीगण्डकीको संरक्षणका लागि प्रदेश सरकारमार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । अवैधरुपमा नदी दोहन रोक्न, शालिग्राम शिलाको संरक्षणलगायत नदी वरपर पाइने जलचर, थलचरसमेतको संरक्षणमा सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । मुक्तिनाथबाट देवघाटसम्म थुप्रै धार्मिकस्थल जोडिएका छन् । कालीगण्डकी नदीलाई संरक्षण र संवर्द्धन गरिएन भने संस्कार, संस्कृति र यहाँको पर्यावरणमा ठूलो असर पर्ने प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताउनुभयो । उहाँले राज्य र प्रशासन मात्र नभई आम नागरिकसमेत कालीगण्डकीको संरक्षणमा जुट्नुपर्ने बताउनुभयो । कालीगण्डकी नदीको पर्वत र म्याग्दी खण्डमा भइरहेको अवैध दोहनले पर्यावरणमा समेत असर गर्दै गएको छ । यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर संरक्षणमा लाग्नुपर्ने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताउनुभयो ।
काठमाडौं: साता देखिको निरन्तर भएको वर्षा आइतबार पनि निरन्तर हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर भारी वर्षाको सम्भावना रहेको जनाएको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक(दुई स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। देशभर भारी वर्षाको सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
गण्डकी: पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका हुन् । विसं २०७८ फागुन १ देखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यहाँका ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनगुनासो आउन थालेपछि मन्त्रालयले चालकलाई मिटर प्रणालीमा गुड्न सहमत गराएको हो । प्रदेशका यातायातमन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकारवाला पक्षसँगको अन्तर्क्रियामा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको बताउनुभयो । “विगतमा भएका सहमति पालना गर्न हामी तयार छौँ । ट्याक्सी व्यवसायीको मर्का पनि सरकारले बुझिदिनुपर्यो”, उहाँले भन्नुभयो, “महँगीका आधारमा भाडादर समायोजन हुनुपर्छ, स्वचालित भाडादर कायम हुनुपर्छ ।” ट्याक्सी व्यवसायीलाई मात्र दोष थोपर्ने गरिएको भन्दै इन्धनको मूल्यमा आइरहने उतारचढाव, बढ्दो महँगीले मिटर प्रणालीमा आउने समस्यालगायत विषयमा सरकार गम्भीर बन्नुपर्नेमा अध्यक्ष तिवारीले जोड दिनुभयो । “इन्धनको भाउ घटबढ हुँदा स्वचालितरुपमा भाडादर कायम गर्ने, पटकेलगायत यातायातका सेवालाई अनलाइन प्रणालीमा लैजान सके व्यवसायीलाई राहत पुग्छ”, उहाँले भन्नुभयो, “एउटा प्रयोजनका लागि दर्ता भएका सवारीसाधन अर्कै काममा प्रयोग भइरहेका छन् । यसलाई कडाइका साथ रोक्नुपर्छ ।” द्युई वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रू ८० र त्यसपछि प्रतिदुई सय मिटरको रू १० तोकिएको छ । १५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी रू ३७.५० कायम गरिएको थियो । मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टीकाराम पौडेलले विगतमा गरिएका प्रतिबद्धतालाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताउनुभयो । “एक हप्ताभित्रमा पोखरा उपत्यकामा गुड्ने ट्याक्सी मिटरमा गुड्छन्, मिटर प्रणालीमा नचलेको पाइएमा कारबाही हुन्छ, ट्राफिक प्रहरीले नियमित अनुगमन गर्छ, मन्त्रालयबाट पनि यसको नियमन गर्छौं”, उहाँले भन्नुभयो, “ट्याक्सी मिटरमा नहिँड्दा यात्रु ठगिइरहेको गुनासो आइरहेको छ, मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।” प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका कतिपय समझदारी अझै कार्यान्वयन हुन नसकेको महाशाखा प्रमुख पौडेलले बताउनुभयो । “उक्त प्रतिबद्धतापत्रमा भाडा तिरेको बिल दिनुपर्ने, ट्याक्सीमा जिपीएस जडान गर्नुपर्ने, चालकको छुट्टै पोसाक हुनुपर्नेलगायत उल्लेख छ”, उहाँले भन्नुभयो, “यी कुनै पनि शर्त ट्याक्सीले व्यवसायीले लागू गर्न सकेका छैनन् ।” यातायातमन्त्री जुग्जालीले ट्याक्सीलाई तुरुन्त मिटर प्रणालीमार्फत चलाउन यातायात व्यवसायीसमक्ष आग्रह गर्नुभयो । “विगतका समझदारी पालना गर्नुस्, मिटरमा नचल्ने ट्याक्सी चालकलाई अब हामी कारबाही गर्छौं”, उहाँले भन्नुभयो, “स्वचालित भाडादर पनि लागू हुन्छ, व्यवसायीलाई मर्का पर्ने देखिएमा पुनःभाडा समायोजन गर्न सकिन्छ ।” मन्त्री जुग्जालीले ट्याक्सी व्यवसायमा देखिएको ‘रुटपरमिट’को समस्या हल गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । दुई जिल्लाको मात्र रुटपरमिट हुँदा प्रदेशभित्रै एक ठाउँबाट अर्का ठाउँमा जाँदा पटके तिर्नुपर्नेलगायत झन्झट व्यहोर्न ट्याक्सी चालक बाध्य भएका गोरखा मनकामना यातायात सेवा प्रालिका अध्यक्ष सुरेन लामिछानेले बताउनुभयो । सरकारले प्रदेशभित्र एउटै परमिट लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “गोरखाबाट पोखरा आउँदा पनि पटके काट्नुपर्ने, कर तिर्नुपर्ने बाध्यता छ, यसको अन्त्यका लागि प्रदेशका सबै जिल्लामा निर्बाध चल्नु पाउने गरी रुट परमिट दिनुपर्छ”, उहाँले भन्नुभयो, “समथर ठाउँ र सहरी क्षेत्रमा जस्तो पहाडी जिल्लामा मिटरमा ट्याक्सी चलाउन सम्भव नभए पनि वैज्ञानिक भाडादर कायम गर्न हामी तयार छौँ ।”
पोखरा: पोखरा महानगरपालिका १८ फेवाताल रातामाटामा एक पुरुषको शव फेला परेको छ । फेवाताल रातामाटामा पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए । ‘पोखरा १८ फेवाताल राटामाटामा आज पानीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिएको छ,अन्दाजी ३५–४० उमेरको पुरुषको शव भेटिएको हो’, डीएसपी जोशीले भने, ‘शवको पहिचान भएको छैन, आवश्यक मुजुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएका छौं ।’ उनले शवको पहिचान नभएकाले शवसँगै माछा मार्ने सामान र हातमा जिसस क्राइसको ट्याटु भएकाले यो हुलिया भएको मानिस हराएको भए कास्की प्रहरीमा खवर गर्न समेत आग्रह गरेका छन् । शवलाई पोष्टमार्टमका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको कास्की प्रहरीले जनाएको छ ।
ढोरपाटन: भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ । आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले करिडोर अवरुद्ध बनाएको हो । शुक्रवार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको सडक गएराति १२ बजेदेखि पुनःअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको छ । वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरमा चल्ने जिल्लाको दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रमा चल्ने गाडी ठप्प भएका छन् । दिनदिनै सडक अवरुद्ध हुन थालेपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न तथा आवागमनमा समस्या भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । ‘पहिरोले निकै दुःख दिइरहेको छ । करिडोरमा पहिरो खस्दा बागलुङ र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका भएर दैनिक यात्रा गर्ने हजारौँ नागरिक प्रभावित बनेका छन्,’ उहाँले भन्नुभयो, ‘यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग छलफल गरेका छौँ । काम शुरु भएको छैन । पहिरोले करिडोरका साथै वैकल्पिक सडकलाई पनि क्षति पुर्याएको छ ।

