पोखरा: मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तिज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तिज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । तिज विशेष कार्यक्रम अन्तरगत खुला तिज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार तिज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८ टिम बिच प्रतिस्पर्धा हुनेछ । जसमा प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने टिमले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्य विधामा पनि पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ । तिज गीत प्रतियोगिताका लागि जम्मा १८ टिम दर्ता गरिने र भाद्र २५ गतेसम्म दर्ता गरिसक्नुपर्ने टिम संकलन संयोजक कर्ण बहादुर भुवाजीले जानकारी दिए । त्यस्तै खेलकुदको माविस्तरिय छात्रा बास्केटबलतर्फ प्रथम हुने टिमलाई नगद रु ३० हजार, दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ प्रदान गरिने खेदकुद संयोजक विमल श्रेष्ठले जानकारी दिए । तीज संस्कृतिको जगेर्ना गर्दै महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धि गराउनुका साथै खेल क्षेत्रमा प्रतिभा जन्माउन खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको समाजका महासचिव हेमराज भण्डारीले बताए । समाजकी अध्यक्ष कमला गौतमको अध्यक्षतामा बनेको मुल समारोह आयोजक कमिटी अन्तरगत विभिन्न उपसमितिहरु निर्माण गरिएको भण्डारीले जानकारी दिए । तिज विशेष कार्यक्रमको अनुमानित खर्च ६ लाख ८० हजार रहेको र विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, आमा समूह, युवा क्लब, टोलविकासहरुको सहयोगबाट कार्यक्रम सम्पन्न गरिने अध्यक्ष गौतमले बताइन् ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ । केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिनुभयो । ‘साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ,’ उहाँले भन्नुभयो, ‘अनेरास्ववियुले लगाएको ताला खुले पनि राप्रपा निकट विद्यार्थी सङ्गठनले लगाएको ताला खुल्न सकेको छैन ।’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका अध्यक्ष प्रेम रावलले राजनीतिक भागबन्डा अन्त्य नभएसम्म विश्वविद्यालयको ताला नखोल्ने बताउनुभयो । ‘पदाधिकारी र प्राध्यापकको भागबन्डा अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो,’ उहाँले भन्नुभयो, ‘दुई चरणमा विश्वविद्यालयका पदाधिकारीसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।’ यसअघि एमाले निकट अनेरास्ववियुले पनि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा सहमति भएपछि अनेरास्ववियुले ताला खोलेको छ भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजनीतिक भागबन्डा अन्त्यको अडान राख्दै तालाबन्दी गरेको छ ।
मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताउनुभएको छ । उहाँले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पार्नुभयो । मुख्य मन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिनाका साथै विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताउनुभयो । उहाँले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गर्नुभयो । पहिचानवादीसँग वार्ताका लागि सरकारले चाँडै वार्ता टोली गठन गरी संवाद प्रारम्भ गरिने जानकारी दिँदै मुख्यमन्त्री थापाले वार्ताकै माध्यमबाट निस्केको निष्कर्षको परिणामलाई सार्थक बनाइने प्रष्ट पार्नुभयो । रासस
काठमाडौ: मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२र०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड ९माथिल्लो तह अध्ययनका लागि योग्य० भएका छन् । त्यस्तै ५६ जनाको परीक्षा रद्ध भएको छ । गत वर्ष जारी लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल नभने पनि एनजी आएकाहरुले माथिल्लो तहको अध्ययन गर्न पाउने छैनन् । उनीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माका अनुसार परीक्षा भएको ८० दिनपछि नतिजा सार्वजनिक हुँदा ५०.९१ प्रतिशत उतीर्ण भएका छन् । ‘विगत वर्ष भन्दा केही इम्प्रुभ भएको मानेका छौं’ उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने । यसले विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको घट्दो संख्यामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । यस्ताे छ नतिजा मंगलबार सार्वजनिक नतिजा अनुसार यो वर्ष नियमिततर्फ ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये ३.६१ देखि ४ जीपीए ल्याउने ६ हजार ९७६ जना छन् । ३.२१ देखि ३।६० जीपीए ल्याउने ३८ हजार ९९९ जना, २.८१ देखि ३.२० ल्याउने ६९ हजार १७४ जना, २.४० देखि २.८० आउने ६३ हजार ७७ जना, २.१ देखि २.४० जीपीए आउने ११ हजार ४३८ जना र १.६१ देखि २ जीपए ल्याउने ४७ जना छन् । माथिल्लो ग्रेड ल्याउनेको संख्या र प्रतिशत गत वर्षभन्दा बढेको र तल्लो ग्रेड ल्याउनेको प्रतिशत घटेको अध्यक्ष शर्माले बताए । यस हिसाबले पनि नतिजा सुधार भएको मान्न सकिने उनको दाबी छ ।अघिल्ला वर्षहरुमा दुईवटा विषयसम्म एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । तर यो वर्षदेखि जति वटा विषयमा एनजी आएको छ त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन पनि सक्ने सदस्य सचिव अर्यालले जानकारी दिए ।पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ ३ जना परीक्षकबाट जाँच गराउने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने गरिन्छ । यसरी आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ । १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा नयाँ अंक कायम हुनेछ ।
चितवन: भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा एक–आपसमा सवारी साधन ठोक्किएको छ । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको बलेरो जीप, स्कुटर र मोटरसाइकल एक–आपसमा ठोक्किएको हो । ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ भने अन्यको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ । तर, औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख डाक्टर राम साहले बताउनुभयो । उहाँका अनुसार अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि अभाव छ । बिरामी त्यसै घर फर्किन बाध्य छन् । राप्ती सोनारी–३ आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज हिरामणि गुरौ थारूले सबैलाई आँखामा हाल्ने औषधि दिन नसकेको बताउनुभयो । राप्ती सोनारीका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जिल्लामै औषधि अभाव भएकाले स्वास्थ्य चौकीमा समेत त्यसको असर परेको बताउनुभयो । राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले बिरामीको सङ्ख्याअनुसार स्वास्थ्य चौकीमा औषधि पुर्याउन नसकिएको बताउनुभयो ।
पोखरा: लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरीले वर्षेनी लागूऔषध ओसारपोसार गरेको भन्दै लागूऔषधसहित कास्कीमा विभिन्न व्यक्तिहरुलाई प्रकाउ गर्छ । विशेषगरी प्रतिबन्धित गाँजा, चरेस, ब्राउन सुगर, डाइजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित विभिन्न व्यक्तिहरुलाई प्रकाउ गरेको गएको चार आर्थिक वर्षको रेकर्ड जिल्ला प्रहरी कार्यालय कास्कीसँग छ । गएको चार आर्थिक वर्षमा लागूऔषध नियन्त्रण ब्यूरो र कास्की प्रहरीले गाँजा, चरेश, ब्राउन सुगर, डाईजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित विभिन्न व्यक्तिहरुलाई प्रकाउ गरेको रेकर्ड छ । तर गत आर्थिक वर्ष कास्की प्रहरीले पोखराबाट एलएसडी र एम्फेटामाईन नयाँ लागूऔषधसहित एक विदेशी नागरिकसहित दुईजनालाई पोखराको लेकसाइडबाट प्रकाउ ग¥यो । पोखराको लेकसाइडबाट एक विदेशी नागरिकसहित प्रकाउ परेका दुईजनाको साथबाट बरामत भएको एलएसडी र एम्फेटामाईन चार वर्षयताकै नयाँ लागूऔषध भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् श्रवणकुमार विकले जानकारी दिए । ‘कास्कीमा लागूऔषध नियन्त्रण ब्यूरो र कास्की प्रहरीले गाँजा, चरेश, ब्राउन सुगर, डाईजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित प्रकाउ गरेको रेकर्ड छ’, डीएसपी विकले भने, ‘अघिल्लो वर्षमा यस्तो लागूऔषध भेटिएको थिएन, गत आर्थिक वर्षमा एलएसडी र एम्फेटामाइन भेटिएको छ, अहिले मुद्धा चलिरहेको छ ।’ उनका अनुसार प्रहरीले गत आर्थिक वर्ष एलएसडी २६ पिस र एम्फेटाईन लागूऔषध ४ सय ग्रामसहित दुईजनालाई प्रकाउ गरेको हो । कुन आर्थिक वर्षमा कति कुन लागूऔषध प्रहरीको नियन्त्रणमा ? जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएको चार आर्थिक वर्षमा सबैभन्दा बढी डाईजापाम, फेनेरागन र नुर्फिन बढी फेला परेको छ । कास्की प्रहरीले आर्थिक वर्ष ०७८÷०७९ मा १३ हजार १ सय ६१ एम्पुल लागूऔषध नियन्त्रणमा लिएको थियो । भने ०७६÷७७ मा ८ हजार ४ सय ६७ एम्पुल, ०७७÷७८ मा ८ हजार १ सय ३३ र गत आर्थिक वर्ष ७ हजार ८ सय ५ एम्पुल लागूऔषध बरामत गरेको थियो । गाँजा– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०७६/०७७ मा ३५ किलो ६सय ८७ ग्राम, ०७७/७८ मा ७२ किलो ५ सय ५१ ग्राम, ०७८/०७९मा १ सय १९ केजी ४० ग्राम र गत आर्थिक वर्ष ०७९/८० मा ४१ केजी ३ सय ३६ग्राम गाँजा बरामत गरेर नष्ट गरेको जनाएको छ । यस्तै, चरेश– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष ०७६/०७७ मा चार वर्ष यताकै बढी १८ केजी ७ सय ६९ केजी चरेश नियन्त्रणमा लिएको थियो । प्रहरीले आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ग्राम, ०७८/०७९ मा २ किलो ६सय ९१ ग्राम र गत आर्थिक वर्ष ३ केजी ३ सय ग्राम चरेश बरामत गरेर नष्ट गरेको जनाएको छ । ब्राउन सुगर– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष ०७८/०७९ मा चार वर्ष यताकै बढी ९३ ग्राम ६सय ६२ ग्राम ब्राउन सुगर नियन्त्रण लिएको थियो । यस्तै २०७६/०७७ मा ४० ग्राम ३ सय ६६ मिलिग्राम, ०७७/०७८मा ८७ ग्राम र गत आर्थिक वर्ष ०७९/०८० मा ८५ ग्राम ७ सय ३४ मिलिग्राम नियन्त्रण लिएको कास्की प्रहरीले जनाएको छ । यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष भने चार वर्ष यताकै नयाँ लागूऔषध एलएसडी २६ पिस र एम्फेटामाईन ४ सय ग्राम बरामत गरेको थियो ।
पाँच लाख घुससहित सप्तरीमा दुई जना पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर विरेन्द्रकुमार यादवलाई दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई ३ लाखको चेकसहित पक्राउ गरेको हो। इटहरीबाट खटिएको अख्तियारको टोलीले राजविराज नगरपालिका- ३ बाट बुधबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। उनका अनुसार सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो।
काठमाण्डौ: बागलुङको तमानखोला गाउँपालिका धेरैजसो पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ । तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका छन् । करिब चार महिना लेकमै बस्ने गोठाला यस अवधिका लागि पुग्ने खर्चपर्च लिएर गएका हुन्छन् । खर्च सकिएपछि बेसी नै झर्नुपर्छ । गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरुको दैनिकी हो । गाउँघर र स्वास्थ्य संस्थाबाट टाढा हुने हुँदा गोठाला बिरामी पर्दा पनि बेसी झर्दैनन् । उनीहरु यस अवधिमा जडीबुटी र धामी झाँक्रीको भरमा बस्छन् । बुकीमा एउटा पनि धारा छैन । गोठालाले पोखरी, रूखको टोड्का र खुला मूलको पानी प्रयोग गर्ने हुँदा समय–समयमा बिरामी पर्ने गर्छन् । बिरामी हुँदा कतिपयको गोठमै ज्यान जान्छ । तमानखोलाले गोठालालाई लक्षित गरी बुकीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बर्खाको समय विद्यालय बन्द हुने हुँदा बालबालिका पनि अभिभावकसँग बुकीमा जान्छन् । बुकीमा बालबालिका र वृद्धवृद्धा सबै पुग्ने हुँदा उनीहरुका लागि शिविरमार्फत गोठमै स्वास्थ्य सेवाको व्यवस्था मिलाइको हो । गाउँपालिकाले तमानखोलाका मात्रै नभई गुर्जाघाटमा बस्दै आएका अन्य पालिका र जिल्लाका गोठालाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । ‘स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्ने हुँदा बुकीमै उपचारको व्यवस्था मिलाएका हौँ,’ उहाँले भन्नुभयो । तमानखोलाबाट गुर्जाघाट पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ । अहिलेसम्म त्यहाँ सडक पुगेको छैन । बुकीभन्दा धेरैमाथि रहेका गोठालाले यस पटक सेवा लिन नपाएको अध्यक्ष बुढा मगरले बताउनुभयो। ‘गोठाला उपचारका लागि कि ढोरपाटन पुग्नुपर्छ, कि बोङ्गादोभान नै आउनुपर्छ, त्यहाँ कोही बिरामी भयो भने उपचार पाउँदैन्, त्यसैले बुकीमै गएर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो । स्वास्थ्य शिविरका लागि बुकी पुग्नुभएका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालामा ज्वरो आउने, पखला लाग्ने, उच्च रक्तचापलगायत समस्या भएको बताउनुभयो । केहीलाई गम्भीर किसिमको रोग देखापरेकाले सुविधायुक्त अस्पतालमा जान सुझाएको उहाँको भनाइ छ ।

