मुस्ताङको बाढीग्रस्त क्षेत्र कागबेनीमा आइतबार साँझदेखि नै विद्युत आपूर्ति हुन सकेको छैन। धार्मिक स्थल मुक्तिनाथको निकाससमेत रहेको कागखोलामा आइतबार साँझ आएको बाढीले बिजुलीका खम्बाहरू ढलाउँदा विद्युत् आपूर्ति ठप्प हुन पुगेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। अहिले कागखोला पारी केही ठाउँमा विद्युत आपूर्ति भए पनि बाढीग्रस्त ठाउँका मानिसले अन्धकारमै रात बिताउन बाध्य भएको उनले बताए। ‘कम्तीमा २५ वटा पोलहरू बाढीले बगाएको छ। तारहरू लत्रिएको छ। त्यसलाई पन्छाएर विद्युत आपूर्ति गर्न सकिएको छैन, हामी लागिपरेका छौं,’ उनले भने। शनिबारसम्म विद्युत आपूर्ति गर्ने गरी काम भइरहेको पनि उनले जानकारी दिए। बाढीग्रस्त क्षेत्रमा खानेपानीको समेत हाहाकार थियो। तर, बुधबारबाटै सञ्चालनमा ल्याइएको उनले बताए। ‘खानेपानी हामीले नियमित गरिसकेका छौं। पक्की पुल बगाएको ठाउँमा गेग्रान सम्याएर खोलैबाट बाटो बनाएकाले माथिल्लो मुस्ताङ जान पनि समस्या छैन। यद्यपि, माथि पनि एउटा पुलमा समस्या निम्तिएको छ भन्ने छ, त्यसलाई पनि आजबाट व्यवस्थित गर्छौं,’ उनले भने। खोलामा गेग्रानसहितको बाढी आउँदा लेदो–थेग्रेनीले बजार पूरै ढाकेको थियो। लेदोले कतिपय घरहरूको भुइँतला पूरै पुरेको प्रजिअ केसीले बताए। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले त्यसलाई पन्छाइरहेका छन्। साथै खोलाले अहिले पनि किनारका घरहरू कटान गरिरहेकाले प्राकृतिक बहावममा फर्काउन च्यानलिङको काम भइरहेको केसीको भनाइ छ। ‘खोलाले अहिले पनि छेऊछाउका घर कटान गरिरहेको छ। त्यसैले खोलालाई बीचमा ल्याउन दुईवटा डोजर परिचालन गरेका छौैं। त्यस्तै, विस्थापितहरूको व्यवस्थापन पनि भइरहेको छ,’ उनले भने।कागखोलाको बाढीबाट ६० जनाजति विस्थापित भएका थिए। त्यस्तै अन्यत्र जिल्लाबाट काम गर्न गएका सय हाराहारी मजदुर पनि अलपत्र परेका थिए। तीमध्ये कति घर फर्किइसकेका छन् भने त्यहीँ रहेकालाई ठेकेदार कम्पनी, गाउँपालिकाले पनि व्यवस्थापन गरिरहेको छ। स्थानीय अधिकांशले आफन्तकहाँ शरण लिइरहेका छन्। उनीहरूलाई खानपानको प्रबन्ध भने गाउँपालिकाले नै गरेको प्रजि केसीले बताए। ‘हिजो पनि प्रदेश सरकारका तर्फबाट केही त्रिपाल र ब्ल्यांकेटहरू आएको छ। राहतको काम भइरहेको छ। अहिलेको मुख्य चुनौती भनेको खोलालाई प्राकृतिक बहावमा फर्काउने हो,’ उनले भने, ‘हिजो पनि सिमसिम पानी पर्यो। मौसमले प्रतिकूल नरहने हो भने हामी खोलाको च्यानलिङ सक्छौं।’ रेन स्याडो जोनुमा पर्ने मुस्ताङको मौसम चक्रमा फेरबदल देखा पर्न थालेको छ। पानी नै कम पर्ने कागबेनी आसपासका क्षेत्रमा शनिबार साँझदेखि नै एकनास झरी परेको थियो। बाढी आएको दिन जोमसोम स्टेसनमा २५।२ मिलिमिटर वर्षा मापन भएको थियो। त्यसका अलावा कागखोलाभन्दा माथिको खोला पहिराले थुनिएको आशंका पनि जल तथा मौसम विज्ञान विभागले गरेको थियो। त्यहाँ रहेको स्टेसनमा केहीबेर खोला सुकेर एक्कासि बढेको देखाएको सिनियर डिभिजनल हाइड्रोलोजिस्ट सुनील पोखरेलले बताएका थिए।
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति सेप्टिक ट्याङ्कीमा परेर जङ्गली हात्ती मरेको छ । शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा परेर हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो । राति १२ बजेपछि जङ्गली हात्ती आएर सेप्टिक ट्याङ्कीमा पछाडिको खुट्टा परेर मरेको देखिएको छ मेहताले भन्नुभयो । उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मरेको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । ुयस सम्बन्धमा थप अनुसन्धान भइरहेको छु, उहाँले भन्नुभयो, ुविधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिनेछ ।
काठमाडौँ: त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार तस्करीको सुन प्रकरण अभियोगमा थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाईलाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रवक्ता कडायतका अनुसार चारै जनालाई सङ्गठित सुन तस्करीको अभियोगमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । सीआईबीले चार जनालाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २१ पुगेको छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा आफ्नो प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार भदौ १३ गतेभित्र प्राप्ताङ्क पुनः परीक्षणका लागि आवेदन दिन सकिनेछ । उहाँले जसका लागि मार्कसिटको लेजर र प्रवेश पत्रको प्रतिलिपि एक–एक प्रतिसहित नजिकको परीक्षा बोर्डको प्रादेशिक कार्यालय वा केन्द्रीय कार्यालय सानोठिमीमा बुझाउन सकिने बताउनुभयो । निवेदनका दिँदा कुनै शुल्क भने नलाग्ने जानकारी उहाँले दिनुभयो । प्रवक्ता अर्यालका अनुसार निवेदन दिएको पाँच–छ दिनभित्रै पुनः परीक्षणको नतिजा सार्वजनिक गरिनेछ । कक्षा १२ को नतिजा हिजो ९मङ्गलबार० सार्वजनिक भएको थियो । कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बोर्डका अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५१ जनाको परीक्षा रद्द गरिएको थियो । कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार ९७६ छन् । त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ । यसैगरी, जीपीए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ११ हजार चार सय ३८ छ । यस्तै, १.६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ । यसैगरी, एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेनन् ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास १६६० रुपैयाँमा विक्री वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । कास्की प्रशासनले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगाएतका एलपी ग्यासहरुको खुद्रा मुल्य १६६० मा विक्रि वितरण गर्न भनेको छ । जिल्ला प्रशासन कास्कीले जारी गरेको सूचनामा डिलरबाट विक्री मुल्य प्रति सिलिण्डर १६१६ रुपैया र खुद्रा मुल्य १६६० रुपैयाँमा विक्रि वितरण गर्न भनिएको छ । तोकिएको मुल्य भन्दा बढी लिएमा, अनलाइन भ्याट बिल जारी नगरेमा विक्रि वितरण गर्ने फर्म, व्यक्ति वा कम्पनीलाई कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।
काठमाडौं: यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुवाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो । बढेको भाडादर आजैबाट लागू हुने विभागले जनाएको छ । विभागका अनुसार यो भाडा दुई वा सोभन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागू हुने भएको छ । मङ्गलबारमात्र पेट्रोलमा प्रतिलिटर ५ रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपियाँ बढाएको छ ।
पोखरा: तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आयोजनामा हुन लागेको प्रथम अन्तर तमु समाज सिक्स ए साइड फुटसल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । ‘स्वास्थ्य नै जिवन हो, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित स्व. विमला गुरुङको स्मृतिमा आयोजना हुने प्रतियोगिताको तयारी तिब्र पारिएको प्रतियोगिता संयोजक मनोज कुमार गुरुङले जानकारी दिए । उनका अनुसार प्रथम विमला स्मृति अन्तर समाज सिक्स ए साइड फुटसल प्रतियोगिता आगामी भदौ ६ र ७ गते हस्पिटलचोकस्थित पैयुम फुटसल मैदान सञ्चालन हुनेछ । सो प्रतियोगिता गुरुङ सममाजबीचको सद्भाव कायम गर्ने उद्देश्यसहित स्वं विमला गुरुङको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए । उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३५ हजार हात पार्नेछ । यस्तै प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई जनही नगद रु २ हजार ५ सयसहित ट्रफि प्रदान गरिने अनुपम गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको छ ।
मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी समितिले संस्थाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । साउन १९ गते दिवंगत भएका संस्थापक अध्यक्षको १३ औं दिनको पुण्यतिथि पारेर संघले पोखरामा आफ्नै सचिवालयमा श्रद्धाञ्जली सभा गरी स्मरण गरेको हो । समाजसेवी विश्वमोहन गौचनले साहित्य र पत्रकारिता भनेपछि हुरुक्कै हुने ज्ञवालीको निधनले दुवै क्षेत्रलाई क्षति पु¥याएको बताए । उनले लुम्ले कविता गाउँमा आयोजित कार्यक्रमबाट आफूँले ज्ञवालीको बहुआयामिक व्यक्तित्वलाई चिन्न पाएकोसमेत स्मरण गरे । समीक्षक मदन भण्डारीले राज्यमा बाचेर केही गर्नुपर्नेहरूको असमयमा भएको निधनले आफूलाई मर्माहत तुल्याएको धारणा राखे । समाजसेवी सुमित्रा जिसीले गाउँ समाजमा आँखामा राख्दा पनि नबिझाउने व्यक्तित्वका रूपमा ज्ञवालीको स्मरण गरिन् । यसकुमारी जिसी स्मृति कोषका संस्थापक सविन जिसीले ज्ञवालीको निधनले आफूले असल अभिभावक गुमाउनु परेको पीडाबोध भएको धारणा व्यक्त गरे । संघका महासचिव सुशील श्रेष्ठले बैंकको जागिर छोडेर पत्रकारितामा समर्पित गरेको ज्ञवालीको सञ्चारकर्मको राज्यबाट उचित सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरे । हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले संस्थाको मुखपत्र मानवअधिकार आवाजको आगामी अंक संस्थापक अध्यक्षको स्मरणमा समर्पणलगायतका गतिविधि गरेर उनको योगदानलाई चिरस्मरणीय बनाउने बताए । कार्यक्रममा अनु बरालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी थिइन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै उनले सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरे । गएरातीको बाढीले कागबेनी क्षेत्रका घरहरु बगाउँदा सर्वसाधारण बिस्थापित भएपछि दैनिकि असहज बनेको भन्दै मुख्यमन्त्री पाण्डेले सोमवार बिहान प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठक राखेका थिए । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकले राहत ब्यवस्थापन र बाढीबाट भत्किएको संरचना ब्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनकालागि मुस्ताङमा इन्धन अभाव भएपछि ३ हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ । जिल्ला विपद् ब्यवस्थापन समिति मुस्ताङबाट माग भई आए अनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङकेट पठाउने, बाढी पहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात ब्यवस्थापन, कृषि र पशुजन्य क्षति ब्यवस्थापन, भूसंरक्षण लगायतका कार्यहरुमा गण्डकी प्रदेश सरकारका संम्बन्धित मन्त्रालयहरुबाट आवश्यक समन्वय, श्रोत साधनको परिचालन र सहजीकरण गर्न बैठकले निर्देशन गरेको छ । मौसम प्रतिकुल भएकाले हेलिकप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालकालागि ट्याक्टरबाट इन्धन, कम्बल, टेन्ट लगायतका सामग्री पठाउने निर्णय बैठकले गरेको हो । लगातार वर्षात हुँदा बाढी, पहिरोबाट पुगेको क्षतीका बारेमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग मुख्यमन्त्री पाण्डेले जानकारी लिएका थिए । सोही क्रममा उनले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको बिपद् ब्यवस्थापन कोषको रकम खर्च गरेर बिपद्का विषयमा सर्वसाधारण नागरिकलाई परेको समस्या छिटो समाधान गर्ने गरि अघि बढ्न निर्देशन दिए । बैठकमा प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

