तनहुँ: बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो । एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ । केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमका निर्देशक तथा इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिनुभयो । केबलकारमा एक्काइस डिब्बा यात्रु बोक्ने, छ डिब्बा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रु बस्नसक्ने क्षमताको छ । एड्भेञ्चर डिब्बा भने अन्य डिब्बाको तुलनामा फरक किसिमको (सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको) हुने उहाँले बताउनुभयो । “केबलकार भित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ”, निर्देशक पौडेलले भन्नुभयो । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई रु ५०, पत्रकारलाई रु तीन सय ५०, अन्य यात्रुका लागि रु पाँच सय, रेष्ट्रो क्याबिनको रु २५ हजार पर्नेछ भने ६५ वर्ष माथिका नागरिकलाई भने टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ । केबलकार र पाँचतारे होटल गरी कूल रु तीन अर्ब ५८ करोडको लागतमा निर्माण गर्न लागिएको हो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिकस्थल अवलोकन गर्दै भरपुर मनोरञ्जन लिन सक्नेछन् । मिति नतोकिए पनि दशैं अगाडिदेखि केबलकार सञ्चालनमा ल्याउने योजना भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । केबलकारमा अबको करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक परीक्षणका काम भइरहेको र अब असोजदेखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । ‘क्वीन टावर’ नाम दिइएको सत्र तल्लाको पाँचतारे होटलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका डाँडाकाँडा र फाँट सजिलै देख्न सकिनेछ । उक्त होटलको ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ । रङरोगन र फिनिसिङलगायत करिब आठ प्रतिशत कार्य गर्न बाँकी रहेको अध्यक्ष शर्माले बताउनुभयो । नब्बे कोठा रहेको हिलटपमा ७८ वटा कोठा प्रयोगमा ल्याइनेछ । सेमिनारलगायत अन्य कामका लागि एक हजार क्षमताको ठूलो कक्षसमेत निर्माण गरिएको छ । होटलको सुरुको तलाबाट सत्र तलासम्म क्याप्सुल लिफ्टबाट सिधै ‘क्वीन टावर’ सम्म जान सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी केबलकारको प्रवेशद्वारमा रु २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण काम भइरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा घुम्न आउने पर्यटकलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य रहने उहाँले जानकारी दिनुभयो । केबलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिनेछ । प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो । केबलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म उक्त सेवा दिइनेछ । तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । उहाँले भन्नुभयो, “कम्पनीले शाकाहारी, मांशाहारीलगायत खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराउनेछ ।” बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्ष्य गर्दै केबलकार, रेष्ट्रोकार र तारेस्तरसम्मका होटल निर्माण गरिएको छ । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको सत्रतले होटलभित्रै केबलकार पुगेर टुङ्गिनेछ । बटम स्टेशन ९तल० हाइवेसँग जोडिएको छ, जहाँबाट सिधै माथि बन्दीपुरस्थित होटलभित्र पुग्न सकिनेछ । बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ, सोही भवनमा भिआइपी लन्च, ओपन रेष्टुरेन्ट ९टुरिष्ट कोच०, अतिथि स्वागतलगायत कार्य एउटै भवनबाट हुनेछ ।
काठमाडौं: हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन् । होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड–१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिनुभयो । अहिले होटल द्रुत गतिमा निर्माण भइरहेको छ । भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो । हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई पाँचतारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले बताउनुभयो । बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपिओ निष्कासन गर्ने योजना रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा पाँचतारे होटल निर्माण गरिएको निर्देशक थापाले बताउनुभयो । “पोखरामा पाँचतारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी पाँच तारे होटलको अभाव महसुस भयो । हाइ–इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको हो”, उहाँले भन्नुभयो । सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो । तर, पोखरामा पाँचतारे होटल नहुदाँ काठमाडौँमा आयोजना गरिएको थियो । पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटल बनाउने योजना अनुरुप परियोजना अघि बढेको थापा बताउनुहुन्छ । चालीस ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जङ्गल लज, र काठमाडौँमा चारतारे होटल बाराही काठमाडौँ सञ्चालन गर्दै आएको छ । यस्तै, बाराही ग्रुपले पोखरामा ब्यञ्जन रेष्टुराँ र द बिच बार एन्ड लजसमेत सञ्चालनमा ल्याएको छ ।
बर्दियामा बुहारी कुट्ने ससुरा पक्राउ परेका छन् । आज बिहान सार्वजनिक स्थल सडकमा बुहारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही आधारमा घटना यथार्थ भएको पाएपछि नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सडकमा पुर्याएका थिए । बुहारीलाइ हात र लात्ती बेहोस हुनेगरी कुटपीट गरेको भिडियो सार्वजनिक भएको थियो । कुटपिट नगर भन्दै श्रीमती लगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरे पनि मदिरा पिएका उनले अरू महिला माथी पनि आक्रमणको प्रयास गरेका थिए थिए । प्रमिलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन् । यस अघिपनि मदिरा पिएर कुटपिट गरेक प्रमिलाले बताइन् । उनले भनिन्, ‘मेरो शरीरमा निकै चोट लागेकोले दुखाइ भइरहेको छ, कपाल लुछ्दै लात्तीले हिकाउँदै घर बाहिर ल्याएर कुटपिट गर्नु भयो । इलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक सुधिर खड्काले मदिरा पिएर बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका खुलासा भएको बताए ।
गण्डकी: गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार गरिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङ स्याउका लागि उर्वर भूमि हुन् । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो । स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट तीन सय ९२ र शीतोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत एक सय ८० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको उहाँको भनाइ छ । “मुख्यरुपमा मुस्ताङ र मनाङमा स्याउ खेतीलाई केन्द्रित गरिएको छ, अरू जिल्लाका उच्च पहाडी भेगमा पनि थोरैथोरै क्षेत्रमा स्याउखेती सुरु गरिएको छ”, प्रमुख रेग्मीले भन्नुभयो । गत आवमा स्याउखेती विस्तारतर्फ रु ११ करोड ५० लाख र शीतोष्ण फलफूल विस्तारमा रु छ करोड बजेट खर्च भएको निर्देशनालयले जनाएको छ । स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट मुस्ताङमा ५८ हजार आठ सय स्याउका बिरुवा वितरण गरिएको थियो । शीतोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत अन्य जिल्लामा २७ हजार स्याउका बिरुवा वितरण गरिएको प्रमुख रेग्मीले बताउनुभयो । शीतोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत १० हजार एक सय ओखरका बिरुवासमेत वितरण गरी थप पाँच सय पाँच रोपनीमा ओखर बगैँचा विस्तार भएको जनाइएको छ । विस्तार गरिएको स्याउ खेतीबाट प्रतिकिलो रु एक सय ५० का दरले वार्षिक झन्डै रु १७ करोड ३७ लाख बराबरको स्याउ उत्पादन हुने निर्देशनालयको अनुमान छ । औसतमा १० प्रतिशत बोट मरे पनि बाँकी बोटले वर्षमा १५ किलो उत्पादन दिँदा वार्षिक एक हजार एक सय ८५ मेट्रिकटन स्याउ उत्पादन हुने जनाइएको छ । स्याउका लागि मुस्ताङमा एक सय टन क्षमताका दुई चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कृषि अधिकृत हरिप्रसाद न्यौपानेले बताउनुभयो । थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो । अधिकृत न्यौपानेका अनुसार लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चारै गाउँपालिकामा उच्च घनत्वमा आधारित स्याउखेती विस्तार गरिएको हो । “किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाएका छन्”, उहाँले भन्नुभयो, “उच्च घनत्वको आधुनिक प्रविधिको स्याउखेतीतर्फ किसानको आकर्षण बढ्दो छ, बर्सेनि मुस्ताङमा स्याउको क्षेत्रफल बढिरहेको छ ।” रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने उहाँको भनाइ छ । छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन् । उक्त प्रविधिको स्याउखेती सातरआठ वर्षअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको थियो । रासस
हेटौँडा: हेटौँडामा एक युवकले आफ्नै संवेदशील अङ्ग (लिङ्ग) काटेर हेटौँडा अस्पताल भर्ना भएका छन् । हेटौँडा उपमहानगरपालिका –१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बस्नुभएका २२ वर्षीय नवीन हुमागाइँले संवेदनशील अङ्ग (लिङ्ग) काटेर घाइते हुनुभएको हो । मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँ स्थायी ठेगाना भएका उहाँले बुधवार राति १० बजेको समयमा आफ्नै संवेदनशील अङ्ग काटेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । संवेदनशील अङ्ग काटेर उपचारका लागि उहाँ हेटौँडा अस्पताल पुग्नुभएको छ । अस्पतालले थप उपचारका लागि राति १२ बजे चितवन रिफर गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिसपी एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीलाई बयानको क्रममा उहाँले आफैँले आफ्नो लिङ्ग काटेको बताउनुभयो । उहाँको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । घटना कसरी भएको हो भन्ने बारेमा प्रहरीले अझै अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनुभयो ।
पोखरा: पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट प्रदेशमा चार हजार पाँच सय ५४ पशुचौपाया मरेका छन् । गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जोशीले प्रदेशसभा सदस्य भीमबहादुर कार्कीद्वारा दर्ता गरिएको लम्पी स्किन भाइरसविरुद्ध सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उक्त जानकारी दिनुभएको हो । प्रदेशमा लम्पी स्किन रोगबाट पाँच दशमलव ६९ प्रतिशत चौपाया मरेको बताउँदै उहाँले यसको रोकथामको लागि तीनै तहका सरकार र व्यक्तिगत गरी कुल एक लाख १० हजार चार सय ४९ पशुलाई खोप दिइएको बताउनुभयो । सबैभन्दा बढी गाई र गोरुमा सङ्क्रमण देखिएको उल्लेख गर्दै मन्त्री जोशीले भन्नुभयो, “लम्पी स्किनबाट प्रदेशमा मर्नेमा ९५ प्रतिशत गाई गोरु र पाँच प्रतिशत भैँसी छन् । हिमाली भेगमा चौंरीमा समेत उक्त रोगको सङ्क्रमण देखिएको छ ।” गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये ८२ वटा पालिकामा यो रोगको सङ्क्रमण फैलिएको छ । उहाँले सीमित स्रोत साधन तथा जनशक्तिको अभावमा पनि प्रदेश सरकार यस रोगप्रति संवेदनशील रहेको देखिएको स्पष्ट पार्नुभयो । मुस्ताङको लोमान्थाङ, लो घेकर दामोदर कुण्ड र मनाङ जिल्लाको नापाभूमि गाउँपालिकामा भने लम्पी स्किन रोग देखिएको छैन । पशुमा उच्च ज्वरो आउने, घाँटी, पेट र पछाडिको भागमा गिर्खा, जोर्नी र खुरु सुनिने तथा निको भएपछि पनि बाजो पन देखिने यो रोगले दीर्घकालसम्म पनि कृषि क्षेत्रमा ठूलो क्षति हुने यो रोगको रोगथाम स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले पशु बीमा दाबी भुक्तानीका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिएको जानकारी दिनुभयो । प्रदेशसभामा पहिलोपटक सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदै प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले लम्पी स्किन रोगको कारण कृषकको जीवनस्तर कष्टकर बनेको उल्लेख गर्दै उचित राहत उपलब्ध गराएर प्रदेश सरकारप्रति जनताको आशा जगाउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य राजकुमारी भुजेल प्रस्तावक र बिन्दु पौडेल समर्थक रहनुभएको उक्त सार्वजनिक प्रस्तावमा रेखा गुरुङ, फणेन्द्र देवकोटा, डिल्लीराम सुवेदी, भक्तबहादुर कुवर, सरस्वती गुरुङ, कृष्णप्रसाद पाठक, कल्पना तिवारीलगायतले दुहुना गाई भैँसी र जोत्ने गोरु खाल्टोमा पुर्न बाध्य कृषकको घाउमा मलम लगाएर उनीहरुलाई आशावादी बनाउन प्रदेश सरकारले तत्काल राहतका योजना ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
पोखरामा ‘दुई नाटक’ मञ्चन जारी रहेको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर यो नाटक तयार भएको हो । हालसम्म ‘बुकिङ शो’ मार्फत १५ पटक मञ्चन भएको यो नाटक ‘पब्लिक शो’ मार्फत समेत गन्धर्व नाटकघरमा देखाइसकिएको छ । यसैक्रममा बुधबार गुरुकुल विद्या सदनमा अध्यनरत १ सय २० जना विद्यार्थीले नाटक हेरे । उनीहरुले थिएटरमा पुगेर नाटक मात्र हेरेनन् थिएटरमा प्रयोग हुने विभिन्न प्राविधिक पक्षको बारेमा समेत जान्न पाए । स्टेज, लाइट लगायतका थिएटरमा प्रयोग हुने विविध पक्षको बारेमा प्रयोगात्मक शैलीमा जानकारी दिइयो । जसका कारण विद्यार्थी थप उत्साहित बने । नाटक हेरिसकेपछि सोही बिद्यालयका शिक्षक अशोक सोतीले पाठ्यपुस्तकमा पढेको कथा र एकांकीलाई नाटक मार्फत थिएटरमा हेरपछि विद्यार्थीको ज्ञानको दायरा बढेको आफुलाई महशुस भएको बताए । कलाकारले गरेको मेहनतको उनले खुलेर तारिफ गरें । नाटकप्रति विद्यार्थीको रुचि बढ्नु सुखद पक्ष भएको भन्दै नयाँ पुस्तालाई थिएटर प्रति आकर्षित गर्नको लागि थिएटरले गरिरहेका गतिविधिको प्रशंसा समेत गरें । गुरुकुल विद्या सदन सँगै ज्योतिकुञ्ज मावि, फेवा पब्लिक स्कुल, डाइमण्ड मावि, ज्ञान सरोवर, तारापुञ्ज शिक्षा एकेडेमी, वेलनन एकेडेमी, ताराकुञ्ज शिक्षा एकेडेमी, कुम्दिनी होम्स, रेन्बो एकेडेमी होम्स, गण्डकी बोडिङ स्कुल, पश्चिमाञ्चल मावि, एसओएस हर्मन माइनर, प्रतिभा मावि, शुक्रराज बलभद्र मावि, बालप्रभात, अक्सफोर्ड एकेडेमी, लिटल ड्याफोडिल र द ड्रिम्स स्कुलका विद्यार्थीले नाटक हेरिसकेको पोखरा थिएटरले जनाएको छ । नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ । भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा मञ्चन गरिएको हो । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकोले उनीहरुलाई लक्षित गरेर नाटक मञ्चन भैरहेको बताए । यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानिय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उनको भनाइ छ । ‘यो नाटकले विद्यार्थीको लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ’ पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनले भने । झण्डै एक घण्टा अवधिको यो नाटक ‘बुकिङ शो’ मार्फत भाद्र २२ गतेसम्म र दर्शकको माग आएमा ‘पब्लिक शो’ मार्फत समेत मञ्चन गरिने पोखरा थिएटरले जनाएको छ । नाटकलाई सुन्दर बनाउन रमेश बाबु तिमल्सिनाले प्रकाश परिकल्पना, रञ्जु दाहालले ध्वनि परिचालन, सुसन पौडेलले प्रकाश परिचालन, दिप्सना विश्वकर्माले कस्टुम म्यानेजर, सोनिया कार्की खत्रीले आर्टिष्ट म्यानेजरको रुपमा सघाएका छन् ।
बाग्लुङ: पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा र करिडोर अन्तर्गतको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध पारेको हो । बुधवार हिजो बेलुकादेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको उहाँले बताउनु भयो । लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका ठाउँबाट बुर्तिबाङ, बाग्लुङ, पोखरा, काठमाण्डौलगायतका ठाउँ पुग्ने गाडी बीच बाटोमै रोकिएका छन् । यस्तै, कालीगण्डकी करिडोरमा चल्ने बाग्लुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका गाडी ठप्प भएको छ । सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले योग्य श्रमशक्ति पलायनको चक्र रोक्नुपर्ने बताएका छन्। पार्टीको अर्थ तथा योजना विभागले गरेको अन्तरक्रिया कार्यक्रममा विभाग प्रमुखसमेत रहेका पुनल त्यसका लागि औद्योगीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सिर्जना गर्नेतर्फ जोड दिनुपर्ने बताए। उनले श्रमशक्तिको निर्यात नभई स्वदेशमै उपयोग गर्ने नीति अवलम्बन गर्न ढिला हुन लागिसकेको बताए। ‘नेपालमा केही हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोज्यो। गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरूरी छ,’ उनले भने। पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने बताए। आफूले अर्थमन्त्री भएका बेला केही उदाहरणीय काम गरेर देखाएको पुनको दाबी थियो। समस्याग्रस्त अवस्थामा रहेका सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र बाणिज्य बैंकलाई बचाउन भूमिका खेलेकोदेखसि करिब बन्द हुने अवस्थामा रहेका तीनवटै सरकारी बैंकलाई पुँजी वृद्धि गरेर जोगाइएको बताए। हाल कमजोर अवस्थामा रहेका सार्वजनिक संस्थान बचाउन पनि केही न केही नयाँ नीतिमा फड्को हाल्नुपर्ने उनले बताए। आफू अर्थमन्त्री हुँदा दुई न्यारोबडी जहाज किनेर वायु सेवा निगमलाई डुब्नबाट जोगाएको बताए। उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको स्पष्ट गरे। मुलुकको समग्र आर्थिक विकासका लागि सार्वजनिक, निजी र सहकारीको नीति खम्बे अर्थनीतिलाई आत्मसात गरी पुँजीको सही उपयोगमार्फत उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने पुनको भनाइ थियो। पार्टीको अर्थ तथा योजना विभागले आर्थिक अवस्थामा सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ। अन्तरक्रिया कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, जलश्रोत, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इन्जिनियरिङ, जलश्रोत र बाणिज्यसहित विज्ञिन्न क्षेत्रका जानकारहरुले सुझाव दिएका थिए।

