काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल हुनका साथै तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । त्यसअघि बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुने छ ।
काठमाडौं: घरेलु मैदानमा नेपाली यु–१९ क्रिकेट टोलिले अफगानिस्तानको युवा टोलिसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ । तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ ।
पोखरा: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदै छ । चलचित्र प्रदर्शनको मिति नजिकिएसँगै निर्माता टिम प्रचारप्रसारमा जुटिसकेको छ । मंगलबार पोखरा आइपुगेको ‘अन्जिला’ फिल्म निर्माता टिमले पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय महिला फुटबलकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ देखि देशभर प्रदर्शनमा आउने बताएको छ । फिल्म निर्देशक मिलन चाम्सले ‘अञ्जिला’ फिल्मले जीवन केःहो भन्ने बुझाउने बताउँदै बच्चाहरुलाई समेत फिल्म देखाउन आवश्यक रहेको बताए । ‘अञ्जिला चलचित्र एकपटक फिल्म हलमा पुगेर हेरिदिनुस्, यो फिल्म बच्चाहरुलाई लगेर देखाउनुस्, यसले जीवन केःहो भन्ने बुझाउँछ’, निर्देशक चाम्सले भने, ‘यो चलचित्र एउटा चलचित्र मात्र नभएर प्रेरणाको स्रोत बन्न सक्छ भन्ने आशा लिएको छु, यो चलचित्र सफल भए अन्य खेलाडीहरुको समेत बायोपिक बनाउछु ।’ निर्देशक चाम्सले कसैको बायोपिक बन्न बुढो हुनपर्छ परम्परा तोड्न पनि ‘अञ्जिला’ चलचित्र निर्माण गरेको दावी गरे । ‘यहाँ प्राय के प्राटिकल छ भने, बायोपिक बन्न त्यो मान्छे बुढो हुन पर्छ, उसले जीवनका कालखण्डमा धेरै अचिपमेन्टहरु हुनुपर्छ अनि मात्र बनिनुपर्छ भन्ने छ, कति चाँहि बितेर जान्छ, बितेर गइसकेपछि हामी चाँहि महान भन्छौ त्यो व्यक्तिलाई, त्यो एउटा पराम्परा भइसकेको छ, त्यो परम्परा तोडिनुपर्छ भन्ने हो, उनले भने, ‘ जो बोलेको छ, जसले राम्रो गरिरहेको छ, उसलाई योगदान पनि हुने भयो पहिलो कुरो, दोस्रो कुरा, उसलाई जीन्दगीभर एउटा सिनेमा जिवित राख्ने माध्यम बन्यो र एन्जिलाको नै बन्न पर्छ भनेर उसलाई रोज्यौ ।’ उनले एन्जिलाको बाल्यकालदेखि कप्तान हुँदासम्मका संघर्षहरु चलचित्रमा समावेश गरेको बताए । निर्देशक चाम्सले चलचित्र निर्माण गर्दाको समयमा राज्यले खेलकुद क्षेत्रमा प्राप्त लगानी नगरेको समेत गुनासो राखे । कलाकार माओत्से गुरुङले ‘अञ्जिला’ चलचित्र एउटा खेलाडीको संघर्षमा आधारित रहेको बताए । ‘व्यक्तिमा रहर छ, क्षमता छ, अवसर छ भने त्यो व्यक्तिलाई जन्मको आधारले पछि पर्नुपर्ने आवश्यकता हुँदैन’, कलाकार गुरुङले भने, ‘यदी त्यो व्यक्तिमा रहर छ, क्षमता छ र अवसर पाएको खण्डमा उसको जन्म चाँहे सुदूर या कुनै विकट ठाउँमा जन्मिएको किन नहोस् उसले अवसर पाएको खण्डमा प्रमाणित गर्न सक्छ, त्यो देखाएको पात्र चाँहि एन्जिला पात्र हो ।’ राष्ट्रिय महिला टिमकी कप्तान एन्जिला केही दिन अगाडि सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेलेर व्यवसायिक फुटबल प्रतियोगिताका लागि ग्रिस गइसकेकी छिन् । उनले व्यवसायिक फुटबल प्रतियोगिताका लागि नेपाल बाहिर भएकाले एक भिडियो सन्देशमा ‘अञ्जिला’ फिल्म हेरेर सहयोग पु¥याउन आग्रह समेत गरेकी छिन् । १३ वर्षको उमेर देखि फुटबल खेल्न सुरु गरेका कप्तान एन्जिलाले सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यू–१४ गल्र्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय खेल यात्रा सुरु गरेकी थिईन् । निर्देशक मिलन चाम्सले निर्देशन गरेको ‘अञ्जिला’ फिल्ममा अभिनेता दयाहाङ राई, कलाकार माहोत्से गुरुङ, सिर्जना सुब्बा, बिजय बराल, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।
लुम्बिनी: बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट सुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा पाँच सय जनालाई बौद्ध धर्मगुरूबाट पहेँलो चीवर प्रदान गरी श्रामणेर प्रबज्यामा सहभागी गराइएको हो । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सह–आयोजनामा आज कूलपुत्र प्रबज्या (अल्पकालीन भिक्षु) गराइएको हो । सङ्गनायक बोधीसेन महास्थवीर, अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थवीर धम्म शोभन, थाई धम्मदूतका फरा उपाझ्याए पभनासहित बौद्ध धर्म गुरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउनुभयो । उहाँले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको र यहाँको विकासका लागि थाइल्याण्ड सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो । समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भए पनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बुद्ध दर्शन समुदाय, व्यक्ति विशेष नभइ मानव जीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकामा बधाइसमेत दिनुभयो । उपाध्यक्ष डा लामाले बुद्ध दर्शन मानव दर्शन भएको बताउँदै प्रबज्यामा रहेकाले जीवनको महत्वपूर्ण इतिहास दर्ज गराउन सफल भएको बताउनुभयो । अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु निग्रोधले बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरूको आवश्यकतापर्ने भएकाले त्यसैका लागि प्रबज्या कार्यक्रम राखिएको बताउनुभयो । उहाँले बुद्धजन्मभूमि लुम्बिनीमा भएको पाँच सय जनाको प्रबज्याले बुद्धको उपदेशलाई विश्वभर फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियम पालना गर्नुपर्नेछ । सामान्य अनुयायीले पञ्चशिल र अष्टशिलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामी चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ । भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियमहरू पालना गर्नुपर्ने हुन्छ । फागुन १४ गतेदेखि सुरू भएको प्रबज्यामा फागुन १६ गते ललितपुरस्थित अक्षेश्वर महाविहारमा केश मुन्डन गरेका थिए । आज पहेँलो चीवर लगाउन योग्य भएका श्रामणेरहरूले आफूहरूले पहेँलो चीवरण ग्रहण गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् । चीवर प्राप्त गरेका १२५० जनालाई पञ्चशिल, अष्टशिल र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराइने आयोजकले जनाएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने बताउनुभयो । सन् २०११ मा एक हजार, २०१५ मा एक हजार एक सय १२, सन् २०१९ मा एक हजार एक सय १९, सन् २०२३ मा पाँच र सन् २०२४ मा एक हजार दुई सय ५० जनालाई प्रबज्या गराइएको थियो । प्रबज्या कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्रचार्य, राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथलगायतको उपस्थिति थियो । प्रबया सामाजिक नेपालको व्यवस्थापनमा प्रबज्यामा भएको कार्यक्रमअन्तर्गत बिहीबार भिक्षाटन, फागुन २४ गते लुम्बिनी उद्यानमा दीप प्रज्ज्वलन, चैत ३ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।
पोखरा महानगरपालिका २९ स्थित भण्डारढिक खेलमैदानमा आयोजना हुने दोस्रो संस्करणको सूर्यतारा खेल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही २४ गतेदेखि चैत्र २ गतेसम्म सूर्यतारा क्लब पोखराको आयोजनामा हुने उक्त प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए । उनका अनुसार उक्त महोत्सवमा मुख्य आकर्षणको रुपमा नेकोस कप खुला पुरुष फुटबल प्रतियोगिता समावेश गरिएको छ । उक्त प्रतियोगिताको उपाधि राशी नगद रु ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र निर्धारण गरिएको उनले बताए । यस्तै प्रतियोगिताको उपविजेतालाई नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक पुनले जानकारी दिए । प्रतियोगितामा बढीमा १२ वटा टिमलाई सहभागिता गराइने उनले बताए । उक्त खेल महोत्सवमा खुला सामूहिक लोकनृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबल टेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता सञ्चालन गरिने संयोजक पुनले बताए । कार्यक्रममा मुख्य प्रायोजकका रुपमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सहप्रायोजकका रुपमा बन्दिपुर केवलकार प्रालि रहेको छ । उक्त कार्यक्रमको उद्घाटन सभामुख देवराज घिमिरेले र समापन सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने आयोजकले जनाएको छ ।
रामेछाप: आज यहाँका माझी समुदायले लदी (कोशी) पूजा गरेका छन् । लदी पूजाका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । माझी समुदायको पहिचानसँग जोडिएको सो पूजाका अवसरमा तामाकोशी, सुनकोशी तथा अन्य नदी किनारमा पूजाआजा गरिएको छ । नेपाल माझी विद्यार्थी सङ्घले मन्थलीमा खुल्ला माझी नृत्य प्रतियोगिता आयोजना गरेको छ । माझी समुदायको महान् पर्वका रुपमा लिइने लदी पूजा हरेक वर्ष नदी किनारहरुमा गर्ने गरिन्छ । नदी आफूहरुको जीवन पद्धतिसँग जोडिएकाले परापूर्वकालदेखि पूजा गरिँदै आएको मन्थली नगरपालिका–८ गाईखुराका बालकृष्ण माझीले बताउनुभयो । सुरुसुरुमा कोशी तथा ठूला नदीहरुहरुमा डुङ्गामा जङ्घार तार्ने र माछा मार्ने पेसा भएकाले पनि माझी समुदायको लदी पूजासँग विशेष सम्बन्ध छ । “परापुर्वकालमा माझीले राजालाई डुङ्गा तार्ने क्रममा कोशीको बीचमा डुङ्गा अड्किएपछि राजा डुब्ने डरले आत्तिँदै बल पुकारा माग्दा लदी पूजा गर्नु र त्यसको प्रसाद कसैलाई नदिई आफैँले मात्र खानु भनी माझीलाई भनेपछि माझीले सो अनुसार गरी डुङ्गा पार लगाएको किम्बदन्ती छ”, स्थानीय बालकृष्ण माझीले भन्नुभयो, “त्यही भएर यो पूजामा नदीमा डुङ्गा, त्यसको बहना, माछा मार्ने जाल, घोल्याङ, माछा हाल्ने पेरुङ्गो, एकै ठाउँमा राखेर देवता स्थापना गरी कोशी किनारमा परेवा, हाँस, कुखुरा र पाठीको बलि दिई पूजाआजा गर्ने चलन छ ।” कोशी र माझीबीच मामा भान्जाको नाता रहेको पनि बताइन्छ । मामाले भान्जालाई जुनसुकै काममा पनि सहयोग गरून् भनेर पनि यो पूजा गरिएको माझी समुदायका बूढापाकाहरु बताउँछन् । यस पर्वका अवसरमा मन्थली नगरपालिकाले माझी समुदायको बस्ती रहेको वडा नं १,२,६,७, र ८ नं वडामा आज सार्वजनिक बिदा दिएको छ ।
काठमाडौँ: प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, सहित पाँच अध्यादेश संसद्बाट पारित गर्नुपर्ने भएकाले दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक ह्विप जारी गरेका हुन् । सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ तथा ‘सुशासन प्रवद्र्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि बुधबार संसद्मा पेस गर्ने भएको छ ।
कैलाली: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो परिमाणमा कारोबार भइरहेको सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ कैलालीको १२औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले देशको अर्थतन्त्रमा व्यवसायीको भुमिका अतुलनीय रहेको बताउनुभयो । व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्ने कार्यमा राज्य चुक्न नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “व्यावसायिक वातावरण सिर्जना हुँदा त्यसले अर्थतन्त्रलाई मात्रै नभई रोजगारी पनि सिर्जना हुन्छ ।” देश सङ्घीय प्रणालीमा गइससकेको अवस्थामा व्यवसायीका लागि आवश्यक कच्चापदार्थको उपलब्धता प्रदेश तहबाट हुन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । “हामीले बनाएका केही ऐन कानुन संसोधन गर्नुपर्ने स्थिति आएको छ । आज कानुनी व्यवधानका कारण व्यवसायीले कच्चापदार्थ सहजरूपमा पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “प्रदेशबाट व्यवसायीलाई कम्तिमा कच्चापदार्थ उपलब्ध गराउन सक्यौँ भने पनि व्यवसायीलाई ठूलो राहत हुन्छ ।” परम्परागत रूपमा व्यवसायलाई अगाडि बढाउन सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभयो । त्यसका लागि पार्टीको तर्फबाट सदनमार्फत सरकारलाई दबाब दिने उहाँले बताउनुभयो । सुनचाँदीलाई बिलासिताको वस्तुका रूपमा कर लगाउनु गलत भएको र त्यसलाई हटाइनुपर्ने उहाँको भनाइ थियो ।
जनकपुरधाम: मधेश शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय (यादव) आज जनकपुरधाममा मृत भेटिएका छन् । सर्लाहीको मलङ्गवा नगरपालिकाको गम्भरिया घर भएका ३७ वर्षीय यादव जनकपुरधामस्थित मधेश प्रदेश भवनभित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । ओछ्यान नजिक यादवले वान्ता गरेको पाइएको र उहाँको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । उहाँको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

