पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार दुर्घटनामा पलाँता–५ निवासी अम्बा शाही, वडा नम्बर–४ का सदु बुढा, सोही वडाका रवीन्द्र विकको मृत्यु भएको हाे।   त्यस्तै मुगुको खत्याड गाउँपालिका–५ घर भएका ट्याक्टर चालक चन्द्रप्रकाश रोकायाको पनि दुर्घटनामा मृत्यु भएको डिएसपी रावतले जानकारी दिए।   उनका अनुसार चारै जनाको घटनास्थलमै मृत्यु भएको हो।   आइतबार राति पलाँता गाउँपालिका–२ लार्फमा ट्याक्टर दुर्घटना भएको थियाे ।  

पाल्पाको बगनासकाली-४, खानीछाँपस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच यात्रु घाइते भएका छन् ।   पाल्पा प्रहरीका अनुसार आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाँप जाने क्रममा भएको दुर्घटनामा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हाे ।   ब्रेक फेल भएर दुर्घटना भई जिप सडकमै पल्टिँदा च्यापिएर सारुको मृत्यु भएको बताइएकाे छ ।   तानसेनबाट खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप दुर्घटनामा घाइते भएकामध्ये एक यात्रुको टाउकोमा गम्भीर चोट लागेको छ ।   अन्यकाे अवस्था सामान्य रहेकाे छ । घाइतेलाई तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएकाे छ ।    

पोखरा:   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान राष्ट्रिय फुटसल प्रतियोगितामा इक्यान कास्की च्याम्पियन बनेको छ ।   शनिबार भएको फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्की च्याम्पियन बनेको हाे।   च्याम्पियन बनेसँगै इक्यान कास्कीले ६६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्याे ।   उपविजेता इक्यान पूर्वाञ्चलले ३६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल हात पार्याे ।   सात टिमको सहभागिता रहेको फुटसल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल लगायतले पुरस्कार प्रदान गरे ।   प्रतियोगितामा काठमाडौं, कास्की, पूर्वाञ्चल, मकवानपुर र रुपन्देहीबाट एक/एक टिम र आयोजक टिम चितवनबाट २ टिम सहभागी रहेको थियाे  ।

तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।   आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा माइक्रोमा सवार एक पुरूष र स्कुटरमा  पछाडि बस्ने युवतीको मृत्यु भएको हो ।   स्कुटर पछाडी बस्ने लमजुङ बेशीसहरकी अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। स्कुटर चालक सुरेश श्रेष्ठ गम्भीर घाईते छन् ।   माइक्रोमा सवार मनाङ नासोङ गाउँपालिका वडा नं. ८ का ४० वर्षीय मन घलेको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दरबजारमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भोटेओडारले जानकारी दिएकाे छ।   घले काठमाडौंमा भइरहेकाे शिक्षक आन्दाेलनमा सहभागी भएर घर फर्कँदै थिए। उनी मनाङको नाँसो ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।     प्रहरीका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ ।    

पोखरा:   वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनकुटाकाे पाख्रीबास नगरपालिका–५ की १९ वर्षीया ज्ञानुता विश्वकर्मा रहेकी छिन् ।    गत ६ गते बिहान ८ बजे पोखरा महानगरपालिका–७, पार्दीस्थित लोक सेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा दर्ता नं. ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा बैदामबाट खटिएको प्रहरी टोलीले ज्ञानुतालाई पक्राउ हो ।   ज्ञानुताविरुद्ध शिक्षा ऐन सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशाल सुनार रहेका छन् ।    उनीहरुको साथबाट ट्रामाडोल ३ हजार ५ सय ४३ ट्याब्लेट र करिब ३ सय ग्राम गाँजा बरामद गरेको छ ।   इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा शान्तीलाई १ हजार १ सय ८० ट्याब्लेट ट्रामाडोल र विशाललाई २ हजार ३ सय ६३ ट्याब्लेट ट्रामाडोल र करिब ३ सय ग्राम गाँजा सहित पक्राउ गरेको थियो ।   उनीहरु विरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।    

पोखरा:   नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ ।    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख अन्तिम सातामा हुने अवार्डको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले गर्ने भएको हो ।   आइतबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष एमबी आस्था मगरबीच ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्री गर्दै आएको छ । यस अघिका अवार्डलाईसमेत सिटिजन फर्निचरले सहयोग गर्दै आएको छ ।   अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा सहयोगीहरु जोडिने क्रम समेत बढ्न थालेका छन् ।   नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ ।   त्यस्तै उदीयमान खेलाडी विधाको पुरस्कार प्रायोजन सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था विधाको पुरस्कार प्रायोजन निट डेन्टल केयरले गर्ने सम्झौता भइसकेको छ ।   त्यसैगरि जिल्ला एथ्लेटिक्स सङ्घ कास्कीले ११ हजार १ सय ११ रुपैयाँ, मदन भण्डारी स्पोर्टस् एकेडेमीले १ सय थान टिसर्ट सहयोग गर्ने सम्झौता भइसकेको छ ।   खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ ।   अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।   

रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेका छन् ।    अर्का २० वर्षीय सुन्दर परियार भने फरार छन् ।    उनको पनि खोजी भइरहेको  सुलिचौर इलाका प्रहरी कार्यलयका प्रशरी निरीक्षक अरुण तामाङले जानकारी दिए ।    उनका अनुसार उक्त कुकुरलाई विना कारण रुखमा झुन्ड्याएर यातना दिदै हत्या गरिएको थियो ।   मुलुकी अपराध संहिता २०७५ अनुसार कुनै पनि जनावरको क्रूरतापूर्वक हत्या वा कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ।   परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिएका छन्।   परिवारको गुजारा खेती किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको उहाँले बताए। ‘गोठमा गाईभैंसी पाल्नु भनेको दुःखको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नैपर्‍यो, पशुचौपाया बिक्री गरेर हुने आम्दानी नगन्य हुन्छ, तीन–चार वर्ष पालेपछि मात्रै बहर गोरु बिक्री हुन्छन्,’ पुनले भने। भैंसी र बाख्रापालन गर्ने किसानले भने गाईपालन गर्नेहरूको तुलनामा बढी नगद आम्दानी गर्छन्।   लेकाली क्षेत्रमा पालन गरिने भैंसी दुधालु हुने र खसीबोकाको मासु स्वादिलो हुने भएकाले घुम्ती गोठमा पालिएका भैंसी र खसीबोकाको माग धेरै छ। यहाँका किसानले कोदो, मकै, जौँ, गहुँलगायतको खेती गर्ने भएकाले खेतबारीलाई मलिलो बनाउन पशुपालन अनिवार्यजस्तै हुने गरेको छ।   पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्ती गोठमा पशुपालन गर्नेले वनजङ्गल, लेक–बेँसीका उकाली ओरालीको दुःख र बर्षा, हिमपात, हुरीबताससँगको चुनौती सामाना गर्नुपर्ने बाध्यता छ।   'मुनाकै ८० वर्षीय लिलबहादुर पुनको दैनिकी पनि गोठमै बित्ने गरेको छ। आफ्नो बुबाआमाले गर्दै आएको भेडाबाख्रापालन गर्ने कामलाई निरन्तरता दिएका उहाँले आफ्नो छ छोरी र चार छोरासहितको परिवारको हुर्काइबढाइको जोहो गोठबाटै गरेको बताए। ‘म गोठमै हुर्किएको हुँ, अहिलेसम्म पनि गोठमै छु, पहिले भेडा पनि थिए, अहिले बाख्रा मात्र पालन गर्छु, बुढ्यौली लागेर अब बुकी जान नसक्ने भइसकेँ, तर बेँसीमा भने गोठमै दिन कटाउँछु,’ उनले भने।   पहिले हरेकजसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा समेत चहलपहल हुने भए पनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेहरूको संख्या घट्दै गएको र बुकीका खर्क र पाटन सुनसानजस्तै हुने गरेको उनले अनुभूति सुनाए। पशुचौपायाको सङ्ख्या घटेपछि बुकी क्षेत्रमा स्थानीयले आलोपालो लगाएर गोठमा बस्ने गर्छन्। मुनामा अहिले पनि करिब १०० घरमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ।   दुई दशक अघिसम्म गाउँका सबै घरपरिवार घुम्ती गोठ राखेर गाईभैँसी, भेडाबाख्रापालन पेसामा आबद्ध थिए। परम्परागत पशुपालन व्यावसायिक बन्न नसकेपछि युवाहरू विदेश पालन हुन थालेका छन् भने घुम्ती गोठको परम्परालाई गाउँका बूढापाकाले मात्र धानेका छन्। हिजोआज गोठमा युवायुवती भेटिन छाडेका छन्।   वृद्धवृद्धा अवस्थाका पाका पुस्तामात्र घुम्ती गोठमा भेटिन्छन्।   खेतीपाती, घाँसदाउरा र गोठधन्दाको काम गर्न नयाँ पुस्ता इच्छुक नदेखिएको मुनाका गाईपालक किसान हर्कबहादुर रोकाले बताए। घुम्ती गोठमा गरिने पशुपालन व्यावसायिक नबने पनि खेतीका लागि मल र पुर्खाले गरेको परम्परा धान्नका लागि गोठ राख्ने चलनले निरन्तरता पाएको उनको भनाइ छ।   ‘पुर्खाले गरेको पेशालाई च्वाट्ट छाड्न पनि सकिएन, बीचमा मैले स्वास्थ्य चौकीमा कार्यालय सहयोगी बनेर काम गरेँ, अहिले फेरि आफ्नै पुख्र्यौली घुम्ती गोठमा पशुपालन गर्ने काम अँगालेको छु,’ रोकाले भने। पछिल्लो समय घुम्ती गोठमा भेडापालन गर्ने चलन कम हुँदै गएको छ। स्थानीयले गाईभैँसी र बाख्रापालनका लागि भने घुम्ती गोठको परम्परालाई जोगाएका छन्।   हिउँदयाममा बेँसीको फाँटमा खेतीयोग्य जग्गामा मल बनाउन गोठ सार्ने गरिन्छ। जेठमा बुकीतर्फ लैजाने गोठ कात्तिक लागेपछि बेँसीतर्फ झार्ने गरिन्छ। हिउँदेबाली जाँै, गहुँलगायत भित्र्याएपछि वैशाखको सुरूदेखि घुम्ती गोठका पशुचौपायालाई लेकतर्फ सार्न थालिएको छ। यहाँका स्थानीयले घुम्ती गोठका पशुचौपायालाई चरनका लागि ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने बुकी र खर्कसम्म पुर्‍याउने गर्छन्।    यस क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या घटे पनि घुम्ती गोठको परम्पराले निरन्तरता पाएको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष देवेन्द्र रोकाले बताए।   ‘युवापुस्ता गोठमा बस्ने चलन हराएको छ, पुराना पुस्ताले घुम्ती गोठलाई जोगाइराखेका छन्, हामीले घुम्ती गोठ सुधारमा सघाउने कार्यक्रम ल्याउन सुरु गरेका छौं, परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन सकेमा यसले आयआर्जनमा समेत टेवा पुग्ने थियो,’ वडाध्यक्ष रोकाले भने।   चालु आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाले घुम्ती गोठ सुधार तथा निर्माणका लागि २५ प्रतिशत लागत साझेदारीमा पूर्वाधार बनाउनका लागि किसानबाट माग संकलन गरिरहेको छ। म्याग्दीमा सबैभन्दा धेरै धवलागिरि गाउँपालिकामा घुम्ती गोठमा पशुपालन हुने गरेको छ।   यस पालिकाको मुना, मुदी, मल्कबाङ, लुलाङ, गुर्जा क्षेत्रमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ।