पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकामा हुने तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । माछापुच्छ्रे गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए हो । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले फागुन १४ देखि १७ गते सम्म हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको बताए । ‘माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना, वडा नम्बर ७ को व्यस्थापन र माछापुच्छ«े गाउँपालिका भलिबल संघको संयोजनामा गाउँपालिकाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्यमा हुने प्रतियोगिताको तयारी पूरा भएको छ’, अध्यक्ष गुरुङले भने, ‘ तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप यसपटक माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसमा सञ्चालन गर्दै छौं ।’ उनका अनुसार फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र सेमिफाइनलमा पराजित हुने २ टिमलाई ५०÷५० हजार रुपैयाँसहित ट्रफी मेडल, र प्रमाणपत्र प्राप्तगर्ने छन् । यस्तै महिलातर्फको विजेताले १ लाख, उपविजेताले ५० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमले २५÷२५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा प्रथम, द्धितिय र सेमिफाइनलमा पराजित हुने टिमले प्राप्त गर्ने पुरस्कार राशीमा तोकिए बमोजिम नियमानुसार करकट्टी गरी पुरस्कार प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुष विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पालिकाको लोखो अंकित खेलकुद पोशाक पुरस्कार प्रदान गाउँपालिकाले जनाएको छ । गाउँपालिका ७ धम्पुसमा सञ्चालन हुने प्रतियोगितामा दर्शकहरुका लागि अवलोकनका लागि प्याराफिट निर्माण गरिएको छ भने, खेल अवधिभर होटल तथा होमस्टेमा १ हजार रुपैयाँका दरले खाना, खाजा र आवासको प्याकेज उपलब्ध हुनेछ ।
काभ्रेपलाञ्चोक: बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नंको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ । उक्त बसमा चालक र सह–चालकसहित २४ जना सवार रहेकामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो । जसमध्ये सात जनाको अवस्था मध्यम रहेको र अरू सबै सामान्य रहेको जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो ।
काठमाडौं: काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिनुभयो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गर्नुभयो । उपप्रमुख डङ्गोलले भन्नुभयो, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गर्नुभयो ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ । सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला रु एक हजार नौ सय ७० मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं: यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसपटक हामीले दुई सेकेन्डमा दश जनालाई दर्शन गर्नसक्ने गरी प्रबन्ध मिलाएका छौँ । यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ ।” उहाँले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन÷तीन र पूर्व र दक्षिण ढोकामा दुई÷दुई वटा लाइन रहने जानकारी दिनुभयो । संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गर्नुभयो । “हामीले फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ । यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्नुहुने हाम्रो अनुमान छ । यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको सङ्ख्या जोड्दा त्यो बढ्ने छ”, संयोजक खत्रीले भन्नुभयो । उहाँले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ । सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताउनुभयो । सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने संयोजक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमा धुनीको व्यवस्था गरिएको छ । महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ ।
काठमाडौं: सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । सो दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो । दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ ।
म्याग्दी: म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो । पूर्वाधार विकास कार्यालयले म्याग्दीका प्रमुख विष्णु पौडेलले मङ्गला गाउँपालिका–३ पखेरदेखि बरङ्जाखण्डको सडक स्तरोन्नति गर्न सञ्चालन गरेको योजना निर्माण सुरु भएको तीन महिनामा ४० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । “गत मङ्सिर महिनादेखि कार्यक्षेत्रमा परिचालित भएको निर्माण कम्पनीले यस वर्ष विनियोजन भएको रु एक करोड ६० लाख बजेट बराबरको काम तीन महिनामै गरेको छ”, उहाँले भन्नुभयो, “विनियोजित बजेट सकिएपछि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव गरेका छौँ ।” पखेरदेखि खर्कटोलसम्म तीन किलोमिटर पाँच सय मिटर सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण गरिरहेको छ । खर्कटोलका बासिन्दा वीरबहादुर पौडेलका अनुसार तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो कच्चि सडकको घुम्ती, ग्रेड नमिलेको, साँघुरो सडक जोखिमयुक्त थियो । सडक स्तरोन्नति भएपछि यात्रा सहज हुने अपेक्षा गरेको उहाँले बताउनुभयो । ग्रेड र घुम्ती सुधार, नाली र पर्खाल निर्माण सकेपछि ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना छ । निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बजेट अभावका कारण धमाधम भइरहेको सडक निर्माणको काम रोक्नुपर्ने अवस्था आएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले रु १० करोड बजेट व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीले २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेक्काको अवधि १८ महिनाको हो । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गत वर्ष रु दुई करोड विनियोजन गरेर आर्थिक मामिला मन्त्रालयबाट स्रोत सुनिश्चितता गराई ठेक्का लगाएको योजनामा यसपालि बजेट कटौती गर्दा निर्माण प्रभावित भएको बताउनुभयो । “प्रदेश सरकारबाट पखेर–बरङ्जासहित म्याग्दीमा एकैसाथ सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “रु पाँच करोड बजेट चाहिने योजनाका लागि दुई करोड र एक करोड ६० लाखका दरले बजेट विनियोजन गरेकाले निर्माण कार्य प्रभावित भएको हो ।” बजेट अभावका कारण म्याग्दीका सडक र मोटरेबल पुल निर्माण आयोजना प्रभावित भएका विषयमा गत हप्ताको प्रदेशसभाको बैठकको शून्य समयमा जुग्जालीले सरकारको ध्यानाकर्षण गराउँदै विभागीयमन्त्रीको जवाफ माग्नुभएको थियो ।
कञ्चनपुर: नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले सम्मान गरेको छ । सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोसल्ला र सम्मानपत्रसहित रु ५१ हजार पुरस्कार प्रदान गर्नुभयो । त्यसअघि ऐरीलाई रथमा महेन्द्रनगर बजार परिक्रममा गराइएको थियो । उहाँलाई सम्मान गर्दै मन्त्री भण्डारीले खेलका माध्यमबाट मुलुकको परिचान अन्नरराष्ट्रियस्तरमा पु¥याउने र विश्वकीर्तिमान राख्नेगरी खेल्न शुभकामना दिनुभयो । “अझै विश्व कीर्तिमान राख्न सफल हुनुहोला शुभकामना छ”, ऐरीलाई सम्मान गर्दै मन्त्री भण्डारीले भन्नुभयो । नेपालका ‘ब्याटिङ अलराउण्डर’ ऐरीले विश्वक्रिकेटमा दुलर्भ कीर्तिमान बनाएका छन् । ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङ्गजाउमा एसियन गेमअन्तर्गत मङ्गोलियाविरुद्ध टी–२० आई खेलमा सर्वाधिक छिटो नौ बलमा अर्धशतक प्रहार गरेर कीर्तिमान राखेका हुन् । त्यसअघि भारतीय पूर्वक्रिकेटर युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए । सिंहले बनाएको उक्त कीर्तिमानलाई ऐरीले तोडिदिएका हुन् । साथै अन्तरराष्ट्रिय क्रिकेटमा एक ओभरमा छ छक्का हान्ने खेलाडीको सूचीमासमेत ऐरीको नाम छ । दीपेन्द्रले १३ अप्रिल २०२४ मा एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा छ छक्का हानेर अर्को ‘रेकर्ड’ बनाएका थिए । गृहनगरमा उद्योग वाणिज्य सङ्घले गरेको सम्मानले खेलाडीलाई प्रोत्साहन मिलेको उहाँले बताउनुभयो । “यसरी गृहनगरमा खेलाडीको आत्मबल बढाउने गरी गरिएको सम्मानले मनोबल उच्च बनाएको छ । साथै अन्य खेलाडीलाई पनि यसबाट प्रोत्साहन मिलेको विश्वसा छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय कञ्चनपुरमा क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएकोले राज्यले खेलकुदका पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।” ऐरी ब्याटिङमा मात्रै नभई बलिङ र फिल्डिङमा पनि अब्बल मानिन्छन् । ऐरी आइसिसीको टी–२० आई वरियता अलराउण्डरतर्फ शीर्ष छ मा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनीबाहेक नेपाली क्रिकेटमा कुनै पनि वरियता शीर्ष–२० पार लगाउन सकेका छैनन् । नेपाली क्रिकेटको उर्भर भूमि कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर भानुचोकमा दीपेन्द्रको परिवारको बसोबास छ ।
चितवन: आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु तीन सय ८५ रहेको थियो । यो फार्म मूल्य हो । बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।

