काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर स्वदेश फर्किनुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमा...

काठमाडौं:  संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गएरति त्यसतर्फ प्रस्थान गरेको छ ।  सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।   प्रमुख सेनानी महेश्वर सिलवाल नेतृत्वको दुई सय १३ सदस्यीय अरिदमन गण शनिबार काठमाडौँ आएसँगै सेनानी आचार्य नेतृत्वको फौज दक्षिण सुडानको राजधानी जुभातर्फ प्रस्थान गरेको हो ।  हाल दक्षिण सुडानमा नेपाली सेनाबाट ‘सेक्टर कमाण्डर,’ सैनिक पर्यवेक्षक, ‘स्टाफ’ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी एक हजार सात सय ५६ जना शान्ति सैनिक कार्यरत छन् ।

काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ ।       आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९०  रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।

ताप्लेजुङ:  ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।       प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति जारी गर्नुभएको सूचनामा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।  शनिवार साँझ फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबिच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ ।       संवेदनशील र प्रतिकूल परिस्थितिका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । आज बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङलिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोचौंउ र थलङधार, उत्तरतर्फ उकाली पानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कन्चनजंघा टोलसम्म निषेधाज्ञा जारी गरिएको हो ।       पाथीभरा क्षेत्रको काफ्लेपाटी क्षेत्रअन्तर्गत पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलु डाँडा क्षेत्र, उत्तरतर्फ केबलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणाधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा (चार किला) निषेधाज्ञा तोकिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिस जमघट हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउ जस्ता गतिविधि गर्न नपाउने भनिएको छ ।       निर्माणाधीन केबलकारको विषयलाई लिएर शनिबार साँझ सदरमुकाम फुङ्लिङमा नो केबलकार पक्ष र प्रहरीबिच झडप हुँदा दुवै पक्षका घाइते भएका छन् ।  गत बिहीबार पनि पाथीभरा क्षेत्रस्थित केबलकार निर्माणस्थलमा पनि नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । उक्त झडपमा प्रहरी, आन्दोलनकारी र अन्य गरी १३ जना घाइते भएका थिए । 

काठमाडौं:  वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनुु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो ।       अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए । यही फागुन ६ गते थापागाउँको एक क्याङ्कुटमा बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटा जग्गेमा व्यस्त भइरहँदा उहाँहरूलाई शुुभकामना र आशीर्वाद दिनेको भीड त्यसलगत्तै स्थानीय मोहीतिर लहसिएको थियो । अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौँकी शिक्षा भट्टराईले बताउनुभयो । बिहेमा सहभागी अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेलले भोजमा मोहीको प्रयोग निकै राम्रो भएको बताउनुभयो ।  विवाहमा मोहीप्रति मानिसहरुको आकर्षण देख्दा आफूलाई पनि निकै खुसी लागेको सेफ कँडेलले बताउनुभयो । बिहेमा सहभागी शिक्षक उदय चापागाईँले पनि आफ्ना छोरा र छोरीको बिहेमा अन्य पेयपदार्थ नराखी मोही नै राख्ने रहर जागेको बताउनुभयो । बिहेका आगन्तुक एवं वरिष्ठ सञ्चारकर्मी डा राजेन्द्रराज तिमिल्सनाले पनि मोहीको महत्वबारे चर्चा गर्नुभयो । उहाँले पौराणिक प्रसङ्ग उल्लेख गर्दै देवराज इन्द्रलाई समेत मोही पिउने धोको कहिल्यै पूरा नभएको उल्लेख गर्नुभयो ।   कृषि र पर्यटन प्रवर्द्धन अभियन्तासमेत रहनुभएका बेहुलीका पिता एवं टेलिभिजनकर्मी देवीप्रसाद सापकोटाले बिहेलाई केही नयाँपन दिन मोही समावेश गरेको बताउनुभयो । बिहेमा मोहीको प्रवर्द्धनमा कृषिमन्त्री सरिक भएकोप्रति उहाँले विशेष खुसी व्यक्त गर्नुभयो ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटाले मोही पिएर कृषि उत्पादनलाई प्रवर्द्धन गर्नुभएको थियो । नेपालीहरूका सबै चाडपर्व र कार्यक्रममा ठाउँअनुसारका उपजको प्रवर्द्धनबाट किसानलाई हौसला मिल्ने भएकाले यस्ता कार्यक्रम बढाउनुपर्ने मन्त्री अधिकारीले बताउनुभयो । काठमाडौँमा हुने कार्यक्रमका लागि मोही ढुवानीमा केही समस्या भए पनि उपभोक्ताको रुचिअनुसार गुणस्तरीय मोही आपूर्ति गर्न सकिने पवन डेरी चितवनका सञ्चालक पवनप्रसाद बाँस्तोलाले बताउनुभयो । चितवनमा मात्र प्रचलनमा रहेका विभिन्न कोल्ड ड्रिङ्क्सको करिब ३५ प्रतिशत हिस्ता मोहीले लिइसकेको मोही प्रवर्द्धनमा लागेका अभियन्ताहरूले बताएका छन् । नेपाल सरकार पनि पछिल्ला दिनमा स्वदेशी उत्पादन र कृषि उपजको उपभोग बढाउन आवश्यक नीति र कार्यक्रम बनाउन थालेको छ । 

गुल्मी:   रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो ।   साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् ।  “एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ”, उहाँले भन्नुभयो, “फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन”, प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताउनुभयो ।   रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडाँै उडान भरेको थियो । विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् ।  उक्त उडानमध्ये तम्घास–काठमाडौँ एक हजार एक सय ६५ र काठमाडौँ–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।

काठमाडौं:  हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका  अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ  ।  तराईका केही स्थानमा हुस्सु ÷ कुहिरो लाग्ने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  त्यसैगरी, आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सिन्धुली:   कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारीलाई भने सार्वजनिक बिदाको कुनै प्रवाह छैन ।  ‘रामपुर हाइब्रिड–१०’ मकैको बीउ उत्पादनका लागि खेतमै खटिरहेका देखिन्छन् । गाउँपालिकाको कार्यालय परिसरमा रहेको २२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन गर्न लागिएको हो । यसका लागि भाले प्रजनन लाइन (आरएमएल १८) र पोथी प्रजनन लाइन (आरएमएल १५०) छरिएको छ । मङ्सिरको पहिलो हप्तामा छरिएका बीउ अहिले जवान बोटमा परिणत भइसकेका छन् ।   यसका साथै पोथी प्रजनन लाइनमा उम्रिका ‘धानचमरा’ हटाउनुपर्ने छ । हाइब्रिड मकैको बीउ उत्पादन गर्दा भाले लाइनको मात्रै परागसेचन आवश्यकता पर्छ, त्यसैले पोथी प्रजनन लाइनमा उम्रिएका धानचमरा हटाउनुपर्छ । मकैको भाले फूललाई धानचमरा भनिन्छ ।  निश्चित समयभित्र पोथी लाइनमा उम्रिएका धानचमरा हटाइसक्नु पर्ने भएकाले कृषिका कर्मचारीहरू यस कार्यमा सार्वजनिक बिदाको समेत प्रवाह नगरी जुटेका हुन् । सो कार्य गर्न मकैका लहलहाउँदा बोटहरूले उनीहरूलाई उत्साहित बनाएको छ ।  कर्मचारीहरूकाअनुसार धानचमरा हटाउँदा विशेष सावधानी अपनाउनु पर्छ । बाँया हातले धानचमराको फेद बलियो गरी समातेर दायाँ हातले एकै झट्कामा थुत्नुपर्छ । थुतिएका धानचमरा तुरुन्तै बोरा वा थैलामा राखेर त्यसको व्यवस्थापन गर्नुपर्छ ।  ‘रामपुर हाइब्रिड–१०’ मकैको बीउमा उत्पादन क्षमता राम्रो हुने भएकाले यसको बीउ उत्पादन गरी स्थानीय किसानलाई वितरण गर्ने योजना छ । यसले सिन्धुली जिल्लालाई नै मकै उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाले बताउनुभयो ।  “मकैको दानाको अत्यधिक माग भएकाले परम्परागत खेती विधिबाट मात्र यो माग पूरा गर्न सम्भव छैन । यस समस्याको समाधानका लागि हाइब्रिड मकैलाई विकल्पको रूपमा अपनाइएको छ, यसले झन्डै दोब्बर उत्पादन दिन्छ”, उहाँले भन्नुभयो । प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र बागमती प्रदेश, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवन, कृषि विकास कार्यालय सिन्धुली र हरिहरपुरगढी गाउँपालिकाको संयुक्त प्रयासले हाइब्रिड मकैको बीउ उत्पादन कार्य सुरु गरिएको हो ।  स्वदेशमा नै हाइब्रिड मकैको बीउ उत्पादन गर्न सकेमा बिउ खरिदको लागि खर्च हुने ठूलो धनराशि जोगाउन सकिने भएकाले हरिहरिपुरगढीमा मकैको हाइब्रिड बीउ उत्पादन लार्ज प्लट राखिएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौँडाका प्रमुख राजन ढकाल बताउनुभयो । उहाँका अनुसार नेपालमा हाइब्रिड मकैको बीउ आयातमा हरेक वर्ष ठूलो रकम खर्च हुने गरेको छ ।   हरिहरपुरगढी गाउँपालिकामा मकैको हाइब्रिड बीउ उत्पादन कार्यले सफलता पाउन लागेकामा गाउँपालिका प्रमुख वज्रध्वज वाइवाले खुसी व्यक्त गर्नुभयो । भन्नुभयो, “हरिहरपुरगढीलाई हाइब्रिड मकैको बीउ उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने हो । पहिला हरिहरपुरगढीमा धानबाहेक अरु पाइँदैन भन्ने थियो । अब मकैको बीउ पनि खरिद गर्न आउने बनाउँछौँ ।” आफ्ना पालिकाका किसानलाई भने मकैको बीउ निःशुल्क उपलब्ध गराइने योजना रहेको उहाँले सुनाउनुभयो । मकैखेतीको क्षेत्र विस्तार गर्दै यसको उत्पादनमा वृद्धि गरेर स्थानीय किसानको आम्दानी बढाउने गाउँपालिकाको लक्ष्य छ । बाहिरबाट बीउ खरिद गर्ने झन्झटबाट बच्न र मकैखेतीको लागत घटाउन सहयोग पुग्नेमा स्थानीय किसान आशावादी भएका छन् ।  नेपालमा मकैखेती तराईदेखि उच्च पहाडसम्म हुने गरेको छ । मकै खासगरी वसन्त ऋतु (फागुन–चैत), वर्षायाम (जेठ–असार) र हिउँद (असोज–कात्तिक) तिर लगाउने चलन छ । नेपालको मकैखेती गर्ने कुल क्षेत्रफलमध्ये करिब २० प्रतिशत क्षेत्रफल हाइब्रिड मकैले ओगटेको अनुमान गरिएको छ र अझै हाइब्रिड मकैको क्षेत्रफल दिनप्रतिदिन तराई र भित्री मधेसमा मात्र नभएर मध्यपहाडी क्षेत्रमा पनि व्यापक रूपले विस्तार हुँदै गइरहेको छ ।

सुनसरी:  पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जितेको छ ।  शनिबार इटहरी रङ्गशालामा भएको फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच भएको खेलमा सगरमाथा युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको हो ।       मच्छिन्द्र क्लबका खेलाडी मल्लिक हिसुबले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ८५औँ मिनेटमा ओमोलाजा नुरेन हरेनले गोल गरेका थिए त्यही गोल निर्णायक बन्न पुग्यो ।       यो उपाधिसँगै मच्छिन्द्र क्लबले रु १० लाख पुरस्कार र उपविजेता सगरमाथाले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की घोषित भएका छन् । उनलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको छ ।       आजको खेलको ‘म्यान अफ दी म्याच’ सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित हुँदै नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

काठमाडौं: महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ ।       बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो ।      बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले  पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा आकारमा सजाइएका बत्ती र फूलले आकर्षक देखिएको बालाजुबाट पशुपति क्षेत्र आउनुभएका दीपकप्रसाद घिमिरेले बताउनुभयो ।       महाशिवरात्रिको तयारीका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समिति अन्तर्गत नौ उपसमिति छन् ।   कोषका सदस्य सचिव थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था उपसमिति, कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा अनुगमन तथा तथ्याङ्क सङ्कलन व्यवस्था उपसमिति, परिषद् सदस्य हरिप्रसाद ढकालको संयोजकत्वमा स्वयंसेवा परिचालन व्यवस्था उपसमिति तथा परिषद् सदस्य शिक्षित पराजुलीको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था उपसमिति गठन गरिएको छ ।         यसैगरी परिषद् सदस्य डा भरतप्रसाद बडालको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति, परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमिति, परिषद् सदस्य बाबुशरण सुवेदीको संयोजकत्वमा आवास÷भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमिति, परिषद् सदस्य रामेश्वर सँगतको संयोजकत्वमा मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रीकालीन व्यवस्था उपसमिति, परिषद् सदस्य रेणुका पराजुलीको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमिति तथा कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीको संयोकत्वमा महाशिवरात्रि पर्व–२०८१ को सचिवालय गठन गरिएको छ ।      महाशिवरात्रिको तयारीका लागि गठन भएको मूल समारोह समिति र नौ वटै उपसमितिले आफ्नो कार्य क्षेत्र अनुसारका तयारीलाई अन्तिम चरणमा पु¥याएको कोषका सदस्य सचिव थापाले बताउनुभयो ।