पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

सिरहा:  इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन सुरु गरिएको छ ।  अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रिवितरण गर्ने चारवटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ ।       इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, उपभोक्ता मञ्च नेपाल सिरहाका प्रतिनिधिसहितको संयुक्त टोलीले होटलहरूको अनुगमन सुरु गरेका हुन् ।        संयुक्त अनुगमन टोलीले लहान–१ को कान्छा होटलमा म्याद गुज्रेको ‘बडविसर’ ब्रान्डको ३७ ओटा बियरको बोतल जफत गरी नष्ट गर्नाका साथै उक्त होटललाई रु पाँच हजार जरिवाना गरिएको छ । यसैगरी, लहान–४ को होटल गोधुल्लीको भान्साका खानेकुरा नछोपी राखिएको, फ्रिजमा पाकेको र नपाकेको मासुसँगसँगै राखिएको तथा सरसफाइमा हेलचेक्र्याइँ गरेको पाइएपछि उक्त होटललाई पनि रु पाँच हजार जरिवाना तोकिएको छ ।       यस्तै, लहान आँखा अस्पतालको परिसरमा रहेको किरान स्विट्स एन्ड भोजनालयले अखाद्य सामग्री प्रयोग गरी खानेकुरा बनाएको, खाद्य वस्तु छोप्न पत्रपत्रिका प्रयोग गरिएको तथा भान्साको नजिकमा फोहोर थुपारिएको पाइएपछि रु १० हजार जरिवाना गरिएको छ ।  उक्त होटलको सामुन्नेमा रहेको रिषिका जनरल स्टोर्समा म्याद गुज्रेको ३८ ओटा ‘कोल्ड ड्रिङ्कस’ पेयपदार्थ फेला परेपछि रु १० हजार जरिवाना तोकिएको छ । उक्त पसलले इजाजतविना अन्तःशुल्कजन्य वस्तुसमेत बिक्रीवितरण गरेको पाइएपछि उक्त सामग्री जफत गरी आन्तरिक राजस्व कार्यालय लहानलाई जिम्मा लगाइएको छ ।       अनुगमनका क्रममा होटल सम्राट इन र चौधरी होटलले आधारभूत रुपमा होटलको मापदण्ड पालना गरेको पाइएकाले सचेतीकरण मात्र गरिएको इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले जानकारी दिनुभयो ।  नयाँ वर्ष २०८२ लाई दृष्टिगत गरी आउँदो वैशाख १ गते लाग्ने फूलबारी मेलामा आउने लाखौँ भक्तजनले यहाँका होटलहरूमा खाना खाने हुँदा ग्राहकको स्वास्थ्यमाथि खेलबाड हुन नदिन अनुगमन सुरु गरिएको बताउनुभयो ।  उहाँले उपभोक्ताको स्वास्थ्यमाथि लापरबाही गर्ने होटलहरूलाई कानुनअनुसार जरिवाना गरिएको भन्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभयो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला जारी छ ।   ग्रिनहिल युवा क्लबको आयोजनामा गत २४ गतेदेखि ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित जारी मेलामा आज (बुधबार) देखि पुरुषतर्फको भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।   उनका अनुसार आज पहिलो चरणका ५ वटा खेल सम्पन्न भएका छन् ।   ल्वाङको खेलमैदानमा आज भएको पहिलो खेलमा आयोजक ल्वाङ टिम ‘ए’लाई ठाँटीले २–० को सोझो सेटमा पराजित गर्याे । यस्तै दोस्रो खेलमा धम्पुसलाई नयाँपुलले २–० कै सोझो सेटमा हराउँदै नयाँपुल दोस्रो चरणमा प्रवेश गर्याे ।    तेस्रो खेलमा ल्वाङ टिम ‘बि’लाई कुँइबाङले पनि २–० कै सोझो सेटमा पराजित गर्याे । चौथो खेलमा पकुवाले ल्वाङलाई २–० को सोझो सेटमा पाखा लगायो । पाँचौ खेलमा घाचोकले ल्वाङ टिम ‘सि’लाई २–० कै सेटमा हराउँदै घाचोक दोस्रो चरणमा प्रवेश गर्याे ।    आज भएको अन्तिम तथा दोस्रो चरणको पहिलो खेलमा ठाँटीलाई युके लण्डनले २–० को सेटमा पराजित गर्दै युके लण्डन क्वाटरफाइनलमा प्रवशे गरेको संयोजक गुरुङले बताए । उनका अनुसार पुरुषतर्फ २४ टिमको सहभागिता रहेको छ ।   यसअघि महिलातर्फ हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेको छ ।   पुरुषतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ ।    उनका अनुसार सो मेलामा म्युजिकल चियर, बेलुन फुटाउने प्रतियोगिता सम्पन्न भइसकोको छ । भने, हरेक बेलुका विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहदैं आएको छ ।  

पोखरा: पोखरामा जारी केपी ओली कप टी२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता जारी रहँदा समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेको छ ।  मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको पाँचौ दिनमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको छ ।  १०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १०६ रन बनायो । ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारि खेले । उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्जुन कुमालले ४६ रनको अविजित पारी खेले । उनले २९ बलमा ९ चौका प्रहार गरे ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८.४ ओभरमा १०२ रन बनाउँदा अल आउट हुन पुग्यो ।  ओपनर इशान पाण्डे शुन्यमै पेभिलियन फर्किए । कृष कार्की ४ रनमा क्याच आउट भए । उत्तम रंघु थापा मगर १८ रनमा क्याच आउट भए । उनले १७ बलमा ४ चौका प्रहार गरे । दिनेश बुढामगर ४ र अभिषेश थापा १४ रनमा आउट भए । अशोक पौडेल ६ रन बनाउँदा दिपक केवत १७ रनमा बोल्ड भए । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । चन्द्रकान्त पौडेल १ रनमै एल्बी डब्लु भए । सन्दिप पराजुली ७ रनमा आउट भए ।  गण्डकीका लागि कृष्ण पौडेलले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अमृत गुरुङले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ तथा नारायण जोशीले ३.४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । सुदिप अर्यालले १ विकेट लिए । गण्डकीको यो दोस्रो जित हो ।  यस अघि गण्डकीले चितवनलाई ४ विकेटले हराएको थियो । ग्रेट हिमालयको यो दोस्रो हार हो । यस अघि हिमालयन क्रिकेट एकेडेमीसंग २ विकेटको हार व्यहोरेको थियो ।  सोही समूह तर्फ बुधबार भएको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ६ विकेटको जित हात पारेको छ ।  ११९ रनको विजयी लक्ष्य पछ्याएको हिमालयनले १२.४ ओभरमा ४ विकेट गुमाउँदै ११९ रन बनायो ।  हिमालयनको जितमा दिपक बोहोराले ८० रनको अविजित उत्कृष्ट पारी खेले । उनले ४८ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । ओपनर दिपक बोहोरा ‘बि’ १० रनमा आउट भए । खडक बोहोराले १२, सोनु देवकोटाले २ र हिमाल दौल्याल १० रनमा आउट भए । अर्का दिपक बोहोरा शुन्यमा नटआउट रहे । चितवनका लागि दिपेश श्रेष्ठले २ तथा किरण गुरुङ र विशाल खत्रीले १÷१ विकेट लिए ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लब १८.१ ओभरमा ११८ रनमा अलआउट हुन पुग्यो । ओपनर गोविन्द विक ७ रनमा बोल्ड भए । सुर्यान्सु कोइराला १ रनमा क्याच आउट भए । आशुतोष घिरैयाले अर्धशतकीय इनिङ खेल्दै क्याच आउट भए ।  उनले ४१ बलमा ६ चौका र २ छक्काको मद्धमा अर्धशतक बनाए । प्रतिक श्रेष्ठ ३८ रनमा क्याचआउट भए । उनले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । विवेक राना मगर ५ र गौतम केसी १ रनमा क्याच आउट भए । रोशन झा २, दिपेश श्रेष्ठ ३, कमल परियार ८, विशाल खत्री १ रनमा आउट भए ।  हिमालयनका लागि प्रकाश जैशीले ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए । दिपक चन्दले ३ तथा प्रतिश जिसी र दिपक बोहोरा ‘बि’ ले १÷१ विकेट लिए । हिमालयनको यो दोस्रो जित हो भने चितवनको यो दोस्रो हार हो ।  समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयनको समान ४–४ अंक रहेको छ । सेमीफाइनल प्रवेशका लागि भोलि यि दुइ टिम भिड्ने छन भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ । भोलि चितवन र ग्रेट हिमालय बिच प्रतिष्ठाको खेल हुनेछ ।   

पाल्पा: पत्थरीलो उजाड जमिन हराभरा भएर कमाइ गर्ने माध्यम होला भन्ने पहिला कसैलाई लागेको थिएन । इँटा पोलेर प्रयोगविहीनजस्तै बनेको जग्गामा खेती गरेर आम्दानी हुन्छ भन्ने कल्पना पनि गरिएको थिएन ।      रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापा र लालबहादुर थापाले हातमा सीप, आफूमा जाँगर, इच्छा शक्ति भयो भने इँटा पोलेर फालिएको पत्थरीलो जग्गा पनि हराभरा बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । दाजुभाइको निरन्तरको मेहनत र पसिनाले पत्थरीलो जमिनलाई मलजल, सिँचाइ व्यवस्थापन गर्दै जाँदा अहिले कमाउने आधार बनेको छ ।       थापा दाजुभाइ एक दशक वैदेशिक रोजगारबाट फर्केर तरकारीखेतीमा लाग्नुभएको छ । उहाँहरूले करिब दश रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरिरहनुभएको हो ।       थापा दाजुभाइले ‘हाम्रो आधुनिक कृषि फार्म’ दर्ता गरेर विगत छ वर्षदेखि बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । हाल यहाँ काँक्रा, करेला, गोलभेँडा, धारे घिरौला, फर्सीको सागबालीलगायत खेती भइरहेका छन् । काँक्रा उत्पादनको समय भएकाले बिक्री गर्न भ्याइनभ्याइ भइरहेको दिलबहादुरले बताउनुभयो । दैनिकजसो दुई क्विण्टलसम्म काँक्रा बिक्रीका लागि फार्मबाट निकाल्ने गरिएको उहाँले जानकारी दिनुभयो ।       “फार्ममा यतिबेला काँक्राको उत्पादन प्रशस्त भएको छ । काँक्रा टिप्ने, बजार लैजानमा दौडधुप बढेको छ, बेमौसमीयामको उत्पादन भएकाले बजारमा माग पनि बढी छ, फार्ममा पनि ग्राहक तथा व्यापारी खरिद गर्न आउनुहुन्छ”, उहाँले भन्नुभयो ।      काँक्राबाहेक गोलभेँडा, धारे घिरौला, करेला, फर्सीको साग उत्पादन भइरहेको छ । चैतदेखि उत्पादन सुरु भएको काँक्रा हालसम्म १७ क्विण्टल बिक्री गरिएको बताउँदै अझै एक महिनासम्म उत्पादन दिइरहने दिलबहादुरले जानकारी दिनुभयो ।       उहाँका अनुसार वार्षिक रु २० लाख बराबरको तरकारीखेतीबाट कारोबार भइरहेको छ । आगामी वर्ष थप रु १५ लाख नाफा गर्ने लक्ष्यसहित जेठमा उत्पादन दिनेगरी काँक्राको नयाँ बिरुवा लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।      “खेती गर्ने समय र प्रविधि जानियो भने बिक्रीको समस्या हुँदैन, हामीले अन्य क्षेत्रमा तरकारी उत्पादन नहुने समय मिलाएर खेतीमा जोड दिएकाले राम्रो बजार पाएका छौँ, बजारका लागि अन्यत्र धाउनुपरेको छैन”, दिलबहादुर भन्नुभयो, “गाउँकै बजारमा अहिलेसम्म लागतअनुसारको मूल्य पाइएको छ, यसमा हामी सन्तुष्ट छौँ ।” थोपा सिँचाइ, मल्टिङ प्लाष्ट्रिक, व्यवस्थित फलामे डण्डीको व्यवस्था गरेर दीर्घकालीन रूपमा व्यावसायिक खेती गरिएको उहाँको भनाइ छ ।       “सिँचाइका लागि इनारबाट पानी निकालेर आपूर्ति भइरहेको छ । बजार नजिकै र फार्मसँग सडक सुविधा भएकाले व्यापार गर्न सजिलो भएको छ । बाह्रै महिना विभिन्न जातका तरकारी पाइने हुँदा व्यापारी तथा ग्राहकको हरेक समय फार्ममा चहलपहल रहन्छ”, उहाँले भन्नुभयो ।      गोलभेँडा हालै मात्रै ८० क्विण्टल उत्पादन भएको जनाउँदै लालबहादुरले फार्ममा अझै बिक्रीका लागि रहका उल्लेख गर्नुभयो । उहाँका अनुसार रामपुर बजारका साथै पाल्पाको सदरमुकाम नजिकै रहेको आर्यभञ्ज्याङ बजारमा पनि काँक्रा खपत भइरहेको छ ।       “बाहिरका विभिन्न बजारबाट माग आइरहेको हुन्छ, हाम्रो लक्ष्य भनेको स्थानीय बजारमा खपत गराउने हो, व्यापारी तथा ग्राहकले फार्मबाटै तरकारी खरिद गर्नुहुन्छ, हामीले स्थानीयलाई रित्तो हात पठाएका छैनौँ, अहिलेको उत्पादन स्थानीय बजारमै ठिक्क छ”, उहाँले भन्नुभयो ।      चितवन, बुटवललगायत क्षेत्रमा भन्दा यहाँको बजारमा तरकारीले प्रशस्त मूल्य पाएको लालबहादुरले सुनाउनुभयो । किसानले उत्पादनमा जोड दिने हो भने बाहिरी तुलनामा स्थानीय बजारमा बिक्री गर्दा मूल्य बढी पाइने उहाँको अनुभव छ । सिँचाइका लागि विद्युत् प्रयोग गर्नुपर्ने भएकाले विद्युत् बन्द भएका समय समस्या हुने गरेको उहाँले बताउनुभयो ।  

नवलपुर: नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो ।  पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन् । लामो समय अन्धकारमा बस्दै आएकामा  अब भने गाउँ नै उज्यालो हुने बौदीकाली–५, ववकका  गेषबहादुर रानाले बताउनुभयो ।    बौदीकाली–५, ववकअन्तर्गत यहाँका अर्खलाथर, चितौरेथर, लुङ्गेलीथर, बोझाजी, हर्वले, बेसारडाँडाका करिब दुई सय परिवार विद्युत्बाट लाभान्वित हुनेछन् । विद्युत् नपुग्दा टुकीको भरमा बस्नुपर्ने बाध्यता थियो ।  बिजुली पुगेसँगै विकासका अन्य सम्भावनाका ढोका खुल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । अहिले विद्युत् मिटर जडानका लागि आवेदन दिएका घरमा मिटर जडानको काम भइरहेको छ ।  उज्यालो बौदीकाली कार्यक्रमअन्तर्गत ववकमा बिजुली बालिएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । पालिकाले उज्यालो बौदीकाली कार्यक्रममार्फत सर्भिस केवलमा लागत साझेदारी र मिटर बक्समा शतप्रतिशत अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । “अहिलेको समयमा समेत अन्धकारमा बस्नुपर्ने बाध्यता थियो, त्यही भएर विद्युतीकरणका लागि बजेट विनियोजन ग¥यौँ । अहिले ववकमा बिजुली बाल्न सफल भएका छौँ”, गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो ।  गाउँपालिका भित्रका चार वडामा विद्युत् नपुगेको अवस्थामा वडा नम्बर ३ र ४ मा यसअघि विद्युतीकरण गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।  अहिले वडा नम्बर –५, ववकमा विद्युतीकरण भएको र वडा नम्बर–६, नरममा समेत छिट्टै विद्युत् पु¥याइने उहाँले बताउनुभयो ।  बुलिङटारको बोझा पोखरीमा विद्युत् शवस्टेसन निर्माण भएपछि जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहज भएको हो । 

काठमाडौं: जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताउनुभएको छ । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताउनुभयो ।  उहाँले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिनुभयो ।        प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गर्नुभयो ।  उहाँले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको बताउनुभयो ।        नेपालमा जलविद्युत् क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना रहेकाले प्राधिकरणमा थप सुधार गरेर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न चाहेको मन्त्री खड्काले उल्लेख गर्नुभयो ।  आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै भारत, बङ्गलादेशलगायतका देशमा विद्युत् निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।        मन्त्री खड्काले जलविद्युत् क्षेत्र सरकारको मुख्य प्राथमिकतामा रहेकाले उत्पादनसँगै निर्यातमा पनि काम गरिरहेको बताउनुभयो । उहाँले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिसकेको अवस्थामा उत्पादन भएको विद्युत् खेर नजाने भन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्र र दातृ निकायलाई आग्रह गर्नुभयो । जलविद्युत् आयोजना निर्माणसँगै दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक समृद्धि र रोजगारी सिर्जना भएको उहाँको भनाइ थियो ।             कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन प्राधिकरण सक्षम रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।        नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा गरेको प्रगति अत्यन्त आशलाग्दो रहेको उल्लेख गर्दै यस क्षेत्रमा चीनको निरन्तर सहयोग रहने बताउनुभयो ।        ‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना आजदेखि औपचारिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उक्त जलविद्युत् केन्द्र चीनको सिनो हाइड्रो ब्यूरो–११ कम्पनीले निर्माण गरेको हो ।  रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा कूल रु २२ अर्ब लगानीमा निर्माण गरिएको उक्त जलविद्युत आयोजना सन् २०१९ देखि निर्माण थालिएको हो ।  

झापा:   झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।  घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।  मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आउनुभएको थियो ।  आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

पोखरा:  नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई बुधबार एक कार्यक्रमका बिच जिल्ला एथ्लेटिक्स संघ कास्कीले सहयोग गर्ने घोषणा गरेको छ ।  एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले अवार्ड सम्पन्न गर्न ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको हो । पोखरा स्पोर्टस् अवार्डले खेलाडीको मनोवल उच्च राख्न योगदान पुराएको र समग्र खेल क्षेत्र तथा खेलाडीको लागि आयोजना हुने अवार्डलाई सदैव संघको साथ रहेको जिल्ला एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले बताए । खेलप्रेमी तथा खेल संघसंस्थाको साथ सहयोगले नै स्पोर्टस् अवार्ड यो उचाईसम्म पुगेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले बताए । यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छभने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखराले प्रायोजन गरिसकेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो ।  देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । 

महोत्तरी: महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो छ । पूर्वपश्चिम राजमार्ग दायाँबायाँमात्र नभएर चुरे पर्वत श्रेणीका वनक्षेत्र र विपी राजमार्गको दायाँबायाँ क्षेत्रमा पनि डढेलोले वन सखाप पारेको छ । जता हे¥यो डढेका ठुटा र खरानी मात्र देखिन्छ । दिनहुँको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा देखिँदैनन् । डढेलोले वयस्क र पुराना रुख पनि मरेका छन् । वनक्षेत्रका सुकेका रुख समयमा कटान व्यवस्थापन हुन नसक्दा ती पनि डढेर ठुटा बनेका छन् ।  बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा डढेलोले रुख, बुटा खरानीमा परिणत भएका छन् । डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने तथा वयस्क रुख आगो लागेर सुक्दै गएपछि वन क्षेत्र उजाड हुने क्रम बढेको हो । “अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ”, विपी राजमार्गसँगैको बर्दिबास–३ पाटुका सामाजिक कार्यकर्ता होमबहादुर खड्का भन्नुहुन्छ, “वनक्षेत्रमा दिनदिनै बढेको डढेलोले रुखबिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् ।” चुरे पहाडी क्षेत्र सबै बर्दिबास नगरपालिका क्षेत्रमा मात्र पर्छ । सागरनाथ वन विकास परियोजनाका प्लट भने बर्दिबासभन्दा गौशाला नगरक्षेत्रमा बढी छ । पूर्वपश्चिम राजमार्ग उत्तर सामुदायिक ९राष्ट्रिय० वन र दक्षिणमा धेरैजसो परियोजनाका प्लट छन् । अभिलेखमा करिब २४ हजार हेक्टर वन क्षेत्रफल उल्लेख रहे पनि विभिन्न समयमा भएका फडानी र अतिक्रमणले १६ हजार हेक्टरमा खुम्चीएको छ । बाँकी रहेको वन पनि बर्सेनिको डढेलो र चोरी कटानले  अब काटिएका  र डढेलोले डढाएका रुखका ठुटा बढी देखिन्छन् । डढेलोले दुई÷तीन वर्षयताका बिरुवा डढेपछि पुराना रुख धोद्रिउर बुढिदै जाने र नयाँ बढ्न नपाएपछि वन पातलिँदै गएको वनक्षेत्र नजिकको बर्दिबास–५ चेरु बस्तीका ८० वर्षीय भोगेन्द्रराज पौडेल बताउनुहुन्छ । चुरे आसपासका २० भन्दा बढी र सागरनाथ वन विकास परियोजनासँग जोडिएका पनि करिब यतिकै सङ्ख्याका बस्ती छन् । “वनकै छेउको बसाइँ छ, डढेलोले बस्ती भेट्टाउने चिन्ताले सुत्न सकिँदैन”, वनसँगै जोडिएको बर्दिबास–१० खयरमाराका प्रेमध्वज लामा भन्नुहुन्छ, “बर्सेनि फागुन  लागेपछि डढेलोको चिन्ताले कहिल्यै छाडेन ।”  वनका पतिङ्गर खङ्रेर एकैछिनमा डढेलो बढ्ने गरेको लामा बताउनुहुन्छ । हिउँदे वर्षाले रुखबिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झदै वनक्षेत्र नजिकका बासिन्दा यसपालि भने डढेलोले विकराल रुप लिएको बताउँछन् । पूर्वमा धनुषासँगको सीमा रातुपुलदेखि पश्चिममा सर्लाहीसँगको बााकेपुलसम्म करिब १८ किलोमिटर लम्बाइको छ । यसभित्र चारवटा सवडिभिजन वन कार्यालय, सशस्त्र वन सुरक्षा बेस र १० ठाउँ जति वन सुरक्षा पोष्ट रहे पनि यो जनशक्ति डढेलो नियन्त्रणमा भने उदासिन देखिएको सर्वसाधारणको गुनासो छ ।  सागरनाथ वन विकास परियोजना प्लटसँगै जोडिएको हात्तीलेटका बासिन्दा राधाकृष्ण शर्मा भन्नुहुन्छ, “वनक्षेत्रमा लाग्ने डढेलो कममात्र प्राकृतिक कारणले लाग्छ, धेरैजसो बदमासले आगो झोसेरै लगाउने गरेका छन् ।” बर्सेनि लाग्ने डढेलो रोक्न पूर्वतयारी कहिल्यै नदेखिएको र डढेलो लगाउने पक्राउ परेर कारबाही भएको आफूलाई सम्झना नभएको शर्माको भनाइ छ । फागुनदेखि नै डढेलो देखिन थाल्छ । ठूलठूला रुखको घर्षणले यदाकदा वनमा आगो सल्के पनि खासमा चाँही घाँसे, दाउरे र गोठालाहरुले डढेलो लगाउने गरेका वनसम्बद्ध सरकारी सेवाबाट अवकाश लिएका हाल बर्दिबास–१ कै बासिन्दा चन्देश्वर यादव बताउनुहुन्छ । फागुन-चैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका सहायक वन अधिकृतको सेवाबाट अवकाश लिनुभएका यादवको अनुभव छ । जिल्लामा सामुदायिक, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी  २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । अतिक्रमण गरेर घर ठड्याउने र खानजोत गर्नेलाई राजनीतिक संरक्षण मिल्ने हुँदा वन सुरक्षाको कुरा निकै चुनौतीपूर्ण बनेको नाम नबताउने वनसम्बद्ध कर्मचारी बताउँछन् । वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको डिभिजन वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबैक्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ । वन क्षेत्रको सुरक्षा र प्रवद्र्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोग र समन्वय आवश्यक हुने डिभिजन वन कार्यालयका प्रमुख सुभासचन्द्र दास बताउनुहुन्छ । “हामीसँग भएको जनशक्ति परिचालन गरिरहेका छौँ, तर डढेलो नियन्त्रण स्थानीय बासिन्दाको सहयोगबिना सम्भव छैन”, उहाँ भन्नुहुन्छ, “वन क्षेत्रसम्बद्ध स्थानीयतहका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था र स्थानीय बासिन्दाको पहलकदमी हुनसके डढेलो नियन्त्रणमा सफलता पाउन सकिन्छ ।” यसका लागि कार्यालयले आवश्यक समन्वय गरिरहेको प्रमुख दासले बताउनुभयो ।