अर्घाखाँची: प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै पाणिनिको जन्मस्थल अर्घाखाँची विश्वव्यापी रुपमा ज्ञानको सुरुआत भएको पुण्यभूमि रहेको बताउनुभयो । “विश्वव्यापी रुपमा स्थापित व्याकरणका पिता महर्षि पाणिनिको जन्मभूमि रहेको यो स्थान पवित्र छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुआत भएको हो । अरु सबै व्याकरणहरुमा पाणिनिको सूत्रलाई आधार मानिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुआतसँगै सङ्गीत र लयको विकास भएको हो ।” उहाँले पाणिनिको योगदान असाधारण रहेको चर्चा गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता ९एआई० विकासमा समेत प्रयोग भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पाणिनिले मात्र नभई शिव, ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिको समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले आजभन्दा करिब २५ सय वर्ष पहिले पाणिनि ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको यस पुण्यभूमिको विकासमा नेपाल सरकारले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसैक्रममा सम्मेलन उद्घाटन गर्न आएको स्पष्ट गर्नुभयो । दुईदिने सो सम्मेलनमा लुुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी र पुष्पा भुसाल तथा लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, धर्म गुरु तथा संस्कृत भाषाका विद्वान् ज्ञानानन्द सरस्वतीलगायत भाषाविद्हरुको उपस्थिति रहेको छ । लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन भएको हो । अर्घाखाँचीको पूर्वी सिमानामा रहेको पाणिनि क्षेत्रबाट उत्तरतर्फ हिमशृङ्खला, दक्षिणतर्फ तराईका फाँटसहित भारतीय भूमि गोरखपुरसम्म देख्न पाइन्छ । गुराँसका रुखहरु तथा विभिन्न जडीबुटी पाइने यस क्षेत्र प्राकृतिक रुपमा सुन्दर देखिन्छ । पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि अर्घाखाँचीको पाणिनि क्षेत्र पुग्न सकिन्छ भने अहिले पक्की सडकबाटेको सुविधा समेत रहेको छ ।
मुस्ताङ: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी गाउँभित्र भग्नावशेष अवस्थामा बाह्र सय वर्ष पुरानो ऐतिहासिक दरबार छ । पूरै सख्खर माटोले निर्माण भएको सात तलाको यो दरबार अहिले चार तलामा परिणत भएको छ । मुस्ताङको कागबेनीस्थित यस दरबारमा बसेर त्यसबेलाका राजाले शासन चलाउने गर्दथे । तत्कालीन समयमा दरबारमा बसेर जुम्लाबाट आएका राजाले राजकाज गरेको इतिहास रहेको स्थानीयवासी बताउँछन् । यस दरबार र यहाँ बसेर शासन गर्ने राजाको पर्याप्त सूचना भने अझै अनुसन्धानका क्रममा रहेको कागबेनीका स्थानीयको भनाइ छ । कागबेनी गाउँको गुजमुच्च एकापसमा ढुङ्गा र माटोले निर्मित पुराना घरको बीचमा ऐतिहासिक कागबेनी दरबार अवस्थित छ । यही दरबारमा बसेर त्यस समय जुम्लाबाट आएका राजाले लोमान्थाङका राजालाई चुनौती दिने गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले उल्लेख गर्नुभयो । मुस्ताङी राजाबाट पराजित भएपछि त्यसबेलाका राजाले दरबार छोेडेको भन्ने भनाइ रहेको उहाँले सुनाउनुभयो । पूर्वअध्यक्ष गुरुङका अनुसार जुम्लाबाट आएर शासन चलाएका त्यसबेलाका राजाले मुस्ताङको पान्डाखोलाबाट उपल्लो मुस्ताङको घिलिङसम्म शासन गरेका इतिहास छन् । त्यसबेलाका राजाले कागबेनीसहित फल्याक, धाकार्जुङ, पाक्लिङ, तिरी, पुराङ, झोङ, मुक्तिनाथ, छुसाङ, तेताङ, चैले, समर र घिलिङ गाउँसम्म आधिपत्य जमाएर शासन गरेका अभिलेखहरू रहेका उहाँले उल्लेख गर्नुभयो । “तत्कालीन राजाले कागबेनी दरबारमा बसेर प्रजाहरूसँग अत्याचार र दमन गर्दथे । हालको बारागुङ मुक्तिक्षेत्रलाई ९ङ्ज्याप बारागुङ० भन्ने गरिन्थ्यो र राजाले प्रजालाई खाना दिएर काममा लगाउथे । राजाको आदेश पालना नगरेमा राजाले जनतालाई शारीरिक यातना दिएर सजाय पनि दिने गर्दथे भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो । उहाँले कागबेनीमा जुम्लाबाट आएका कुन राजाले शासन गरेका थिए भन्ने अहिलेसम्म खुल्न नसकेको बताउनुभयो । “हामीले यसको अभिलेख खोज्दैछौँ, धेरै विषयबा बारेमा स्रोत सङ्कलनको क्रममा छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो, “यो ऐतिहासिक दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने उद्देश्य छ । तर, गाउँपालिका र स्थानीयवासीबाट यसमा पर्याप्त सहयोग हुन सकिरहेको छैन ।” करिब बाह्रसय वर्षअघि कागबेनी गाउँमा दूधको कुण्ड थियो । त्यही दूधकुण्ड मासेर त्यसबेलाका राजाले यहाँ एक सय आठ कोठा भएको साततले दरबार निर्माण गरेका कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले उल्लेख गर्नुभयो । पूरै सख्खर माटोले निर्माण भएको उक्त दरबार हावाहुरी र घामपानीले जीर्ण बन्दै जाँदा ढलेर चार तला मात्रै बाँकी रहेको उहाँको भनाइ छ । तत्कालीन समयमा निर्मित दरबारको जग करिब दुई मिटर बढी रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । राजाको दरबार बनाउँदा जगलाई याकले थिचेर निर्माण गरिएको भन्ने कथनहरू रहेका उहाँले बताउनुभयो । बारागुङ मुक्तिक्षेत्रमा महत्त्वपूर्ण सांस्कृतिक पर्व यार्तुङमा गीत गाउँदा यही दरबार हुँदा सुरु भएको भातिन गीत अझै प्रचलनमा रहेको अध्यक्ष गुरुङले बताउनुभयो । मुस्ताङमा यो गीत कागबेनीका स्थानीयले मात्रै यार्तुङ पर्वमा गाउने गरेका भन्दै त्यसबाहेक अन्य गाउँमा भने प्रचलनमा नरहेको उहाँले जानकारी दिनुभयो । “यार्तुङ पर्वमा कागबेनीका स्थानीयले गाउने यो गीतमा कागबेनी दरबारलाई सम्मान गरेर दरबार निर्माणका विषयवस्तु समेटिएका हुन्छन्”, उहाँले भन्नुभयो । कागबेनी भग्नावशेष दरबारभित्र माटोबाट बनाइएका गुरु रिन्पोर्छे र अन्य देवीदेवताका मूर्तिहरूसँगै भत्किएका दरबारको झ्याल ढोकाहरू दरबारभित्रै अझै सुरक्षित राखिएका छन् । दरबारको बाँकी तलामा स्थानीय कामदार बस्ने गरेका छन् भने भित्र पशुचौपायाको खोरजस्तो बनेको छ । प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको मुस्ताङको कागबेनीमा अवस्थित यो दरबारका बारेमा अधिकांश पर्यटक बेखबर छन् । ऐतिहासिकता झल्किने कागबेनी दरबारलाई उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । साततले राजाको पुरानो दरबारमाथिको तीन तलाको केही भाग ठिङ्ग उभिएको छ । बाँकी चार तला पनि जीर्ण अवस्थामा छ । कागबेनी दरबार अहिले संरक्षणको पर्खाइमा छ । पुरानो दरबारलाई खोज तथा अनुसन्धान गरेर संरक्षण गर्नसकेमा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय बताउँछन् ।
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत फेला परेका छन् । वडाध्यक्ष भण्डारी आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेको ताराखोला गाउँपालिका–२ का वडाध्यक्ष एवम् प्रवक्ता भद्रबहादुर घर्तीले जानकारी दिए । ‘वडाध्यक्ष भण्डारी आज बिहान आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ’, वडाध्यक्ष घर्तीले भने, ‘अहिले घटनास्थलमा प्रहरी आइपुगेका छन्, थप विवरण पछि नै आउँला ।’ गत स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
बलेवा: बागलुङ कालिका मन्दिरमा चैतेदसैँमा मात्रै रु ४२ लाख भेटी सङ्कलन भएको छ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मन्दिरमा चैत्राष्टमीको नवदुर्गामा दर्शनका लागि आएका दर्शनार्थीले उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा यस पटकको चैतेदसैँ (नवरात्रि)को अवसरमा रु ४२ लाख ६३ हजार १५५ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले यस वर्ष चैतेदसैँको दिन (अष्टमी)मा सबैभन्दा बढी भेटी सङ्कलन भएको बताउनुभयो । उक्त दिन रु ११ लाख ८१ हजार ५९० सङ्कलन भएको छ । खड्काले गतवर्ष चैतेदसैँको तुलनामा यस वर्ष रु एक लाख ९० हजार ५९७ बढी भेटी सङ्कलन भएको बताउनुभयो । गत वर्षको चैतेदसैँको अवसरमा मन्दिरमा रु ४० लाख ७२ हजार ५५८ भेटी सङ्कलन भएको थियो । मन्दिर दर्शन गर्ने भक्तजनले भेटी, नगद सहयोग र बलिलगायतबाट उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा बडादसैँ र चैतेदसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । चैतेदसैँ अवधिभर छ लाख बढी दर्शनार्थीले कालिका मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । उहाँले गत वर्षको चैतेदसैँमा भन्दा अहिले बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्दा भेटी सङ्कलनमा वृद्धि भएको बताउनुभयो । अष्टमीका दिनमा मात्र रु तीन लाख भक्तजनले मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिर परिसरमा यस वर्ष धार्मिक सम्मेलन र मेलाको आयोजना गरिएको थियो । अध्यक्ष खड्काले धार्मिक सम्मेलनले भक्तजनको वृद्धिमा सहयोग पुगेको बताउनुभयो । यस्तै मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई प्रसादका रुपमा खिर वितरण गरेको थियो । अध्यक्ष खड्काले दैनिक १०० देखि २०० लिटर दूध खपत गरिएको बताउनुभयो । “मन्दिरमा उपस्थित हुने भक्तजनलाई प्रसादको रुपमा खिर उपलब्ध गराएका थियौँ”, उहाँले भन्नुभयो, “प्रसाद वितरणमा रु पाँच लाख खर्च भएको छ ।” चैतेदसैँमा भक्तजनलाई सहजरुपमा पूजाआजाका लागि तीन वटा लाइनको व्यवस्था गरिएको थियो । “मन्दिरमा अघिपछि एक ढोकाबाट पूजाअर्चना गर्ने व्यवस्था हुन्छ”, उहाँले भन्नुभयो, “चैतेदसैँमा भक्तजनको भीड हुने हुँदा तीनवटै ढोकाबाट पूजा गर्न खुला गरिएको थियो ।” अध्यक्ष खड्काले मन्दिरमा नियमित २५ जना कर्मचारी भए पनि चैत्राष्टमीमा भक्तजनको सहजताका लागि २२ जना कर्मचारी थप गरेको बताउनुभयो । कालिका मन्दिर दर्शनको लागि काठमाडौँ, पोखरा, पर्वत, म्याग्दी, चितवनलगायत देशभरबाट भक्तजन आएका थिए । पछिल्लो समय चैतेदसैँका बेला १०–१५ प्रतिशत भारतीय भक्तजन पनि वृद्धि भएको अध्यक्ष खड्काले बताउनुभयो ।
काठमाडौं: छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा प्रेमसँगै स्वभाव भिन्नताले एकसाथ जीविकोपार्जन गर्न सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई देखाइने निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिनुभयो । “कलाकार र प्राविधिकको मेहनतका कारण हामीले निर्धारित समयमा छायाङ्कन सम्पन्न गर्न सफल भयौँ । एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने भावनाको मधुर यात्रालाई यस चलचित्रमा समेटेका छौँ । भावनात्मकतासँगै हाँस्यरसले भरिएको प्रेम कथानक चलचित्र तयार गरेका छौँ”, उहाँले भन्नुभयो । चलचित्रमा मिरुना मगर, धीरज मगर, पुस्कर गुरुङ, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्नुभएको छ । अभिनेत्री मगरले लेखिएको कथालाई चलचित्रको पर्दामा उतार्न कुनै कसर बाँकी नराखिएको बताउनुभयो । “सहरको एक आधुनिक जोडीको कथालाई चलचित्रमा दर्शकले हेर्न पाउनु हुनेछ । बाहिरबाट हेर्दा सामान्य देखिने विषयले एउटा दम्पतिको जीवनमा पार्ने असरलाई हामीले प्रस्तुत गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले चलचित्र आगामी वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुने बताउनुभयो । चलचित्रमा उमङ्ग शाहीले छायाङ्कन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहले सङ्गीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन गर्नुभएको छ ।
नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज वीरगञ्जको धार्मिकस्थलको भ्रमण गर्नुभएको छ । राजदूत तोरुले आज सिमरा विमानस्थलबाट सिधै वीरगञ्जका ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गर्नुभएको हो । राजदूत तोरुले बिहान वीरगञ्जको चर्चित गहवामाई मन्दिरको दर्शन गर्नुभएको छ । दूतावासका प्रतिनिधिसहित वीरगञ्ज आउनुभएका राजदूतले घडीअर्वा पोखरी र वीरगञ्जको मर्मतसम्भार गरिएको घण्टाघरको समेत अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजदूत तोरु आफ्नो काम विशेषले वीरगञ्ज आउनुभएको जानकारी दिनुभयो । “उहाँ वीरगञ्ज महानगरपालिकासँग सम्बन्धित काम र वीरगञ्जका विभिन्न धार्मिकस्थलको अवलोकन गरेको जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो ।
अछाम: बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट सात करोड रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र संकलन गरिने बताए ।
चितवन: नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ । कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् । केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी तनहुँ (देवघाट र खैरहनी गाउँपालिका), रौतहट, बारा, पर्सा मकवानपुर, नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा बिक्री गर्दै आएको छ । प्रमुख केसीले भने, “शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउने गरी बिक्री सुरु भएको छ ।” गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री भएका थिए । गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेका थिए । यो वर्ष कक्षा ३ देखि नै केन्द्रले पाठ्यपुस्तक बिक्री गरेको छ ।
ढोरपाटन: बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुर्याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १० लाख बजेटमा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायणप्रसाद रिजाले जानकारी दिए । उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको हो । ढोरपाटन नगरपालिका–२ सेरादेखि करिब दुई सय ५० पक्की रेलिङसहित पदर्माण सम्पन्न भएको रिजालले बताए । बाइसे चौबिसे राज्यका बेला भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटको आकर्षण बढ्दो छ । नरसिंहकोटमा पूर्वधार बन्दै गएपछि आन्तरिक पर्यटक बढ्दै गएको निसीखोला गाउँपालिका–७ अध्यक्ष दीपक कुँवरले बताए । बुर्तिबाङ बजार नजिकै भए पनि नरसिंहकोटमा पुग्न अब सहज भएको उनको भनाइ छ । पदमार्गसँगै गाउँपालिकाले यस क्षेत्रमा रु २० लाखमा कालिका मन्दिर, खानेपानी, शौचालय, विश्रामस्थललगायतका संरचना निर्माण गरेको अध्यक्ष कुँवरले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा खेलमैदान निर्माणाधीन अवस्थामा छ । नरसिंहकोटमा पुग्नका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टा र पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक सालझण्डी–ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारीसाधनमा जाँदा लामो बाटो पर्ने उनी बताउँछन् ।

