काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर स्वदेश फर्किनुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमा...

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडकको पहुँच पुगेको छ ।  सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो ।  नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर छ किलोमिर लामो सडकको ट्याक निर्माण भएपछि बगरको जेल्टुङ सडकको पहुँचमा जोडिएको म्याग्दीखोला जलविद्युत आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिनुभयो । ट्याक खोल्न बाँकी रहेको नाउराको भिर छिचोलिएसंगै बुधवार जेल्टुङमा पहिलो पटक बोलेरो जीप पुगेको थियो ।  चक्रीय धौलागिरि पदमार्ग अन्तरगत अन्तिम मानव बस्तीको रुपमा रहेको बगर सडक सञ्जालले जोडिएसंगै स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत गर्न सहज भएको धवलागिरि – ४ मुदीका वडा अध्यक्ष यामप्रसाद घर्तिमगरले बताउनुभयो । सडकले बगर र जेल्टुङ गाउँका करिब ६० घरधुरी लाभान्वित भएका छन् ।  यस अघि नाउराको अक्करे भिरमा बनाइएको गोरेटो बाटो हुँदै करिब २ देखि ३ घण्टा लाग्ने बाटो सडक सञ्जालले ३० मिनेटमा छोटिएको छ । सडकको पहुँच विस्तार भएसंगै उर्जा डेभलपर्स प्रा.लि. अन्तगत रहेको हाइड्रो भिलेज प्रा।लि प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युतको जेल्टुङमा विद्युतगृहको लागि बंकर घर र क्याम्प लगायतका पूर्वाधार निर्माण सुरु हुने भएको छ । यस आयोजनाको बाँधस्थल रहने दोभानसम्म थप ११ किलोमिटर सडकको पहुँच विस्तार गर्ने कार्यसंगै विद्युतगृह, सुरुङमार्ग निर्माणको काम एकैसाथ अघि बढाउने आयोजनाले जनाएको छ ।  धवलागिरि गाउँपालिका– ४ को चेचुङ गाउँमा हालै ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले सडकको पहँच विस्तार गरेको थियो । यस वडाको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन् ।

पोखरा:   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले फागुन ९ गते पोखरामा विरोध सभा कार्यक्रम गर्दैछ । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा राप्रपाले पोखरामा विरोध सभा गर्न लागेको हो ।  नविन समझदारीमार्फत मुलुकलाई निकास दिने उद्देश्यले विरोध सभा आयोजना गरिएको राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए ।  पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गुरुङले भ्रष्ट्राचार र कुशासनको भण्डारफोर गर्न विरोध सभा आयोजना गरिएको बताए ।  ‘हामीले ४२ बुँदै ज्ञापनपत्र बुझायौं । प्रधानमन्त्रीदेखि स्थानीय तह, जिल्लामा गएर ज्ञापनपत्र बुझाइसकेका छौं । तर, ज्ञापनपत्रको कुनै सुनुवाई नै भएन । यो ट्रेन्ड नै जस्तो लाग्यो,’ उनले भने, ‘जबसम्म ढुंग्गामुढा गर्दैन, टायर बाल्दैन तबसम्म सरकारले कान नसुन्ने रैछ, आँखा नदेख्खो रैछ की भनेर हामी अगाडी बढेको हो ।’ उनले थपे, ‘होइन भने राप्रपाले हिंसाको राजनीति, द्धन्द्धको राजनीतिमा कहिल्यै पनि विश्वास गर्दैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।’ कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार लगायत गण्डकी प्रदेशभित्रका साबैखाले भ्रष्टाचारको भण्डाफोर गर्ने तयारी रहेको प्रदेश अध्यक्ष गुरुङले बताए ।  राप्रपाले संवैधानिक राजसंस्थाको पुनःस्थापनादेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक सांसद र संघीयता खारेज जस्ता विषयलाई प्रमुख एजेण्डा बनाएको छ ।  पूर्ण समानुपातिक सांसद बनाउने र सांसद मन्त्री बन्न नपाउने र विज्ञबाट मन्त्री बनाउने, सनातन हिन्दु अधिराज्य, भ्रष्ट्राचार, विभेद अन्त्य जस्ता एजेण्डा राप्रपाले अघि राखेको छ ।  विरोध सभा शुक्रबार पोखरा चिप्लेढुंगामा हुनेछ । पृथ्वीचोकबाट ¥याली गर्दै चिप्लेढुंगामा गएर विरोध सभा गरिने राप्रपा प्रदेश अध्यक्ष गुरुङले जानकारी दिए । राप्रपाले बोकेको एजेण्डा प्रमाणित हुँदै गएको उनले बताए ।  राप्रपाले देशको पछिल्लो असहज परिस्थितिलाई गम्भिरतापूर्वक लिँदै चरणबद्ध आन्दोलन र विरोधका कार्यक्रम तय गर्ने राप्रपा केन्द्रीय सदस्य अर्जुन खनालले जानकारी दिए । उनले अवस्था बदल्न, व्यवस्थालाई बदल्नुपर्छ भनेर युद्धको पूर्वसन्ध्यामा रहेको उल्लेख गरे ।  ‘हामीले स्पष्ट रुपमा भनेका छौं । हामी अवस्था बदल्नका लागि व्यवस्थालाई बदल्नुपर्छ भनेर युद्धको पूर्वसन्ध्यामा छौं । युद्ध भनेको आन्दोलन हो । आन्दोलनको प्रकृति के हुन्छ भन्ने कुरा आन्दोलनले निर्धारण गर्छ,’ उनले भने ।  राज्यको अर्थतन्त्रीले धान्न नसक्ने खर्च, अनुत्पादक क्षेत्रहरुमा लगानी र अव्यवस्थित कर प्रणालीका कारण अर्थतन्त्र संकटमा परेको राप्रपाको ठहर छ । राप्रपाले कथित युद्द र पश्चिमी प्रभावको नाममा लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नेपाल र नेपालीका लागि घारत सावित भइसकेको दाबी गरेको छ ।  राप्रपाबाट गण्डकी प्रदेश सभा सांसद बनेकी विन्दु अधिकारी पौडेलले प्रदेशमा रोजीरोजी मन्त्रालय दिँदासमेत आफु मन्त्रीहरु मन्त्री नभएको दाबी गरिन् ।  ‘राप्रपाले दिगो सरकारका लागि मत दियौं । रोजीरोजी मन्त्री दिँदा हामी मन्त्री भएनौं,’ उनले भनिन्, ‘राप्रपा देशका लागि सोचेर हामीले पाउने पद त्याग गरेका छौं ।’ पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामै भएको बेला राप्रपाको कार्यक्रम हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।   

तनहुँ:  अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो ।       जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिनुभयो ।  बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।  डा चौधरीले भन्नुभयो, “केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन् । बङ्गुर मरेका फार्ममध्ये ऋषिङबाट पाँच, व्यासबाट पाँच र बङ्गुर नमरेका फार्मबाट दुईवटा गरी १२ वटा बङ्गुरको नमूना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको छ ।”       यहाँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी भिमाद नगरपालिका यस रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५०० किसानले ४० हजार बङ्गुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।       यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाटसर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ ।       उक्त रोगविरुद्ध हालसम्म कुनै ‘भ्याक्सिन’ नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखिने गरेको डा चौधरीले बताउनुभयो ।  

भैरहवा:  भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ ।  उहाँको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु¥याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए ।  उहाँलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिनुभएको थियो । उहाँको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो ।  विसं २०६१  असार ४ गते भैरहवामा जन्मिनुभएकी लम्सालको  गत आइतबार निधन भएको हो । उहाँको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।

काठमाडौं:    स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ ।  बुधबार रु एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति रु एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यसैगरी, बुधबार रु एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल रु एक हजार ९९५ कायम भएको छ । 

काठमाडौं:  नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ ।      युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो ।  ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलन समापनपछि जारी घोषणापत्रमा उल्लेख छ ।       विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकार भएकाहरूसँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चितताका लागि फिर्ता लिन माग गरिएको हो ।      सम्मेलनले नेपाल प्रेस युनियनका साङ्गठनिक गतिविधि, श्रमजीवी पत्रकार र पत्रकारिताका मुद्दा, पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकासले सञ्चारक्षेत्रमा थपेका चुनौती, सञ्चारसँग सम्बन्धित ऐन, कानुन, सञ्चारमाध्यमका समस्यालगायत विषयमा घनिभूत छलफल गरी १२ बुँदे घोषणापत्र सार्वजनिक गरिएको जनाएको छ ।       सम्मेलनमा महासचिव दिलीप पौडेलद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष तथा अनुशासन विभाग संयोजक प्रेम केसीद्वारा प्रस्तुत अनुशासन समितिको प्रतिवेदन पारित गरिएको छ । सम्मेलनले दिएको सुझावका आधारमा केन्द्रीय समितिले तयार गर्ने कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा पनि युनियनले गरेको छ ।        सदस्यतालाई थप व्यवस्थित गर्दै युनियनको विधानमा भएको व्यवस्थाअनुसार क्रियाशील पत्रकारलाई समावेश गरेर सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने र प्रदेश तथा शाखाहरूले वैशाख मसान्तभित्र साधारणसभा सम्पन्न गर्ने पनि घोषणा गरिएको छ ।      श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन, नियमित पारिश्रमिक भुक्तानी, पत्रकारको पेसागत, भौतिक, आर्थिक, सामाजिक सुरक्षालगायत विषयमा सरकार तथा सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराउँदै आवश्यकताअनुसार युनियनका सबै संरचनाले दबाबमूलक अभियान अघि बढाउने पनि घोषणा गरिएको छ ।      प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानुन तथा निर्देशिकाबारे ध्यानाकर्षण भएको जनाउँदै संविधानप्रदत्त अधिकार सुनिश्चित हुने गरी सञ्चारसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन, नियमावली बनाउन तीनै तहका सरकारसँग युनियनले जोडदार माग गरेको छ ।      “मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको प्रभाव विज्ञापन बजारमा परेकाले छापा, टेलिभिजन, रेडियो सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । अनलाइन सञ्चारमाध्यम खोल्ने क्रमले व्यापकता पाएको अवस्थामा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनमा समावेश गरी विज्ञापनको रकम वृद्धि गर्न प्रदेश एवं शाखा अध्यक्षको सम्मेलन आग्रह गर्दछ”, जारी घोषणापत्रमा भनिएको छ ।      व्यावसायिक पत्रकारिता, पत्रकारको पेसागत सुरक्षा, पत्रकारको क्षमता विकासलगायत विषयमा केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकारसँग प्रेस युनियन’ अभियानलाई प्रभावकारी बनाउन क्षमता विकास, पत्रकारिताको विधागत प्रशिक्षण, पत्रकार दुःखसुखमा साथ दिने कार्यक्रम, बिमा, सामाजिक सुरक्षा, प्रोत्साहन तथा लेखनवृत्तिलगायत कार्यक्रम सबै शाखा र प्रदेश समितिले कार्यान्वयन गर्ने प्रतिवद्धता सम्मेलनले व्यक्त गरेको छ ।      प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) लाई समयानुकूल र व्यावहारिक बनाउन विधान संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ ।      चैतमा ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गरिने         नेपालको पत्रकारिताका मुद्दालाई अन्तरराष्ट्रियकरण गर्दै अन्तरराष्ट्रिय अभ्यासलाई नेपालमा अनुसरण गर्ने वातावरण सिर्जना गर्न युनियनले चैत अन्तिम साता ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गर्ने भएको छ । सम्मेलनले सो समिट भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।      नेपाल पत्रकार महासङ्घको सदस्यताबाट छुटेका र छुटाइएका पत्रकारको सदस्यता कायम राख्ने प्रक्रिया तत्काल थाल्न युनियनले महासङ्घलाई आग्रह गरेको छ ।  नेपालको नामकरणको इतिहास जोडिएको नेमुनि ऋषिको तपस्यास्थल बज्रयोगिनी, स्वस्थानी व्रतकथामा उल्लेख भएको शालीनदी, माधवनारायण तथा साँखु क्षेत्रका मणिचुड, पञ्चमहालक्ष्मी, नारायणीश्वर, कुण्डेश्वरलगायत धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र तथा आलु र धान प्रमुख बाली रहेको यस क्षेत्रमा कृषि पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न आमसञ्चारमार्फत जोड दिने र यस क्षेत्रका पूर्वाधार विकासका लागि पनि युनियनले सरकारको ध्यानाकर्षण गराएको छ ।      प्रेस युनियनको प्रदेश तथा शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन सम्पन्न गर्न प्रेस युनियन काठमाडौँ, ललितपुर, भक्तपुर, साँखु शाखासहित प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति केन्द्रीय समितिले आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

पोखरा:  नेकपा (एमाले) कास्की जिल्ला कमिटीले तीन महिने ‘जरा अभियान’ अन्तर्गत भोलि (शुक्रबार) जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।   आगामी चैतसम्म सञ्चालन हुने यस ‘जरा अभियान’ले स्थानीय तहमा पार्टी तथा जनवर्गीय संगठनलाई मदबुद बनाउने उद्देश्यसहित अभियान थालिएको हो ।   पोखरा सभागृहमा हुने कास्की जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, खगराज अधिकारी तथा स्थायी कमिटी सदस्य किरण गुरुङ लगायतको उपस्थिति रहने कास्कीका सचिव दर्शन लामाले जानकारी दिए ।   उनका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।    गुटबन्दीको अन्त्य  गर्नका लागि जरा अभियानले महत्वपूर्ण योगदान दिने उनको विश्वास छ ।    ‘जरा अभियान’को उद्देश्य पार्टीको संगठनात्मक संरचनालाई बलियो बनाउने त हो नै र पार्टीको सकरात्मक र रचनात्मक काम जनतासामु पेश गर्नेछ, उनले भने, ‘यतिमात्र नभएर यो अभियानले पार्टीभित्रको गुट उपगुटको प्रथालाई सदाका अन्त्य पनि गर्नेछ ।’    उक्त अभियानले कास्की जिल्लाका सबै तहका कमिटीलाई एकजुट गरेर जनसंगठनको विस्तार र पार्टी सदस्यता बढाउने, जनप्रतिनिधिहरूसँगको समन्वयलाई सुधार्ने, पार्टीका गतिविधिहरू र योजनाहरूलाई जनतासम्म पुर्याउने र जनप्रतिनिधिहरूसँगको सहकार्यलाई बढाउदै लैजाने, जनसंगठनहरूको सक्रियता बढाउने लक्ष्य लिएको छ ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका –१० र ११ स्थित घान्द्रुकमा आजदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको आयोजनामा आज देखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।  घान्द्रुक पर्यटन महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे ।  महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको बताए ।    ‘हामीले घोषणा गरेका छौं अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार हो, यी चार वटा आधार मध्ये महत्वपूर्ण पर्यटन हो, अध्यक्ष केसीले भने, ‘पर्यटनबाट गाउँपालिकाले समृद्ध हासिल गर्न सक्दछ, त्यसैले हामीले धेरै भन्दा धेरै पर्यटक भित्राउन आवश्यक छ ।’ अध्यक्ष केसीले घान्द्रुक आउने सडक सहज बन्दै गएकाले पर्यटकलाई आकर्षण गर्नका निम्ति घान्द्रुकको मौलिकता जोगाउन आवश्यक रहेको बताए ।  ‘हिजो हाम्रो अर्गानिक गाउँ सबैले हेर्न आउने गाउँ आज कहिकहि बिग्रे जस्तो देखिन्छ, मेरो आग्रह छ संरचना जसरी बनाएपनि त्यसलाई फेरी मौलिकतामा ढालौं, धालौं  हिजो हाम्रा जे परम्परा थिए, जे हेर्न आउथे त्यसलाई फेरी रुपान्तरण गरौं, भएकालाई राम्रो गरौं, घान्द्रुक अरु गाउँभन्दा भिन्न गाउँ हो’, उनले भने, ‘अब घान्द्रुक आउने सडक बन्दै छ, कलाभिरको अप्ठ्यारो बाटो बन्दै छ, पर्यटक घान्द्रुक आउन कुनै समस्या छैन्, आएका पर्यटकलाई बस्ने, घुम्ने वातावरण बनाउने हो सोच्न पर्ने छ,हिजोको घान्द्रुक भन्दा आजको घान्द्रुक भिन्न छ गुनासो छ, त्यसैले घान्द्रुकको मौलिकता जोगाउने गरी संरचना बनाउन आवश्यक ।’ उनले घान्द्रुक पर्यटन क्षेत्र भएकाले यसको विकास गर्ने गाउँपालिकाको कर्तव्य भएको समेत बताए । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुकबाट एबिसी, पुनहिल घोडेपानी लगायतका पदमार्गसँग जोडिएकाले घान्द्रुक पर्यटकको हवको रुपमा अगाडि बढेको बताए ।  ‘ घान्द्रुकबाट अन्नपूर्ण बेस क्यापसम्मको, घोडेपानी जाने, मुल्डे जाने र मुल्डेबाट छोम्रोङ जाने नयाँ पर्यटन पदमार्गसँग जोडिएको त्यस्तै गरी मर्दी हिमाल जाने बाटाहरु भएका हिसाबले घान्द्रुक पर्यटनको हबको रुपमा अगाडि बढिरहेको देख्छु, कडरियाले भने,‘घान्द्रुक आउने पर्यटक संस्कृति र प्रकृतिसँग रमाउने भएकाले घान्द्रुकबासीहरुले आफ्नो संस्कृति जोगिने गरी संरचना बनाउन आवश्यक छ ।’ महोत्सवको उद्घाटन समारोहमा घान्द्रुक कल्चर रिसोर्टका सञ्चालक कुलप्रसाद गुरुङलाई सम्मान गरिएको थियो ।  घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत लामा गुरुङले भोलिदेखि खुल्ला क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु हुने बताए ।  उनका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।  पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।  घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।         

काठमाडौंको कीर्तिपुरमा १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–२ घर भइ कीर्तिपुर नगरपालिका–३ पाँगादोबाटो बस्ने २५ वर्षीय सुयोग बोहोरा छन् ।   उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।   प्रहरीले उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाएको छ ।