काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

मनाङ:  हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ ।  निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो ।  उक्त कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिनुभयो । विसं २०७९ मङ्सिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठरिएपछि उपनिर्वाचन हुने भएको उहाँले बताउनुभयो । गुरुङ नेपालको संविधानको धारा १७८ (१) (ङ) बमोजिम तोकिएको योग्यता नभएको तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (छ) बमोजिम सजाय भुक्तान गरेको मिति छ वर्ष नभएसम्म उम्मेदवार हुन अयोग्य हुने ठहर भएको तथा ऐ। ऐनको दफा १६ बमोजिम आफ्नो पदबाट मुक्त हुने र नेपालको संविधानको धारा १७८ बमोजिम योग्यता नभएका निज प्रत्यर्थीको स्थान ऐ। धारा १८० को खण्ड (ख) बमोजिम रिक्त हुने देखियो भन्ने व्यहोराको सर्वोच्च अदालत, संवैधानिक इजलासबाट २०८२ असार ४ मा फैसला भई नेपालको संविधानको धारा १८० को खण्ड (ख) बमोजिम प्रदेशसभा सदस्यको पद विसं २०८१ कात्तिक २० गतेदेखि रिक्त भएको जनाइएको छ ।  प्रदेशसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै प्रदेशसभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने नेपालको संविधानको धारा १७६ को उपधारा ८ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगको बैठकबाट मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा रिक्त गण्डकी प्रदेशको प्रदेशसभा सदस्य पद एकको लागि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय भएको निमित्त निर्वाचन प्रमुख अधिकृत अर्यालले जानकारी दिनुभयो ।  प्रदेशसभा सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन हुने तालिकासहित जानकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साथै आयोगबाट देशभर अद्यावधिक भई २०८२ साल भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर  १८ वर्ष पुग्ने निर्दिष्ट यही कात्तिक १६ गतेलाई तोक्ने निर्णयसमेत आयोगबाट जानकारी प्राप्त भएको छ ।  गत निर्वाचनमा जिल्लामा छ हजार ७७९ कुल मतदाता रहेका थिए । कुल मतदातामध्ये चार हजार ८४५ अर्थात् ७१ दशमलव ४७ प्रतिशत मत खसेको थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को चार हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिनुभयो । गत निर्वाचनमा प्रदेशसभा सदस्य पदमा गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो भने प्रतिनिधिसभा सदस्य पदका लागि मात्र मतदान भएको थियो ।  उम्मेदवारको मनोनयन दर्ताका निम्ति आगामी असोज २१ गते निर्धारण गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी भदौ २० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २५ मा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली र चिह्न वितरणको विवरण प्राप्ति, कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति गर्ने तालिका निर्धारण गरिएको छ ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । समाजले नैतिक मूल्यमान्यता र सदाचारको खोजी गरेको उहाँको भनाई छ । पोखरामा शुक्रबार मानव मिलन संस्थाको ३१ औं अन्तर्राष्ट्रिय सम्मेलनको समुद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । ‘समाज असामाजिक क्रियाकलापले आक्रान्त छ । मानव खुसी र समृद्ध बनाउन हाम्रो व्यवहार परिवर्तन प्रमुख कुरा हो ।’ उहाँले भन्नुभयो । समानता र सहअस्तित्वमा आधारित मानवताको सम्वर्द्धन  र मानव कल्याणको लागि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा समर्पित हुने गरी मणिभद्र मुनिजी महाराजबाट ३१ वर्ष अघि यो संस्थाको परिकल्पना र स्थापना गरिएकोमा उहाँले आभार व्यक्त गर्नुभयो । ‘मानिसको धर्म नै मानवता हो । सबै धर्मको मूल लक्ष्य भनेको मानव जातिको कल्याण नै हो । हाम्रोजस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबीच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्भाव नेपालीको विशिष्ट पहिचान हो ।’ उहाँले भन्नुभयो – ‘विश्वमा अहिंसा तथा शान्तिको वातावरण सिर्जनामा हामीले भूमिका खेल्न सक्नु पर्दछ । मानव सेवाको पक्षमा सञ्चालित अभियानहरूमा सरकारसहित सबैले सहयोग र सहकार्य गर्नुपर्ने हुन्छ ।’ हरेक मानिसमा परोपकारको भावना हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैको चित्तमा रहनुपर्ने बताउनुभयो । मानव मिलन संस्थाले विगत लामो समयदेखि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा आफूलाई समर्पण गरिरहेकोमा उहाँले खुशी प्रकट गर्नुभयो । तीन ‘स’ समानता, सहिष्णुता र सहअस्तित्व नै वर्तमान समयको माग हो भन्ने विषय आत्मसात् गर्दै वर्गीय, क्षेत्रीय सीमालाई अतिक्रमण गरी मानवता र मानवीयताको पहिचान दिन र दिलाउन संस्था अनवरत क्रियाशील रहेको पाएको उहाँको भनाई छ । ‘मानव मिलन संस्थाले जाती, धर्म, सम्प्रदाय, रंग र लिंगभेद जस्ता संकीर्णताहरु भन्दा माथि उठेर शिक्षा, स्वास्थ्य र सेवाको माध्यमबाट आपसमा सहयोग, सद्भाव, ज्ञान, ध्यान, अहिंसा एवं मानवको सुखशान्तिमा समर्पित रही आदर्श समाज स्थापनामा सहयोग पुगेको विश्वास लिएको छु ।’ उहाँले भन्नुभयो ।

पोखराः   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ ।  टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने महत्त्वपूर्ण कार्य गरेको बताए । उनले भने, ‘मेलाले हजारौं विद्यार्थी तथा अभिभावकलाई सही जानकारी, अवसर र सम्भावनासँग प्रत्यक्ष परिचित गराउनेछ ।’ उनले नेपालको शिक्षा क्षेत्र राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउँदै विश्वव्यापी रूपमा बदलिँदै गएको ज्ञान र सीपसँग कदम मिलाउन गुणस्तरीय शिक्षा अपरिहार्य रहेकोमा जोड दिए ।  प्रदेश सरकारको नीतिबारे प्रकाश पार्दै उनले भने, ‘सरकारको प्राथमिकता देशमै उच्चस्तरीय शैक्षिक अवसर विस्तार गर्नु, प्रविधि र सीपमूलक शिक्षालाई प्रोत्साहन गर्नु र विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज, पारदर्शी र सुरक्षित वातावरण सुनिश्चित गर्नु हो ।’  उनले शैक्षिक परामर्शसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको र यसले दर्ता, नवीकरण र खारेजीसम्बन्धी प्रक्रियालाई व्यवस्थित गरेको पनि जानकारी दिए । उनले विद्यार्थीलाई भाषा र व्यावसायिक सीप मजबुत बनाएर विदेश जान पनि सुझाव दिए । इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले कोभिड महामारीका कारण केही वर्षदेखि स्थगित भएको मेलालाई निरन्तरता दिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले इक्यानका सदस्य संस्था र केन्द्रको सहयोगप्रति आभार व्यक्त गर्दै भने, ‘हाम्रो चाहना नेपाली विद्यार्थीले स्वदेशमै उच्च शिक्षा अध्ययन गरोस् भन्ने नै हो । तर, धेरै विद्यार्थीहरू विदेशमा गएर आफ्नो भविष्य सुरक्षित गर्ने सोचमा छन् ।’  उनले विदेश जाने विद्यार्थीलाई सत्य, तथ्य परामर्श र अभिभावकीय भूमिका आवश्यक रहेकोमा जोड दिए । उनले थपे, ‘विदेश जानुअघि त्यहाँको नीति नियम, भिसा प्रक्रिया र कलेजबारे पूर्ण जानकारी हुनुपर्छ । हामी यही आवश्यकता पूरा गर्न लागिपरेका छौं ।’ नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले हिजोका दिनमा काठमाडौँमा मात्र सुरु भएका यस्ता गतिविधिहरू अहिले विभिन्न प्रदेश र जिल्लाहरूमा पनि भइरहेको बताए । गण्डकी प्रदेश सरकारले बनाएको निर्देशिकाका सम्बन्धमा बोल्दै उनले नीतिनियम बनाउने क्रममा सरोकारवालालाई राखेर छलफल गराए मात्रै कानुन बलियो हुने धारणा राखे । इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले काठमाडौंमा २९औं स्थापना दिवस मनाइरहँदा इक्यानले विद्यार्थीलाई विदेशका उत्कृष्ट कलेजमा भर्ना प्रक्रियामा मात्रै नभई, उनीहरूलाई नेपालको विकासक्रममा फर्काउने प्रयास पनि गरेको बताए । उनले शैक्षिक परामर्श क्षेत्रका लागि छुट्टै ऐन बनाउनुपर्ने र नीति निर्माण गर्दा सरोकारवालासँग छलफल गर्नुपर्ने सुझाव दिए । उनले पोखरालाई शिक्षाको ‘हब’ बनाउन निजी क्षेत्र र परामर्श केन्द्रले सहयोग गर्न सक्ने पनि बताए । इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले करियर काउन्सिलिङ, भर्ना र भिसा प्रक्रियाबारे सम्पूर्ण जानकारी दिने एउटा प्रमुख गन्तव्यका रूपमा पोखराको इक्यान मेला स्थापित भएको उल्लेख गरे ।  उनले भने, ‘फरक–फरक परामर्श केन्द्रमा धाउनुपर्ने परिस्थितिलाई दुई दिनको मेलाले सहयोग पु¥याउँछ ।’ व्यवसायीलाई प्रोत्साहन र गल्ती गर्नेलाई कारबाहीको व्यवस्था निर्देशिकामा समेटिनुपर्ने उनको भनाइ थियो । इक्यानका पूर्व केन्द्रीय अध्यक्ष दीपक गुरुङले इक्यानका सदस्य रहेका परामर्श केन्द्रबाट मात्र आवेदन दिन विद्यार्थीलाई आग्रह गर्दै कुनै समस्या परे इक्यान सहयोगी बन्ने बताए । इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० परामर्श केन्द्र शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती संस्थाबाट विश्वसनीय सेवा लिन सकिने बताए । ‘इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई अध्ययनपछि नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो, यद्यपि इक्यानले नेपाल फर्काउने अभियान पनि चलाइरहेको छ ।’ टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले मेलालाई भव्य बनाउन सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले उत्कृष्ट परामर्शदाताको उपस्थितिमा हुन लागेको मेलाबाट लाभ लिन विद्यार्थी, अभिभावक एवं अन्य सरोकारवालालाई आग्रह गरे । इक्यानले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर मेला आयोजना गरेको हो । यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक मेला भएको आयोजकको भनाइ छ । मेला शनिबारसम्म चल्नेछ । मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था र ब्रिटिस काउन्सिलसहित ६५ वटा स्टल छन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ । मेलामा ब्रिटिस काउन्सिल नेपालको सहकार्य रहेको छ । मेलाको ‘पावर्ड बाइ’ मा बेलायतस्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन् । यसको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन÷आईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका छन् । उद्घाटन समारोहमा मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले गरेका थिए । 

पोखरा:  पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगितामा आज फाइनल समिकरणको खेलहरु सम्पन्न भएका छन् ।  कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलमा छात्रतर्फ सेमिफाइनल सकिदाँ छात्रातर्फ लिगचरणका खेल सम्पन्न भए ।  बिहिबार भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा शिशुकल्याण माविले सैनिक आवासिय महाविद्यालयलाई ५–२ को फराकिलो गोलअन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ ।  शिशुकल्याणको जितमा गोपाल सुनार, विक्रम गुरुङ, सुमन घर्तिमगर, शक्ति बोहरा र राजु एसकेले समान एक–एक गोल गरे । सैनिकका लागि वसेल विक्रम कुँवर र रमन क्षेत्रीले गोल गरे । शिशुवाका सुमन घर्ति प्लेयरअफ दि म्याच घोषित भए ।  दोस्रो सेमीफाइनलमा गण्डकी बोर्डिङले सोसल पब्लिकलाई १–० ले हराउँदै शिशु कल्याणसँगको भेट पक्का गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको पहिलो हाफमै सोनम खत्रीले गरेको गोल निर्णायक बन्न पुग्यो । उनी खेलको प्लेयरअफ दी म्याच घोषित भए ।  यस्तै छात्रातर्फ त्रिभुवन शान्ति नमुना माविले शान्तिदिपलाई ३–० ले हराउँदै समुह विजेता बन्यो । समूह ए मा कुल २ खेल खेलेको त्रिभुवनले २ जितसहित ६ अंक बटुल्दै फाइनल प्रवेश गरेको हो ।  शान्तिदिप ३ अंकका साथ दोस्रो र सेन्टमेरिज अंक विहिन हुँदै लिगचरणबाट बाहिरिए ।  समुह बी बाट भने सैनिक आवासिय यस अघि नै समुह विजेता हुदै फाइनल प्रवेश गरेको थियो । सैनिकले कुल २ खेलबाट ६ अंकका साथ शीर्षमा रहँदै फाइनल प्रवेश गरेको थियो ।  प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका थिए । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता भोलि सम्पन्न हुनेछ । प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।  प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले  सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।  

पोखरा:  शुभ अधिकारी ट्राभल्सले यात्रुहरुको सुविधालाई मध्येनजर गरी एसि, सोफा र स्लिपर सहितको  एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ ।  बिगत ३० वर्षदेखि यातायात क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल शुभ अधिकारी ट्राभल्सले बुधबारदेखि सञ्चालन हुने गरि पोखरा काठमाण्डौको  र काठमाण्डौं पोखराका लागि पर्यटकीय बस सञ्चालनमा ल्याएको हो । बुधबार पोखरा ५ का स्थायिन बयोवृद्ध द्वय बिमल तिमिल्सिना र केदारनाथ बरालले संयुक्त रुपमा रिबन काटेर बस सेवाको शुभारम्भ गरे । सो अवसरमा वोल्दै पोखरा ५ का स्थानिय केदारनाथ बरालले शुभ अधिकारी ट्राभल्सले समयको माग अनुसार बसहरु सञ्चालन गर्दै आइरहेको बताए । ट्राभल्सले नेपालमा मात्र नभइ भारतका विभिन्न धार्मिक स्थलहरुमा समेत यातायातको सेवा प्रदान गर्दै आएकाले शुभ अधिकारी सम्पूर्णमा लोकप्रिय बनेको उनको भनाइ रहेको थियो । त्यसैगरी अर्का स्थानिय बिमल तिमिल्सिनाले शुभ अधिकारीले सुविधासम्पन्न बस सञ्चालन गर्ने बेलादेखीनै आफुले नजिकबाट नियाल्दै आएको बताए । आफ्ना सम्पूर्ण परिवार र नातागोता आफन्तले समेत शुभ अधिकारी ट्राभल्स मार्फत नै यात्रा गर्ने गरेको बताए । सो अवसरमा वोल्दै पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका कार्यालय प्रमुख ज्ञानेन्द्र थापाले शुभ अधिकारी टूर्स एण्ड ट्राभल्सले ३० वर्ष अगाडिदेखि पोखरा बाग्लुङबाट बस सञ्चालन शुरु गरि अहिले नेपालमा मात्र नभइ छिमेकी मुलुक भारतका विभिन्न शहरहरुमा समेत बस सञ्चालन गर्दै आएको बताए । शुभ अधिकारीले समयको माग अनुसार बस सञ्चालन संगै भाडामा समेत एकरुपताका साथ सञ्चालन गर्दै आएको समेत थापाले बताए । कम्पनीका म्यानेजिङ डाइरेक्टर टिकाराम अधिकारीले समयको माग अनुसार पोखरा देखि काठमाण्डौ सम्म पर्यटकीय बस सञ्चालन गर्ने उद्देश्य अनुसार २०७२ सालदेखि पर्यटकीय बस सञ्चालन गर्दै आइरहदा बुधबार देखि सुरु भएको बस आफुले सञ्चालन गरेको अन्य बस भन्दा भिन्न रहेको बताए ।  आफुले विदेशी पर्यटकलाई भन्दापनि स्वदेशी खास गरी बृद्ध आमा बुवाहरुलाई लक्षित गरी हरियो प्लेटको सवारी सञ्चालनमा ल्याएको बताए । बुधवार देखि सुरु भएको बसको भाडा पोखरा देखि काठमाण्डौंको चक्रपथ, बसुन्धारा, चाबेल, बौद्ध जोरपाटी, नारायणटार हुँदै साखु सम्म १२ सय रुपैया तोकिएको र त्यसमा यात्रुहरुले सोफा सिट, स्लिपर सिट, एसी, ब्लांकेट, मोबाइल चार्जर खाजा र पानीको सुविधा प्रदान गरिने अधिकारीले बताए । काठमाण्डौको सांखुदेखि बौद्ध जोपाटी चाबहिल चक्रपथ, गोंगबु कलंकी हुदै पोखरा आउने उक्त बस सेवामा यात्रुको चाप बढेपनि भाडामा कुनैपनि फेरबदल नहुने उनको भनाइ रहेको छ । ३७ सिट, ४ वटा स्लिपर रहेको र भाडा १२ सय कायम गरिएको छ । २ करोड ५० लाखमा सञ्चालनमा ल्याइएको उक्त बस पोखराबाट सांझ ७ बजे र बिहान ७ बजे र काठमाण्डौंको सांघुबाट ६ः ४५ मा छुट्ने अधिकारीले बताए ।

पोखरा:  नेपालमा खेलकुद शिक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा गण्डकी विश्वविद्यालय र युवा तथा खेलकुद मन्त्रालयबिच छलफल भएको छ ।  खेलकुद मन्त्री तेजुलाल चौधरी र गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाको नेतृत्वकाबिच बिहीबार सहकार्यका प्राथमिक क्षेत्र पहिचान गर्दै आवश्यक कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।  छलफलमा मन्त्रालय सचिव डा। हरि प्रसाद लम्साल र गण्डकी विश्वविद्यालय ब्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट ९बिएसएम०का संयोजक डा। मधुसुदन सुवेदी र अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास मामिला प्रमुख रवी भण्डारीसहितका टोली सहभागी थिए । छलफलमा नेपालकै पहिलो पटक सञ्चालनमा आएको खेलकुद व्यवस्थापन विषयको स्नातक तह कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे विस्तृत विचारविमर्श गरिएको थियो । यस क्रममा विश्वविद्यालय र मन्त्रालयबीचको सहकार्यले खेलकुद शिक्षा र व्यवस्थापनलाई अझ व्यवस्थित ढंगले अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिएको बिएसएम कार्यक्रम संयोजक डा। मधुसुदन सुवेदीले जानकारी दिए । यससँगै राष्ट्रिय खेल संघहरूको संभावित संलग्नता, स्नातक विद्यार्थीहरूको भविष्य व्यवस्थापन तथा खेलकुद क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने विषयलाई पनि छलफलमा प्राथमिकताका साथ उठाइएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, शैक्षिक प्रयोजनका लागि पोखरा रंगशालाको उपयोग गर्ने सम्भावना, विद्यार्थी तथा खेलाडीलाई छात्रवृत्ति सहयोग उपलब्ध गराउने व्यवस्था, विद्यालय तहका शिक्षकहरूका लागि छोटो अवधिका तालिम सञ्चालन गर्ने आवश्यकताका विषयमा पनि छलफल भएको थियो ।  यस्तै स्नातक विद्यार्थीहरूको डिग्री प्रयोजनलाई प्रादेशिक तथा संघीय तहसँग जोड्ने विषयमा पनि छलफल भएको बिएसएम कार्यक्रम संयोजक डा।सुवेदीले जानकारी दिए । छलफलले सबै एजेन्डामा सहमति जनाउँदै सहकार्यलाई ठोस रूपमा अघि बढाउने र खेलकुद शिक्षा तथा व्यवस्थापनलाई संस्थागत ढंगले विस्तार गर्ने विषयमा सकारात्मक निष्कर्षमा पुगेको सुवेदीको भनाइ छ ।

पोखरा:   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले शुक्रबार र शनिबार गर्ने ‘आठौं इक्यान एजुकेसन फेयर’को समपूर्ण तयारी पूरा भएको छ ।  टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिले मुख्य प्रायोजनमा पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा हुने मेलाको शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन् । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना गर्न गइरहेको हो । मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिल लगायतका ६५ स्टल रहनेछन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ । इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले गण्डकी प्रदेशका विद्यार्थीलाई लक्ष्य गरेर नेपाल सरकारबाट स्वीकृतप्राप्त कन्सल्टेन्सी मात्रै शैक्षिक मेलामा सहभागी हुने बताए ।  उनले भने, ‘विश्व ग्लोबल भिलेजका रूपमा परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीले आफूले चाहेको विषय, संसारका जुनसुकै कुनामा रहेका कलेज, विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकारको कुरा हो ।’ इक्यान कास्कीका उपाध्यक्ष एवं मेला संयोजक सन्तोष शाहीले पोखरामै अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजको उपस्थितिमा हुने शैक्षिक मेलाले विदेशमा पढ्न इच्छुक विद्यार्थीका लागि एकै थलोमा परामर्शको अवसर प्रदान गर्ने बताए । उनले भने, ‘मेलामा आएपछि आफ्नो रोजाइ र क्षमता अनुसारका विश्वविद्यालय वा कलेजमा छान्न पाउने अवसर विद्यार्थीलाई मिल्ने छ ।’ इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० कन्सल्टेन्सी नेपाल सरकारको शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती कन्सल्टेन्सीबाट विश्वसनीय सेवा लिन सकिने बताए । इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभइ अध्ययन पश्चात नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेको उनले बताए । ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो,’ उनले भने, ‘यद्यपि इक्यानले नेपाल फर्काउने अभियान चलाउन अर्को शैक्षिक मेला छिट्टै आयोजना गर्दैछ ।’   टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले मेलालाई भव्य बनाउन सदैव साथ र सहयोग रहने बताए । उनले उत्कृष्ट परामर्शतादाको उपस्थितिमा हुन लागेका मेलाबाट लाभ लिन विद्यार्थी, अभिभावक एवं अन्य सरोकारवालालाई आग्रह गरे । मेलामा ब्रिटिस काउन्सिल नेपालको सहकार्य रहनेछ । मेलाको पावर्ड बाइमा बेलायत स्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन् ।  मेलाको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन÷आईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका छन् । पर्यटकीय राजधानी पोखरामा हुन लागेको बृहत् शैक्षिक मेलामाबाट यस क्षेत्रका विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले लाभ लिन सक्ने इक्यान कास्कीले जनाएको छ ।  

काठमाडौं:   सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दे यस्तो निर्णय भएको जनाएको हो । ‘सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालत अवहेलनासम्बन्धी मुद्दामा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालनपूर्व अनिवार्य सूचीकरण गर्नुपर्ने आदेश दिएपछि मन्त्रालयले यो कदम चालिएको हो’, मन्त्रालयले भनेको छ। यसअघि मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनभित्र दर्ता वा सूचीकरण गर्न निर्देशन दिएको थियो।   मन्त्रालयले भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जाल कम्पनीहरूलाई सम्पर्क गर्न आह्वान गरेको थियो। तर तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण भए लगत्तै पुनःसक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अनिच्छित सामग्रीको मूल्याङ्कन र अनुगमन सुनिश्चित गर्न सूचीकरण अनिवार्य गरिएको हो। सरकारको निर्णयसँगै नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीहरू तत्काल सम्पर्कमा आएर सूचीकरण प्रक्रिया पूरा गर्नुपर्ने भएको छ। नेपालमा भाइबर, टिकटक, विटक र निम्बजजस्ता सामाजिक सञ्जाल सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरण प्रक्रियामा छन् । उता धेरै प्रयोगकर्ता व्यस्त रहने फेसबुक, ट्वीटर (एक्स) र वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा आएका छैनन् ।

चितवन:  नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन(मलेखु सडक स्तरोन्नतिसँगै चाडपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ ।  दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो ।  पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार दसैँअघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्नेगरी काम थालिएको हो । उहाँले भन्नुभयो, “दसैँ, तिहारमा आवतजावत गर्ने यात्रीको सङ्ख्या बढी हुने भएकाले उहाँहरूको सहजताका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मर्मतमा केन्द्रित भएका छौँ ।” ठूला खाल्डा भएका ठाउँमा बाहिरबाट गिट्टी लगेर भर्न थालिएको छ भने सडक सम्याउने काम पनि भइरहेको प्रमुख नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सो खण्डको ३८ किलोमिटरमध्ये आठ किमी कालोपत्र गरिसकिएको छ । “अरु केही भागमा कालोपत्र गर्ने तयारी गरिएको छ । त्यसबाहेकका खाल्डो परेका ठाउँहरूमा मर्मतसम्भारको काम थालिएको हो”, उहाँले भन्नुभयो । वर्षाको समयमा कालोपत्र गर्न नमिल्ने भएकाले सडकको छेउमा ‘स्टिल’ राख्ने तथा ‘आरसिसि सेफ्टीवेरियर’को काम भइरहेको जनाउँदै उहाँले योसँगै नाली निर्माण गरिएको बताउनुभयो । सो खण्डमा पर्ने छमध्ये चार वटा पुलको काम अन्तिम चरणमा पुर्‍याइएको नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार मौवा खोला, खटौती र गौमती पुलको ढलान सकेर पहुँच सडकको काम भइरहेको छ ।  वारबाङ् पुल एक साताभित्र ढलान गरिँदै छ । यी चार वटै पुल दुई महिनाभित्र सम्पन्न भई सवारीसाधन सञ्चालन गरिने नेपालले बताउनुभयो । “बाँकी रहेका चरौँदी पुलमा तीन वटा फाउण्डेसनमध्ये दुई वटा सकिएको छ भने हुग्दिको तीन वटा फाउण्डेसनमध्ये एउटा सकिएको छ”, उहाँले भन्नुभयो । यी दुई पुल आगामी वर्षको मनसुन सुरु हुनु अघि सक्ने लक्ष्य छ ।  आयोजनाका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ । “यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । सात दशमलव दुई किमी सडक चार लेन सडकको हुनेछ”, उहाँले भन्नुभयो ।  चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताउनुभयो । उहाँका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्ग पर्दछ । यसमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्ने आयोजना प्रमुख नेपालले जानकारी दिनुभयो । शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम गर्नुपर्ने इञ्जिनियर दरैले उल्लेख गर्नुभयो ।  उहाँका अनुसार यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । सडकमा सवारीको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ । साथै सुरुका वर्षमा डिजाइन परिवर्तन हुँदा पनि काममा ढिलाइ भएको दरैले बताउनुभयो ।