काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

पोखरा:  पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित रहेका खाजाघरमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जाल्पारोडस्थित रहेका विभिन्न खाजाघरहरुमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले टोलीले एक महिलासहित ४जनालाई मंगलबार पक्राउ गरेको हो ।  खाजाघरमा अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा चितवन घर भई पोखरा–८ जाल्पारोड बस्ने २८ वर्षीय सुनिता तामाङ, तनहुँ व्यास नगरपालिका घर भई पोखरा ८ सृजनाचोक बस्ने १९ वर्षीय सुवास गुरुङ, बागलुङको जैमिनि नगरपालिका–८ घर भई पोखरा न्यूरोडबस्ने २१ वर्षीय सागर थापा मगर शंकर थापालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसूरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  यस्तै प्रहरीले जाल्पारोडमा रहेका खाजाघरबाट ११ जना महिलाहरुको उद्धार गरेर कोपिला नेपाल संस्थामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

काठमाडौं:   नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्र कुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार गृह मन्त्रालयमा एक समारोहकाबीच गृह सचिव गोकर्णमणि दुवाडीले उहाँलाई फुली लगाइदिनुभएको हो । यही भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह लिँदै उहाँले सरकारले दिएको जिम्मेवारी निष्ठापूर्ण, अनुशासित र प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  सो अवसरमा उहाँले विभिन्न घटनाक्रममा ज्यान गुमाएका प्रहरी सङ्गठनका सदस्यहरूलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरूको सहज जीवनयापनको कामना गर्नुभयो । आफ्नो कार्यकालमा नागरिकमा राज्यमाथिको विश्वास र भरोसा अभिवृद्धि गर्न सधैँ प्रयत्नरत रहने समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकार गृह मन्त्रालयले मलाई सुम्पिएको यो जिम्मेवारी मेरो निष्ठापूर्ण, अनुशासन, सेवा भाव र प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ यद्यपि हाल प्रचलित प्रहरी ऐन र नियमावलीअनुसार नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ छोटो समयका लागि मात्र महानिरीक्षकमा रहनुहुनेछ । छलफलको क्रममा रहेको प्रहरी विधेयक पारित हुन नसके उहाँले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्नुहुनेछ ।  २०२७ मङ्सिर २३ मा तेह्रथुममा जन्मिनुभएका खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको हो । यो अवधिमा उहाँले मोरङ, धरान, दरबारमार्ग, बागलुङलगायतका थुप्रै प्रहरी इकाईमा नेतृत्व गरिसक्नुभएको छ ।

काठमाडौं:  सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनः स्पष्ट गरेको छ । चीनको थियानजिनमा आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा  यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको  भेटवार्तामा जिएसआईमा ‘नेपालले सहमति जनाएको’  भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले अनुरोध गरेको छ । परराष्ट्र सचिव अमृतबहादुर राईले “मुलुकले अङ्गीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ,  परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझी टीकाटिप्पणी नगर्न  सम्बद्ध सबैमा मेरो आग्रह छ ।” प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्रसचिव  राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा दुवै नेताबिच छलफल भएको बताउनुभयो ।

काठमाडौंः  स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । बुधबार प्रतितोला रु. दुई लाख सात हजार नौ सय कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मोल पनि यथावत् छ । हिजो चाँदीको मूल्य प्रतितोला रु। दुई हजार ४८० कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

पोखरा:  पोखरामा हुने दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को ट्रफी सार्वजनिक गरिएको छ ।  यही भाद्र २० देखि २८ सम्म पोखरा रङ्गशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको ट्रफी बाराहीघाटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको हो । नेपाल भलिबल सङ्घको आयोजनामा हुने लिग पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताउनुभयो ।  ‘पर्यटकीय राजधानी पोखरा खेल पर्यटनको पनि हब सिटी हो, उहाँले भन्नुभयो, यसले पोखराको पर्यटनलाई थप उचाइमा पुर्‍याउन र महिला भलिबल हेर्ने पोखरेली दर्शकहरूको चाहानालाई पुरा गर्नेछ ।’ इभेन्टहरूको सहरका रूपमा समेत विकसित हुँदै गइरहेको पोखरालाई यस प्रकारका कार्यक्रमहरूले सदैव चलायमान बनाउन मद्दत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । भलिबल खेलको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागेको आयोजकले बताएको छ ।  आयोजकका अनुसार सुन्दर पोखरा सहर भलिबलप्रतिको उत्साह, सक्रिय खेल संस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि उपयुक्त स्थान मानिएको हो । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइेटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।  पोखरा निन्जाजले पर्यटकीय राजधानी पोखराको प्रतिनिधित्व गर्नेछ । यस अधि बिहीबार साँझ पोखराको लेकसाईडमा नगर प्रमुख नेतृत्वको टिम धनराज र महानायक नेतृत्वको टिम राजेशका बिचमा मैत्रीपूर्ण भलिबल हुनेछ ।

पोखरा:   पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ ।  कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो ।  बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।  शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए । यस्तै सुमन घर्ति र शक्ति बोहोराले समान एक गोल गरे ।   सैनिक आवासिय महाविद्यालयले कालिका माविलाइ ४–० ले पाखा लगायो । सैनिकको जितमा वसिल विक्रम कुँवरले ह्याटिक गरे भने रेमन पौडेलले १ गोल गरे । वसिल प्लेयर अफ दि म्याच घोषित भए ।  यस्तै गण्डकी बोर्डिङले हेमजा बोर्डिङलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । गण्डकीका लागि सुहन खत्री र अर्मान गुरुङले गोल गरे भने, हेमजाका लागि समिर विकले गोल गरे । अर्मान प्लेयर अफ दि म्याच घोषित भए ।  अन्तिम क्वाटरफाइनल खेलमा सोसल पब्लिकले बालकल्याणलाई ५–२ ले हरायो । सोसलको जितमा बुद्ध विकले २ तथा दावा थापा, रवि मणि र अमित परियारले गोल गरे । अमित प्लेयर अफ दि म्याच घोषित भए । बाल कल्याणको तर्फबाट प्रविण गुरुङ र प्रिन्स गुरुङले गोल गरे ।  उता छात्रातर्फ लिग चरणको खेलमा शान्तिदिपले सेन्ट मेरिजलाई १–० ले हरायो । शान्तिदिपको जितमा सेजु खड्गले गोल गरिन् । दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले सोसल पब्लिकलाई ६–० ले हरायो । सैनिकका लागि सन्सुभ थापा मगरले चार गोल गरिन् भने रस्मी रिजालले २ गोल गरेको म्याच कमिस्नर गोपाल लामाले जानकारी दिए ।  प्रतियोगितामा भोलि छात्रा तर्फ लिगचरणको अन्तिम खेलहरु तथा छात्रतर्फ सेमिफाइनलका खेल हुनेछन् । सेमिफाइनलमा शिशु कल्याण र शैनिक तथा सोसल पब्लिक र गण्डकी भिड्नेछन् ।  प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।  प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले  सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।  

पोखरा:  पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।  पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।  यही भदौँ २० र २१ गते प्रतियोगिता संचालन हुने छ । पोखरा महानगरपालिका वडनम्बर ६ लेकसाइडमा रहेको आइभिवाई क्लबमा प्रतियोगिता संचालन गरिने प्रतियोगिताका संयोजक खली थापाले जानकारी दिए ।  तौल समूह अनुसार चार विधामा प्रतिष्प्रर्धा गराइने छ । ६० केजी मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथी तौल समूहमा प्रतिष्प्रधा हुने छ ।  चार विधामा नै समान पुरस्कार राशी राखिएको आर्म रेस्लिङ्ग संघ, कास्कीका प्रथम उपाध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापक रत्न बहादुर आलेले जानकारी दिए । प्रथम, द्धितिय र तृतीय हुनेले क्रमस ५० हजार, २५ हजार र १० हजार नगद,  मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने च्याम्पिन अफ च्याम्पिनले नगद एक लाख र प्रमाणपत्र प्राप्त गर्नेछ ।  यो नै अहिलेसम्मको सबैभन्दा ठुलो पुरस्कार राशी रहेको आयोजकको दावी छ । पुरस्कार राशीमा मात्रै ४ लाख ५० हजार माथि खर्च रहेको अध्यक्ष गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न २३ लाख १९ हजार खर्च लाग्ने आयोजकको अनुमान  छ ।  प्रतियोगितामा सहभागि हुन देशभरबाट करिब एक सय ५० बढि खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीलाई यही भदौँ १८ गतेसम्म आवेदन दिने समय रहेको आयोजकले जनाएको छ ।   

काठमाडौं:   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेपलाञ्चोकको धुलिखेल मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ । आयोगका अनुसार भण्डारीले साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा छुट दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा टोली खटाइएको थियो । भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।  आयोगले भण्डारीसहित बरामद गरिएको नगद र एक थान मोबाइल डिभाइस पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौं:  सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्दा नेपाली भाषामा राख्न भाषा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले हिजो प्रेस विज्ञप्ति जारी गर्दै सरकारले भाषाको प्रयोग गर्दा भाषा आयोगको सिफारिस बमोजिम गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको कुराको स्मरण गराएको छ । आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेटहरु नेपाली भाषामै राख्‍न सरकारलाई यसअघि नै सिफारिस गरिएको र हिजोआज अंग्रेजी भाषा राख्‍ने कुरा सार्वजनिक भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।