पोखरा: तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार कात्तिक २७ देखी २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ५० खेलाडी सहभागी हुने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार १३ बढी देशले दर्ता गरेपनि नेपालमा भएको जेन्जी आन्दोलनले परेको नकारात्मक असरका कारण अरु देशले दर्ता रद्द गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । आयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ । प्रतियोगिताले खेलकुदलाई मात्र नभई खेलकुदसँगै पर्यटन प्रबर्धनलाई महत्वपूर्ण टेवा पुराउने विश्वास गरिएको छ ।
काठमाडौं: मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ । “मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९/८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनका लागि स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेस गरिनेछ”, सहमतिमा भनिएको छ । त्यसका लागि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सत्यतथ्य सङ्कलन गरिनेछ । राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमा अनुरोध गरिनेछ । सो समितिमा मेलम्ची खानेपानी विकास समिति र स्थानीय सरोकारवाला पिडित पक्षको तर्फबाट तीन जना प्रतिनिधि रहने गरी प्रक्रिया अगाडि बढाउने र यस कार्यलाई तीन महिनाभित्र सम्पन्न गरिनेछ । विभिन्न समयमा आएकाको बाढीको कारण मेलम्ची प्रभावित क्षेत्रमा भएको जनधनको क्षति, उद्योग व्यवसाय, कृषि फर्म तथा दैनिक जीवनयापनमा परेको प्रभाव समेतको अध्ययन गरिनेछ । स्थानीय भेण्डरहरुको बक्यौता रकम निकासा गर्ने निर्णय अनुसार अर्थ मन्त्रालयवाट हालसम्म निकासा हुन नसकेकोले निकासा गराई १५ दिनभित्र निकासा गरिनेछ । आयोजनाबाट वितरण हुने खानेपानीको परिपूरण निर्धारणका सम्बन्धमा यसअघि गठन भएका समितिका प्रतिवेदन समेतका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी पैतालिस दिनभित्र मन्त्रिपरिषदमा पेश गरिने सहमति भएको छ । यस्तै, मेलम्ची अम्बाथान मेलम्ची घ्यांग सडक निर्माणका लागि विनियोजन भएको बजेट रकममध्ये रु २५ करोड सडक विभागलाई हस्तान्तरण भइसकेको हुँदा उक्त रकमको ठेक्का प्रक्रिया अगाडि बढाइनेछ । सो सडकलाई बहुबर्षीय ठेक्का योजनाअन्तर्गत रु एक अर्बको स्रोत सहमति लिई डिभिजन सडक कार्यालय, दोलखाले बोलपत्रको प्रक्रिया तत्काल अगाडि बढाइनेछ । स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि बिनियोजन भएको रकम रु चार करोड र थप रकम रु १९ करोड निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिनेछ । मेलम्ची हेलम्बु एकीकृत विकास कोरिडोर विकास कार्यक्रम अगामी आवका लागि प्रस्ताव गर्ने सहमति भएको छ । सहमति भए पश्चात् आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सहमतिपत्रमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हस्ताक्षर गर्नुभएको छ । यस्तै, सहमतिपत्रमा स्थानीयबासी तथा सरोकारवाला समूहका तर्फबाट हस्ताक्षर भएको छ । यस्तै, मेलम्ची खानेपानी विकास समितिका तर्फबाट कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गर्नुभएको छ । नेपाल सरकार, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको समुपस्थितिमा उक्त सहमति भएको हो ।
पोखरा: नेपाल चाटर्ड एकाउन्टेन्ट सस्था पोखरा शाखाको आयोजनामा पोखरामा अन्तराष्ट्रिय लेखा दिवस मनाइएको छ । प्रत्येक वर्षको नोभेम्बर १० मा अन्तराष्ट्रिय लेखा दिवस मनाउने गरिएकोमा शाखाले एकान्टिङ प्रोफेसन एण्ड एआई सम्बन्धी अन्तरक्रिया गर्दै दिवस मनाएको हो । अन्तरक्रियामा लेखा व्यवसायसँग सम्बन्धित चाटर्ड एकाउन्टेन्ट तथा रजिष्टर्ड अडिटर्सहरू एवम् उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखानाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी एवम् नेपाल युवा व्यवसायी मञ्च पोखरा च्याप्टर्सका अध्यक्ष सुमेज राजभण्डारी लगायतको उपस्थिति थियो । नेपाल लेखामान वोर्डका सदस्य चाटर्ड एकाउन्टेन्ट दुर्गाप्रसाद ज्ञवालीले एकाउन्टिङ प्रोफेसन एण्ड एआई सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै यसको प्रयोगले लेखा व्यवसायमा तथ्यांकहरुको विश्लेषणमा सहजिकरण, समयको वचत का साथै विस्तृत अध्ययनमा समेत सहज हुने बताउनुभयो । उहाले एआईको प्रयोग गर्ने प्राविधिक पक्ष सिकाउँदै यसबाट सहि एवम् विश्वसनीय विवरण लिने सोही अनुसारको विवरण एवम् प्रश्न पेश गर्नुपर्ने जानकारी गराउनुभयो । नेपाल चाटर्ट एकाउन्टेन्ड संस्था पोखरा शाखा संयोजक चाटर्ड एकाउन्टेन्ट उबेक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शाखा समन्वय कमिटीका सदस्य चाटर्ड एकाउन्टेन्ट सागर आचार्यले सञ्चालन गर्नुभएको थियो भने सदस्य चाटर्ड एकाउन्टेन्ट मदन पोखरेलले स्वागत गर्नुभएको थियो । कार्यक्रमका सहभागीले एआई सम्बन्धित नयाँ प्रविधिलाई आफनो पेशा तथा व्यवसायसँग कसरी जोडन सकिन्छ भन्ने सम्बन्धमा चासो व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको शाखाका सदस्य रजिष्टर्ड अडिटर चन्द्रबहादुर सुवेदीले जानकारी दिनुभयो ।
पर्वत: यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् । कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो । कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिनुभयो । उनीलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए । अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् । घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उहाँका तीन छोरा रोजगारीका लागि विदेशमा छन भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
म्याग्दी: मुस्ताङमा रहेको कोरला नाका हुँदै कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ। कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन्। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुई वटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीहरूसँग छलफलका लागि गत शुक्रबार चीन गएको बताए। कोरला नाका हुँदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङल्होमो गुरुङसहितका १३ जनप्रतिनिधि सहभागी छन्। यो भ्रमण जनप्रतिनिधिको व्यक्तिगत खर्चमा भएको पनि अध्यक्ष गुरुङले बताए। ‘नेपाल र चीन सरकारका अधिकारीहरूसँग समन्वय गरेर कोरलानाका हुँदै मानसरोवर पुग्ने धार्मिक पर्यटकीय मार्गको सम्भाव्यता अध्ययनका लागि आएका हौं,’ उनले भने, ‘हाम्रो पहलले सार्थकता पाएमा गण्डकी प्रदेश र नेपालको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक समृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएका छौं।’ कोरलानाका हुँदै कैलाश मानसरोवर, ल्हासा तिब्वत घुम्न जाने र चीनका बौद्ध धर्मावलम्बीहरूलाई कोरलानाका भएर लुम्बिनीमा ल्याउन यो छोटो मार्ग हुने अध्यक्ष गुरुङले बताए। उनका अनुसार कोरलानाकादेखि कैलाश मानसरोवर तीन सय किलोमिटर र ल्हासा एक हजार किलोमिटर दूरीमा रहेको छ। कैलाश मानसरोवरको दर्शनका लागि कोरलानाकाबाट निकै छोटो, कम खर्चिलो र सहज हुने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए। हाल भारतीय र नेपाली पर्यटकहरू हुम्ला हुँदै मानसरोवर दर्शनका लागि जाने गरेका छन्। अहिले भारतीय मार्ग हुँदै जाँदा एउटै धार्मिक पर्यटकले प्रतिव्यक्ति दुई लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा कोरला नाकाबाट सहज आवतजावत भएमा निकै कम खर्चमा कैलाश तथा मानसरोवरको भ्रमण गर्न सकिने बताइएको छ। २०८० कात्तिक २७ गतेदेखि मुस्ताङवासीका लागि सामान किनमेल गर्न खुला भएको कोरला नाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना भएको थियो। यस वर्षदेखि तातोपानी र रसुवाको नाका बन्द भएपछि चीन र नेपालको निकासी, पैठारी कोरला नाकाबाट हुन थालेको छ। पोखरा र काठमाडौँबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै कोरालानाका हुँदै सवारीसाधनको प्रयोग गरी मानसरोवरसम्म जान सकिन्छ। चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौं नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन्। मुस्ताङको बाटो हुँदै कैलाश मानसरोवर जान काठमाडौंबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र चार सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुँदै मुस्ताङको कोरलानाका पुग्न सकिन्छ। हवाईमार्ग हुँदै मुस्ताङको जोमसोमबाट ९६ किलोमिटरको दूरी पार गरेपछि लोमान्थाङ हुँदै करीब साढे चार घण्टामा कोरला पुग्न सकिन्छ। नेचुङ–लिजी भन्सारबाट करीब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट तीन सय किलोमिटरको यात्रापछि ६ घण्टामा कैलाश तथा मानसरोवरमा पुगिने अध्यक्ष गुरुङले बताए। तिब्वती क्षेत्रको सडक सञ्जाल र सवारीसाधनसमेत आधुनिक भएकाले यात्रा निकै सहज रहेको उनले बताए। हिन्दू धर्ममा शिवको बासस्थान भनिने कैलाश समुद्र सतहबाट ६ हजार ६०३ मिटर उचाइमा रहेको छ। कैलाश पर्वतलाई परिक्रमा गर्दा पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुने जनविश्वास छ। कोरलानाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कार्यालयबाट पहिलोपटक भिसा लगाएर १३ जना जनप्रतिनिधिको टोली कोरलानाका हुँदै एक साताका लागि चीन गएका बताए। नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि एक सय ५० दिनको ‘अनअराइभल भिसा’ निःशुल्क उपलब्ध गराइन्छ। सरकारले उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि पाँच सय डलर प्रवेश शुल्क तोकेकाले चुनौतीका रूपमा रहेको छ।
सोलुखुम्बु: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले हिँडेको बाटो खोल्न लागिएको छ। न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करीब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ। विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाममा सञ्चालन हुनेगरी तयारी भइरहेको छ। यो करीब २०० मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए। खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पाले बताए। उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको बाटो उपयोगविहीन भएको हो। यो बाटो खुम्बु आइसफलतर्फको भन्दा धेरैगुणा सुरक्षित र भरपर्दो रहेको शेर्पाको भनाइ छ। सोही मार्गको खोजी, अनुसन्धान तथा पुनःसञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई र फ्रान्सकै अर्का विश्वविख्यात आरोही एन्ट्वान एरोलाई जिम्मा दिइएको पर्यटन विभागका निर्देशक गौतमले जानकारी दिए। उनका अनुसार नुप्से हिमालको फेदीमा सगरमाथा आधारशिविर हुनेगरी मार्ग निर्माणको करीब ८० प्रतिशत सम्पन्न भइसकेको छ। बाँकी २० प्रतिशत कार्य पूरा गरी आगामी वसन्तयाम (फागुन–चैत) मा सञ्चालन गर्नेगरी तयारी भइरहेको विभागका निर्देशक गौतमले बताए। ‘विश्वविख्यात आरोही नेपालका काजी शेर्पा र सगरमाथा आरोही फ्रान्सका मार्क वटाईको टोली सक्रिय भएका छन्, मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले अनुमति दिइसकेको छ,’ उनले भने, ‘यद्यपि त्यसका लागि सरकारको आर्थिक लगानी भने गरेको छैन।’ फ्रान्सस्थित विभिन्न पर्वातारोहण सङ्घसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको गौतमले जानकारी दिए। ‘सगरमाथा आरोहणका लागि अहिले सञ्चालनमा रहेको खुम्बु आइसफल हुँदै क्याम्प एकसम्मको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ। बर्सेनि आधा दर्जनभन्दा बढी आरोहीले अरोहणका क्रममा सगरमाथा क्षेत्रमा ज्यान गुमाउने गरेका छन्। तीमध्ये एक चौथायी घटना खुम्बु आइसफलमा हुने गरेको छ,’ निर्देशक गौतमले भने। सगरमाथा आरोहण गर्दा पहिलो जोखिम भनेको खुम्बु आइसफलमा हो। यहाँ हिउँ पग्लने, फाट्ने भइरहने हुनाले धेरै खतरा मोलेर जानुपर्ने सगरमाथा आरोही विजय घिमिरेले बताए। नयाँ मार्ग नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने भएकाले अन्यन्त उपयोगी र कम जोखिमयुक्त हुनसक्ने उनको भनाइ छ। सोही बाटो हुँदै ७२ वर्षअघि तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकेका थिए। यही पुरानो मार्गलाई पुनःजीवन दिनेगरी करीब १० जना विश्वविख्यात आरोहीसहितको समूहले करीब तीन वर्षअघिदेखि सक्रिय नयाँ पदमार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताए। उनका अनुसार आगामी वसन्तयामभित्र आरोहण मार्ग औपचारिक रूपमा खुल्ने तयारी तीव्र गतिमा अघि बढेको छ। काजीले भने, ‘यो केबल हिमाल आरोहणको बाटो होइन। यो नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म हो, जसमा यसपटक स्थानीय समुदाय, नेपाली आरोही, अन्तर्राष्ट्रिय दाताहरू र नेपाल सरकार सबैको सहकार्य जोडिएको छ। अहिलेसम्म पूरै मार्गको ८० प्रतिशत काम पूरा भइसकेको छ। बाँकी काम आगामी मार्च(अप्रिल अर्थात् वसन्तयामभित्र सक्ने लक्ष्य राखिएको छ।’ सरकारद्वारा अनुमति प्राप्त सगरमाथाका लागि ऐतिहासिक उक्त मार्ग खुलाउन सरकारले काजी शेर्पा र फ्रान्सका मार्क वटाईको नेतृत्वमा अनुमति प्रदान गरेको छ। सङ्घीय सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा र वटाईको टोलीलाई लिखित रूपमा अनुमति दिइएको विभागका निर्देशक गौतमले जानकरी दिए। विभिन्न फ्रान्सेली संस्था तथा दाताहरूको आर्थिक सहयोगमा काम अघि बढे पनि अन्य सहयोग र समन्वयमा सङ्घीय सरकारअन्तर्गत पर्यटन विभागको साथ रहेको उक्त समूहको नेतृत्व लिएको शेर्पाले बताए। विभागले आरोही शेर्पाको नेतृत्वमा रहेको समूहलाई ६ हजार १०० मिटर उचाइसम्म मार्ग विस्तार र निश्चित मार्ग निर्माणको लिखित अनुमति दिएको छ। ‘सगरमाथा क्याम्प एकसम्म मात्रै अनुमति दिइएको छ। क्याम्प एकभन्दा माथि जाने बाटो भने एउटै छ,’ पर्यटन विभागका निर्देशक गौतमले भने। यो मार्ग सञ्चालनमा ल्याउनसके आरोहण यामका बेला हालको आधारशिविरमा भइरहेको मानवीय चाप, कोलाहल तथा प्रदूषणलाई कम गर्न सकिने विभागले जनाएको छ। यो परियोजना नेपालको पर्वतारोहण इतिहाससँग सम्बन्धित भएकाले मन्त्रालयको सहमति र पर्यावरणीय स्वीकृतिसहित अघि बढाइएको गौतमले बताए। उनले भने, ‘हामीले यसलाई सुरक्षित र स्थायी बनाउन सबै प्राविधिक मापदण्डमा ध्यान दिएका छौं।’ यो मार्ग पूर्ण रूपमा तयार गर्नका लागि करीब चार लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। अहिलेसम्म तीन लाख डलर खर्च भइसकेको आरोही काजी शेर्पाले बताए। बाँकी एक लाख डलर दाताहरूले अझै सङ्कलन गरिरहेको उनको भनाइ छ। शेर्पाले भने, ‘मुख्य सहयोग फ्रान्सका पर्वतारोहण प्रेमी र निजी दाताबाट आएको छ। यो रकम निश्चित मार्गसहित खुट्किला निर्माण, सुरक्षा व्यवस्थापन, प्राविधिक उपकरण र मार्ग सफाइका लागि प्रयोग भइरहेको छ।’ नयाँ बाटो: कम जोखिम नयाँबाटो पुरानो खुम्बु आइसफल मार्गको विकल्पका रूपमा तयार हुँदै छ। खुम्बु आइसफल सगरमाथाको सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ। जहाँ वार्षिक रूपमा हिउँपहिरो र हिउँका ब्लक खस्ने घटनाले आरोहीको ज्यान लिने गर्छ। आरोहीको ज्यान लिने अधिकांश घटना खतरायुक्त खुम्बु आइसफल क्षेत्रमा हुने गरेको पर्यटन विभागका निर्देशक गौतमले बताए। उनका अनुसार सगरमाथा आरोहणका लागि बर्सेनि करीब ५०० जना विदेशी तथा ३०० जति नेपाली सहयोगी गरी ८०० जनाभन्दा बढीले अनुमति लिने गर्छन्। खुम्बु आइसफल जोखिमयुक्त भएकाले कतिपय आरोहीले आरोहण नगरी फर्कने गरेका गौतमको भनाइ छ। अब खुल्ने भनिएको वैकल्पिक बाटो दूरीको हिसाबले करीब २०० मिटर जति लामो रहेको जनाउँदै जोखिम निकै कम हुने आरोहण क्षेत्रका जानकारहरू बताउँछन् । पर्यटन विज्ञ आङ्छिरिङ शेर्पाले भने, ‘यो बाटोले खुम्बु आइसफलको खतरा घटाउँछ र सगरमाथा आरोहण अझ सुरक्षित र विश्वसनीय बन्नेछ।’
काठमाडौं: नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज मंगलबार सबै ७५३ वटै पालिकामा जनप्रर्दशन हुँदै छ। प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रम सार्वजनिक गरेको थियो। पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कात्तिक २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन्। उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद् विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरुलाई प्रस्ट पारिएको उनको भनाइ छ। गौतमले दिएको जानकारीअनुसार आजको कार्यक्रममा कतिपय पालिकाले मोटरसाइकल र्यालीमार्फत एमालेको शक्ति प्रदर्शन गर्दै छन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका कार्यक्रम राखिएको छ। आजको कार्यक्रममा जनतालाई जगाउने नारा पार्टी केन्द्रले तय गरेको छ। प्रर्दशनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डा सहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रर्दशन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरूलाई एमालेले निर्देशन दिएको छ। जनप्रर्दशनका तस्बिर, भिडिओ र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा सेयर गर्न र सञ्चारमाध्यममा पठाउन पनि एमालेले यसअघि नै निर्देशन दिइसकेको छ। आजको जनप्रदर्शन कात्तिक २९ गते जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारका रूपमा पनि रहने एमालेले जनाएको छ।
काठमाडौं: नेपाल प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको एनपीएलको खेल तालिका अनुसार पहिलो दिन एक खेल मात्र हुनेछ। सो खेल साँझ ४ बजे सुरु हुनेछ। दोस्रो दिन दुई खेल हुनेछ। एनपीएलको दोस्रो दिन चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्। सो खेल दिउँसो पौने १२ बजे सुरु हुनेछ। सोही दिन विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। सो खेल साँझ ४ बजे सुरु हुनेछ।
काठमाडौं: घर फर्क राष्ट्रिय अभियानअन्तर्गत आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा फर्किएका छन् । राष्ट्रियसभा गृहमा आज आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले नेत्री झाँक्री, किसान श्रेष्ठसहितलाई एमालेमा स्वागत गर्नुभयो । एमालेका कार्यालय सचिव डा भीष्म अधिकारीले ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ गरेर सुरुआत मात्रै भएको र देशैभर यो अभियान जारी रहने बताउनुभयो । एमाले अध्यक्ष ओलीले केही दिनअघि विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गर्नुभएको थियो । सोही आह्वानअनुुसार घर फर्क अभियानअन्तर्गत आज १५० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाइएको छ ।

