मकवानपुर:  मकवानपुरको मनहरी गाउँपालिका–६, सिस्नेरीपखेरा जंगलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्कँदा सहकर्मीको मृत्यु भएको छ । जंगलमा राक्सिराङ गाउँपालिका–८, राजराङका ४५ व...

पोखरा:  नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो । अर्वाड कार्यक्रमको लागि  १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ सय रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले जानकारी दिए ।  कोषाध्यक्ष तिवारीले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको छ । मञ्चको सातौं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नवौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको थियो । नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका थिए । त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको थियो । उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनीन् । यता उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बनेका थिए  । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गरेको थियोभने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाएका थिए । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।

काठमाडौं:  प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदै छन् । खापुङले भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए । आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट  एआईजीद्वय राजन अधिकारी र डा। मनोज कुमार केसी थिए । एआईजी शिद्धी बिक्रम शाह पनि आईजीपीको दाबेदार थिए । २०८२ वैशाखमा चन्द्र कुवेर खापुङसँगै एआईजीमा बढुवा भएका कार्की वरीयता सूचीमा पहिलो नम्बरमा थिए । कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।

काठमाडौं:  निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आज आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले उहाँहरूसँग परामर्श गरेको हो । जेनजी आन्दोलनको भावनाअनुरूप चुनावी अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यस्तै १९ सदस्य पदका लागि आगामी माघ ११ राष्ट्रियसभाको निर्वाचन हुँदैछ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको परामर्शमा आयुक्तद्वय सगुनशम्शेर जबरा र डा। जानकी तुलाधर, पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङलगायत र आयोगका पूर्वसचिवहरू मधु रेग्मी, भरतमणि सुवेदी, सुरेश अधिकारी, रविराज पन्तलगायत सहभागी हुनुहुन्छ । परामर्श बैठकको प्रारम्भमा आयोगका सचिव महादेव पन्थले यसअघिका निर्वाचन व्यवस्थापनमा भएका अनुभव तथा आइपरेका समस्या र चुनौती समाधानमा खेलिएको भूमिकासम्बन्धी अनुभव आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।  तोकिएको निर्वाचन समयमा नै सम्पन्न गर्न मुलुकभर रहेका आयोगका कार्यालयहरूमा रिक्त पदमा पदपूर्ति गरिसकिएको जानकारी दिँदै उहाँले निर्वाचन सुरक्षाका लागि सुरक्षा सङ्गठनको बैठक बसिरहेको बताउनुभयो ।  “अनुभव आदानप्रदानले निर्वाचन व्यवस्थापनमा सुधार र नवीन सोच अघि बढाउन प्रेरणा दिने भएकाले पूर्वपदाधिकारीको ज्ञान र अनुभवन महत्त्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो, “आगामी निर्वाचन संवैधानिक दायित्व मात्र नभई लोकतान्त्रिक अभ्यासको आधारस्तम्भ हो ।”  आयोगमा हालसम्म १२५ दल दर्ता भएका छन् । केही दल दर्ताका प्रक्रियामा रहेको आयोगले जनाएको छ । चालु आवमा नयाँ तीन दल दर्ता भएका सचिव पन्थले जानकारी दिनुभयो । प्रतिनिधिसभाको निर्वाचनका लागि अनुकुल वातावरण निर्माणका लागि आयोगले खेल्नुपर्ने भूमिका र ध्यान दिनुपर्ने विषय, निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनका लागि चाल्नुपर्ने कदम विषयमा छलफलबाट महत्त्वपूर्ण सुझाव प्राप्त हुने उहाँले बताउनुभयो ।

पोखरा:   गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने “मौलिक (कोसेली) घर” निर्माण कार्यको सोमबार एक विशेष समारोहबीच शिलान्यास भएको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित गण्डकी प्रदेश संग्रहालय परिसरमा निर्माण हुन लागेको कोसेली घरको शिलान्यास गर्दै  प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले सुशासन र पारदर्शिता कायम गर्दै भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको बताए । “प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार सबैले गर्नुपर्छ। फेवाताल संरक्षणदेखि पर्यटकको बसाइ लम्ब्याउने काममा प्रदेश सरकार लागिरहेको छ। दुई वर्षभित्र प्रदेशको विकासको दिशा स्पष्ट भएको छ । गण्डकी प्रदेश सातवटै प्रदेशमध्ये नेतृत्वदायी भूमिकामा छ।”, उनले भने । मुख्यमन्त्री पाण्डेले मौलिक घर निर्माणले गण्डकी प्रदेशको सांस्कृतिक पहिचान झल्काउने मात्र नभई आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने केन्द्र बन्ने उल्लेख गरे । उनले भने, “संग्रहालयमा बन्दै गरेको कोसेली घरले पर्यटकलाई प्रदेशका विविध संस्कृतिबारे बुझ्न सहज बनाउनेछ । यसले पोखराको पर्यटन प्रवद्र्धनमा पनि ठोस योगदान पु¥याउनेछ।” सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले गरेका योजना सफल बनाउन स्थानीय समुदायको सहभागिता अनिवार्य रहेको बताए । उनका अनुसार सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय स्तरको सहयोग बिना दीगो परिणाम हासिल गर्न सकिँदैन । “प्रदेश सरकारले बनाएका संरचनाबाट प्रत्यक्ष लाभ स्थानीय समुदायले नै पाउनेछन्। मौलिक संस्कृति र परम्परालाई आधुनिक समाजमा जोगाएर राख्नु हाम्रो साझा जिम्मेवारी हो”, उनले भने । पश्चिमी संस्कृतिको तीव्र प्रभावका कारण मौलिक परम्परा, रीतिरिवाज र कला हराउँदै गएको अवस्थामा संग्रहालयको विस्तारले तिनको पुनर्जीवनमा सहयोग पुुग्ने विश्वास उनको छ । गण्डकी प्रदेश प्राकृतिक सुन्दरता, जातीय विविधता र सांस्कृतिक समृद्धिको केन्द्र भएको र यस प्रदेशमा पाइने मौलिक संस्कृतिहरू आधुनिक प्रभावका कारण लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण, अध्ययन र प्रदर्शन नै संग्रहालयको प्रमुख उद्देश्य भएको उनले स्पष्ट पारे । मन्त्री थापाका अनुसार गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत निर्माणाधीन कोसेली घरले प्रदेशका ग्रामीण बस्तीमा प्रचलित कला, शिल्प र वास्तुकलाको रूप झल्काउनेछ । लोपोन्मुख कला र शैलीलाई जगेर्ना गर्दै आगन्तुकलाई गण्डकी प्रदेशको मौलिक वास्तुकला र जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यस्वरुप उक्त भवनको निर्माण गर्न लागिएको उनले बताए । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव दामोदर सुवेदीले गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत सञ्चालन भइरहेको यस परियोजनाको कुल लागत रु। २ करोड ८३ लाख २७ हजार ९३२ रुपैयाँ ३ पैसा (भ्याट र कन्टिन्जेन्सी सहित) रहेको र सम्झौता रकम रु। १ करोड ८५ लाख ८८ हजार २६४ रुपैयाँ ६६ पैसा (भ्याट सहित) रहेको जानकारी गराए । कोसेली घरको निर्माण आगामी असार मसान्तसम्म सक्नेगरि टुडे बिल्डर्ससँग सम्झौता भएको भनाई उनको छ । पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले संग्रहालयमा बन्दै गरेको कोसेली घरले पोखरा र समग्र गण्डकी प्रदेशलाई सांस्कृतिक र पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने बताए । सांस्कृतिक पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार र समुदायमा आर्थिक अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास उनको छ । प्रदेश सरकारको उक्त कार्यलाई सफल पार्न स्थानीय तह प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे । ठेक्का लिएको कम्पनी टुडे बिल्डर्सका ईन्जिनियर सिरश बास्तोलाले निर्माण कार्य समय अवधिमा नै सक्ने प्रतिबद्धता जनाएका छन् । संग्रहालयको छोटो परिचयः  सन् १९७२ मा युनेस्कोका विशेषज्ञद्वारा तयार गरिएको नेपालको सांस्कृतिक सम्पदाको संरक्षण गुरुयोजनामा क्षेत्रीय संस्कृतिको संरक्षणका लागि क्षेत्रीय संग्रहालय स्थापना गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो । त्यसै सुझावका आधारमा तत्कालीन सरकारले आ.व. २०३७÷३८ देखि धनकुटा, पोखरा र सुर्खेतमा क्षेत्रीय संग्रहालय स्थापना गर्ने कार्ययोजना अघि सारेको थियो। त्यसअनुसार जग्गा अधिग्रहण गरी भवन निर्माण कार्य सुरु गरियो र आ।व। २०३९÷४० मा कार्यालय स्थापना भई सामग्री संकलन आरम्भ भयो । वि।सं। २०४१ माघ २३ गते पोखरा क्षेत्रीय संग्रहालय सर्वसाधारणका लागि खुला गरियो । देशको राजनीतिक संरचना अनुसार अहिले यो संग्रहालय गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा छ । संग्रहालयले प्रदेशका विभिन्न जातजाति र समुदायका मौलिक संस्कार, रहनसहन, भेषभूषा, खानपान, परम्परागत उपकरण र लोकजीवन झल्काउने सामग्रीहरू संकलन, अभिलेखीकरण र प्रदर्शन गर्दै आएको छ । २४ रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालयले आ।व। २०६७÷६८ देखि विद्यार्थी सदस्यता कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले युवाहरूमा सांस्कृतिक चेतना बढाउने कार्यमा टेवा पु¥याएको संग्रहालयको प्रमुख करुणा राईले जानकारी गराइन् ।  

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ ।  गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो ।  पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका–७ मच्छिममा पहिलो चरणमा सडक फराकिलो पार्न थालेको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिनुभयो ।  “मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि रु ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो,” उहाँले भन्नुभयो “योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना चार किलो(मिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुनेछ ।”  पूर्वाधार विकास कार्यालय र ठेकेदारका प्राविधिक टोलीले संयुक्त सर्वेक्षण सकेपछि गत हप्तादेखि उपकरण र मजदुर परिचालन भएका हुन् । गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकामध्ये सबैभन्दा ठूलो र धेरै बजेटको आयोजना भएको जुग्जालीले बताउनुभयो ।  प्रशासनीक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सबैभन्दा कम रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो ।   म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराउनुभएको थियो ।  सङ्घीय र प्रदेश सरकारको समपुुरक ५०÷५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो । सङ्घीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२/०८३ मा रु २३ करोड २२ लाख विनियोजन भएको छ ।  उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले करिब ६० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।  बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेनी–तोलाबाङ खण्डमा १८ किलोमिटर कालोपत्र भएको छ । यो सडकले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको पूर्वाधार र आर्थिक क्षेत्रमा रुपान्तरण गराउने अपेक्षा गरिएको वडा नं.–३ का अध्यक्ष तथा गाउँकार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले बताउनुभयो ।  विसं २०७१ मा मुनामा सडक पुगेको थियो । हाल कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । सडक स्तरोन्नति सुरु भएपछि स्थानीयवासीमा खुसीयाली छाएको उहाँले बताउनुभयो । सडक निर्माणलाई गुणस्तरीय हिसाबले समयमै सम्पन्न गराउन गाउँपालिकाले समन्वय र सहजीकरण गर्ने रोकाले बताउनुभयो ।   मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको गत आर्थिक वर्षमा मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।  “गत वर्ष मार्ग खुलेको मुना–खोरीया–मरेनी–जलजला खण्डको सडकमा यातायात सञ्चालन गर्न मर्मतका लागि सडक डिभिजनसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई ताकेता गरेका छौं ,” उहाँले भन्नुभयो “बेनीदेखि मुना खण्डको सडक स्तरोन्नतिसँगै जलजला हुँदै ढोरपाटनको मार्ग खुलेपछि स्थानीयवासीका साथै ढोरपाटन घुम्न जाने पर्यटकहरुलाई सहज हुनेछ् ।”

पोखरा:  गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवन जलेपछि स्थगित भएको प्रदेश सभा बैठक दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बस्ने सभामुख कृष्ण धितालले जानकारी दिए । यसअघि प्रदेशसभाको अन्तिम बैठक भदौ १६ गते बसेको थियो । त्यसपछि भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी भएपछि बैठक बस्न सकेको थिएन । यसअघि असोज २२ गतेका लागि बैठक बोलाइएको भए पनि सांसदहरुले असुरक्षा महसुस गरेपछि बैठक स्थगित गरिएको थियो ।

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताउनुभएको छ ।  उहाँले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद्  र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गर्नुभयो । महामन्त्री थापाले भन्नुभयो,“संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।”  उहाँले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको निर्णय स्पष्टरूपमा प्रस्तुत गरिसकेको बताउनुभयो ।  उहाँले कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभएको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले निर्वाचनअघि पार्टीको अधिवेशन गरे अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउने पनि उल्लेख गर्नुभयो 

पोखरा:   कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा शनिबार माछापुच्छ्रे ६ हेम्जाकोटमा शनिबार सम्पन्न भएको हो । अन्तरक्रियामा गाउँपालिका, स्थानीय निकाय, स्थानीय, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता थियो । सहभागीहरूले माछापुच्छ्रे गाउँपालिकाभित्र रहेका पर्यटन सम्भावना र चुनौती विषयमा धारणा व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमका वक्ताहरूले पत्रकारहरूले गाउँपालिकाका पर्यटकीय सम्पदा, संस्कृतिको संरक्षण तथा प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।   कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले गाउँपलिकाको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहे पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताए ।  विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजि भैरहेको र आन्तरिक पर्यटक धेरै आउने गाउँपालिकाका गन्तव्यमा विदेशी पर्यटकलाई आकर्षण गर्ने योजनामा गाउँपालिका अगाडी बढेको उनले जनाए ।  त्यस्तै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले गाउँपालिकाको समग्र पर्यटन विकासका लागि आवश्यक सुझाव दिन आह्वान गरिन् । यता गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिका पर्यटनको सम्भावना निकै रहेको र स्थानीय नागरिकले गाउँपालिकासँग गर्ने सहजीकरण निकै सह्रानीय रहेको बताए । अन्तरक्रियामा पत्रकार र स्थानीयबाट उठेको प्रश्नको जवाफ गाउँपालिकाले दिएको थियो । त्यसैगरि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले पत्रकार, पालिका र स्थानीयबीच भएको अन्तरक्रियाले समन्वय सुदृढ बनाई पर्यटन प्रवद्र्धनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा हेम्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष इश्वर गुरुङ, माछापुच्छ्रे गाउँपालिका वडा ५ का अध्यक्ष नारायण पौडल, वडा ६ का अध्यक्ष टेकनाथ गौतम, खेलकुद विकास समिति माछापुच्छ्रे गाउँपालिकाका सदस्य सचिव होमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव परशुराम शर्माले गरेका थिएभने स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले राखेका थिए । दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई शनिबार आफ्नै जन्मथलोमा नगदसहित सम्मान गरिएको छ ।  १२ देखि २३ नोभेम्बर २०२५ मा भारत र श्रीलङ्कामा पहिलोपटक आयोजना हुन लागेको टि–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीमा परेकी विनितालाई नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा नगदसहित सम्मान गरेको हो ।  विनिता कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घर भएकी अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।  उनलाई माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले संयुक्त रूपमा नगद सात हजार सात सय ७७ रुपैयाँसहित सम्मान गरेका हुन् ।

काठमाडौं:  शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्ग सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ।  आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गराइएको बारे’ विर्षकको एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै शिक्षामन्त्री पुनले यस्तो जानकारी गराउनुभएको हो।   शिक्षामन्त्री पुनले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भातृसंगठन वा शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ संगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँदछु।’  उहाँले शिक्षक महासंघ, प्राध्यापक संघलगायत शिक्षा क्षेत्रमा क्रियाशील संघ संगठनलाई गैरराजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्नुभएको छ।