मकवानपुर:  मकवानपुरको मनहरी गाउँपालिका–६, सिस्नेरीपखेरा जंगलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्कँदा सहकर्मीको मृत्यु भएको छ । जंगलमा राक्सिराङ गाउँपालिका–८, राजराङका ४५ व...

मनाङ:  यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिंडेका उनीहरु सम्पर्क विहीन भएका थिए ।   उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटलले  खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो । सम्पर्कविहीन भएका उनीहरुको तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि पुनः कार्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको कमाण्डमा उद्धार सामग्रीसहित खटिएको माउण्टेन रेस्क्यु तालिमप्राप्त टोलीले उनीहरुको शव उक्त गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार, शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको छ ।  मृतकद्वय बाबु र छोरी रहेको बुझिएको छ । 

म्याग्दी:  मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लगिन् । ‘मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो’, तामाङले भनिन्, ‘पदयात्राको क्रममा लेक लागेमा औषधिको साथै खानासँगै चटनीका रूपमा प्रयोग गर्न स्वादिलो हुनेरहेछ ।’ रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । म्याग्दी भ्रमणमा आउनेले किनेर लैजानेदेखि देशका विभिन्न सहर तथा विदेशमा रहेका आफन्तहरूलाई कोसेली पठाउने प्रमुख वस्तु टिमुर बनेको बेनीकी उद्यमी मिना राम्जालीले बताइन् । ‘घुम्न आएकाले सबैभन्दा धेरै किनेर लैजाने वस्तु टिमुरको धुलो र चटनी हो’, उनले भनिन्, ‘बहुउपयोगी टिमुर म्याग्दीको कोसेली बनेको छ ।’ ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको टिमुर बेनीका कोसेली घरहरूलाई ल्याएर बिक्री गर्छन् । उद्यमीहरूले टिमुरलाई प्रशोधन गरेर धुलो र चटनी बनाएर बट्टामा राखेर बिक्री गर्छन् । बट्टाको आकारअनुसार टिमुरको धुलो र चटनीको मूल्य हुन्छ । कोसेलीको साथै मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुने गरेको टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले बताए । बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब १५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन् । यस वर्ष करिब ५० मुरी टिमुर उत्पादन भएको अनुमान गरिएको टिमुरखेती समेत गरेका बानियाँले बताए । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । बेनी–९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो । म्याग्दीमा हाल वार्षिक करिब ६ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको वन डिभिजनको तथ्याङ्क छ । टिमुरखेतीसम्बन्धी अनुसन्धान गर्दै आएका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार टिम्मुर औषधीय गुण भएको मसलेदार फल हो । उच्च रक्तचामलाई नियन्त्रण, कलेजो र दाँतको सुरक्षा, ‘फुड पोइजनिङ’ हटाउने टिमुर कलेजोसम्बन्धी समस्या भएका बिरामीहरूले पनि आयुर्वेदिक औषधिको रूपमा प्रयोग गर्ने उनको भनाइ छ । पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपालि टिमुरको उत्पादन बढेको ढावाकी जमुना राईले बताइन् । खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन् । पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान नरबहादुर राइले बताए । जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बिरुवा वितरण गर्दै आएका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गर्दै आइएको जनाएको छ । 

काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढिरहेको छ। यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन्। आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ। मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन्।

काठमाडौं:  नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो । कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन् उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसकेपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अपत्यारिलो सस्तो मूल्यमा पाइएमा उक्त सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको हो ।  अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी स्क्रिन शेयर गर्न लगाई ‘ओटिपी’ लिई खाता ह्याक गरी ठगी हुनसक्ने हुँदा कसैलाई पनि आफ्नो मोबाइलको स्क्रिन सेयर नगर्न प्रहरीले अनुरोध गरेको छ ।  प्रहरीले साथीभाइ र आफन्तका नामबाट विभिन्न समस्या देखाइ सामाजिक सञ्जालमा आर्थिक सहयोग माग गरेमा प्रत्यक्ष सम्पर्क गरेर यकिन गरेर मात्र सहयोग गर्न भनेको हो ।  अपरिचित व्यक्तिले विदेशबाट उपहार वा बहुमूल्य सामान पठाएको कुरालाई विश्वास नगर्न र सामाजिक सञ्जालमा अनलाइन रोजगारीको अवसर देखाएर लगानी गर्न लगाइ ठगी हुने हुँदा सावधानी अपनाउन आग्रह गरिएको हो । वैदेशिक रोजगारीमा जाँदा भरपर्दो माध्यम रोज्न र पैसा दिँदा स्पष्ट रूपमा वैदेशिक रोजगारीको कारण खुलाई बैंकमार्फत कारोबार गर्न भनिएको छ । सामाजिक सञ्जाल तथा बैंकिङ एपहरूमा कठिन पासवर्ड राख्न, अपरिचित व्यक्तिहरूसँग साथी नबन्न, आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगर्न, आर्थिक सहयोगलगायत कुनै पनि बहानामा नफस्न र सामाजिक सञ्जालमा आएका अपरिचित लिङ्कहरू नखोल्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको हो । 

काठमाडौं:   प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ।  शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नागरिकको विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन मतदाता परिचयपत्र भएको भन्दै उहाँले मतदातापत्र बनाएर चुनावमा भाग लिन आग्रह गर्नुभएको हो।  प्रधानमन्त्री कार्कीले भन्नुभएको छ, विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गरौं। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं।’  

पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान संचालन गर्ने योजना अनुसार कार्यक्रम जारी राखेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रम पोखरा महानगरपालिका वडा नं २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रधानाङ्गले सम्वदेनशील उमेर समूह छनोट गरी कार्यक्रम संचालन गरिनु प्रशंसनीय भएको बताउनुभयो । वडा सदस्य गोमा सुवेदीले स्थानीय सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । विन्ध्यवासिनी माविका प्रधानध्यापक बसन्त पाण्डेले यो अभियानमा शिक्षा र स्वास्थ्य दुवै विषय जोडिएका निकै उपयोगी भएको बताउनुभयो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।  

लमजुङ:  लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।  क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले भने, ‘सो जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बेंसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहरमा ल्याएको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।’ प्रहरीले जिप चालक बेँसीसहर–९ का २९ वर्षीय मदन दुलाललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ । बालिकाको शव परीक्षण भइरहेको र परीक्षणपश्चात् परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।

काभ्रपेलाञ्चोक:  सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे। सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए। उनले भने,ुवर्षौँदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक्याएर छपाइ थालेका छौँ।ु उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने छ । सञ्चारमन्त्री खरेलले भने, ु२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।ु लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए। पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आजैदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु तीन अर्ब लगानी भएको छ ।