काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:  जेन-जी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । गत मंलगबार र बुधबार भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारी र अन्य पक्षमा गरी देशभर ५१ जनाको मृत्यु भएको छ ।

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् ।  उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए । जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।  जेनजी आन्दोलनका क्रममा मुलुकभर ५१ जनाको निधन भएको छ ।

काठमाडौं:  गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई हजार ५७० कायम भएको छ ।  गत शुक्रबार एक तोला सुन रु दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी रु दुई हजार ५६५ मा खरिदबिक्री भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

पोखरा:   हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान गरेको छ । गत भदौ २४ गतेको जेन्जीको आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा जडान गरिएका सम्पूर्ण सिसिटीभि क्यामेराहरु आगलागीका कारण पूर्ण रुपमा जलेर नष्ट भएपछि लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले प्रहरीको काम कारबाहीमा सहयोग पुगोस भन्ने उद्देश्य अनुरुप शनिवार सिसिटीभी क्यामेरा मर्मत संगै नयाँ सिसिटीभी जडान गरेको लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीका अध्यक्ष राबत गोम्जा तामाङले बताए । गोम्जाका अनुसार जिल्ला प्रहरी कार्यालय हामी सबैको लागि सुरक्षा प्रदान गर्ने स्थान भएकाले आन्दोलनको क्रममा आगलागीबाट क्षति भएको सिसिटीभी क्यामेराहरुले काम नगर्ने भएकाले आफुहरुले मर्मत र नयाँ सिसिटीभी क्यामेरा जडान गरेको बताए । सिसिटीभी जडान कार्यक्रमका संयोजक स्वयंभु कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा १६ थान सिसिटीभी क्यामेरा जडान गरिएको छ । जस मध्ये ९ वटा सिसिटीभी क्यामेरा नयाँ जडान गरिएको हो ।  शनिबार जडान सम्पन्न गरी हस्तान्तरण गरिएको उक्त क्यामेराहरुको मर्मत संभार समेत लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले नै गरिदिने र आगामी दिनमा पनि थप सहयोगलाई निरन्तरता दिने समेत कुँवरले जानकारी दिए । यस अघि पार्दी माविमा समेत लायन्स क्लव अफ इन्फर्मेशन टेक्नोलोजीले सिसिटीभी क्यामेरा जडान गरेको बताउदै आफुहरुले पोखरा ८ का केही सामुदायिक विद्यालयहरुमा सिसिटीभी क्यामेरा जडान गर्ने योजनाका साथ अगाडी बढिरहदा जेन्जीको आन्दोलनका कारण आगलागीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालयमा सिसिटीभी क्यामेरा जडान गरिएको अध्यक्ष गोम्जाले जानकारी दिए ।  

काठमाडौं:  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छोडेको घोषणा गर्दै नयाँ पार्टीको घोषणा समेत गरेका छन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति नेपाल पार्टी रहनेसमेत जनाएका छन् । उनले अब रेमश चौधरीको संगठन निर्माण अभियानमार्फत अघि बढ्ने समेत बताए । उनले जेन–जी पुस्ताको माग र भावनालाई समेट्दै अघि बढ्ने प्रण गर्दै नयाँ पार्टीमा जोडिन सबैमा आग्रह गरेका छन् । पछिल्लो समय संरक्षक चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकतालाई लिएर विवाद हुँदै आएको थियो ।

काठमाडौं:  दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।   नेपाल राष्ट्र बैंकले यसअघि आजदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैङ्क तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए । ‘हामीले नयाँ कुनै निर्णय गरेका छैनौँ, सहज रूपमै वितरण गर्न सकिन्छ कि भन्ने हामीलाई लाग्छ,’ उनले भने ।  दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।  साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ । अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्न थालेको आएको राष्ट्र बैङ्कले यसपालि पनि यसैलाई निरन्तरता दिने भएको छ । बैङ्कले नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । नयाँ नोटको सट्टा सुकिला नोट बाँड्दा वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने राष्ट्र बैंकको अनुमान छ ।

बागलुङ:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने रहेको छ ।  राष्ट्रपति पौडेलले  सन्देशमा बाल दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवम् विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ । बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।” उहाँले अझै पनि केही बालबालिका आफ्नो अधिकारबाट वञ्चित भएको कुरा सुन्नमा आउँछ, तसर्थ विभिन्न  कारणले बालबालिकामा पर्ने असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी छ भन्नुहुँदै बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा तथा दुर्व्यवहार रोक्नु सम्बन्धित सरोकारवालाहरूको दायित्व रहेकोे छ । सन्देशमा भनिएको छ, “बालबालिकाको भविष्य सुनिश्चिात गर्न सृजनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था, पोषणयुक्त आहार, सुरक्षित खानेपानी र सरसफाइ, आवश्यक खोप एवम् बालमैत्री स्वास्थ्य संस्था एवम् नीतिगत, कानुनी र बालमैत्री कार्यसम्पादनको प्रबन्ध गर्नु आवश्यक हुन्छ । बालबालिकालाई घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सृजना गरी सबै समूह र समुदायका बालबालिकालाई समन्यायिक अवसरको सुनिश्चितता प्रदान गर्न यस दिवसले सहयोग पुग्ने अपेक्षा गर्दछु ।”  बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि आआफ्नोतर्फबाट भूमिका निर्वाह गर्न  सम्बद्ध सबै पक्षको ध्यानाकृष्ट हुनेछ भन्ने विश्वासका साथ यस दिवसले बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि सम्बद्ध सबैमा थप प्रेरणा मिलोस् भन्ने कामना राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको छ ।

ताप्लेजुङ:  सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत सङ्कटमा परेको छ । स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुको  जोखिमबाट पीडित हुने गरेका छन् । “पहिले भालुले दुःख दिने गथ्र्यो, अहिले बँदेलको आक्रमण बढेको छ”, उहाँले बताउनुभयो । उहाँका अनुसार हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा सखाप हुने गरेको छ । मकै पाक्ने समयमा किसान रातभर बारीमा डेरा जमाउन बाध्य छन् । “एउटा माउ र दुई बच्चासहित तीनवटा बँदेल हरेक रात आउँछन् । मकै पूरै पाक्न नपाउँदै खाइदिन्छन्, हामीले के खानु रु” उहाँले गुनासो पोख्नुभयो । बँदेलले मकैमात्र नभई आलु, सिमी, पिँडालु र अन्य तरकारीमा समेत क्षति पुर्याउने गरेको छ । निरन्तर क्षतिका कारण केही किसान बासाइँ सरेका छन् भने केहीले बारी बाँझो छाडेर अन्य पेसा रोजेका छन् । तर अहिलेसम्म वन्यजन्तु नियन्त्रण वा क्षति न्यूनीकरणका लागि स्थानीय तह वा सरोकारवाला निकायबाट कुनै ठोस पहल भएको छैन ।  सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष विष्णुकुमारी (बन्दना) कडरियाले हालसम्म बाली क्षतिको औपचारिक निवेदन गाउँपालिकामा नआएको बताउँदै निवेदन आए कार्यपालिकाले निर्णय गरी केही सहुलियत दिने आश्वासन दिनुभयो ।  डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानका अनुसार २०८० सालको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका’मा १६ प्रजातिका जनावरबाट क्षति भए राहत दिने व्यवस्था छ । तर बँदेल त्यसमध्ये नपर्ने भएकाले किसानले राहत पाउने आधार नरहेको बताउनुभयो ।

गण्डकी:  जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ । फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको छ । सार्वजनिक सेवा प्रवाहलाई सुरु गराउनका लागि कार्यालयले आआफ्ना तयारी थालिसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । सेवा प्रवाहकै सन्दर्भमा आज जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठक पनि राख्न लागेको जानकारी दिँदै उनले सेवा प्रवाह सुरु गर्ने सक्ने कार्यालयले अत्यावश्यक सेवा सुरु गरिसकेको बताए । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सानाठूला गरी करिब ८० कार्यालयमा आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको छ । केही दिनयता सुरक्षा अवस्थालाई दृष्टिगत गरी लगाइएको निषेधाज्ञा एवं कफ्र्यू शनिबारदेखि खुला गरिएसँगै पोखरामा व्यापार व्यवसाय एवं सार्वजनिक यातायातहरू पूर्ववत् सञ्चालनमा आउन थालेका छन् । आन्दोलनकै कारण बन्द भएका शैक्षिक संस्था सञ्चालन गराउने तयारी गरिएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयअनुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।