पोखरा: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ । अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिनुभयो । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताउनुभयो । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
हुम्ला: सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु ९ को नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ । नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताउनुभयो । केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठूलो खर्च भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँभन्दा पालिका केन्द्र टाढा छ । अनुदानमा रु नौ पर्ने नुन लिन जान रु पच्चीस सय खर्च लाग्छ ।” एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आवतजावत गर्दा रु २५ सय लाग्ने गरेको रतन रावतले बताउनुभयो । साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ । गाउँपालिका केन्द्र टाढा रहेकाले गाउँपालिकाबाट पाउने अन्य सेवा सुविधाबाट समेत बञ्चित भइ वडा कार्यालय जान समेत तीन घण्टा पैदल हिँड्नु पर्ने बाध्याता रहेको रावतले सुनाउनुभयो । वडा कार्यालय जैरमा भएकाले तीन घण्टाको उकालो हिँडेर विभिन्न सिफारिस लिनुपर्ने अवस्था छ । तुम्च गाउँका नागरीकले नुन सर्केगाड नपुर्याइ बालुकुना क्षेत्रबाट वितरण गर्दा आफूहरुलाई सहज र खर्च पनि बच्ने उनीहरुको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा हुम्लाका प्रमुख राजबहादुर लामा भने दक्षिण भेगका चारवटा गाउँपालिकाका लागि सहज पहुँच पुग्ने गरी बिक्री केन्द्रबाट वितरण हुँदै आएको बताउनुभयो । एक दुई पटक यहाँका नागरिकको समस्यालाई हेरी तुम्चका लागि बालुकुना मै वितरण भएको उहाँको भनाइ छ । अहिले चंखेली र सर्केगाडका लागि सर्केगाड बिक्री केन्द्र र अदानचुली र ताँजकोटका लागि अदानचुलीको श्रीनगरसम्म पुर्याउने सम्झौता भएको लामाले बताउनुभयो । ती चारवटा गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा १८ सय क्विइन्टल नुन पु¥याइनेछ । सर्केगाडका लागि पाँचसय, चंखेली चारसय, अदानचुली पाँचसय, ताँजकोट गाउँपालिकाका लागि चारसय क्विइन्टल नुन ढुवानी हुने भएको छ । अहिले दक्षिण भेगमा नुन ढुवानी भइरहेको बताइएको छ ।
नवलपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले आज बिहान नवलपुरको गैँडाकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले समृद्धिको सपना पूरा गर्न प्रमुख दलहरू मिलेर अगाडि बढेको र यसमा सबैको सकारात्मक सहयोग हुनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले सूचना प्रविधि, विश्व अर्थ व्यवस्था र विकास प्राथमिकतामा आएका परिवर्तनहरूलाई आत्मसात् गर्दै सरकारले कानुनमा सुधार र सहकार्यका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “विश्वभर नै नयाँ नयाँ परिर्वतन र सोहीअनुसार मानिसका सोच र आवश्यकता बदलिरहेका छन् । कानुनी जटिलताले विकास निर्माणका काममा बाधा परेको छ”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार कानुन निर्माण र संशोधन गरेर ती नयाँ प्रविधिहरू र परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने अवस्था आएको छ ।” अहिलेको समयमा कानुन नबन्दा उत्पन्न समस्याबाट हामी गुज्रिएको बन्दै यसले हाम्रो विकासको आकाङ्क्षालाई प्रभावकारी बनाउनेमा समस्या आएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले वर्तमान सरकारले हाल देखिएका समस्या समाधानका लागि संविधान र ऐन कानुन सुधार प्रक्रियालालाई अगाडि बढाइरहेको बताउनुभयो । “कानुनमा के के चीज सुधार आवश्यक छ वा नयाँ संरचना आवश्यक छ वा पुराना असान्दर्भिक भएका संरचनालाई बदल्नेमा पनि ध्यान केन्द्रित गर्नुपर्छ भन्नेमा हामी पुगेका छौँ । शासकीय सुधारका सन्दर्भमा प्रधानमन्त्री कार्यालयमार्फत हरेक मन्त्रालयभित्र रिफर्म युनिट स्थापना गरेर सुधारका कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने निष्कर्षमा पुगिएको छ । सामान्य तरिकाबाट आजको निराशालाई बदल्न र मुलुकको अर्थतन्त्रलाई उकास्न सकिँदैन भनेर प्रमुख ठूला दलहरूले कार्ययोजना बनाएर काम गरिरहेको छ”, उहाँले भन्नुभयो । हाल पुरानै सरकारले बनाएको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गरिरहनुपरेकाले आफूहरूले सोचेजति प्रभावकारी कार्यसम्पादन हुन नसकेको भन्दै महासचिव पोखरेलले चुनौतीका बाबजुत अवस्था सुधारको प्रक्रियामा सरकार अगाडि बढेको बताउनुभयो । “नयाँ सरकार बनेपछि राजस्व सङ्कलनमा १७ प्रतिशत वृद्धि भएको छ । पुँजीगत खर्चमा पनि वृद्धि भएको छ, मौद्रिक तरलताको सङ्कट अन्त्य गर्ने काम भएको छ । विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च विन्दुमा छ”, उहाँले दाबी गर्नुभयो ।
कास्की: पर्यटकीय राजधानी पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् । चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् । यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ । कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्गमा यस वर्षको सिजन सुरु भएसंगै पर्यटक पुग्न थालेका छन् । कोर्चाङ पुग्न विभिन्न रुटहरु छन् । ग्रेट माछापुच्छ्रे ट्रेल अन्र्तगत पर्ने खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखरादेखि मिर्सासम्म यातायातको व्यवस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ । त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । यस्तै अर्काे रुट लुम्रे क्षेत्रबाट भने, सिधैं कोर्चाङ जान सकिन्छ । जुन ३ हजार ६ सय ८३ मिटर उचाइमा छ । कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृंखलाको अवलोकन र प्राकृतिक सौन्दर्यतासँग पीरति साट्न सकिन्छ । तस्बिर: राकेश थापामगर/सुनगाभा न्यूज
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ वटा जिल्लामा जिल्ला समिति गठन गरेको छ । कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कंचनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरेको रास्वपाकोे सुदुरपश्चिम प्रदेश प्रमुख सन्तोषराज जोशीले जानकारी दिनुभयो । विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरुको नेतृत्वमा जिल्ला समिति गठन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार कैलालीमा महेशकुमार चौधरी, दार्चुलामा गोपाल सिंह कोट्यारी, बाजुरामा नवराज जैशी, अछाममा आमेप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशब बलायर, डडेल्धुरामा सुरेन्द्र अवस्थी, बैतडीमा भिमनाथ, कञ्चनपुरमा पदमबहादुर विष्टको नेतृत्वमा जिल्ला समिति गठन भएका छन् ।
नयाँ दिल्ली: सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ । सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका सिंहको बिहीबार साँझ नयाँदिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । “दिवङ्गत महानुभावप्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ”, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ । “स्वर्गीय डा मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय झण्डा आधा झुकाइनेछ । अस्ट्रेलियासँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सिंहप्रति सम्मान प्रकट गर्न कालो हातको ब्यान्ड लिएर शुक्रबार मैदानमा पुगेको थियो । राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिए पनि कांग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिबार हुनसक्ने सङ्केत गरेका छन् । – सरल टेक्नोक्र्याट – पूर्वप्रधानमन्त्री एक सरल टेक्नोक्र्याट हुनुहुन्थ्यो । उहाँलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर उहाँको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो । दोस्रो कार्यकालमा सिंहको अलोकप्रियता र तल्लो सदनमा हालका विपक्षी नेता नेहरू–गान्धी वंशज राहुल गान्धीको कमजोर नेतृत्वले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो भारी जीतमा योगदान गर्यो । सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मनुभएका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गर्नुभयो । राष्ट्रको सर्वोच्च पद लिनुअघि उहाँ कहिल्यै निर्वाचित पदमा बस्नुभएको थिएन । उहाँले केम्ब्रिजबाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्डबाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाउनुभएको थियो । सिंहले वरिष्ठ निजामति सेवाका विभिन्न पदमा काम गर्नुभयो, केन्द्रीय बैंङ्कको गभर्नरको रूपमा सेवा गर्नुभयो र संयुक्त राष्ट्रसङ्घ जस्ता विश्वव्यापी एजेन्सीहरूमा विभिन्न पद सम्हाल्नुभयो । सन् १९९१ मा तत्कालीन कांग्रेसी प्रधानमन्त्री पी।भी। नरसिंह रावले उहाँलाई भारतको आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट देशलाई उकास्न जिम्मेवारी दिनुभएको थियो । आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गर्नुभयो । यसले देशलाई लामो समयदेखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो । उहाँले अमेरिकासँग एउटा ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गर्नुभयो । उहाँले उक्त सम्झौताले भारतलाई आफ्नो बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताउनुभएको थियो ।
काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताउनुभएको छ । मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ । भोलि शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान विभागको छ ।
पोखरा: गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत पोखराबाट सिक्लेस–कपुचे–क्होलासोँथर–कर्पुडाँडा–याङ्जाकोटहुँदै पुनः पोखरा जोडिने पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि सुरु गरिएको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले सहयोग रहेको कार्यक्रम संयोजक एवं सङ्घका संस्थापक अध्यक्ष बोबरजङग गुरुङले जानकारी दिनुभयो । पर्यटन व्यवसायी, पथपर्दशक, सञ्चारकर्मीसहित ४५ सदस्यीय टोलीले प्रवर्द्धन कार्यक्रम अन्तर्गत सिक्लेसबाट पदयात्रा सुरु गरी कपुचे हिमताल, कोरी, क्होलासोँथर, कर्पुुडाँडा हुुँदै याङ्जाकोटसम्म यात्रा गरेको उहाँले जानकारी दिनुुभयो । सडक सञ्जाल विस्तारसँगै पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ सम्पदा पदमार्ग महत्त्वपूर्ण विकल्प बन्न सक्ने उहाँले बताउनुभयो । “पदयात्रामार्गका विभिन्न ठाउँमा पूर्वाधार व्यवस्थित गर्नुुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “पदमार्गका ठाउँठाउँमा होटेललगायतका पूर्वाधार विकास आवश्यक छ भने सञ्चार सुविधा, खानेपानी लगायतको व्यवस्थापन अपरिहार्य छ ।” पदमार्गमा खोला, मनोरम पोखरी, ठूलाठूला खर्क, तालसँगै आकर्षक पाटनहरु भेटिन्छ । साथै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । प्राचीनकालमा गाईभैँसी तथा भेडा चराउने खर्क तथा गोठलाई जोड्ने मार्गलाई पदमार्गका रुपमा विकास गर्न सकिने संस्थापक अध्यक्ष गुरुङको सुझाव छ ।
झापा: कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताउनुभयो । “पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उहाँले दुर्घटनाको कारण बताउँदै भन्नुभयो, “तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ ।” सवारी दुर्घटनामा परी सो अवधिमा एक सय ९१ जनाको मृत्यु भएको छ भने तीन सय २७ जना गम्भीर घाइते भएका छन् ।

