पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

कैलाली:    कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् । त्यसमध्ये १ हुनुहुन्छ कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना । उहाँले तरकारी खेतीबाट वर्षमा रु ३ लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताउनुभयो ।  उहाँले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । “पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु । वर्षमा रु १ लाख ५० हजारको आलु मात्रै बिक्री गर्छु । गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए । यसपटक पनि राम्रै उत्पादन हुने आशा छ”, रानाले भन्नुभयो,“छ जनाको परिवार छ । तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ । केही बचत पनि हुन्छ ।” उहाँले मौषमअनुसार तरकारी लगाउने गर्नुभएको छ । सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका रानाले हाल करिब छ कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ ।  “पाँच जनाको परिवार छ । तरकारी खेतीबाट घरखर्च राम्रैसँग चल्छ । मेहनत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ । पछिल्लो समय तरकारीको मूल्य राम्रै पाइरहेका छौँ”,उहाँको भनाइ छ ।  सोही ठाउँकी अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाउनुभयो । उहाँले एउटा ‘सिजन’मा रु १ लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो ।  “मैले ५ कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ । आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ”, उहाँले रासससँग भन्नुभयो ।  उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसानहरूको भनाइ छ । “आफूलाई पनि दैनिक उपभोग गर्न हुने, अरुलाई ताजा तरकारी दिएमा जस पनि मान्ने र त्यसैबाट आम्दानी पनि हुने । फेरि नजिकै बजार रहेकाले बेच्नलाई कुनै समस्या हुँदैन । बजार भाउ राम्रो भएका बेला त तरकारी बिक्रीबाट राम्रै आम्दानी हुन्छ । यसैमा खुसी छौँ”, यहाँका किसानले भन्ने गरेका छन् ।  

पोखरा:  जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको क्रममा रहेका विषयको बारेमा संवेदनशील भएर समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ ।   कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै औपचारिक स्रोतका आधारमा सही सूचना सम्प्रेषण गर्न अनुरोध गरेको हो ।   ‘सूचनाको हक सम्बन्धि ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने सूचना प्रवाह गरिने छैन भन्ने प्रावधान अन्र्तगत गोपनीयता कायम राख्नुपर्ने विषयहरुमासमेत केही सञ्चार माध्यममा अनुसन्धानको क्रममा रहेका विषयबस्तुहरुमा समाचार बनाउनका लागि यस जिल्ला प्रहरी कार्यालय कास्कीको कुनै पनि आधिकारिक र औपचारिक स्रोत विना नै यस कार्यालय र अनुसन्धानमा खटिएका अधिकृत भनी स्रोतको रुपमा उद्धृत गर्दै गरिएको समाचार सम्प्रेषण प्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ, ‘अपराध अनुसन्धान तथा कारवाही जस्तो संवेदनशील विषयमा संवेदनशील भई सूचना सम्प्रेषण गरिदिनु हुन जिल्ला प्रहरी कार्यालयको अनुरोध छ ।'     गत मंगलबार कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं लगिने विषयबारे केही सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेका थिए ।    त्यसपछि लामिछानेलाई कास्की प्रहरीले काठमाडौं पठाउनेबारे कुनै पनि तयारी नभएको पुष्टी गरेको थियो ।   लामिछानेविरुद्ध सहकारीको रकम हिनामिला, संगठित अपराध तथा सम्पत्ती शुद्धिकरण मुद्धामा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।    कास्की जिल्ला अदालतले उनलाई गत ९  गते पाँचौ पटक १५ दिनका लागि म्याद थप गरेर हिरासतमै राखेर थप अनुसन्धान गर्न अनुमति दिएको थियो ।   कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई रातारात कास्की ल्याइएको थियो ।    यो पनि पढ्नुहोस   कास्की प्रहरी भन्छ: रविलाई काठमाडौं लाने तयारी छैन    

धरान:     बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला  थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उहाँले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ ।  उहाँ भन्नुहुन्छ, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ”, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौँका साथै चीनको तिब्बत, हङकङ, , सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ ।  थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन् । उहाँ सुनाउनुहुन्छ । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उहाँले बताउनुभयो ।  उहाँले १० जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँसँग थाङ्का बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उहाँले सुनाउनुभयो ।    एउटा थाङ्का चित्र बनाएर पहिलोपटक रु ५० हजारमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उहाँले रु ४ हजारदेखि रु ५ लाखसम्मका थाङ्का  बिक्री गर्दै आउनुभएको छ ।

भक्तपुर:   मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।  यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा  सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ ।  घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।  

सोलुखुम्बु:     जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ ।  नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिकेडाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो ।  पिके डाँडाको पर्यटकीय महत्व र सम्भावना      समुद्री सतहदेखि चार हजार ६५ मिटर उचाइमा रहेको यो डाँडा पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा परिचित छ । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु, चो ओयुलगायत हिमालको अद्वितीय दृश्यावलोकन गर्न सकिन्छ ।  साथै, सुनपानी, चिमल र लालीगुँराससहितका हिमाली वनस्पति नजिकबाट अवलोकन गर्ने अवसरले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको स्थानीय बताउछन् । जसका कारण विभिन्न ट्रेकिङ कम्पनीले सिजनमा पिके पिक ट्रेकसमेत सञ्चालन गर्ने गरेका छन् ।       पर्यटन व्यवसायी फुर्वा शेर्पाका अनुसार पिके डाँडामा हरेक वर्ष करिब १५ हजार स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् ।  “सगरमाथा बेसक्याम्पको तुलनामा यो क्षेत्र सहज पदयात्रा गन्तव्यका रूपमा विकास भएको छ तर सञ्चार सेवाको अभावले यहाँको पर्यटकीय सम्भावनामा ठूलो असर गरेको छ”, उहाँले भन्नुभयो ।  सञ्चार नै चुनौती      सञ्चार सेवा कमजोर भएकै कारण कतिपय पर्यटक बाटो भुलेर सम्पर्कविहीन हुने र उद्धारमा ढिलाइ हुने समस्या देखिने गरेको होटल व्यवसायी गेलु शेर्पाले बताउनुभयो ।  “कतिपय पर्यटक भ्रमणका क्रममा साथीसँग सम्पर्क टुट्दा रातभर हराउने गरेका छन्, फोन गर्दा फोन लाग्दैन, जसले उद्धारमा समेत समस्या हुन्छ”, शेर्पाले भन्नुभयो ।      पाँच वर्षअघि सल्लेरीका युवा पूर्णबहादुर खड्काको पिकेडाँडा भ्रमणमा जाने क्रममा हराएर ज्यान गयो । त्यहाँबाट फर्कने क्रममा साथीसँग छुटेका खड्का रातको समयमा भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो ।  खड्कालाई सम्पर्क गर्ने प्रयास गरिए पनि टेलिफोन नलाग्दा समस्या भएको स्थानीय सम्झन्छन् । त्यसको भोलिपल्ट खोज्ने क्रममा पिके खोप भन्ने स्थानमा लडेको अवस्थामा उहाँको शव भेटिएको थियो ।       यो त प्रतिनिधि घटना मात्रै हो । पिके क्षेत्रमा सञ्चार सम्पर्कबाट टुट्दा पर्यटक अलपत्र पर्ने तथा बिचल्ली हुने घटना सामान्यजस्तै बनेको लोदिङका ल्हाक्पा ग्याल्जेन शेर्पाले बताउनुभयो ।  सल्लेरीबाट अघि बढेदेखि नै कम्जोर हुने गरेको सञ्चार सम्पर्क पिकेडाँडा क्षेत्र पुग्दा पूर्ण रूपमा नै विच्छेद हुने गरेको उहाँको भनाइ छ । पिकेभन्दा तलको गाउँ तामाखानी, लोदिङ गाउँ समेतमा सञ्चार सेवा कम्जोर भएकाले झनै सास्ती खेप्नुपरेको स्थानीय बताउछन् ।        धार्मिक आस्थाको केन्द्रः ज्वालामाई मन्दिर      सोलुदुधकुण्ड नगरपालिका–३ क्षेत्रमै अवस्थित ज्वालामाई मन्दिर क्षेत्रको समस्या पनि यस्तै छ । चिताएको पूरा हुने जनविश्वासका कारण यो मन्दिरमा हरेक वर्ष करिब ३० हजार भक्तजन आउने गरेका छन् तर     भरपर्दो सञ्चार सेवा नहुँदा भक्तजनलाई समस्या हुने गरेको छ ।  मन्दिर व्यवस्थापन समितिका सदस्य भिमनारायण श्रेष्ठले भन्नुभयो, “मन्दिरमा आउने भक्तजनले यात्रा गर्दा नेटवर्कको गुनासो गर्ने गरेका छन् । यत्रो प्रसिद्ध मन्दिर क्षेत्रमा समेत भरपर्दो सेवा उपलब्ध गराउन नसक्नु कमजोरी हो ।”       यसकारण धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकमा नकरात्मक छाप पर्ने गरेको स्थानीय आङ पुला शेर्पाको भनाइ छ । तामाखानी क्षेत्रका स्थानीयले सञ्चार सम्पर्क गर्न डाँडामा जानुपर्ने बाध्यता कायमै रहेको उहाँले बताउनुभयो ।   स्थानीयको गुनासो      सोलुदुधकुण्ड नगरपालिका–३ का स्थानीय बासिन्दा र व्यवसायीले पटकपटक गुनासो गर्दा पनि समस्या समाधानमा कसैले चासो नदेखाएको गुनासो गरेका छन् ।  पिके सामुदायिक वन तामाखानीका अध्यक्ष सन्तबहादुर मगरले धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रमै सञ्चारलगायत पूर्वाधारमा ध्यान नदिनु दुःखद भएको बताउनुभयो ।       स्थानीय बाबुराम घिमिरेले भन्नुभयो, “सडक र बिजुलीजस्तै सञ्चार पनि आजको युगमा आधारभूत आवश्यकता हो तर यो सुविधा नहुनुले हामीलाई पछि पारेको छ । सदरमुकाम सल्लेरीसँग नजिक भए पनि यो क्षेत्र अझै सञ्चार उपलब्धिबाट लाभान्वित हुनसकेको छैन ।” राज्यको प्रयास      नेपाल टेलिकम शाखा कार्यालय ओखलढुङ्गाका प्रमुख राजु रानाका अनुसार यहाँ समस्या समाधानको प्रयास नभएको होइन ।  सल्लेरीस्थित च्यानडाँडाको रेडियो लिङ्कको क्षमता बढाएर समस्या समाधानको प्रयास भए पनि त्यो पर्याप्त नभएको उहाँको भनाइ छ ।  “पिकेडाँडा र ज्वालामाई क्षेत्रको समस्यालाई सम्बोधन गर्न नयाँ टावर स्थापना गर्न आवश्यक छ । यसका लागि थप बजेट र पूर्वाधार विकास गर्नुको विकल्प छैन”, कार्यालय प्रमुख रानाले भन्नुभयो ।      वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पा भने वडामार्फत बारम्बार ध्यानाकर्षण गराउँदा पनि ठोस नतिजा नआउनु नियमनकारी निकायको उदासीनता भएको गुनासो गर्नुहुन्छ ।  “पर्यटकीय र धार्मिक महत्व बोकेको क्षेत्रमा भरपर्दो सञ्चा सेवा नहुनुले स्थानीय र पर्यटक दुवैलाई असर गरिरहेको छ”, उहाँले भन्नुभयो,“पिके डाँडा र ज्वालामाई मन्दिरजस्ता गन्तव्यको महत्वलाई ध्यानमा राख्दै दिगो सञ्चार सेवा उपलब्ध गराउनु अपरिहार्य छ ।     जसका लागि स्थानीय सरकार र जननिर्वाचित प्रतिनिधिको हैसियतले आफू सहयोग गर्न तयार छु ।” पर्यटन व्यवसायी दावा शेर्पा पनि यहाँको पर्यटनलाई प्रवर्द्धन गर्न भरपर्दो सञ्चार सेवाका लागि सरोकार भएका निकायलाई आग्रह गर्नुहुन्छ ।

पाल्पा:    अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारमार्फत रु एक करोड ३७ लाख ६७ हजार नौ सय २० को लागतमा निर्माण भएको हो ।  लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले पुल उद्घाटन गर्दै विकास–निर्माणलाई सङ्घ र प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।  निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले पुल अभावमा कठिन आवागमन अब  सहज हुने बताउनुभयो ।  पुलबाट निस्दी गाउँपालिका बाहेक रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र नवलपुरतर्फ (नवलपरासी सुस्तापूर्व) मध्यविन्दु नगरपालिकाको झोलुङ्गे, सारूडाँडा, द्वारी आसपासका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । 

रामेछाप:    रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।  सो वडामा रहेका विभिन्न समूहले गर्भवती महिलालाई लक्षित गरी यो कार्यक्रम सुरु गरेको हो । गर्भवती महिलाको पोषण सुरक्षाका लागि यो कार्यक्रम सुरु गरिएको जनाइएको छ ।  स्थानीय ईश्वर स्वास्थ्य आमा समूह सुनुवार खोकले, लालुपाते स्वास्थ्य आमा समूह कुतुर्षा, देवी स्वास्थ्य आमा समूह कम्राती, जनज्योती स्वास्थ्य आमा समूह सित्खाटार, जनचेतना स्वास्थ्य आमा समूह, जनसेवा स्वास्थ्य आमा समूह सित्खा र बगैँचा सेतीदेवी स्वास्थ्य आमा समूहलगायतले यस्तो कार्यक्रम सञ्चालन गरिरहेका भिरपानी स्वास्थ्य चौकी आँपचौरका स्वास्थ्यकर्मी नारायणकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।  हालसम्म यी समूहले २४ जनाभन्दा बढीलाई पोषण सामग्री हस्तान्तरण गरिसकेका छन् ।  ‘हरेक बार खाना चार’ भन्ने मूल नाराका साथ सुत्केरी तथा गर्भवती महिलालाई उक्त कार्यक्रममार्फत नीजि खर्चमा पोषण समग्री हस्तान्तरण गर्दै आइएको ईश्वर स्वास्थ्य आमा समूहकी सचिब एवंं महिला स्वास्थ्य स्वयम्सेविका तेजकुमारी सुनुवारले जानकारी दिनुभयो ।  यो अभियान निरन्तर चलाउने योजना रहेको पनि उहाँले बताउनुभयो । 

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९१ र बिक्रीदर एक सय ७० रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर खाठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९० पैसा र बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  र बिक्रीदर १९ रुपैयाँ ९ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।       राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:    देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो  कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम  सफा रहने छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।