पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ ।  जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।  एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।      एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।      राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।  

मोरङ:     बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको  हो ।  विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गर्नुभएको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ ।  छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आउनुभएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आउनुभएको छ । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उहाँले बताउनुभयो ।  रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आउनुभएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा छ सयदेखि सात सय किलोे सुकुटी बनाउने गर्नुभएको छ ।  उहाँको अनुसार “स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग  गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन”, विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पु¥याउन नसकिरहेको श्रेष्ठ बताउनुहुन्छ ।  प्रतिकिलो रु दुई हजारमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ ।  वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आउनुभएका शोभितमान श्रेष्ठ नौ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आउनुभएको छ ।  साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उहाँ बताउनुहुन्छ । लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उहाँले बताउनुभयो ।  विशेष गरी खाडी मुलुकमा रहेका उहाँ बताउनुहुन्छ । विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।  पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरु आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउनुहुन्छ । लक्ष्मीमार्गको नयाँ परिचय यहाँकोे सुकुटी बनेको उहाँले बताउनुभयो ।

लुम्बिनी:     लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् ।  प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत गरी संशोधित निर्देशिका कार्यान्वयनमा आएको हो ।   मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको बताउनुभयो ।   यसअघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्ने व्यवस्था मिलाइएको प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताउनुभयो ।  लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि एक जना बिरामीलाई रु दुई लाखको व्यवस्था गरेको छ ।

गण्डकी:    मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।  यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर सङ्कट निम्तने ‘कालीगण्डकी बचाऔँ अभियान’ले जनाएको छ । उक्त अभियानले विज्ञप्तिमार्फत सरकारले प्रस्तावित गरेका कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोनजा, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाजस्ता परियोजना अघि बढाउँदा तटीय क्षेत्रको जनजीवन र सांस्कृतिक धरोहरमा असर पुग्ने जनाएको छ ।  कालीगण्डकी नदीको पानी पथान्तरण (डाइभर्सन) गरी तिनाउमा खसालेर रुपन्देहीसहितका क्षेत्रमा खानेपानी, सिँचाइ सुविधा र जलविद्युत् आयोजना निर्माण गर्ने सरकारको लक्ष्य छ ।  यस्तै बागलुङ र पर्वत जिल्ला समेटिने गरी कालीगण्डकी नदीमा बाँध बाँधेर छ सय ४० मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना, जलविहारलगायत बहुउद्देश्यीय अयोजना सञ्चालनका लागि अहिले वातावरणीय प्रभाव मूल्याङ्कनलगायत काम भइरहेको छ ।  ‘कालीगण्डकी बचाऔँ अभियान’ले यी दुवै परियोजनाले नदी र पर्यावरण संरक्षणका दृष्टिले उपयुक्त नरहेको विज्ञप्तिमार्फत जनाएको छ । कालीगण्डकी डाइभर्सन अयोजनाविरुद्ध परेको रिट सर्वोच्च अदालतले हालै खारेज गरिदिएको विषयमा पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।  “यस्ता परियोजनाले आसपासका क्षेत्रका बासिन्दाको दीर्घकालीन हक र भविष्यको अस्तित्वमा गम्भीर असर पुर्याउन सक्छ । कालीगण्डकी नदीको संरक्षण र यसको पारिस्थितिकीमा अझ बढी खतरा उत्पन्न हुन्छ”, अभियानका संयोजक आरके अदीप्त गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परियोजनाले कालीगण्डकी नदीको आफ्नै जीवन्त प्राकृतिक प्रवाह खल्बलिने र यसको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वलाई नष्ट गर्ने जोखिम उत्पन्न गरेको संयोजक गिरीको भनाइ छ ।  नदीको मनलाग्दी दोहन र नदीमा आधारित ठूला विकास परियोजनाका कारण भविष्यमा जलसङ्कट, जैविक विविधताको ह्रास र भौगर्भिक सङ्कटन निम्तन सक्ने उहाँले बताउनुभयो । अभियानले मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा नगर्न र मौनता नसाँध्न सबै पक्षलाई आग्रह गरेको छ । पर्यावरण संरक्षणसँगै मौलिक ढङ्गले विकास परियोजना सञ्चालन गर्नुपर्ने उसको माग छ ।  हिमालको काखबाट बग्ने कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले विगतदेखि नै रचनात्मक दबाब बढाउँदै आएको छ । चार वर्षअघि जन्मेको उक्त अभियानले यसअघि ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलाएको थियो ।  कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पुर्याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको संयोजक गिरीले बताउनुभयो । नदीमा हुने मानवीय हस्तक्षेपका कारण पानीको प्रदूषण, वनस्पति र जनावरको पारिस्थितिकीमा असन्तुलन र जैविक विविधतामा नोक्सानी पुर्याइरहेको उहाँको भनाइ छ ।  नदीको धार परिवर्तन र जलासय निर्माणले धार्मिकस्थल, ऐतिहासिक संरचना र प्राकृतिक विविधताको नष्ट हुने जोखिम रहेको उहाँको भनाइ छ । कालीगण्डकी नदी मानव जीवनको स्रोत नदी भएकाले यसको संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने गिरीको भनाइ छ ।  धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ ।  विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । दोहनकै कारण कालीगण्डकीमा मात्रै पाइने उक्त शालिग्राम शिला लोपोन्मुख स्थितिमा पुगेको छ । यो नदी हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिणतर्फ बग्छ ।  राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै गिट्टी, बालुवा उत्खननका नाममा मनपरी ढङ्गले नदी दोहन भइरहेको छ । मुक्तिनाथबाट देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटोन्मुख अवस्थामा छन् ।

पोखरा:   पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् ।    आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन गाह्रो भएपछि परिवारले सहयोगको याचना गरेको छ ।   पारिवारिक स्रोतका अनुसार अहिलेसम्म गंगाको उपचारमा करिब ८ लाख खर्च भइसकेको छ भने, अप्रेशनका लागि थप ५ लाख लाग्ने भरतपुर अस्पतालले बताएको छ ।    आमाको उपचारका लागि सहयोगको याचना गर्न बाध्य भएको छोरी अनिता दर्जीले सुनाइन् ।   उनका अनुसार यसअघि उनको बुवाको उपचारमा पनि खर्च भइसकेको छ ।    उनले विभिन्न दाताहरुको सहयोगमा उपचार भइरहेको र बाँकी रकम जुटाउन थप याचना गर्नुपरेको बताइन् ।   ‘भाई कामको खोजीमा भारतमा छ । मैले एउटा स्कुलमा पढाउने मात्रै हो । सक्ने जति जुटाएर उपचार गर्याै । अब अप्रेशनको तयारी गर्ने डाक्टरको सल्लाह छ त्यसैले सहयोगको याचना गर्नुबाहेक विकल्प भएन’, उनी पीडा पोख्छिन् ।   उनले सहयोग गर्न चाहनेहरुले अनिता दर्जीको एनएमबी बैंकको खाता नम्बर १२१०२००९४१७००१२, र राष्ट्रिय वाणिज्य बैंको खाता नम्बर ३५००१००००००४१२०३ मा जम्मा गर्न अनुरोध गरेकी छिन् ।    

झापा:     नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।  “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ”, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भन्नुभयो । इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा रु १३ करोड लगानी भएको उहाँले बताउनुभयो ।  संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको जानकारी उहाँले दिनुभयो । बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् । उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेका छन् ।   

पोखरा महानगरपालिका २९ भण्डारढिकस्थित नयाँबस्तीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको सँयुक्त टोलीले २६ वर्षीय कपिल घिमिरेलाई लागुऔषधसहित पक्राउ गरेको हो ।   प्रहरीले घिमिरेको साथबाट २ सय २८ एम्पुल डाइजापाम, २ सय १२ एम्पुल फेनेरागन र २ सय २२ चक्की ब्रुफिन गरि कुल ६ सय ६२ एम्पुल लागऔषध बरामद गरेको छ ।   पक्राउ परेका घिमिरेविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धि मुद्दामा १० दिन म्याद थपेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:  मन्त्रिपरिषद् बैठकले दुई जना डिआईजीलाई एआईजीमा बढुवा गरेको छ ।   बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गुरुङ र ढकाललाई बढुवा गर्ने निर्णय  गरेको हो । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । उनी त्यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालयमा थिए । ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् । 

दैलेख:    नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुग्नुभयो । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्नुहुन्छ ।  खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जीखेती गर्नुभएको छ । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्तागरी गाउँमै व्यावसायिक सागसब्जी लगाउनुभएको छ । कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीतजस्तै भएको छ, खड्कालाई । मलाई अमेरिका यही, मलाई जापान पनि यही । गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उहाँले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गर्नुभएको छ । उहाँले हाँस्दै भन्नुभयो, “ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?” पालिकामा तरकारी सङ्कलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उहाँको दिनचार्य नै बनेको छ ।  खड्का भन्नुहुन्छ, “बजारमा पाइला टेक्नेबित्तिकै गाउँले एफएम दाइको, गाउँले तरकारी आयो है आयो, आफ्नै बारीमा फलाएको, अग्र्यानिक तरकारी, किन्नुहोस् भन्दै बजार–बजार डुल्दै चिच्याउनुहुन्छ ठट्यौली शैलीमा ।” उहाँको तरकारीप्रतिको यो लगाव देखेर गाउँका अधिकांश मानिसले सिको गर्न थालेका छन् ।  “सानै उमेरमा हिमाञ्चल गएँ, दुःख पाएँ । अब आफ्नै देशमा गएर केही काम गर्छु भन्ने लाग्यो । गाउँ फर्किएर तरकारी लगाएँ । म १४ वर्षकै उमेरमा विदेश (भारत) मजदुरी गर्न जानुभएका उहाँ  आजभोलि गाउँकै अगुवा कृषक बन्नुभएको छ । पहिला त मैले जहानपरिवारले खाने तरकारी फलाए त्यसपछि बिक्री हुन थालेपछि व्यावसायिक तरकारीखेतीतिर लागेको हुँ”, उहाँले भन्नुभयो ।  हाँसेर कुरा गर्ने उहाँको स्वभाव हो । दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन । डौँसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछु ।  “एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाहा भयो, उहाँ भन्नुहुन्छ, “बुुढो मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौँ गइसके । केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु !” श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाउनुभएको छ । खड्काले गाईवस्तुका बाहेक अन्य मल प्रयोग गर्नु हुँदैन । चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्ष पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । “छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,” उहाँले भन्नुभयो ।   ‘गाउँले एफएम दाइ’ विस २०५८ तिर, डौँसुरमा खड्का सानो खुद्रा पसल थियो । पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उहाँकै दैनिकजस्तै थियो । त्यतिबेला जनयुद्ध उत्कर्षमा थियो । समाचारप्रति स्थानीयको चासो बढी थियो ।  रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगञ्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उहाँका छरछिमेकी बताउँछन् । “आज यो ठाउँमा यस्तो भीडन्त भयो, यति जनाको मृत्यु भयो, यति जना घाइते भए भनेर सबैलाई भन्थेँ, बिबीसी सुनेर विश्वका घटना पनि ज्ञान लिन्थे । त्यहीबेला माओवादीकै ‘रिवल’ले उहाँको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिनुभएछ, अहिले नगेन्द्र नामले होइन । उहाँले गाउँले एफएमदाई नामले परिचित हुनुहुन्छ ।   खड्का लोकगीत र देउडामा रुचि उत्तिकै छ । “विस ं२०४३ मा रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, जहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलसमेत ठाडीभाका गाउनुहुन्थ्यो, त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीत–सङ्गीततर्फ लगाव रह्यो ।” देउडा र लोकगीतमा उहाँको रुचि छ । केही वर्षअघि दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा बोल्ने, गाउने गर्नुहुन्थ्यो । गाउँले लबज र प्रष्ट आवाजमा गीत गाउने उहाँ स्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित हुनुभएको छ । अझै पनि उहाँको घरको बाहिर रेडियो झुन्डिएको हुन्छ । रेडियो सुन्दै बारीमा काम गर्नुहुन्छ ।  बजार बुझेर उत्पादन गर्दा आम्दानी  बजारको माग बुझेर उत्पादन गर्दा आम्दानी आइहाल्छ । नत्र त्यत्तिकै तरकारी खेर जाने उहाँको भनाइ छ । विगत सम्झँदै खड्काले भन्नुभयो, “विसं २०७९ वैशाखमा मङ्सिरमा आमचुनाव हुन्छ । चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन भनेर बारीमा तरकारी लगाएँ ।  मङ्सिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो । निर्वाचनको अवधिमा छ क्विन्टल त बन्दा बेचे ।” उम्मेदवारलाई मैले उत्पादन गरेको सिमी र टमाटरको मालासमेत लगाइदिएको उहाँले जानकारी दिनुभयो ।   सिमी, काँक्रा, चिचिन्डोलगायत बीउ खड्का आफैँ उत्पादन गर्नुहुन्छ । “हाइब्रिड जातको बीउ भने पसलबाट खरिद गर्छु । विसं २०८० फागुन–चैतमा मात्र रु २५ हजार बराबरको चिचिन्डोका बेर्ना बिक्री गरेँ,” उहाँले भन्नुभयो, “म तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु, यसपालि दुई सय बोट काउली र त्यही अनुपातमा बन्दा लगाएको छु, राम्रै फलेको छ ।” ठूला दुईवटा टनेलमा छ क्विन्टलजति गोलभेँडा तयार छन् । एउटा बोटमा तीन–चार केजीसम्म गोलभेँडा फलेको उहाँले खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “भर्खरै मात्र रु दुई हजार पाँचमा टमाटर बेचेर आएँ । अग्र्यानिक टमाटर हो यो, रु ६० केजीमा बिक्री भइरहेको छ ।”  कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउनुहुन्छ । मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन । उहाँले भन्नुभयो, “अग्र्यानिक मल नै फालाफाल छ । बजारिया मल किन किन्नु, माटो बिगार्छ ।” परम्परागत रूपमा खेती गर्दै आउनुभएका खड्काले अहिलेसम्म गैरसरकारी सङ्घसंस्थाको सहयोग पाए पनि राज्यबाट कुनै अनुदान वा पाउनुभएको छैन । मैले मेहनतले नै पुरस्कार पाएँ ।  उहाँका अनुसार राज्यले दिने करोडौँ अनुदान झोलामै तरकारी फलाउने र झोलामै बाख्रापालन गर्ने बिचौलियाले पाउँछन् । हामीजस्ता किसानले सरकारले दिने अनुदान पाए अधिकांश मानिस गाउँमै स्वरोजगार हुने थिए ।  तरकारीखेतीका लागि खड्कालाई सिँचाइको समस्या छ । एकपटक सेवक नामक संस्थाले उहाँलाई पाल दिएको थियो । पालको छानो राखी उहाँले बारीनजिकै पोखरी बनाउनुभएको छ । वरपर पानीको ठूलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ ।   कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँका अन्य किसानलाई तरकारी कसरी लगाउने ज्ञान बाँड्नुहुन्छ । कसरी फलाउने भन्नेबारे अध्ययन गर्ने खड्काले चामुन्डाविन्द्रासैनी नगरपालिकाबाट प्रथम, दोस्रो र तेस्रो पुरस्कार पाउनुभएको थियो ।   हरेक मानिसका आ–आफ्ना सौख हुन्छन् । ती सौख पूरा गर्न मानिस लागिपरिरहेका हुन्छन् । कुनै बेला रेडियोप्रेमी खड्का आजभोलि टिकटकतिर मोडिनुभएको छ । कृषिबारे जानकारीमूलक भिडियोे बनाएर उहाँले ‘नगेन्द्र खड्का ४४९’ नामक टिकटक आइडीबाट सेयर गर्नुहुन्छ ।