पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

सङ्खुवासभा:     सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् ।  चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।  शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता हुनुभएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो ।  जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले  खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।  प्रत्यक्षदर्शीका अनुसार गजेन्द्र अरुण नदीमा पूजा सुरु गरे लगत्तै नदीमा चिप्लिएर बेपत्ता हुनुभएको थियो ।  चैनपुर–११ कुइबिरका गजेन्द्र परिवारका छ जनासहित शनिबार अरुण नदी पुग्नुभएको थियो । शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौं:    काठमाडौंका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् ।  काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौंका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् । यसैगरी दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ ।  अन्दाजी ६० वर्षीय ती पुरूषको पहिचान खुलेको छैन । तीनै वटा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ ।  नेत्रविक्रम चन्दको  नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा उहाँले ८० को दशकलाई राष्ट्रिय स्वाधिनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने धारणा राख्नुभयो । विगतमा नेकपा (माओवादी) मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै महासचिव चन्दले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैँ काम गरिरहने विचार प्रकट गर्नुभयो । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतार–चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दैआएको बताउनुभयो ।    केन्द्रिय सदस्य माइला लामाले मुलुकको अस्थिर राजनीति र वेरोजगारलगायतकारण युवापुस्ता अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य हुँदा गाँउघर खाली हुन पुगेको घटना सुनाउनुभयो । तत्कालीन नेकपा (माओवादी)बाट अलग भइ विसं २०७१ मा एउटा धारले महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरेको थियो ।  सभाअघि स्थापना दिवसका अवसरमा आयोजित झाँकिसहितको र्‍यालीले नगर परिक्रमा गरेको थियो भने सभामा महासचिव चन्दले पार्टीको झण्डोलन गर्नुभयो ।

काठमाडौं:    नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ ।  अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो ।  अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत धिरज मैनालीका अनुसार लामो समयदेखि घुँडा खिइएका बिरामीको शल्यक्रिया गरिएको हो  । अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिपरेको जानकारी दिनुभयो  ।  निर्देशक भण्डारीका अनुसार अस्पतालले प्रत्येक वर्ष कम्तीमा चार पटकसम्म दुर्गम भेगमा औषधोपचार अभावमा रहेका नागरिकलाई हाडजोर्नी र नशाको शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ ।  अमेरिकाबाट आउनुभएका अर्थोपेडिक सर्जन डा रवि बस्यालले अर्थोपेडिक अस्पतालसँग सन् २००९ देखि नै सहकार्य गर्दै आएको र  हाल सम्म करिब ६ सय घुँडाको शल्यक्रिया भएको जानकारी दिनुभयो ।  उहाँले नेपाल अर्थोपेडिक अस्पतालका चिकित्सक दक्ष, अनुभवी भएकाले नेपाल अर्थोपेडिक अस्पतालमा समेत घँुडा खिइएका बिरामीहरूको सफल शल्यक्रिया भइरहेको  यसको उपचारका लागि अस्पताल नै सक्षम रहेको बताउनुभयो  ।  अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।

कञ्चनपुर:    पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५ नं को बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।  घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पोखरा:     पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् ।   प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति भने सार्क मुलुकका पर्यटकको आकर्षण बढ्न थालेको छ ।  बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले सार्क मुलुकका पर्यटकले साहसिक यात्रा मन पराउन थालेको र त्यसमध्ये पनि उडानमा सहभागी यात्रुमध्ये ६० प्रतिशत यात्रु छिमेकी मुलुक भारतका हुने गरेको बताउनुभयो ।       “पोखरा प्राकृतिक मात्र होइन साहसिक गतिविधिको सहर पनि हो र पछिल्लो समय हट एयर बेलुनप्रति सार्क राष्ट्रका पर्यटकको आकर्षण बढ्दै गएको छ”, बाडेले भन्नुभयो, “सूर्यको किरण हिमालमा पर्दा देखिने मनमोहक दृश्यदेखि हरियाली डाँडाकाँडा र तालतलैयाको दृश्यावलोकनमा रमाउन चाहने पर्यटकलाई बेलुनको साहासिक यात्राले लोभ्याउँदै लगेको छ ।”       उहाँले बेलुनको उडानले पाँच वर्ष उमेर माथि साहासिक गतिविधिमा रुचि राख्ने शारीरिक मानसिक तन्दुरुस्त भएका सबैका लागि साहसिकता र मनोरञ्जनको नयाँ ढोका खोलिदिएको बताउनुभयो ।  बाडेले पर्यटकका लागि एउटा फरक र रोमाञ्चक अनुभव प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वाससहित यही डिसेम्बर २४ देखि जनवरी १ सम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गर्न लागेको पनि जानकारी दिनुभयो ।        “पर्यटक आएर मात्र भएन आएपछि भुल्ने र रमाउने गतिविधि पनि हुनुपर्छ, हामीले यसप्रति पनि ध्यान दिएर पोखरालाई साहसिक गतिविधिको केन्द्रका रुपमा विकास गर्न महोत्सवको तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।  उहाँका अनुसार महोत्सवमा हट एयर बेलुनको नाइट ग्लो, टेथर्डलगायत प्रसिद्ध ब्याण्डका साङ्गीतिक कार्यक्रम, बेलुन प्रतियोगिता, डिजे म्युजिकलगायत कार्यक्रम हुनेछन् भने २० देशका व्यावसायिक बेलुन पाइलटले प्रतियोगितामा भाग लिनेछन् ।         पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हट एयर बेलुनले साहसिक गतिविधि रुचाउने पर्यटक मात्र नभई, प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकलाई पनि आकर्षित गर्न सफल भएको बताउनुभयो ।  “पोखरा प्राकृतिक सुन्दरताको केन्द्र मात्रै नभएर साहसिक गतिविधिहरूको पनि महत्वपूर्ण सहर बनिसकेको छ, पछिल्लो समय सार्क राष्ट्रका पर्यटकका लागि हट एयर बेलुन विशेष आकर्षणको केन्द्र बनिरहेको छ”, उहाँले भन्नुभयो ।      अध्यक्ष पहारीले बेलुनले साहसिक खेल र पर्यटनमार्फत पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गर्दै नेपालको पर्यटनलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । युरोपियन मापदण्डअनुसारका हट एयर बेलुन क्यानमा जाँच गरेरमात्र भित्र्याइन्छन् । काठमाडौँमा सनराइज बेलुनले सन् १९९१ हट एयर बेलुन भित्र्याएको थियो ।       काठमाडौँमा हवाइ चाप बढ्न थालेपछि बेलुन उडान बन्द भएको थियो । पोखरामा भने पहिलो पटक सन् २००९÷१० मा बेलुन उडान प्रयास गरिए पनि व्यावसायिक रूपमा सन् २०१८ मा बेलुन नेपाल प्रालिले सुरू गरेको हो ।  अहिले कम्पनीसँग तीन वटा छुट्टाछुट्टै भारवहन क्षमताका हट एयर बेलुन छन् । त्यसमा पाँच, आठ र १२ जनाले उडान गर्न सक्छन् भने यसको मूल्य रु ७० लाखदेखि एक करोड ४० लाखसम्मका छन् ।       बेलुन उडानका लागि नेपालीलाई रु ११ हजार, सार्क मुलुकका पर्यटकलाई एक सय २० अमेरिकी डलर र अन्य मुलुकका नागरिकलाई एक सय ५० अमेरिकी डलर शुल्क लाग्छ । हट एयर बेलुनमा यात्रा गर्ने यात्रुको २० हजार डलरको यात्रु बिमा गरिन्छ ।  यो शुल्कमा उडानसँगै आकर्षक क्याप, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात, फोटो, भिडियो र प्रमाणपत्रसमेत उपलब्ध गराइन्छ । बेलुन रिजर्भ गरी उडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ ।  असार, साउन र भदौमा वर्षायामको कारण उडान हुँदैन । उडान समय ४० मिनेटको हुन्छ । कम्पनीले सूर्योदय र सूर्यास्तको समयलाई मध्यनजर गर्दै बिहान ५ देखि ९ बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्म उडान गराउँदै आएको छ ।        बेलुन प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार बेलुन पोखराको लौरुकदेखि उडेर चङ्खपुर क्षेत्रमा अवतरण हुने गर्दछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्सी सम्पर्कमा रहने गरी उडान हुँदै आएको छ ।  नागरिक उड्डयन प्राधिकरणबाट कम्पनीले नौ हजार फिटसम्मको अनुमति पाए पनि हाल छ हजारदेखि सात हजार फिटसम्मको उडान बेलुनले भर्दै आएको छ । अहिले स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डरले पाइलट हुनुहुन्छ । कम्पनीका अनुसार गत वर्ष पोखरामा दुई हजार चार सय पर्यटकले बेलुन उडानको मजा लिएका थिए ।         हट एयर बेलुन एउटा विशेष प्रकारको हावाबाट भरिएको बेलुन हो । केही विशेष प्रक्रियाअनुसार गरिन्छ । तातो हावा प्रयोग गरी उडाउन सकिन्छ ।  बेलुनलाई उडाउन ग्यास वर्नर प्रयोग गरी बेलुनभित्र तातो हावा भरिन्छ । तातो हावाको घनत्व कम हुने भएकाले यो चिसो हावाभन्दा हल्का हुन्छ ।  त्यसले गर्दा बेलुन माथि उड्छ । उडान अघि र बेलुनको सुरक्षा अवस्थाको जाँच गरिन्छ । पाइलट र प्राविधिकहरूले बेलुनका सबै भागहरूको निरीक्षणपश्चात् हावा, मौसम र दिशा नियन्त्रण गर्दै बेलुनलाई सुरक्षित रूपमा उडान गर्दछन् । हावाको चाप, वर्षा वा हावाहुरीजस्ता प्रतिकूल अवस्था भएमा उडान स्थगित गरिन्छ । 

म्याग्दी:     १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए ।   “बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले धान फल्ने खेतमा काडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,” ४४ वर्षीय केसीले भन्नुभयो “त्यसबेला गाली गर्नेहरु अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन् ।”  बीस रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यसपाली रु. १० लाखको सुन्तला बिक्री भइसकेको र थप रु। चार लाखको सुन्तला बिक्री गर्न बाँकी रहेको बताउनुभयो । हाल दुई ५० बोट सुन्तलाले उत्पादन दिने गरेको छ ।  पाँच वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका केसीले सुन्तला खेतीका साथै के।सी। मौरीपालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक दुई सय देखि तीन सय मौरी सहितको घार बिक्री गर्नुहुन्छ । सुन्तला र मौरीको आम्दानीले बागलुङमा पक्की घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षा पढाउनुभयो । एक छोरा र छोरी निजी विद्यालयमा मावि तहको अध्ययन गर्दैछन् ।  “विदेशबाट फर्केपछि माछा, भैसी र बंगुर पाले,” उहाँले भन्नुभयो “माछा र बंगुर मरेर ठूलो नोक्सान भयो । भैसीबाट आम्दानी राम्रै भएपनि धेरै दुःख र झञ्जट भयो । सुन्तला र मौरी ब्यवसायबाट सफलता मिल्यो ।” कुनै पनि काममा निरन्तरको प्रयासपछि सफलता प्राप्त हुने केसीको अनुभव छ ।  मौरी सहितको प्रतिघार मौरी रु। १० हजारका दरले बिक्री हुन्छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीलगायत जिल्लाबाट मौरीको माग आउने गरेको छ । ब्यापारीले अग्रिम पैसा दिएर सुन्तला किनेर लैजाने गरेका छन् । सुन्तला खेती र मौरीपालनबाट केसीको जिवनशैलीमा परिवर्तन आएको छ । छोराछोरी र श्रीमतिले केसीलाई कृषि फार्ममा साथ दिएका छन् । किसान केसीको सिको गरेर सुर्केमेलाका १६  कृषकहरुले ब्यवसायिक सुन्तला खेती गरेका छन् । सुर्केमेलामा सुन्तला खेती गर्ने पहिलो कृषक केसी हुनुहुन्छ । चार सय बोट सुन्तला लगाएका सुर्केमेलाका धनराज पुनले अन्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताउनुभयो ।  बर्षमा आठ÷दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलामा रु. दश लाख भन्दा बढी कमाई हुने उहाँले बताउनुभयो । सिचाई सुविधा भएको सुर्केमेलाको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ ।  रसिलो, स्वादिलो सुन्तला काठमाडौ, पोखरा, बेनीका ब्यापारीले किनेर लैजान्छन् । सुर्केमेलाका कृषकलाई कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कार्यालयले सघाएका छन् । 

कञ्चनपुर:     विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ ।      महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज रु ३०/३० हजारसहित सम्मान गरेको हो ।  त्यसैगरी नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई रु ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई रु ३० हजार नगदसहित दोसल्ला ओढाएर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्मान गर्नुभयो ।       खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरुको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताउनुभयो ।  “प्रदेश सरकारले खेलकुदको विकासका लागि पूर्वाधार विकासमा पहल गर्छ”, उहाँले भन्नुभयो, “हाम्रो यहाँ पूर्वाधारको अभावमा पनि खेलाडीहरुले धेरै मेहनत गरेकाले अब सरकार पूर्वाधार विकासमा लाग्छ ।”        जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बताउनुभयो । “खेलाडीहरुको विकासका लागि क्रिकेट सङ्घले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ”, अध्यक्ष चन्दले भन्नुभयो, “कञ्चनपुरका थुप्रै खेलाडीले राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।”       उहाँले खेलाडीका लागि खेलमैदान पहिलो आवश्यकता रहेकाले प्रदेश सरकारले खेलमैदान निर्माणका लागि सहयोग गर्नुपर्ने बताउनुभयो । “यहाँ ठूलो प्रतियोगिता सञ्चालन गर्नका लागि राम्रो खेलमैदान छैन्, स्थानीय कबर्ड हलमा प्रतियोगिता गराउनुपर्छ”, उहाँले भन्नुभयो, “तीनै तहका सरकारले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी गर्न आवश्यक छ ।”       होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपालसिंह विष्टले खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताउनुभयो ।  गत महिना युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी १९ वर्ष मुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।  सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।        महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिनुभएको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।  सामाजिक सञ्जालमाफमा भनिएको छ, “बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ ।”