पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

गलकोट:    विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् ।  नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएकोे छ । पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ ।       नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका २०८० अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी पाँचवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।       शर्माले विद्यार्थी नभएका विद्यालयमा दरबन्दी रहने र विद्यार्थी धेरै भएको स्थानमा शिक्षक अभाव हुने अवस्थाको अन्त्य गर्न समायोजन गरिएको बताउनुभयो । तत्काल बन्द भएका विद्यालय प्राथमिक तहका हुन् । चारजना भन्दा थोरै विद्यार्थी भएका पाँच प्राथमिक विद्यालय बन्द गरेर ११ शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गरिएको छ ।       बन्द हुने विद्यालयमा जनज्योति प्रावि, जनभावना प्रावि दमेक, टारा ज्योति प्रावि छिस्ती, क्वाङ्गदी प्रावि, छिस्ती र सर्वोदय प्रावि सकुर्वा रहेका छन् । जसमध्ये सर्वोदय प्रावि र टारा ज्योति प्रावि छिस्तीमा विद्यार्थी सङ्ख्या शून्य थियो । अन्य तीन विद्यालयमा विद्यार्थी सङ्ख्या चारजना भन्दा कम भएपछि विद्यालय बन्द गरी समायोजन गरिएको हो ।       “विद्यालय बन्द हुँदा मारमा परेका टाढाका विद्यार्थीलाई आवासीय सुविधासहित ‘लिड’ विद्यालयको अवधारणा ल्याएका छौँ”, उपप्रमुख शर्माले भन्नुभयो, “आवासीय सुविधासहित एकै स्थानमा पढाउँदा शैक्षिक गुणस्तर वृद्धि हुन्छ र लगानी खेर जाँदैन ।”       शिक्षा समितिको सिफारिसमा पाँच प्राथमिक विद्यालयलाई आगामी वर्ष समायोजन गर्ने गरी एकजना मात्रै दरबन्दी कायम गरिएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले जानकारी दिनुभयो । एक शिक्षकको मात्रै दरबन्दी कायम गरिएको विद्यालयमा जैमिनी प्रावि कुश्मिसेरा, सिद्धिगणेश प्रावि कुश्मिशेरा, एकता प्रावि पैयुथन्थाप, दिव्यज्योति प्राथमिक विद्यालय दमेक र शङ्कर प्रावि राङ्खानी रहेका छन् ।       बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेपछि नगरपालिकाले दुई वर्ष अघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउँदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको जनाएको छ ।  विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने, आवासीय सहितको विद्यालय बनाउँदै नगरकै शैक्षिक हब बनाउन जैमिनी नगरपालिका–५ बिनामारेस्थित सर्वोदय जनक माविलाई अगुवा ९लिड० विद्यालयका रुपमा अगाडि बढाएको छ । 

काठमाडौं:    सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ । आज सुन प्रतितोला रू २ हजार ६ सयले घटेर १ लाख ४८ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदी प्रतितोला रू २५ ले घटे१ हजार ८ सय २० कायम भएको छ ।

बागलुङ:    काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ। दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी करिडोरले काठमाडौँमा चलिरहेको होटलको शाखा अर्बेनीमा ल्याएको हो । पहाडी जिल्लाका लागि कोशेढुङ्गा बनिरहेको करिडोर धमाधम कालोपत्र हुन थालेपछि होटलका सञ्चालक बाबुराम न्यौपाने काठमाडौँ छाडेर अर्बेनी आउनुभयो । काठमाडौँमा चलेको होटल छोराको जिम्मा लगाउनुभयो । अर्बेनी झरेका न्यौपाने दम्पतीलाई अहिले उत्तरबाट दक्षिण र दक्षिणबाट उत्तर घुम्न आउने पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याई छ ।राष्ट्रिय गौरवको यो आयोजनाले धेरै ग्रामीण क्षेत्रलाई जोड्दै उत्तर–दक्षिण छोएको छ । कालीगण्डकी नदीको किनारैकिनार बनेको राजमार्गले बागलुङ र पर्वतका दुर्गम गाउँलाई सहरसँग जोडेको छ । यसले गर्दा ग्रामीण क्षेत्रमा विस्तारै व्यावसायिक वातावरण बन्दै छ ।   गुल्मीमा न्यौपाने मात्र होइन सदरमुकामबाट टाढा रहेका दुर्गम बस्तीलाई राष्ट्रिय राजमार्गले जोडेपछि गाउँको परिचय बदलिएको छ ।  कयौँ होटल तथा रेष्टुराँ व्यवसायी करिडोर आसपासमा व्यवसाय सुरु गरेका छन्भने कुना–कन्दराका किसानले उत्पादनको बजारीकरणको सम्भावना देख्न थालेका छन् । आर्थिक वर्ष २०६७÷६८ बाट निर्माण सुरु भएको आयोजनाको कालोपत्रको गर्ने काम तीव्रगतिमा भइरहेको छ । नेपाल–भारत बेलहिया (सुनौली)नाकाबाट मुस्ताङको कोरलानाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर चार सय ३५ किलोमिटर लामो छ । कालीगण्डकी करिडोर (गँैडाकोट, राम्दी मालढुङ्गा)सडक आयोजनाले झण्डै दुई सय किलोमिटर कालोपत्रको चरणमा छ । “पर्यटक मात्र यो बाटो भएर हिँड्दा पनि व्यावसायिक वातावरण बन्छ”, होटल व्यवसायी न्यौपानेले भन्नुभयो, “ठूला सहरभन्दा नयाँ राजमार्गको आसपासका व्यवसाय फस्टाउँदो देखेर नै लगानी गरेका छौँ ।” करिडोरको पूर्व नवलपरासीको गैँडाकोटबाट बागलुङको मालढुङ्गा तल्लो खण्ड दुई सय ४० किलोमिटर छ । यस्तै मालढुङ्गाबाट मुस्ताङको चीन जोड्ने कोरलानाकाको दूरी एक सय ९५ किलोमिटर छ । दुवै खण्डमा धमाधम स्तरोन्नति र कालोपत्रको काम चलिरहेकाले व्यावसायिक वातावरण बढ्दै गएको बागलुङ सरङ्गेका व्यवसायी विजय केसीले बताउनुभयो ।बुटवलबाट अब बागलुङ सदरमुकाम एक सय ५० किलोमिटर दूरीमा खुम्चिएको छ । नारायणगढ, मुग्लिन, पोखरा हुँदै बागलुङ जान दैनिक आठदेखि १० घण्टाको यात्रा अब चार घण्टामा छोटिँदै छ । यो सडक निर्माण पूरा भएसँगै देशको मुहार फेर्ने देखिन्छ ।  मालढुङ्गा, बेनी, जोमसोम हुँदै कोरला एक सय ९५ किलोमिटरको सडक ट्रयाक विस्तारको काम तीव्रगतिमा भइरहेको छ । माथिल्लो खण्ड बेनी तातोपानी, तातोपानी घाँसा, घाँसा कागबेनी, कागबेनीहुँदै जोमसोम खण्ड खण्डमा ठेक्का लगाएर काम भइरहेको छ ।  यो १ सय ९५ मिटर खण्डको लागत रु ६ अर्बभन्दा बढी छ । करिडोर ११ मिटर चौडाइको हुन्छ । त्यसमध्ये ७ मिटर कालोपत्र र दायाँ–बायाँ एक–क मिटर किनारा तथा १ मिटरको नाली निर्माण गरिएको छ ।  करिडोरका लागि सरकारले बजेटको सुनिश्चितता गर्न नसक्नु, प्रत्येक वर्ष बजेट कटौतीले लक्ष्य अनुरूप काम हुन नसकेको हर्मिचौर–बलेवा ४४ किलोमिटर खण्डमा कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनका प्रतिनिधि छकबहादुर गुरुङले बताउनुभयो ।  करिडोरले २ प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसङ्ख्यालाई सिधा सडक सञ्जालमा जोड्दै छ । करिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठूलो सहयोग पुर्याएको छ । “एक दशकअघिसम्म सडक सञ्जालले जोड्न नसक्दा गाउँबाट ठूलो सङ्ख्यामा सहरमा बसाइँसराइ गर्ने क्रम थियो”, बागलुङको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा भन्नुभयो, “जब करिडोरको ट्रयाक खुल्यो, तब बसाइँ सरेर केही मात्रामा भए पनि रोकिएसँगै धेरै आयामहरूको परिवर्तन ल्याएको छ ।” करिडोरका कारण जनताको जीवनस्तरमा परिवर्तन आएको छ । व्यापार व्यवसायदेखि कृषि उत्पादनमा समेत वृद्धि भएको छ । किसानको उत्पादन गाउँदेखि सहरसम्म पुर्याउन सकिएको स्थानीय शिक्षक राजेन्द्र शर्मा बताउनुहुन्छ । चिनियाँ बौद्ध धर्मावलम्बीहरू बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी तथा भारतको पटना यही मार्ग भएर पुगेको विश्वास गरिन्छ । भारतीय व्यवसायी कालीगण्डकीको किनारैकिनार चीनको कोरला पुग्ने गर्थे । कालीगण्डकीको किनारैकिनार निर्माणाधीन करिडोरलाई सरकारले आर्थिक समृद्धिको ‘लाइफलाइन’ भन्दै राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।  गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुर्याउने अवधारणाअनुसार १३ वर्षअघिदेखि निर्माण सुरू भएको करिडोरमा नेपाली सेना र सडक विभागले ट्रयाक खोल्ने काम गरेका थिए ।

गण्डकी:    कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित सहकारी डेरी उद्योगले खरिद गर्छ ।  उक्त सहकारीले बाँकी दूध निजी डेरी उद्योगलाई बिक्री गर्दै आएको छ । सहकारीका सचिव पदम नेपालीका अनुसार गाउँमा उत्पादित दूध घाचोकमा रहेका दुईवटा सङ्कलन केन्द्रमार्फत बजार पठाउने गरिएको छ ।  “सुरूमा ६० लिटरबाट सुरू गरिएकामा अहिले दैनिक आठ सय लिटर दूध बजार पुग्छ”, उहाँले भन्नुभयो, “व्यावसायिक गाईभैँसी पाल्ने किसान पनि थपिँदै जानुभएको छ, सरकारले तोकेको मूल्य नियमति रूपमा पाएपछि दूग्ध किसान सन्तुष्ट हुनुहुन्छ ।”  दूधमा हुने ‘ल्याक्टो’ र ‘फ्याट’ जाँचको आधारमा प्रतिलिटर रू ६८ देखि रू ७३ सम्म किसानले पाउने गरेको सचिव नेपालीले बताउनुभयो । डेरी उद्योगले प्रतिलिटर रू ७४/७५ सम्ममा सहकारीबाट दूध खरिद गर्ने गरेको उहाँको भनाइ छ ।  पोखराको सहकारी डेरी उद्योगलाई मासिक सात सय लिटर दूध उपलब्ध गराउने सम्झौता अनुसार कारोबार भइरहेको सचिव नेपालीले बताउनुभयो ।  उक्त उद्योगमा आठ वटा दूध्य उत्पादक सहकारीले दैनिक रूपमा दूध उपलब्ध गराउँदै आएका छन् । उद्योगका सुपरभाइजर कृष्ण अधिकारीले ती सहकारी संस्थाबाट दिनमा ३५ सयदेखि चार हजार लिटरसम्म दूध आउने गरेको जानकारी दिनुभयो ।  “उद्योगले महिनामा झण्डै एक करोड रूपैयाँ बराबरको दूध किसानबाट खरिद गर्छ”, उहाँले भन्नुभयो, “बिक्री पनि सरकारले तोकेको उपभोक्ता मूल्य अनुसार भइरहेको छ ।” डेरी उद्योगले दिनमा झण्डै रू तीन लाख बराबरको दूध गाउँका किसानबाट ल्याउने गरेको छ । सरकारले तोकेको दरमा दूधको भुक्तानी हरेक १५÷१५ दिनमा किसानलाई उपलब्ध गराउने गरिएको उद्योगका सुपरभाइजर अधिकारीले बताउनुभयो ।  माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाभित्र पर्ने हेम्जा, सुइखेत, पुम्दीभुम्दी र कास्कीकोटबाट दूध उद्योगमा भित्रने गरेको छ । सहकारीले किसानबाट सङ्कलन गरेर ल्याएको दूधलाई प्रशोधन र गुणस्तर सुनिश्चित गरेर मात्र बजारमा बिक्री गर्ने गरेको उद्योगका सुपरभाइजर अधिकारीले बताउनुभयो ।   खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयले तय गरेको मापदण्ड अनुसार नै उद्योगले विभिन्न दूग्धजन्य वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको उहाँको भनाइ छ । उद्योगले कच्चा दूधलाई प्रशोधन गरेर दैनिक दुई हजार लिटरसम्म बजारमा बिक्री गर्दै आएको छ ।  दूधबाहेक पनिर, दही, नौनीलगायत वस्तु डेरीले उत्पादन गर्दै आएको छ । रू दुई करोड बराबरको अत्याधुनिक उपकरणजडित उद्योगबाट छिट्टै खुवा र आइसक्रिम पनि उत्पादनको लक्ष्य लिइएको छ ।  विसं २०५७ मा स्थापित उक्त डेरी उद्योगले दूग्धजन्य वस्तु बेचेर मासिक आठ देखि दशलाखसम्म मुनाफा आर्जन गर्ने गरेको छ । उद्योगमा दस जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।       डेरी उद्योगका लागि दुई वर्षअघि नेपाल सरकारले ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना’मार्फत रू एक करोड अनुदान उपलब्ध गराएको सङ्घका अध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो ।  पाँच वर्षअघि कास्कीस्थित सहकारी रजिष्ट्रार कार्यालयले पनि उपकरण खरिदका लागि रू १४ लाख सहयोग गरेको उहाँको भनाइ छ । पोखरा महानगरपालिका–७ स्थित सङ्घको आफ्नै कार्यालय भवन परिसरमा डेरी उद्योग सञ्चालित छ ।

पोखरा:  रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं पठाउनेबारे केही तयारी नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले स्पष्ट पारेको छ ।   कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले तत्काल लामिछानेलाई काठमाडौं लैजानेबारे केही कुरा नभएको स्पष्ट पारे ।    ‘अहिले केही छैन । मलाई यस विषयमा केही जानकारी छैन । बिहानदेखि काम गर्न पाएको छैन । यो फेक न्यूज कस्ले लेख्यो, किन लेख्यो थाहा छैन ।’ डिएसपी शर्माले सुनगाभा न्यूजसँग भने ।   उनले दोहोर्याउदै अहिलेसम्म लामिछानेलाई काठमाडौं पठाउनेबारे ऐकिन नभएको बताए  । ‘तयारी भन्ने अहिलेसम्म केही छैन । सबै गर्ने काठमाडौंले हो । पठाइदे भन्यो भने हाम्रो काम पठाइदिने मात्रै हो । अहिलेसम्म केही छैन ।’   गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमै छन् ।   संगठित अपराध, सहकारीको रकम अपचलन तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धानका लागि हालसम्म कास्की जिल्ला अदालतबाट पाँच पटक म्याद थपिएको छ ।   उनीविरुद्ध कास्की जिल्ला अदालतले गत ९ गते १५ दिनका लागि म्याद थप गरिएको थियो ।   उनलाई यसबीचमा काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेपछि बयानका लागि काठमाडौं लगिने भनिएपनि हालसम्म तयारी नभएको कास्की प्रहरीले बताएको छ ।

पर्वत:    चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा)बन्द भएको छ ।  वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो । आइतबार अन्तिम टोलीले ३ दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक होम पुनले जानकारी दिनुभयो ।  पहिलो याममा सेप्टेम्बरमध्यदेखि नोभेम्बर अन्तिम सातासम्म सञ्चालन गरिएको हो । विगतका वर्षभन्दा ढिलोगरी चिसो बढेकाले यस वर्ष दुई साता ढिलोसम्म र्याफ्टििङ  सञ्चालन गरिएको पुनले बताउनुभयो ।  नदीमा पानी अत्यधिक चिसो भइसकेकाले अब मार्चदेखि जुनसम्म अर्को यामको जलयात्रा सुरु हुने उहाँको भनाइ छ ।    छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा आउने पर्यटक कोभिड सङ्क्रमणपछि यस वर्ष उच्च रहेको सलोम र्याफ्टिङ ट्रेक एण्ड एक्सपेन्डिसनका सञ्चालक देव रेग्मीले जानकारी दिनुभयो ।  उहाँका अनुसार लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने  गर्दछन् । ¥याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको पनि आकर्षण पनि बढ्दै गएको उहाँले बताउनुभयो ।  कालीगण्डकी नदीमा यस वर्ष ३ हजारभन्दा बढीले जलयात्रा गरेको रेग्मीले बताउनुभयो । दैनिक २–३ समूहमा पर्यटक आउने गर्दछन् ।  अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन कोभिडपछि यस वर्ष उच्च मात्रामा बढेको रेग्मीको भनाइ छ ।  “यो नदीलाई रोजेर पर्यटक बढी नै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “कालीगण्डकीलाई ¥याफ्टिङको पहिलो गन्तव्य बन्दै गएको छ । पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएका छन् ।”  कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल र कुश्मा नगरपालिका वडा नं ५ गोपाङघाटबाट सुरु हुने ¥याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलासयमा पुगेर टुङ्गिन्छ । ३ दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।  यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन्भने अष्टे«लिया, रसियन, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।  विदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटक कालीगण्डकीको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन् । अमेरिका र अष्ट्रेलियालगायत नदीमा हुने जलयात्राभन्दा कालीगण्डकीमा नयाँ खालको अनुभव भएकाले पर्यटकको आकर्षण बन्न पुगेको हो । पर्यटकले नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरी पर्यटकले यात्रा तय गर्ने गरेका छन् । यात्राका क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुश्मा नगरपालिकाको आर्मादी नजिकै खोलाको बीचमा रहेका ठूला ढुङ्गाहरू नहटाउँदा समस्या आउने गरेको पर्यटक गाइड नवीन केसीले बताउनुभयो ।  कालीगण्डकीको दोहनसँगै पछिल्लो समय विभिन्न ठाउँमा डुङ्गा शयरमा समस्या आउने गरेको छ । पर्वततर्फ निर्माण गरिएको कालीगण्डकी लोकमार्ग र बागलुङ–गुल्मीतर्फको कालीगण्डकी करिडोरबाट खसेका ढुङ्गामाटोले पनि नदी साँघुरिँदै गएकाले पहिलेजस्तो सहज नरहेको पर्यटन व्यवसायी होम पुनले गुनासो गर्नुभयो ।   

म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ ।   घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।   जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदीले बताउनुभयो ।   बेनी नगरपालिकामा आर्थिक वर्ष २०७८र७९ मा आठ सय ४७, २०७९र८० मा छ सय ७७, २०८०र८१ मा तीन सय ९२ र आव २०८१र८२ को हालसम्म एक सय ४९ जनाले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुवेदीले बताउनुभयो ।   उहाँका अनुसार आव २०७८र७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ ।   दश वडा रहेको बेनी नगरपालिकामा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ ।   अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् ।   आठपटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमा नै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र चेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।   “गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै चेतनामूलक कार्यक्रम सञ्चालन भएका छन्”, उहाँले भन्नुभयो, “सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास प्रभावकारी बनेको छ ।”

वालिङ:    यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल हुनुभएको छ ।   स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गर्नुभएका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गर्नुभएको हो ।   चार हजार पाँच सय केजी ड्रागन बिक्री गरेर उक्त आम्दानी लिन सफल भएको व्यवसायी ढुङ्गानाले बताउनुभयो ।   असी रोपनी जग्गा भाडामा लिएकोमध्ये ४० रोपनीमा तीन वर्षअघि व्यावसायिक ड्रागनखेती गर्नुभएका ढुङ्गानाले यस वर्ष एकै याममा मनग्य आम्दानी गर्न सफल हुनुभएको हो ।   “असी रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेको हुँ”, उहाँले भन्नुभयो, “सुरुमा मलाई केही पनि ज्ञान थिएन, युट्युव हेर्दै काम गर्न थालेँ, सिक्दै गएँ अहिले धेरै राम्रो भएको छ, कमाई पनि राम्रो भएको छ ।”   ड्रागन थोकमा प्रतिकेजी रु चार सयका दरले र खुद्रामा प्रतिकेजी रु पाँच सयका दरले बिक्री भएको उहाँले बताउनुभयो ।   यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा र वालिङमा खपत भएको हो । आफ्नो र बाँकी जग्गा दाजुभाइको भाडामा लिएर अहिले ४० रोपनीमा पाँच हजार ड्रागनले फल दिएको उहाँले बताउनुभयो ।   “नयाँ र नौलो व्यवसायको थालनी गर्दा हेर्न आउनेहरूले के नचाहिँदो काम गरेको होला भनेर होच्याउने गर्थे, पागल भएछ कि क्या हो समेत भन्थे”, उहाँले भन्नुभयो, “अहिले व्यवसाय राम्रो भएर आम्दानी लिन थालेपछि पहिला नराम्रो भन्नेहरू पनि हेर्न र बुझ्न बगैँचामा आउने गरेका छन् ।” उहाँले एउटा पिलरमा तीनवटाका दरले ड्रागनका बेर्ना लगाउनुभएको छ ।   ड्रागन बगैँचामा बिरुवाको बीच–बीच भागमा अदुवा, सखरखण्ड, पिँडालुलगायत मिश्रित बाली लगाउनुभएको छ ।   “नयाँ र नौलो फल भएकाले यहाँ आउनेलाई खान दिने, आफन्तलाई कोसेली पठाउनेसमेत गरियो”, उहाँले भन्नुभयो, “आम्दानी अझै धेरै हुन्थ्यो, वर्षामासमा परेको निरन्तरको झरीले झण्डै रु १० लाखको ड्रागनको फूल नै नष्ट गरिदियो ।”   उहाँले ड्रागन फलसँगै बेर्ना पनि बिक्री गरी आम्दानी गर्दै आउनुभएको छ । उत्पादन गर्न सकेको खण्डमा बजारको कुनै समस्या नरहेको कृष्णका भाइ अमृत ढुङ्गानाले बताउनुभयो ।   अमृतले दाजुले उत्पादन गर्नुभएको ड्रागनको सम्पूर्ण बजारीकरणको जिम्मा लिनुभएको छ ।   “यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा तथा स्थानीय वालिङ बजारमा र केही बगैँचाबाट नै बिक्री भयो”, उहाँले भन्नुभयो, “ड्रागनको बजार माग राम्रो भएकाले बिक्री नहुने समस्या भएन बरु मागअनुसार खपत गर्न सकेनौँ ।”   बगैँचामा यसपटक ड्रागन फलेर सकियो तर अझै पनि विभिन्न ठाउँबाट माग आउने क्रम जारी भएको अमृतले बताउनुभयो ।   अहिले ४० रोपनीमा फैलिएको ड्रागन बगैँचालाई विस्तार गरी ८० रोपनी क्षेत्रफलमा पुर्याउने लक्ष्य रहेको अमृतले बताउनुभयो ।

चितवन:    बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी नि:शुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि नि:शुल्क गर्न  थालनी गरेको हो ।   अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५  बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् ।  ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उहाँले भन्नुभयो, “मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।”   अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ ।    उहाँ भन्नुभयो, “धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो ।” पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा नेपालको भनाइ छ ।   अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले सुरुकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताउनुहुन्छ ।  नेपालमा बर्सेनि एक हजार पाँच सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान रहेको उहाँको भनाइ छ । तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन् । कतिपय विदेशमा गएर उपचार गराएका छन् । तर ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँच बाहिर रहेको अनुमान गरिएको छ ।”  बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।