दमौली: मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रोपटकका लागि उक्त खण्डको म्याद थप भएको छ । दोस्रोपटक थप भएको म्याद अवधिभित्र काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको पाण्डेले जानकारी दिनुभयो । यस अवधिसम्म सडकको काम ६८ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा अन्तिम कालोपत्रसमेत थालिएको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकबाट सत्र सय खण्डमा अहिले अन्तिम कालोपत्रको काम भइरहेको पाण्डेले बताउनुभयो । यसअघि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम चरणको कालोपत्रको काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यहीँ ठाउँमा थप चार सेन्टिमिटरको काम हुनेछ ।” अन्तिम चरणको कालोपत्रअन्तर्गत हालसम्म दुई दशमलव चार किलोमिटरभन्दा बढीमा कालोपत्र सकिएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर दूरीमा कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेनको कालोपत्र भएको छ । पाण्डेले भन्नुभयो, “पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ । अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ ।” पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि एक–दुई दिनभित्र कालोपत्रको काम सुरु गर्ने तयारी रहेको पाण्डेले बताउनुभयो । दमौली बजारमा पनि सडक विस्तारका लागि अहिले नाला बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । पश्चिम खण्डतर्फ हालसम्म ३२ प्रतिशत प्रगति भएको छ । पश्चिमखण्ड (जामुने–पोखरा)को म्याद आगामी डिसेम्बर ६ सम्म बाँकी छ । तर उक्त अवधिसम्म काम नसकिने भएपछि ठेकेदार कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ ।
काठमाडौं: नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्राय सुदूरपश्चिमका खेलाडीको वर्चश्व देखिएको छ । नेपाली क्रिकेट इतिहासमा अलराउन्डतर्फ विश्व क्रिकेट वरियतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको भरोसायुक्त खेलाडी हुन् । सुदूरपश्चिममा जन्मिएका २४ वर्षीय ऐरी टोलीको मार्की खेलाडी हुन् । सुदूरपश्चिममा आइकोनिकसहित सात खेलाडी सुदूरपश्चिम क्षेत्रका खेलाडी छन् । मार्की खेलाडी ऐरीसहित विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिम क्षेत्रका हुन् । यस्तै बलर अविनाश बोहरा भने कर्णाली प्रदेशका हुन् । यसबाहेक आरिफ शेख पर्सा, अर्जनु कुमाल गुल्मी, इशान पाण्डे र अमित श्रेष्ठ काठमाडौँका खेलाडी छन् । ऐरी, आरिफ अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, नरेश बुढाएरले भने राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेसिकेका छन् । सुदूरपश्चिमले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । चार विदेशी खेलाडीमध्ये तीनजना ब्याटिङ अलराउण्डर छन् भने एकजना बलिङ अलराउण्डर छन् । नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका संयुक्त अरब इमिरेट्स ९युएई०का रोहन मुस्ताफा र स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन छन् । त्यसैगरी इङ्ग्लयाण्डको सैफ अली जैब र चेन्नई सुपर किङ्ग्सबाट आइपिएल खेलेका न्युजिल्याण्डका बलर स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा आबद्ध छन् । टोलीका दुई युवा खेलाडीले अर्जुन कुमाल र नरेन साउदले भने आफ्नो टोलीको उद्घाटन खेल गुमाउने छन् । उनीहरु नेपाली यु–१९ टोलीबाट एसिसी एसिया कप खेल्न युएई जाँदैछन् । सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएका जगत् टमाटा हुनुहुन्छ । सुदूरपश्चिममा जन्मनुभएका ६० वर्षीया टमाटाले आफ्नो टोलीले जीतका लागि खेल्ने बताउनुभयो । नेपाली टोलीका सफल प्रशिक्षकका रुपमा परिचित उहाँले एनपिएलमा आफूले सहभागिता जनाउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो टोलीले सय प्रतिशत दिएर खेल्ने उल्लेख गर्नुभयो । प्रशिक्षक टमाटाले आफ्नो टोलीको तयारी उल्लेख्य रहेको भन्दै सुदूरपश्चिम र नेपाली क्रिकेटलाई माया गर्न सबैलाई आग्रहसमेत गर्नुभयो । यही नोभेम्बर २७ देखि ३० तारिखसम्म सबै विदेशी खेलाडी नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो । टमाटासँग राष्टिय क्रिकेट टिम पुरुष, महिला सिनियर टोलीदेखि उमेर समूहको टोलीमा प्रशिक्षको भूमिका निर्वाह गरिसक्नुभएको अनुभव छ । सुदूरपश्चिम रोयल्सको ओनर भने एम्पायर स्पोर्टस् रहेको छ । त्यस्तै मेन्टरमा अष्टेलियका ब्राड हज हुनुहुन्छ । उहाँ सोमबार नेपाल आइपुग्नुभएको छ । टोलीको ब्राण्ड एम्बासडरमा भने ओलम्पियन खेलाडी दीपक विष्ट हुनुहुन्छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको उक्त नेपाल प्रिमियर लिग (एनपिएफ) हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा सुदूरपश्चिम रोयल्ससँगै काठमाडौँ गोरर्खाज लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्सल र कर्णाली याक्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल यही मङ्सिर १५ गते विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सुदूरपश्चिमले यही मङ्सिर १८ गते विराटनगर किङ्ग्ससँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० एनपिएलको उद्घाटन खेलमा साधारणतर्फ रु तीन सय र भिआइपीतर्फ रु सात सय टिकट दर तोकेको छ । त्यसबाहेक अन्य एनपिएलको खेलका लागि साधारणतर्फ रु तीन सय र भिआइपीतर्फ रु पाँच सय दर निर्धारण गरिएको छ । क्यानले प्लेअफका दिन साधारणतर्फ रु पाँच सय तथा भिआइपीतर्फ रु सात टिकट दर तोकिएको जनाएको छ । क्यानले एनपिएलको फाइनलमा भने साधारणतर्फ पाँच सय र भिआइपीतर्फ रु एक हजार मुल्य तोकेको छ । सिजनल टिकटसमेत खरिद गर्न सकिने व्यवस्था रहेको क्यानले जनाएको छ । त्यसका लागि साधारणतर्फ रु चार हजार चार सय ८० र भिआइपीतर्फ आठ हजार दुई सय ४० निर्धारण गरिएको छ । एनपिएलको टिकट खल्ती एपबाट खरिद गर्न सकिनेछ ।
पर्वत: मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा आपसी सहयोग केन्द्र (आस्क) नेपालले मोदी गाउँपालिकामा मौसम सूचना केन्द्र (वेदर स्टेशन) स्थापना गरेको हो । मौसमको पूर्वानुमान गरी नागरिकलाई सम्भावित जोखिमबारे समयमा जानकारी दिने उद्देश्यले स्टेशन स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । यसबाट विशेगरी वायुमण्डलीय अवस्थाका विभिन्न पक्षहरूको मापन, निगरानी र विश्लेषण गरी नागरिकलाई समयमा सूचना प्रवाह गरिने मोदी गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत दिपक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार रु पाँच लाख ५० हजारको लागतमा मौसम सूचना केन्द्र स्थापना भएको हो । यसले मुख्यगरी तापक्रम मापन गर्ने, हावाहुरीको गति र दिशाका बारेमा जानकारी दिनुका साथै वर्षा र आर्द्रता मापन गर्नेछ । साथै जलवायु अध्ययन, आपत्कालीन पूर्वसूचना प्रदान गर्न सहयोग पुग्ने शर्माले बताउनुभयो । यो सूचना केन्द्रलाई जल तथा मौसम विज्ञान विभागका विभिन्न भागमा रहेका जलवायु मापन केन्द्रहरूसँग समन्वय गरी दैनिक रूपमा एकीकृत विवरणहरू उपलब्ध गराउने मोदी गाउँपालिकाले तयारी गरेको छ । केन्द्र स्थापनासँगै विशेषगरी वर्षायाममा हुने बाढीपहिराका घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । बेमौसममा हुने वर्षा, असिना, चट्याङ र हावाहुरीका कारण कृषि बाली, पशुचौपाया तथा मानवीय क्षति न्यूनीकरण गर्न सकिने भएकाले यसलाई प्रभावकारी रूपमा सञ्चालन गरिने मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताउनुभयो । उहाँले मोदी गाउँपालिकाका मात्र नभएर आसपासका सबै नागरिकलाई मौसमी विपद्बाट सुरक्षित राख्न केन्द्रलाई प्रयोग गरिने उल्लेख गर्नुभयो । आस्कले युएसएआइडीको सहयोगमा जल र जङ्गल परियोजना सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत जिविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकको प्रोत्साहन र प्रवर्द्धनका लागि मौसमी सूचना प्रणालीको विस्तार गरिएको संस्थाका प्रशासन प्रमुख शिव पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोदी गाउँपालिकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासे क्षेत्रमा कार्यक्रम केन्द्रित भएकाले पनि मोदीमा मौसम स्टेशन स्थापना गरिएको हो । यस क्षेत्रका बासिन्दाले विगतमा जस्तो बाढी, पहिरो, चट्याङ, हावाहुरीलगायत प्राकृतिक विपद्बाट क्षति व्यहोर्नुपर्ने घटना न्यूनीकरण हुने पोखरेलको दाबी छ । पालिकाले सबै वडाका नागरिकको मोबाइल नम्बर सङ्कलन गरी मौसमको पूर्वानुमान र सम्भावित जोखिमबारे एसएमएस ९खबर० प्रवाहसमेत गर्ने जनाएको छ । मोदीमा गत वर्षमा मात्रै चट्याङ लागेर तीन जनाको ज्यान गएको थियो भने धेरै सङ्ख्यामा पशुचौपायाको क्षति भएको थियो । त्यसैगरी गत वर्षायाममा गाउँपालिकाभित्रका झण्डै दुई दर्जन बढी परिवार बाढीपहिराका कारण विस्तापित बनेका थिए भने पर्वतमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको थियो ।
सोलुखुम्बु: विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो । पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते दुई सय २३ जना भित्रिँदा तीन सय ६२, ५ गते एक सय १९ भित्रिँदा तीन सय २० र ६ गते ८० भित्रिँदा तीन सय ७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन् । यस्तै मङ्सिर ७ गते ८८ भित्रिँदा तीन सय तीन, ८ गते ५३ पर्यटक भित्रिँदा चार सय ८१ जना, ९ गते एक सय ३६ भित्रिँदा तीन सय तीन जना र १० गते एक सय ३२ पर्यटक भित्रिँदा दुई सय ५७ जना बाहिएका प्राधिकरणको तथ्याङ्क छ । चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किनेक्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताउनुभयो । कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेका उहाँको भनाइ छ । दर्नालले भन्नुभयो, “पानी जम्न थालेपछि खासै विदेशीहरू माथि जान मान्दैनन् । अहिले चिसो ह्वात्तै बढेको छ, त्यसैले लामो दिनको भ्रमणमा आएकाहरू दिन छोट्याएर फर्किने गरेका छन् ।” नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुआतमा सामान्य हिमपात भएकाले चिसो बढेको उहाँको अनुमान छ । लुक्लाबाट फर्किने जहाजमा यात्रुको घुइँचो “सिजन (पर्यटकीय मौसम) ढल्किएसँगै काठमाडौँ र रामेछापबाट जहाजहरू खाली आउछन् तर यहाँबाट फर्किंदा जहाजमा यात्रुको घुइँचो हुन्छ । कतिपय अवस्थामा टिकट पाउन मुस्किल छ, यो बेला भ्रमण छोट्याएर फर्किने धेरै विदेशीहरू भएकाले यात्रुको चाप थेगिनसक्नु छ”, प्राधिकरणका एटिसी अफिसर श्रेष्ठले रासससँग भन्नुभयो । उहाँका अनुसार काठमाडौँ तथा रामेछापको मन्थलीबाट कार्गो लिएर आएका जहाजहरूले पर्यटक लिएर फर्कने गरेका छन् । लुक्ला आउने पर्यटक यतिबेला सीमित भएकाले अधिकांश जहाजहरूले कार्गो सामग्री लिएर आउने गरेका नागरिक उड्डययन प्राधिकरण लुक्लाले जनाएको छ । यही कारणले पनि फर्किने यात्रुले विमानको टिकट पाउन मुस्किल पर्ने गरेको व्यवसायीहरूले बताउँछन् । लुक्ला आउने टिकट पाउने भए पनि यहाँबाट फर्किने जहाजको टिकट लिन चार÷पाँच दिनअघिदेखि बुकिङ गर्नुपर्ने बाध्यता रहेको पर्यटक गाइड पेम्बा शेर्पाले बताउनुभयो । विदेशी पर्यटकको चापका कारण नेपालीलाई टिकट पाउन मुस्किल हुने गरेको उहाँको भनाइ छ । लुक्लाबाट काठमाडौँका लागि विदेशी पर्यटकलाई रू २९ हजार चार सय ८० र नेपालीलाई रू ११ हजार भाडा निर्धारण गरिएको छ । भाडादर विदेशीको बढी भएकाले विमान कम्पनीको पहिलो प्राथमिकतामा विदेशी पर्ने गरेका यात्रुको गुनासो छ । जहाज टिकट पाउन मुस्किल भएपछि कतिपय पर्यटकहरू हिँडेर जिल्ला सदरमुकाम सल्लेरी हुँदै सल्लेरीबाट जीपमार्फत काठमाडौँ फर्किने गरेका छन् । लुक्ला विमानस्थलमा अहिले झण्डै एक सयको हाराहारीमा जहाजले उडान भर्ने तथा अवतरण हुने गरेका छन् । निजी कम्पनीका तारा, सीता र समिट एयरलाइन्सले मात्रै उडान भर्ने गरेका प्राधिकरणले जनाएको छ । फर्किने पर्यटकको चाप बढेसँगै सुरक्षामा खटिएका नेपाल प्रहरी र पर्यटक प्रहरीको व्यस्तता पनि बढेको छ । कार्यक्षेत्रमा खटिएकाहरू पर्यटकको सुरक्षा र तथ्याङ्क लेखाजोखामा बढी व्यस्त रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । “सिजनमा भित्रिनेको चाप थियो, अहिले फर्किने विदेशी पर्यटकको चाप बढी भएकाले नेपाल प्रहरीलाई सोहीअनुसार उनीहरुको सुरक्षामा परिचालन गरिएको छ, चार हजार चार सय १० मिटरको उचाइमा रहेको दिङ्बोचेमा प्रहरी चौकी छ, त्यहाँका प्रहरीले सगरमाथा आधार शिविरसम्म गस्ती गर्छन्”, प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजनलाई प्रमुख पर्यटकीय समय मानिन्छ । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक र मङ्सिर मध्यसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । यो क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । यहाँको हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ । तेङ्बोचे गुम्बासहित चर्चित धार्मिक क्षेत्रहरुले यस क्षेत्रको पर्यटक आकर्षणलाई वृद्धि गरेको स्थानीले बताएका छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छभने यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं: यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ रु तीन सय र भिआइपीतर्फ रु सात सय टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ रु तीन सय र भिआइपीतर्फ रु पाँच सय मूल्य तय गरिएको छ । एनपिएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ रु पाँच सय र भिआइपीतर्फ रु सात सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ रु पाँच सय र भिआइपीतर्फ रु एक हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ । सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ रु चार हजार चार सय ८० र भिआइपीतर्फ रु आठ हजार दुई सय ४० मूल्य निर्धारण गरिएको छ ।
धनुषा: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेलनेलसहित यातना पाएका योद्धाहरुका कारण देश परिवर्तन भएको बताउनुभएको छ । आज यहाँको जनकपुरधाम उपमहानगरपालिका–२५, लोहनामा नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभाका पूर्वसदस्य स्व अरविन्द ठाकुरको अर्धकदको प्रतिमा अनावरण गर्दै उहाँले स्व ठाकुरको योगदान स्मरण गर्नुभयो । लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि कांग्रेसको सशस्त्र आन्दोलनका क्रममा बम प्रहार गर्न खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताउनुभएका प्रजातान्त्रिक योद्धा स्व ठाकुर जस्ता नेताकै कारण मुलुकमा सङ्घीय लोकतन्त्र प्राप्त भएको उहाँले बताउनुभयो । सभापति देउवाले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताउनुभयो । त्यसका लागि सङ्घीय लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद भएकाहरुले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले स्व ठाकुरको सपना साकार पार्न सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाको निर्माण गर्नुका साथै जनताको अधिकार प्राप्तिमा योगदान पु¥याएको उल्लेख गर्नुभयो । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधानसभाका सदस्य रश्मी ठाकुर, नेपाली कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, पूर्वमन्त्री रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतले मन्तव्य राख्नुभएको थियो । रु २५ लाख लागतमा स्वर्गीय नेता ठाकुरको प्रतिमाको संरचना निर्माण भएको हो । नेपाली कांग्रेसका सभापति देउवाले स्व ठाकुरका धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभयो ।
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा सुरु भएको १७ औं हिसान कास्की स्पोर्टस मिटको पहिलो दिन छात्र बास्केटबलतर्फ १४ खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन पोखरा रंगशालास्थित बास्कैटबल कोर्ट र पुन समाज बास्केटबल कोर्टमा गरी प्लस टु तर्फ १४ खेल सम्पन्न भएको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले जानकारी दिएका हुन् । पोखरा रंगशाला बास्केटबल कोर्टमा सम्पन्न खेलमा पोखरा आदर्शले रेन्वो एकेडेमीलाई ४४–६ ले, बालकल्याणले सिर्जना माविलाई ४१–१३ ले, ग्लोबल कलेजियटले सगरमाथा माविलाई ३१–२५ ले, सोसल पब्लिकले बालोदय माविलाई २९–१० ले, पोखरा युनाइटेडले बेथानीलाई २२–१४ ले पश्चिमाञ्चल माविले गुरूकुल माविलाई ३५–१२ ले र करुणानिधी एजुकेशन फाउन्डेशनले डायमण्ड माविलाई २१–८ को स्कोरले पराजित गरेका छन् । त्यस्तै पुन समाजको कोर्ट रामघाटमा सम्पन्न छात्रतर्फको खेलमा हिल पोइन्टले जुनिएर सिटिजन एकेडेमीलाई निकै प्रतिस्पर्धात्मक खेलमा ३२–३१ को स्कोरले पराजित गरेको छ । त्यस्तै त्रिवेणी माविले साइनिङ्ग स्टारलाई ३७–२१ ले, मनकामनाले वेलननलाई ३३–१६ ले, स्टेप वाई स्टेपले मदरल्याण्डलाई २७–२३ ले, माउन्ट अन्नपूर्ण माविले ज्योती कुञ्जलाई ३४–२२ ले, मेरीगोल्डले लिटल फ्ल्वारलाई २०–१४ ले र शान्ती निकुञ्जले अक्सफोर्डलाई १४–७ ले पराजित गरेका छन् । १७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर ११ गते देखि १४ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिए । प्रतियोगितामा मावीतह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने छ । त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल हुनेछन् भने विद्यालयका व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल १ सय २४ खेल हुनेछन् । विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन् । हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगिताका संयोजक याम रोक्काले बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गर्ने भएको छ । यसै विच हिसान कास्कीले पोखरा रंगशालामा आयोजना हुने १७ औं सस्करणको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गर्ने भएको छ । प्रतियोगिताको उद्घाटन भोली (मंगलबार) गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्नेछन् । उद्घाटन कार्यक्रम पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा हुने हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले जानकारी दिएका छन् । १५ औं र १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।
काठमाडौं: नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा आजदेखि प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्त सञ्चार सेवा भवनबाट सुरु भएको छ । गोरखा भूकम्पबाट रक्त सञ्चार भवनमा क्षति पुगेपछि नेपाल रेडक्रसले सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको थियो । नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौँमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा सुरु गरेको थियो । विसं २०३९ असोज ६ गतेदेखि अष्ट्रेलियन रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा निर्मित भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिनुभयो । विसं २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवा भवनमा क्षति पुगेपछि यहाँबाट ललितपुरको बालकुमारी हुँदै रेडक्रसको केन्द्रीय कार्यालय ताहचलबाट रक्तसञ्चार सेवा प्रदान हुँदै आएको थियो । थाइल्याण्ड सरकारबाट थाई रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा सुविधा सम्पन्न नयाँ केन्द्रीय रक्तसञ्चार सेवा भवन निर्माण गरिएको छ ।

