पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा संरक्षित वन्यजन्तु घोरलको सिंङसहित युक्रेनका एक नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा युक्रेनका २१ वर्षीय पीलीप जील्को भीस्की रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विमानस्थलको आन्तरिक प्रस्थान गेटको एक्सरे मेसिनमा चेकजाँचको क्रममा भीस्कीको निलो झोलामा संरक्षित बन्यजन्तु घोरलको सिंङ फेला परेको थियो । पक्राउ परेका उनलाई पोखर १५ नयाँगाउमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
नवलपुर: नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कालीगण्डकी नदी किनारमा १५ वर्षीय बालकको शव फेला परेको छ । गैँडाकोट नगरपालिका–३ घोक्रे फाँटस्थित कालीगण्डकी नदी किनारमा तनहुँ रिसिङ–५ रेसौ बस्ने गोपाल कुमालको शव भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालले बताउनुभयो । मृतक कुमाल गत कात्तिक २७ गते एकादशीको दिन तनहुँको रिसिङ गाउँपालिका–४ भिरकोटस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए । नदीमा डुबी बेपत्ता भएका कुमालको खोजी गर्ने क्रममा मङ्गलबार कालीगण्डकी नदी किनारमा शव भेटिएको प्रहरी निरीक्षक नरालले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
पोखरा: बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासिनी मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो । पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कालिकाले उपाधि सहित नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यसै गरी विन्ध्यवासीनिले नगद २० हजार ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी कालिका माविका कुशल नेपाली, हाइस्कोरर विन्ध्यवासीनि माविमा सरोज थापा, उत्कृष्ट गोलकिपर कुशल नेपाली कालिका मावि, उत्कृष्ट डिफेन्स विन्ध्यवासिनीका विपिन गुरुङ, उत्कष्ट स्टाइकर कालिकाका बिवास गुरुङ र उत्कृष्ट कोचको उपाधि कालिकाका आशिष श्रेष्ठले जित्न सफल भए । त्यसै गरी छात्रा तर्फको मैत्रिपुर्ण खेलमा कन्या माविले बाराही माविलाई १–० गोलले हरायो । क्लस्टर स्तरीय प्रतियोगिता पहिलो पटक आयोजना भएको हो । कास्की जिल्लाका १५ वटा विद्यालयहरूले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगिताले विद्यार्थीहरूको खेलकुदमा रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न गरेको विद्यालय प्रधानध्यापक शिव भण्डारीले जानकारी दिए । विजेता खेलाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्री, समाजसेवी पुरुषोतम प्रसाद पराजुली, हेमराज अधिकारी, लक्ष्मण बराल, प्रधानध्यापक शिव भण्डारी, बाराही विद्यालयका खेलकुद संयोजक सुशील केसी लगाएतले पुरस्कार वितरण गरे ।
काठमाडौं: उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुपर्ने जरुरी भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले एमाले नेतृत्वको सरकारले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको र त्यसको दायरालाई विस्तार गर्ने बताउनुभयो । “सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा (एमाले) ले गरेको हो”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “एमाले नेतृत्वको सरकारले गरेको हो ।” उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराउनुभयो । उहाँले राज्यको जिम्मेवारी नागरिकप्रति छ भन्ने अवधारणाको आधारका सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको बताउनुभयो । अर्थमन्त्री पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उल्लेख गर्दै नेपाली मजदुरलाई उत्साहित र भविष्यप्रति आश्वस्त बनाउने काम गरेको स्पष्ट पार्नुभयो । उहाँले अझ व्यवहारिक बनाउन अझ परिमार्जित गर्नुपर्नेमा जोड दिँदै नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने विश्वास दिलाउनुभयो ।
काठमाडौं: प्रतियोगिता सञ्चालन हुन चार दिन मात्र बाँकी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा कर्णाली याक्सलाई उपाधि दावेदारका रुपमा हेरिएको छ । पहिलोपटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा कर्णाली याक्स हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने टोली कर्णाली याक्समा राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रुपमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउँदै उनले महत्वपूर्ण योगदान दिएका छन् । नेपालले दुईपटक विश्वकपमा सहभागिता जनाउँदा सोमपालले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । विश्वकपमा नेपालले दुईपटक भाग लिँदा दुवै खेल खेल्ने सोमपाल नेपालका एक्लो खेलाडी हुन् । सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका युवा अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यावद, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । यसैगरी, कर्णालीले आफ्नै क्षेत्रका दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरीलाई पनि समेटेको छ । कर्णाली याक्सका अधिकांश खेलाडीसँग राष्ट्रिय टिम र घरेलु क्रिकेट प्रतियोगिता खेलेको अनुभव छ । यससँगै कर्णाली याक्सले थप पाँचजना विदेशी खेलाडी भित्र्याएको छ । एनपिएलमा हरेक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्नेछभने आवश्यकता हेरेर एक टोलीले छ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । जसअनुसार कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको हो । कर्णाली याक्सले भारतीय चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गर्दै चर्चा बटुल्न सफल भएको छ । नेपाली क्रिकेटमाझ धवनको आगमनले कर्णाली टोलीको शोभासमेत बढेको अनुमान गर्न सकिन्छ । कर्णाली याक्सबाट धवनसँगै हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुदले खेल्दैछन् । सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जित्दा ३९ वर्षीय बायाँहाते ब्याटर धवनले टोलीका महत्वपूर्ण सदस्य थिए । आइपिएलमा धवन सहभागी टोली सनराइजर्स हैदराबादले आइपिएलको उपाधि जितेको थियो । उनले आइपिएलमा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् । केही समयअघि मात्र धवनले सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । कर्णाली याक्सले भित्र्याएको अर्को चिरपरिचित खेलाडीको नाम हो हायात । हङकङका विस्फोटक ब्याटर हायातले पनि नेपालमा आयोजना भएका विभिन्न लिग खेलिसकेका छन् । हङकङको टोलीबाट धेरैपटक नेपाल आएर खेलिसकेका हायातले कर्णाली याक्सबाट उत्कृष्ट खेल खेल्ने अपेक्षा गरिएको छ । हायातले यसअघि पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेलिसकेका छन् । कर्णाली याक्सले धेरै अपेक्षा राखेको खेलाडीमध्ये पाकिस्तानका बायाँहाते खेलाडी तलात पनि एक हुन् । उनले अलराउण्डरको भूमिका निर्वाह गर्नेछन् । दक्षिण अफ्रिकाको एमजान्सी सुपर लिग तथा पाकिस्तान सुपर लिग खेलेका तलातले यसअघि नेपालमा आएर टी २० क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी २० लिगमा उनले विराटनगर सुपर किंग्सबाट खेलेका थिए । नेपालका लागि अर्का परिचित नाम हो वेस्ट इन्डिजका दायाँहाते ब्याटर वाल्टन । जसलाई कर्णाली याक्सले अनुबन्ध ग¥यो । वाल्टनसँग पनि नेपालमा खेलेको अनुभव छ । वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएका उनले यसअघि नेपालमा आएर टी ट्वान्टी क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी२० लिगमा उनले जनकपुर रोयल्सबाट खेलेका थिए । वाल्टनले बङ्गलादेश प्रिमियर लिग, श्रीलङ्का प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, ग्लोबल टी २० लिगजस्ता विश्वका धेरै लिगहरू खेलिसकेका छन् । ओमानका पूर्वकप्तान तथा अलराउण्डर मक्सुद पनि अनभुवी ब्याटर र बलर हुन् । उनले ओमानका लागि थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनीसँग नेपाल आएर खेलेको अनुभवसमेत छ । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा गरिएको छ । कर्णाली याक्सले उनलाई पाँचौँ नम्बरमा अनुबन्ध गरेको थियो । सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चा गर्नुभएको थियो । उहाँले अर्को टी–ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्नसमेत सल्लाह दिनुभएको थियो । कर्णाली याक्सका मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हुनुहुन्छ । उहाँले आफ्नो टोलीको तयारी राम्रो रहेको बताउँदै उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कर्णाली याक्स टोलीको आइकोनिक खेलाडीमा विपिनप्रसाद शर्मा छन्भने ब्राण्ड एम्बासडर नायिका स्वस्तिमा खड्कालाई अनुबन्ध गरेको छ । कर्णाली याक्सले आज नै सिसन बानियाँलाई ‘युथ ब्रान्डएम्बेस्डरमा’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित व्यक्तित्व हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ । प्रतियोगितामा कर्णाली याक्ससँगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।
सर्लाही: सर्लाहीको बलरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बलरा नगरपालिका–९, अचलगढमा ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय रुसतम साहको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर धनीसमेत रहेका चालक साह खेत जोतेर घर फर्कने क्रममा अनियन्त्रित भई ट्याक्टर पल्टिदा त्यसमा च्यापिएका थिए । घटनालगत्तै उहाँलाई उपचारको लागि प्राथमिक स्वास्थ्य संस्था अचलगढ पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं: एसिसी यु–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । क्यानद्वारा यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई बिदाइ गर्नुभएको हो । एसिया कप यही मङ्सिर १४ देखि २३ गतेसम्म हुँदैछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले प्रतियोगिता उद्घाटनकै दिन श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेल १६ गते बङ्गलादेशसँग खेल्नेछ भने तेस्रो खेल १८ गते अफगानिस्तानसँग खेल्ने छ । टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन हुनुहुन्छ भने सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द हुनुहन्छ । मुख्य प्रशिक्षक गौचनले नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली टोलीको कप्तानमा हेमन्त धामी छन्भने उपकप्तानमा अर्जुन कुमाल छन् । त्यस्तै टोलीको अन्य सदस्यमा आकाश त्रिपाठी, रञ्जित कुमार,उत्तम थापामगर, मायन यादव, नरेन साउद, युनिशविक्रम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल र अभिषेक तिवारी छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताउनुभएको छ । स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उहाँको भनाई छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा पोखरामा सञ्चालित १७ औं हिसान स्पोर्ट्स मीट २०८१ को औपचारिक समुद्घाटन गर्दै प्रमुख अतिथि भट्टले स्वस्थताका लागि खेलकुदको महत्वलाई प्रष्ट पार्नुभएको हो । ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । खेलकूद र शिक्षा एक अर्काका पूरक भन्दै उहाँले यसलाई तालमेल मिलाउँदै हिसान कास्कीले विगत १७ वर्षदेखि यस प्रकारका गतिविधि गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘विद्यालयमा विभिन्न क्षेत्र, लिङ्ग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँदछन् । उनीहरूलाई शिक्षासँगै खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ ।’ उहाँले भन्नुभयो । खेलकुद विकासको आधार स्तम्भ विद्यालय रहेको बताउँदै उहाँले दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प नरहेकोमा जोड दिनुभयो । पछिल्लो समय नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको उल्लेख गर्दै उहाँले सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताउनुभयो । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढिरहेको जनाउँदै उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य एवं खेल भविष्यका लागि सानैबाट पहलकदमी लिई जस्ता संस्थाले गरेको गतिविधि प्रशंसायोग्य रहेको बताउनुभयो । आफ्ना सदस्य विद्यालय तथा कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीहरू बीच आपसी मित्रताको अभिवृद्धि गराउने तथा उनीहरूलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्न हिसानको यो खेलकुद कार्यक्रम प्रशंसनीय रहेको उहाँको भनाई छ । निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत देशभर ४० हजार भन्दा बढी विद्यार्थी र १० हजार बढी कर्मचारीहरु छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् । ‘स्वास्थ्य, अनुशासन र प्रतिभा प्रस्फुटनका लागि खेलकुद’ नाराका साथ आयोजित यस १७ औं संस्करणको खेलकुद महोत्सवमा कास्कीका ७५ विद्यालय तथा कलेजहरूका ५ हजार भन्दा बढी विद्यार्थीले दर्जनौं प्रकारका खेलकुद प्रतियोगितामा सहभागिता जनाएको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र रु १ लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील छ भन्नुभयो । त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गर्नुभयो ।

