झापा: खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ । झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको आज स्थलगत अनुगमन गर्दै उहाँले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिनुभएको हो । मन्त्री यादवले मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायलाई निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिनुभयो । सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको सनिचरीस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीसँग छलफल गर्दै मन्त्री यादवले स्थानीयस्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकार आवश्यक नीति र कार्यक्रममार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ ।” मन्त्री यादवले झापाको मेचीनगरमा चारआलीस्थित साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभीट्टास्थित काँकरभीट्टा खानेपानी उपभोक्ता संस्थाको पनि स्थलगत अवलोकन गर्नुभएको थियो । उहाँले स्थानीय तहमा भएका सकारात्मक कार्यको प्रशंसा गर्दै खानेपानी आपूर्ति सुधारका क्रममा देखिएका चुनौती समाधान गर्न सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री यादवले जिल्लामा निर्माण भइरहेका दिसाजन्य लेदो व्यवस्थापन परियोजना र सरसफाइ व्यवस्थापन परियोजनाको पनि अवलोकन गर्दै परियोजनाहरूले झापा र आसपासका क्षेत्रका नागरिकलाई स्वच्छता र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधान गर्न सरकार सक्रिय रहेको भन्दै व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकनमार्फत परियोजनाको प्रगतिबारे जानकारीसहित सुधारका लागि आफू कटिबद्ध रहेको बताउनुभयो । मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज खानेपानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकार नागरिकको जीवनस्तर उकास्न खानेपानी र सरसफाइ सेवा सुधार्न दृढ छ । स्रोतसाधन परिचालन गरी समयमा निर्माणाधीन परियोजना सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ ।” झापाका उपभोक्ता संस्थाहरूका पदाधिकारीले मन्त्री यादवको सक्रियतालाई सकारात्मक कदमका रूपमा व्याख्या गर्दै जिल्लामा निर्माणाधीन खानेपानी परियोजनालाई समयमा सम्पन्न गर्न ऊर्जा थपेको प्रतिक्रिया दिनुभएको थियो । मन्त्री यादवको भ्रमण पश्चात् स्थानीय नागरिकले स्थायी र गुणस्तरीय खानेपानी सेवा प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो लगाएको छ । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ । कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताहरूको कार्यविभाजन गरिएकाले सङ्गठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इञ्चार्ज तोकिएको छ भने अन्य नेताहरूको कार्यविभाजन पनि गरिएको जनाइएको छ ।
काठमाडौं: पाँचदिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गर्नुभएको छ । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गर्नुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिबार नै कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गर्नुभयोे । भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकामा धन्यवाद दिनुभएको थियो ।सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताउनुभएको थियो । “नेपालमा सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट सङ्घीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ”, सभामुखले भन्नुभयो । नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसद्बाट हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसद्ले ‘गार्ड अफ अनर’ दिएको छ । सभामुखले प्रधानमन्त्री सम्देच हुनमानेटको गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगत दशकमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद् र नेपाली जनताले प्रशंसा गर्दछन् ।” सभामुख घिमिरेले नेपाल र कम्बोडिया सरकारबीच भर्खरै सम्पन्न भएको हवाई सेवा सम्झौताले दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्कलाई एकापसमा जोड्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री हुनमानेटसँग अनौपचारिक भेट गर्नुभएको छ । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुग्नुभएका सभामुखले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख आगामी मङ्सिर ११ गते मङ्गलबार स्वदेश फर्कनुहुनेछ ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यहाँ कृत्रिम ताल निर्माण गरिरहेको छ । मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तालले आकार लिन थालिसकेको छ । तालको पूरै काम सकिएपछि यहाँ डुङ्गा शयर गर्न सकिनेछ । यस ठाउँमा ‘वाटर फन पार्क’ बनाउने लक्ष्य छ ।” आँधीमूलमा प्रसिद्ध मन्दिरसमेत रहेकाले धार्मिक पर्यटनलाई जोडेर यहाँ पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको अध्यक्ष चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “आँधीमूल आफैँमा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटकसमेत आउनुहुन्छ । धार्मिक पर्यटनलाई जोडेर यस ठाउँको विकास गर्न चाहेका छौँ ।” यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माणको काम भइरहेको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ । यहाँ ताल निर्माण गरी पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको अध्यक्ष चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार पनि बनाउँछाँै । तालबाट विद्युत् उत्पादनको लक्ष्य छ ।” विद्युत् उत्पादनका लागि निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको छ । गाउँपालिकाले तनहुँ जलविद्युत् आयोजनाका पदाधिकारीसँग तालबाट निकाल्ने सकिने विद्युत्का विषयमा एक चरणको छलफल गरिसकेको छ । आँधीमूल धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको छ । आँधीमूल व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । आँधीमूलमा रहेको मन्दिरमा पूजाआजा तथा घुम्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको थापाले बताउनुभयो । आँधीमूल मन्दिर परिसरमा रहेको पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पुजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको थापाले बताउनुभयो । प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकामा २०३५ सालमा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्गने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् । पृथ्वीराजमार्गदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल नौ सय मिटर सडक कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन छ । –––
पोखरा: पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने)खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको १ सय १ दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले १ वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो । ३ वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि २ पटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम दु्रतगतिमा भइरहेकाले आगामी १ वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताउनुभयो । “तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको छ”, उहाँले भन्नुभयो । ४ लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमी सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छभने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधा चार लेनको बन्ने इञ्जिनियर नेपालले जानकारी दिनुभयो । वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गतगतिमा भइरहेको छ । निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताउनुभयो । पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ । ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये ९ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले रु ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमी लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उहाँले बताउनुभयो । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताउनुभयो । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किमीमा ४ लेन र ५ किमीमा २ लेन सडक कालोपत्र भइसकेको बताउनुभयो । एकचालीस दशमलव ४५ किमी लामो पूर्वी खण्डमा रु ६ अर्ब २१ करोड ३१ लाखमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो । यो खण्डको दमौली र डुम्रे बजारमा ६ लेन र अन्य स्थान ४ लेनको सडक हुनेछ । –––
पोखरा: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पाँचौ पटक कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । गत कात्तिक २५ गते १३ दिनका लागि थप गरिएको म्याद सकिएसँगै आज बिहानै अदालत पुर्याइएको हो । रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पुर्याइएको बताइएको छ । रविविरुद्ध सहकारीको रकम अपचलन, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धान भइरहेको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई रातारात पोखरा ल्याइएको थियो । त्यसयता उनी कास्की प्रहरीकै हिरासतमा छन् । बिहानै अदालत पुर्याइएका लामिछानेविरुद्ध अनुसन्धान बाँकी रहेकोले म्याद थप गर्न अनुमति माग्ने बताइएको छ । त्यसपछि भने, उनलाई काठमाडौँ लैजाने तयारी छ ।
आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ । यसअघि परीक्षणका रूपमा नि:शुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई आजदेखि धरहरा सञ्चालन गर्न लागिएको हो । सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ। त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ।
जुम्ला: यहाँका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् । कृषि विकास कार्यालयले शनिबार किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्ला स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन् । स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई यहाँका किसानले माग गरेका चन्दननाथ नगरपालिका–४ किसान नारायण चौलागाईँले बताउनुभयो । किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरुपता कायम नभएको उहाँको गुनासो छ । उक्त विषयलाई पनि सम्बोध गर्न किसानले माग गरेका थिए । प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गर्न कर्णाली राजमार्गमात्र कालोपत्र हुनुपर्ने तथा स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने चन्दननाथ नगरपालिका–२ का किसान रत्नबहादुर भण्डारीले बताउनुभयो ।वास्तविक किसानले अनुदान नपाएका उहाँको आरोप छ । मुख्यमन्त्री कँडेलसमक्ष किसानले माटो परीक्षण प्रयोगशाला स्थापना, सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यावहारिक ज्ञान दिनुपर्ने र शीतभण्डारको व्यवस्था हुनुपर्ने माग गरेका थिए । जुम्लामा ४ हजार ४ सय ७५ हेक्टरमा स्याउखेती हुने गरेको छ । चालु आवमा रु ६१ करोड ४१ लाख स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।
म्याग्दी: विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आउनुभएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त हुनुहुन्छ । जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उहाँले उत्पादन गरेका प्याज, काउली,ब्रोकाउली,बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ । दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उहाँले बताउनुभयो । मङ्सिर पहिलो सातासम्म विरुवा बिक्री गरेर उहाँले रु २ लाखभन्दा बढी आम्दानी गरेको जानकारी दिनुभयो । “हालसम्म रु २ लाख १० हजार बराबरका बेर्ना बेचेँ । नर्सरीमा विभिन्न जातका बेर्ना हुर्कदै छन् ” उहाँले भन्नुभयो । उहाँको परिवारका ४ सदस्यको इलम पनि बेर्ना उत्पादन भएको छ । बेर्नासँगै उहाँले सागसब्जी पनि लगाउनु भएको छ । जैविक उत्पादन भएकाले ती खरिद गर्न उहाँको बारीमा नै ग्राहकको भीड लाग्ने गरेको छ । बेनी बजारमा पनि उहाँका उत्पादन केही घण्टामा उपभोक्ताका घरमा पुगिसक्छन् । सागसब्जीका बेर्ना खरिद गर्न कार्कीको नर्सरीमा रत्नेचौर,भकुण्डे,गौश्वारा,बगरफाँट,पुलाचौर देखि पर्वतको मल्लाज र बागलुङको कुँडुले,बान्द्रे लगायतका स्थानबाट किसान आउने गरेका छन् । उहाँले १ याममा बेर्ना बेचेर रु २ लाखभन्दा बढी आर्जन गर्दै आएको बताउनुभयो । २ रोपनी जग्गामा उहाँको नर्सरी फैलिएको छ । “बीउ र मलमा रु ३० हजारदेखि ४० हजारसम्म लगानी हुन्छ । एकै सिजनमा रु २ लाखदेखि ३ लाखसम्म आम्दानी गर्न सफल भएको छु”, कार्कीले भन्नुभयो ।

