काठमाडौं: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २२ वर्षीया प्रितिका बास्तोला, चितवनको भरपुर महानगरपालिका–१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका–४ का २५ वर्षीय सुरज कँडेललाई पक्राउ गरेको हो । प्रितिकाले युनाइटेड अरब इमिरेट्स ९युएई० को दुबईका लागि एक जनाबाट रु दुई लाख तथा शारदा र सुरजले संयुक्त अधिराज्य बेलायतका लागि १÷१ जनाबाट रु १÷१ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
नुवाकोट: जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको ८ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो । हिमालय शीतभण्डार प्रालिका सञ्चालक माधव गजुरेलले विसं २०७३ मङ्सिरमा काम सुरु गर्दा १ण् हजार मेट्रिकटन क्षमतामा निर्माणको योजना थालिएको भन्दै सङ्घीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकारको अनुदान सहयोगमा शीतभण्डार क्षमता घटाएर छ हजार मेट्रिकटन बनाइएको जानकारी दिनुभयो । हाल जिल्लामा सञ्चालित पाँच हजार मेट्रिकटन क्षमताका दुईवटा शीतभण्डार रहेकामा अहिले निर्माण भएको जिल्लाकै ठूलो रहेको गजुरेलको भनाइ छ । यहाँ उत्पादित आलु, तरकारी, फलफूललगायत सामग्री राख्न विगतमा ठाउँ अभावले चुनौती भइरहेकामा नयाँ निर्माण भएको शीतभण्डारले किसानलाई सहुलियत शुल्कमा सहज बनाएको शीतभण्डार सञ्चालक गजुरेलले बताउनुभयो । “आलु उत्पादनको लागि पकेट क्षेत्र मानिएको नुवाकोट र रसुवाका किसानले उत्पादन गरेको आलु शीतभण्डारको अभावले खन्ने वित्तिकै कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो”, सञ्चालक गजुरेलले भन्नुभयो, “सहुलियत शुल्कमा शीतभण्डारको व्यवस्था भउपछि किसानले भनेको मूल्य पाउने अपेक्षा लिएका छौँ ।” १३ रोपनी क्षेत्रफलमा रु २५ करोड लागतमा शीतभण्डार निर्माण भएको प्रालिका अध्यक्ष गोपी कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रालिको रु पाँच करोड लागत रहने र बाँकी बागमती प्रदेश सरकारको अनुदान हुने गरी विसं २०७६ माघमा शीतभण्डार बनाउन ठेक्का लगाइएको थियो । १८ महिनामा काम सम्पन्न गर्ने गरी रु १९ करोड ९४ लाखमा रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएकामा निर्माण कम्पनीले लामो समयसम्म काम नगरेपछि प्रालि आफैँले निर्माण गरेको हो । तोकिएको समयमा काम सम्पन्न नहुँदा प्रदेश सरकारले लगाएको ठेक्का रकममा प्रालिले रु ५ करोड लगानी थप गरेर शीतभण्डार तयार गरेको जनाइएको छ । निर्माण गरिएको शीतभण्डार अमेरिकन प्रविधिमा आधारित छ भने किसानले राख्ने सामग्रीमा बिमाको व्यवस्था गरिएकाले भण्डार गरिएका वस्तु सतप्रतिशत सुरक्षित रहने प्रालिले जनाएको छ ।
चितवन: जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले किसानबाट सङ्कलन गरेको दूध प्रशोधन र बजारीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयसम्म बजारीकरणको समस्या दूध बिक्रीबापत भुक्तानी दिन नसकेपछि सहकारीले सङ्कलित दूध प्रशोधन र बजारीकरणको योजना बनाएको हो । जिल्लाका १ सय १५ सहकारीमा दूध सङ्कलन हुने गर्दछ । ती दूध चितवन र बाहिरी जिल्लामा बिक्री हुँदै आएको छ । बिक्री भएको दूधको भुक्तानी लामो समयसम्म नपाउँदा किसान प्रभावित भएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या आएपछि सङ्घले प्रशोधन र बजारीकरण गर्ने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार सङ्घले साधारणसभाबाट उक्त निर्णय गरेर काम अघि बढाएको हो ।बागमती प्रदेश सरकारको सहयोगमा भरतपुरमा चिस्यान केन्द्र बनाउने तयारी गरिएको छ । दुग्ध विकास संस्थानका जिल्लामा रहेका सात चिस्यान केन्द्रबाट दूध सङ्कलन गरी प्रशोधन र बजारीकरण गर्ने तयारी गरिएको बगालेले बताउनुभयो । कृषि मन्त्रालयसँग यस विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । दूध प्रशोधन गरेर पाउडरदूध, पनिर, घिउलगायत दुग्धजन्य पदार्थ सहकारीमार्फत बजारमा लैजाने तयारी सङ्घको छ । सङ्घले यसअघि दाना उत्पादन गरेर सहकारीमार्फत कृषकलाई बिक्री गर्दै आएको छ । अध्यक्ष बगालेले भन्नुभयो, “२–३ महिनाभित्रमा हामी चक्लेट उत्पादन गर्दछौँ, अरु काम क्रमशः हुँदै जान्छ ।” उहाँका अनुसार जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । जसमध्ये १ लाख ५१ हजार सहकारीमार्फत बजारमा जाने गर्दछ । दुग्ध विकास संस्थानसहित २० भन्दा बढी निजी संस्थामा दूध जाने गरेको उहाँले बताउनुभयो । यहाँ सङ्कलन भएको दूध काठमाडौँ, पोखरा, मकवानपुर, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुरलगायत जिल्लामा सञ्चालित निजी डेरीले लैजाने गर्दछन् ।जिल्लाका सहकारीको किसानलाई रु ८० करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ । दुग्ध विकास संस्थानको मात्रै रु ३२ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ भने अरु निजी डेरीको हो । कतिपयको जेठ यताको भुक्तानी बाँकी रहेको भन्दै केही डेरीले नियमित भुक्तानी गरे पनि धेरैको भुक्तानी लामो समयसम्म अड्किँदा किसान प्रभावित बनेका बगालेले उल्लेख गर्नुभयो । कतिपय निजी डेरी सञ्चलकले जिल्ला बाहिर चिस्यान केन्द्र सञ्चालन गरी भारतबाट दूध ल्याएर संस्थानलाई दूध गर्नुका साथै गुणस्तरहिन दूधको बजारीकरण गर्दा स्थानीयस्तरमा उत्पादित दूध बिक्रीमा समस्या भएको सहकारी सङ्घका अध्यक्ष बगालेले बताउनुभयो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी किसानका समस्या समाधान गर्न सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरणको योजना बनाइएको उहाँको भनाइ छ ।
दार्चुला: दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ । हेलिकप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकाया रहेका छन् । उनीहरुलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा आज बिहान म१ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको उक्त जीपमा सवार ८ जनाको मृत्यु भएको थियो ।स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा तथा भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही ठाउँका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो । मृतक विष्ट गोकुलेश्वर बहुमुखी क्याम्पसका शिक्षक तथा लेखक सोही क्याम्पसकी लेखापाल हुन् । यस्तै दुर्घटनामा मृत्यु भएका वीरेन्द्र र शान्ति श्रीमान श्रीमती हुन् । वीरेन्द्र शैल्यशिखर नगरपालिकामा अमिन पदमा कार्यरत थिए । दुर्घटनाका अन्य घाइतेको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गण्डकी: गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा कास्कीमा सबैभन्दा बढी ८ हजार ९ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेङ्गी सङ्क्रम पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो । प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको उहाँको भनाइ छ । प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेङ्गीको सङ्क्रमण देखिएको छैन । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी देखिएकामा गत सेप्टेम्बरमा छ हजार २ सय ६७ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । अक्टुबरमा ६ हजार ४४ र नोभेम्बर सुरु भएयता हालसम्म जम्मा ९ सय ४७ जनामा डेङ्गी देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कास्कीपछि सबैभन्दा बढी तनहुँमा ३ हजार ८ सय १७, पर्वतमा १ हजार ४ सय ३१, बागलुङमा १ हजार ३ सय ८४, गोरखामा १ हजार १ सय २, स्याङ्जामा ७ सय २६, म्याग्दीमा ४ सय ५६, नवलपुरमा २ सय ९७, लमजुङमा १ सय २५, मुस्ताङमा १६ र मनाङमा ६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र ४ प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताउनुभयो । “चिसो याम सुरु भएकाले अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ, फागनुदेखि फेरी सङ्क्रमण बढ्न थाल्छ”, उहाँले भन्नुभयो । डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको छ ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । खानेपानी र विद्युत् सुविधाको अभावमा समुिद्र सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरि प्रकृतिमा रमाउन जाने पर्यटकलाई समस्या भएको हो । घोडेपानीदेखि एकाबिहानै उकालो हिँडेर पुनहिल जाने क्रममा पदमार्गमा उज्यालो, मोबाइल, क्यामेरालगायत सामग्री चार्ज गर्न बिद्युत्, पिउन र शौचालयमा प्रयोग गर्ने पानी नहुँदा समस्या भएको काठमाडौँबाट आएका श्याम रञ्जितकारले गुनासो गर्नुभयो । “अध्यारोमा उकालो हिँड्न पदमार्गमा सडक बत्ती र मोबाइल, क्यामेरामा ब्याट्री सकिँदा पुनहिलमै चार्ज गर्ने सुविधा भए पर्यटकलाई सजिलो हुने थियो,” उहाँले भन्नुभयो “पानीको अभावमा शौचालय जाँदा समस्या भयो । बोकेर लगेको पानी महँगो पर्ने रहेछ् ।” पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले विसं २०८० पुष महिनामा नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले घोडेपानीदेखि १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलसम्म लाइन पु¥याए पनि स्थानीयवासी र गाउँपालिकाले मिटरबक्स जडानमा बेवास्ता गर्दा बिजुली नबोलेको हो । केन्द्रका प्रमुख सत्यनारायण गामीले स्थानीयवासीको माग अनुसार पुनहिलमा करिब रु २५ लाख खर्चेर बिजुलीको लाइन पु¥याइएको बताउनुभयो । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले मिटरबक्स जडानका लागि गाउँपालिकाले बेवास्ता गरेको गुनासो गर्नुभयो । पुनहिलमा घोडेपानीबाट ग्यालिन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ । एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपर्दा पर्यटकले मर्कामा परेको गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पुनहिलको जग्गा गाउँपालिकाको नाममा नभएकाले त्यहाँ मिटरबक्स राख्न समस्या भएको बताउनुभयो । पुनहिल र तातोपानी कुण्डलगायत पर्यटकीयस्थलमा विद्युत् आपूर्तिका लागि एकै पटक ५ वटा मिटरबक्स खरिद गर्न लागिएको उहाँले बताउनुभयो । चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी र त्यो भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन् । पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले रु ४० लाख १ सयमा ठेक्का लगाएको छ ।
सिरहा: सिरहाको मिर्चैैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै रहेको चुनिया खोलामा पानी सुक्दै जानथालेपछि चिन्ता बढेको छ । गाईबस्तुलाई खुवाउने पानीको लागि त्यही खोलामा रसाइरहेको पानीमा आश्रित चमेलीजस्तै यस खोरियागाउँका २६ घरपरिवालाई अब पानीको जोहो कसरी गर्ने चिन्ताले सताएको छ । दैनिक १०÷१५ गाग्री पानी ओसार्ने चमेलीले सुक्दै गरेको खोलातर्फ देखाउँदै सिङ्गो हिउँद समय कसरी पानीको समस्या टार्ने जनाउँदै चिन्ता व्यक्त गर्नुभयो । “दिनदिनै खोलाको पानी सुक्दै जान थाल्यो । अबको एक÷दुई दिनमा गाग्रो भर्नै समस्या होला जस्तो छ”, गाग्रोमा पानी भर्दै गर्नुभएकी उहाँले भन्नुभयो,“हिउँदको छ महिना पूरै गाउँ काकाकुल हुन्छ । खोला, इनार, कुवा सबै सुक्छन् । मान्छेलेसमेत तिर्ख मेट्ने मुस्किल हुन्छ, बस्तुभाउको के कुरा ।” चुरेको फेदमा अवस्थित यो गाउँ सुख्खा क्षेत्र भएकोले बर्सेनि खानेपानीको हाहाकार हुने स्थानीयवासी खड्गबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो,“मङ्सिर नलाग्दै पानीका स्रोत सुक्न थाले । पानीकै चरम अभावले बसाइँ सर्ने अवस्था आइसक्यो । न त अघाउञ्जेल पानी पिउन पाइन्छ, न त कुनै बालिनाली सप्रिन्छ । हाम्रो त उठीबासको अवस्था छ ।” हिउँद समयमा अधिकांश चुरे क्षेत्रका पानीका स्रोत सुक्ने भएकाले दुई घण्टाको बाटो दक्षिणतर्फ धाएर फूलबारियाबाट पानी ओसार्नुपर्ने नियती उहाँले दोहो¥याउनुभयो । २ दशकदेखि खोरिया गाउँमा बस्दै आउनुभएका विश्वकर्माका अनुसार अहिलेसम्म गाउँमा खानेपानी, विद्युत् र सडकसमेत विस्तार भएको छैन । चुनावताका विकासका आश्वासन पाउने गरेपनि सधैँभरी गरिबी, अभाव र पीडामा जिन्दगी चलिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आसैआसमा जिन्दगी जानेभो हजुर । हामी गरिबको लागि कुनै सरकार रहेनछ ।” अन्नको नाउँमा परम्परागत कोदो खेतीमात्र वर्षमा एक पटक उत्पादन गर्नु यहाँका किसानको बाध्यता हो । अन्य बाली खडेरीले खाने विश्वकर्माको भनाइ छ । खोरियागाउँमा पानीको समस्या बारेमा मिर्चैया नगरपालिका बेखबर छैन । गत आर्थिक वर्ष दुई किलोमिटर दक्षिणतर्फ रहेको मौरहामा मधेश प्रदेश सरकारको स्रोतबाट ‘डिपबोरिङ’ गाड्ने भनी अध्ययनसमेत भइसकेको मिर्चैया ७ का वडाध्यक्ष रामदयाल ठाकुर बराहीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा त्यो योजना पूरा गर्नेगरी यस भेगमा अभाव हुने खानेपानीको समस्या समाधान गर्न आँफु लागिपर्ने वडाअध्यक्ष बराहीले प्रतिबद्धता व्यक्त गर्नुभयो । जलवायु परिवर्तनको असरका कारण चुरे क्षेत्रका अधिकांश क्षेत्रका कुवा, इनार र खोला सुक्ने हुँदा नगरपालिकाको मात्र नभएर देशकै लागि चुनौती बन्दै गएको नगरप्रमुख श्रवणकुमार यादवको भनाइ छ । अघिल्लो वर्षको हिउँद समयमा कतिपय सुख्खा क्षेत्रमा ट्र्याक्टरमा पानी ओसारेर गाउँबस्तीतिर वितरण गरेको स्मरण गर्दै स्थानीयको समस्याबारे आफू जानकार रहेको र समस्या समाधानका लागि पहल गरिरहेको उहाँ बताउनुहुन्छ । “नगरपालिकाले चुरेक्षेत्रलाई लक्षित गरि यस आर्थिक वर्षमा तीनवटा डिपबोरिङ सम्पन्न गर्ने लक्ष्य राखेको छ, जसमध्ये वडा नं ९ को घुर्मीमा एउता बोरिङ चालु गरिएको छ । अन्य स्थानमा त्यसका लागि प्राविधिक अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो,“स्थानीय स्रोत र साधनकले मात्र सम्भव छैन । त्यसका लागि प्रदेश तथा केन्द्रमा पनि पहल गरिरहेका छौँ । पानीको चरम अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाउने छौँ ।” उहाँले नगरका उत्तरी भेगका खोरिया, रामपुरा, सुन्दरपुर, ननुवा लगायतका बस्तीमा पानीको समस्या देखिएको र अब एकीकृतरूपमा समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय चुरेक्षेत्रमा पानीका सतह गहिरिँदै जाँदा ठूला ‘डिपबोरिङ’ असफल भइरहेकाले यसको विकल्पका बारेमा योजना बनाउनुपर्ने जानकार बताउँछन् । वातावरणविद् दिनेश यादव भन्नुहुन्छ, “डिपबोरिङ पनि खानेपानी समस्या समाधानकको दीर्घकालीन उपाय होइन भन्ने कुरा अन्य ठाउँका अभ्यासले देखाइसकेको छ । त्यसैले चुरे संरक्षणका साथै यहाँका वन व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण र नदी कटान नियन्त्रणमा तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुको विकल्प छैन ।”
दैलेख: कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् । नारायण नगरपालिका–७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताउनुभयो । सोही नगरपालिका–११ बिन्ध्यवासिनीकी पदमा विकले पनि नौ रोपनीमा गुणे धान फलाउनुभएको छ । केही दिनपछि यो धान भित्र्याउने तयारीमा खत्री र विक हुनुहुन्छ । अन्य धानको तुलनामा गुणेको मूल्य बढी पाइने भएकाले आफूहरूले यो जातको धान लगाएको भैरवी गाउँपालिका–४ डाँडीमाडीका राजकुमारी आचार्यले बताउनुभयो । दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायत स्थानका खेतमा हाल गुणे र कालोगुणे झुलिरहेका छन् । जिल्लाको कुल खेतीयोग्य ४१ हजार १३१ हेक्टरमध्ये झण्डै ८ हजार हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख राजु भूजले बताउनुभयो । १ हजार हेक्टरमा भने हुने गुणेखेती भएको छ । हरेक वर्ष दैलेखमा ३० हजार क्विण्टल टन गुणे धान उत्पादन हुने गरेको भएपनि बजारको माग पूरा हुन नसकेको दैलेखका व्यापारीहरुले बताएका छन् ।
काठमाडौं: गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले राससलाई जानकारी दिनुभयो । “टुकुचाखोलामा भेटिएको पोलियो भाइरस स¥यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना सङ्कलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौँ”, उहाँले भन्नुभयो, “यदि उक्त भाइरस सङ्क्रमण भएको भए खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गरौँ।” गत असारमा काठमाडौँ महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमूना सङ्कलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताउनुभयो । सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । काठमाडौँका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना सङ्कलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताउनुभयो । काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको छ । सन् २०१० यता मुलुकमा पोलियो सङ्क्रमण भेटिएको छैन । पोलियो जीवाणुबाट फैलने पोलियो सङ्क्रामक रोग हो । पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन् ।

