काठमाडौं: यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनय दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापन भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता अर्यालले जानकारी दिनुभयो । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले राससलाई जानकारी दिनुभयो । दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम ९पश्चिम० सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ । पुरुषले कार्यभार सम्हालेका स्थानीय तहमा महिला उम्मेदवार आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ । आयोगको निर्देशनअनुसार जिल्ला समन्वय समिति कैलाली, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख, दोलखाको गौरीशङ्कर, हुम्लाको सर्केगाड, बाजुराको स्वामीकार्तिक खापर र रुकुम पूर्वका पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा महिलाको मात्र उम्मेदवारी दर्ता हुनेछ । आसन्न स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिइसकेको छ । आयोगले २१ वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा कुनै कानूनले अयोग्य नभएको उम्मेदवारको मात्र मनोयन दर्ता गर्न निर्देशन दिएको हो । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ बमोजिम अयोग्य भएको व्यक्ति, गैरनेपाली नागरिक वा नेपालको नागरिक नभएको व्यक्ति र नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिलाई स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार मनोनयन नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । यसैगरी कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ । भ्रष्टाचार, जबरर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्तिको मनोनयत दर्ता हुने छैन । सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति, जातीय भेदभाव तथा छुवाछूत, बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार बन्न नपाउने व्यवस्था छ । कानुनबमोजिम कालोसूचीमा रहेको व्यक्ति कालोसूचीमा रहेको अवधिभर, कुनै कसूरमा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको र प्रचलित कानूनले अयोग्य भएको व्यक्तिको मनोयन दर्ता नहुने आयोगले स्पष्ट पारेको छ । जिल्ला समन्वय समितिको उपनिर्वाचनको हकमा प्रचलित कानून बमोजिम निलम्बनमा रहेका पदाधिकारी उक्त अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले रु ५० हजारसम्म खर्च गर्न सक्नेछ । महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले रु दुई लाख र गाउँपालिकाका वडाध्यक्षले रु एक लाख ५० हजार खर्च गर्न सक्नेछ । उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् ।
पोखरा महानगरपालिका २१ दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ । दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले घाटलाई धार्मिक स्थालको रुपमा विकास गर्न लागेको हो । सेती नदी र फुस्रेखोलाको संगम स्थल (देबिल्लाघाट) धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना भएकाले गुरुयोजना बनाएर धार्मिक क्षेत्रको रुपमा विकास गर्न लागिएको दोबिल्लाघाट संरक्षणा तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीले बताए । १ सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी किनारमा धार्मीक स्थल बनाउन उपयुक्त हुने अध्यक्ष रायमाझीले बताए । धार्मिक स्थाल बनाउने प्रयास स्वरुप समितिले आउदो मंसिर तीन गते सो स्थानमा शिवमन्दीरको शिलान्यास गरिने उनले बताए । देवघाट गहेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दीर सन्यास आश्रमधामका पीठाधीश डा. स्वामी श्री १ हजार ८ आत्मनन्द गिरी महाराज जीको प्रमुख आतिथ्यतामा शिवमन्दीरको शिलन्यास गरिने समितिका उपाध्यक्ष नारायाण गिरिले जानकारी दिए । स्थानीयको सहभागितामा कलश यात्रासहित बिहान सवा ९ बजेको शुभ साइतमा मन्दीरको शिलान्यास हुनेछ । त्यसभन्दा पहिले स्थानीयको सहभागितामा कलय यात्रा १ सय ८ धारासहितको शिवमन्दीर निर्माण हुने समितिले जनाएको छ । घाटमा यस पहिलो शवदाह स्थलमा मलामीको विश्रामका लागि प्रतिक्षालय, अन्त्येष्टिका लागि आवश्यक दाउदा राख्ने गोदामघर निर्माण, वृक्षारोपण र तारवार लगाइएको छ । गुरुयोजना बनाएर व्यवस्थित रुपमा विकास गरिने अध्यक्ष रायमाझीले जानकारी दिए । मन्दीर, आवास भवन निर्माण गर्ने ठुलाएकादशी र शिवरात्रीमा मेला लगाउने समितिको योजना छ ।
काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउनु हुँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको छ । तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्नुहोस् ।” असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व सङ्कलन हुन नसक्ने जनाउनुहुँदै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताउनुभयो । अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजश्वको दायरा बढाएर लक्ष्यअनुसार उपलब्धी हासिल गर्नसक्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषय रहेको उहाँको भनाइ छ । “करदाता र कर प्रशासनबीच सोहार्दपूर्ण वातावरण बनाउन आवश्यक छ । कर प्रशासनले करदातालाई अनुचित ढङ्गले दुःख दिनु हुँदैन”, उहाँले भन्नुभयो । कार्यक्रममा अर्थसचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफै बढ्ने बताउनुभयो । राजस्व प्रशासनलाई कसरी सुधार गर्ने भनेर सरकारले काम गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “हाम्रो जिम्मेवारी कर सङ्कलनसँगै आर्थिक क्रियाकलापसमेत चलायमान बनाउनु हो । मुलुकभित्र लगानीको वातावरण बनाउन सके कर आफै बढ्छ ।” अहिले नेपालको अर्थतन्त्रमा केहि सुस्तता देखिए पनि खराब अवस्थामा भने नरहेको दाबी अर्थसचिव घिमिरेको छ । “हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न । हाम्रो रफ्तार पर्याप्त छैन तर, हिनताबोध गर्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “तरलता सहज अवस्थामा भएपनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन सकेका छैनन् । निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानी मात्रले अर्थतन्त्र सुधार हुन सक्दैन ।” निजी क्षेत्र कसरी चलायमान हुन्छ र लगानी बढ्छ भन्ने कुरामा पर्याप्त छलफल भएको अर्थसचिव घिमिरेले बताउनुभयो । राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको बताउनुभयो । अहिले बजारमा समग्र मागमा सङ्कुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिद्धता उहाँले जनाउनुभयो । त्यस्तै, राजस्व क्षेत्र सुधारका लागि नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने राजस्व सचिव घिमिरेको भनाई छ । व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिरेका व्यवसायी राजबहादुर शाहले राजनीतिक अस्थिरताका कारण मुलुकमा लगानीका लागि उचित वातावरण तयार हुन नसकेको बताउनुभयो । हरेक वर्ष देशभित्र नयाँ उद्योग खुल्नु पर्नेमा पछिल्ला वर्षहरुमा क्रमशः उद्योगहरु बन्द हुँदै गएको पनि उहाँको भनाइ छ ।
पोखरा: हरेकवर्ष स्याङ्जाको पुतलीबजार नगरपालिका–९ कोल्माको बराहचौरमा हुँदै आएको राष्ट्रियस्तरको क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी तिब्र पारिएको छ । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आगामी पुष ८ गते ‘स्वास्थ्यका लागि दौड राष्ट्रका लागि दौड’ भन्ने नारासहित अयोजना गर्ने पाँचौ दौड प्रतियोगिताको तयारी तिब्र पारिएको हो । अहिले प्रचारप्रसारको काम भइरहेको मञ्चका अध्यक्ष दुत प्रसाथ गुरुङले जानकारी दिए । उनका अनुसार राष्ट्रियस्तरको दौड प्रतियोगितामा ४ वटा विधामा प्रतिस्पर्धा हुनेछ । अध्यक्ष गुरुङले खेल पर्यटनको माध्यमबाट कोल्मा बहाकोट क्षेत्रको विकास गर्ने उद्देश्यले हरेकवर्ष दौड प्रतियोगिता गर्दै आएको बताए । प्रतियोगितामा खुला पुरुष, खुला महिला, २१ वर्ष मुनिका र विद्यार्थीहरु (कक्षा ८ देखि १२ सम्म) बीचको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक चित्र गुरुङले बताए । गुरुङका अनुसार खुलातर्फ २५ किलोमिटर, खुला महिला र २१ वर्षमुनिकातर्फ १० किलोमिटर र विद्यार्थीहरुका लागि ५ किलोमिटर दुरी निर्धारण गरिएको छ । कुन विधामा पुरस्कार कति? मञ्चका महासचिव जिवन पोख्रेलका अनुसार खुलातर्फको विजेता धावकले नगद रु ५० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वित्तिय हुने धावकले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, तृतीय हुने धावकले नगद रु ३० हजार, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै खुला महिला र २१ वर्षमुनितर्फ प्रथम, द्वित्तिय र तृतीय हुने धावकले क्रमश: नगद रु १५ हजार, १० हजार र ५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विद्यार्थी विधा तर्फको प्रथम, द्वित्तिय र तृतीय हुनेले क्रमश: नगद रु १२ हजार, ८ हजार र ४ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । धावकहरुको हौसलाका लागि चार वटै विधामा दशौं स्थान हाँसिल गर्ने धावकलाई मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने पोख्रेलले बताए । ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्न सकिने सुचना प्रवाह गर्नै, खेलकुद केन्द्र निर्माण गर्न सहयोग पु¥याउने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले निरन्तर रुपमा प्रतियोगिता गर्दै आएको मञ्चका सचिव थापाले बताए । कोल्मा बराहचौरदेखि सुरु हुने दौड तनहुँ छुनेगरि काउँले– डाँडास्वारा — नाम्चे — काल्खु –खल्लुबोट—राईपुर—विसौना–रामचौतारा–बङ्गाले खोला–सिम्लेस्वारा–ओढारे–खुदी–मड्किना–मड्किना भञ्ज्याङ–सतिडाँडा हुदैं पुन: कोल्मा सम्मको क्षेत्रमा रुट निर्धारण गरिएको छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि फोनमार्फत पनि (९८०४१३९०१२, ९८०५८९१८१३, ९८६२७०१५३९ र ९८६९०८४९२८) नाम दर्ता गर्न सकिने मञ्चका सचिव तथा प्रचारप्रसार संयोजक जिवन थापा मगरले जानकारी दिए । उनका अनुसार मञ्चका विदेश विभाग प्रमुख डोल बहादुर गुरुङको विशेष पहलमा प्रतियोगिता सम्पन्न गर्नका लागि विदेशमा आर्थिक संकलन भइरहेको छ । यस्तै प्रतियोगिताका लागि कोल्मा बहाकोट समाज युके, छिमेकी समाज हङ्कङ, कोल्मा बहाकोट आमा समूह युके, विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन् भने, स्थानीय संघ सस्था तथा स्थानीय सरकारको पनि सहयोग रहेको आयोजकले जनाएको छ । तस्बिरमा हेर्नुहोस्, ४ विधाका रुट
म्याग्दी: अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेका हुन् । कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर व्यवस्थापन गरिएको कार्यक्रमको अगुवाइ गर्नुभएका एसई प्रोडक्सनका सञ्चालक सुरेन गुरुङले जानकारी दिनुभयो । गत कात्तिक २७ गते आधार शिविर पुगेको टोलीले सङ्कलन गरेर ल्याएको तीन बोरा सिसाजन्य फोहर शुक्रबार गाउँपालिकामा बुझाएको थियो । मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा जानकारी दिने सूचना बोर्ड राखिएको छ । सरसफाइ र सूचना बोर्ड राख्न अन्नपूर्ण गाउँपालिका–७ घराम्दी घर भई हाल बेलायतमा रहनुभएका धनकुमार पाइजाले रु एक लाखभन्दा बढी सहयोग गर्नुभएको छ । “पदमार्ग र आधार शिविरमा प्लास्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको थियो”, उहाँले भन्नुभयो, “यहाँको सुन्दरतालाई असर पर्न नदिन कुहिने फोहरलाई खाडलमा गाड्ने र नकुहिनेलाई बोकेर तल झारेका छौँ ।” रेखा मेमोरियल ट्रष्टको सहयोगमा फुतफुते झरना र आधार शिविरमा दुई थान डस्टबिन पनि राखिएको गुरुङले जानकारी दिनुभयो । यसअघि पाइजाको सहयोगमा घराम्दीको पेरीभारानी युवा क्लबको १९ जनाको टोलीले गत असोजको तेस्रो साता र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको अगुवाइमा कात्तिक पहिलो हप्ता सरसफाइ गरिएको थियो । अष्टे«लियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार यस शरदयाममा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । तीन दिनको छोटो अवधिमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरुले खाना, खाजा, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ ।
नवलपरासी: कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना२७प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
हुम्ला: हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामका महिनामा खाद्यान्नको समेत समस्या हुने हुँदा बर्सेनि लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो । सदरमुकाम सिमकोटबाट ५४ कोस दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा बर्सेनि स्थानान्तरण गर्नुपर्ने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । यो वर्ष गत जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् । गत वर्षको कात्तिक १४ गते सिमकोट झरे पनि यो वर्ष कात्तिक २१ गते सदरमुकाम झरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक चोकबहादुर खत्री केसीको नेतृत्वमा खटिँदै आएको सुरक्षाकर्मीको टोली सिमकोट आइपुगेको प्रहरीले जनाएको छ ।
काठमाडौं: “नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ”, गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा तल्लिन स्वतन्त्र प्रताप शाहले रासससँगको कुराकानीको सुरुआतमा भन्नुभयो । ‘सुदूरपश्चिम रोयल्स’का मालिक समेत रहनुभएका उहाँको व्यस्तता पनि उसैगरी बढेको छ, जसरी प्रतियोगिताको ‘चार्म’ बढिरहेको छ । “प्रतियोगिता सुरु हुन धेरै दिन बाँकी छैन, विदेशी खेलाडी अनुबन्धनदेखि प्रायोजकसँगको छलफलले समय निकाल्न पनि मुस्किल भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय ब्रोडकास्टरदेखि खेलाडीको प्रवेशले प्रतियोगितालाई अझ स्तरीय बनाउँदै लगेको छ ।” एनपिएलका आठ टिममध्ये सुदूरपश्चिम रोयल्सलाई शाहको कम्पनी एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले रु एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ मा खरिद गरेको हो । जसरी प्रतियोगिताका आम दर्शक र व्यावसायिक कम्पनीहरुको चासो बढिरहेको छ, यसले एनपिएललाई प्रतिष्ठित र महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको उहाँको बुझाइ छ । दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा रहँदै आउनुभएका शाहले त्यहाँ पनि क्रिकेट क्लब सञ्चालन गरिरहनुभएको छ । “विगत पाँच वर्षदेखि क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा एम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेको छु, त्यहाँ पनि बर्सेनि क्रिकेट लिग आयोजना हुन्छ, यहाँ जस्तै बोलकबोलमा खेलाडी छनोट गरी प्रतियोगिता आयोजना भइरहेको छ”, उहाँले भन्नुभयो, “अष्ट्रेलियामा जागेको क्रिकेटको क्रेजले नै मलाई एनपिएलसम्म डोर्याएको हो ।” स्कुले जीवनमा क्रिकेटमा सामान्य रुचि राख्ने उहाँ कुनै समय तेक्वान्दो खेलाडी हुनुहुन्थ्यो । त्यसबेला तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्टलगायतसँग सहकार्य गरेको उहाँको अनुभव छ । विष्ट अहिले सुदूरपश्चिम रोयल्सको ‘ब्राण्ड एम्बासडर’ समेत हुनुहुन्छ । अध्ययनका सिलसिलामा सिङ्गापुर हुँदै सन् २००३ मा अष्ट्रेलिया पुग्नुभएका कैलालीको टीकापुरका शाहले अष्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरिरहनुभएको छ । सन् १९९८ मा टीकापुरबाट एसएलसीको पढाइ सकाएपछि प्लस टु पढ्न काठमाडौँ आउनुभएका शाह सन् २००१ मा डिप्लोमा इन बिजनेस एडमिनिष्ट्रेसन पढ्न सिङ्गापुर गएकोमा सन् २००३ मा एड्भान्स डिप्लोमा पढ्न उतैबाट अष्ट्रेलिया जानुभएको हो । अष्ट्रेलियामा ‘माइग्रेस ल’को पढाइ सकाएपछि सन् २०१० मा शैक्षिक परामर्श क्षेत्रबाट व्यवसायमा हात हाल्नुभएका उहाँले कुनै समय पाँच वटा रेष्टुरेन्ट समेत सञ्चालन गर्नुभएको थियो । उहाँलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले २०७९ सालमा अष्ट्रेलियाका लागि पर्यटन दूतको महत्वपूर्ण जिम्मेवारी दिएको थियो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिव समेत रहनुभएका शाह सन् २०२१ मा स्थापना भएको अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । महासङ्घको सञ्जाल यतिबेला विश्वका १२ वटा देशमा फैलिएको छ । भविष्यमा ४० देखि ५० देशमा सञ्जाल विस्तार गर्ने र नेपालका लागि केही गरौँ भन्ने युवा उद्यमीहरुलाई अवसर प्रदान गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । यसै मञ्चमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी ल्याउने योजनाअन्तर्गत उहाँको नेतृत्वमा धनगढीमा पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढेको छ । विश्वभर फैलिएका नेपाली युवा उद्यमीलाई एकैठाउँमा ल्याइ नेपालमा सामूहिक लगानीको अवसर सृजना गर्ने र ‘आइडिया’ आदानप्रदान गर्ने उद्देश्यले महासङ्घ गठन गरिएको उहाँको भनाइ छ । महासङ्घले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन यही नोभेम्बर २९ र ३० मा हङहङमा आयोजना गर्दैछ । जसमा विश्वभर छरिएर रहेका दुई सयभन्दा बढी नेपाली युवा उद्यमीको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । शाहको परिचय व्यवसायीका रुपमा मात्रै सीमित छैन, उहाँले केही चलचित्रमा नायकको भूमिमा अभियन समेत गर्नुभएको छ । नेपाली चलचित्र ‘फेसबुक’मार्फत कलाकारितामा प्रवेश गर्नुभएका उहाँले त्यसपछि ‘मेरो भ्यालेन्टाइन’ चलचित्रमा अभिनय गर्नुभयो । सन् २००६ देखि एनआरएनमा आबद्ध शाह सन् २००९ मा एनआरएनको अष्ट्रेलियाको उपाध्यक्ष भइ छ वर्ष काम गर्नुभयो । सन् २०१७ मा एनआरएन अष्ट्रेलियाको अध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभयो भने सन् २०२३ मा काठमाडौँमा सम्पन्न एनआरएनएन अधिवेशनबाट वर्तमान कार्यसमितिको सचिवमा निर्वाचित हुनुभएको हो । नेपाली क्रिकेटप्रतिको माया अष्ट्रेलिया केन्द्रित व्यापार व्यवसाय भए पनि शाहले नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट नियालिरहनुभएको छ । विश्व क्रिकेटमा नेपाली खेलाडीले देखाउँदै आएको खेल कौशल र दर्शकको अपार मायाले उहाँलाई नेपाली क्रिकेटप्रति आकर्षित गरिरहेको छ । उहाँ आफै पनि नेपाली क्रिकेटका ठूला प्रसंशक हुनुहुन्छ । “गत वर्ष श्रीलङ्कामा सम्पन्न एसिया कपमा त्यही पुगेर नेपाली क्रिकेट टोलीलाई हौसला दिनेमा म पनि थिएँ, सम्भव भएसम्म नेपालको खेल प्रत्यक्ष हेरिरहेको हुन्छ, नेपाली खेलाडीको प्रदर्शन पछिल्लो समय निकै प्रसंशायोग्य छ”, उहाँले भन्नुभयो । क्रिकेटप्रतिको यही प्रेमले आफूलाई एनपिएलसम्म डोर्याएको उहाँको भनाइ छ । “नेपालको खेल क्षेत्रमा केही गरौँ भन्ने थियो, यसै क्रममा केही समय अघि नेपाल क्रिकेट सङ्घ ९क्यान०ले एनपिएलको टिमको बोलकबोल आह्वान गर्यो”, उहाँले भन्नुभयो, “नेपाली क्रिकेटसँग आबद्ध हुने यो मेरा लागि अवसर बन्यो ।” शाह एनपिएलकै कारण पनि नेपालमा क्रिकेटको पूर्वाधार निर्माण छिटो गर्नुपर्ने आवश्यकता भएको बताउँछन् । यसप्रकारका प्रतियोगितामा ‘होम’ र ‘अवे’ आधारमा खेल सञ्चालन गर्ने चलन हुन्छ । तर हाम्रोमा पूर्वाधार कमीका कारण अहिले काठमाडौँमा मात्रै सञ्चालन हुँदैछ । अबका केही वर्षमा प्रत्येक प्रदेशमा खेल हुनेमा शाह आशावादी हुनुहुन्छ । “एनपिएल नेपाली क्रिकेट विकासको आधार बन्न सक्छ, चितवन, रुपन्देही, धनगढीलगायतका स्थानमा निर्माणाधीन क्रिकेट मैदान पूरा भएपछि खेलाडीहरुलाई सहज हुनेछ”, उहाँले भन्नुभयो, “एनपिएलकै कारण खेलाडी उत्पादन र विकासमा ठूलो सहयोग पुग्नेछ, राम्रा क्रिकेट खेलाडीलाई आर्थिक अभावकै कारण क्रिकेट छाड्ने वा विदेशिने बाध्यता हट्नेछ ।” उहाँ अष्ट्रेलियाको क्विन्सल्याण्डमा पनि सन् २०१९ देखि ‘क्विन्सल्याण्ड नेपाली क्रिकेट लिग’मा पनि आबद्ध हुनुहुन्छ । भविष्यमा सुदूरपश्चिम रोयल्सका खेलाडीलाई पनि अष्ट्रेलियामा लैजाने र त्यहाँ पनि अवसर दिने योजना बनाएको उहाँको भनाइ छ । उहाँले अष्ट्रेलियाका लागि टी–२० विश्वकप जिताउने टोलीका ब्राड हजलाई सुदूरपश्चिम रोयल्सको ‘मेन्टर’का रुपमा भित्र्याउनुभएको छ । यसले दुई देशबीचको सम्बन्ध थप विस्तार हुनुका साथै नेपाली खेलाडीलाई पनि अष्ट्रेलियामा खेल्ने अवसर प्रदान हुनसक्ने शाहको भनाइ छ । जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्र सिंह ऐरीले गर्नुहुनेछ । उक्त टोलीलाई स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन, न्युजिल्याण्डका बलिङ अलराउण्डर स्कट कुगेलेइन, इङ्ग्ल्याण्डका सेफ अली जेब, यूएईका रोहन मुस्ताफाले साथ दिनेछन् । साथै टोली आरिफ शेख, अभिनाश बोहोरा, बिनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।
इलाम: नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित हुनुभएको हो । बरालले तीन सय ८१ मत प्राप्त गर्दा भट्टराईले एक सय ९५ मत मात्र प्राप्त गर्नुभयो । उपाध्यक्षमा दुई सय ५० मतका साथ उदयबहादुर राई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी उमेश गुरुङले एक सय ८४ र बुद्धिप्रसाद खनालले एक सय ३७ मत मात्र प्राप्त गर्नुभयो । सचिवमा रामप्रसाद सुवेदी (रविन्द्र) निर्वाचित हुनुभयो । उहाँले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गर्नुभयो । सुवेदीले दुई सय ९२ मत पाउँदा अधिकारीले दुई सय ६८ मत प्राप्त गर्नुभयो । उपसचिव (खुला) मा निकटतम प्रतिस्पर्धी छवि श्रेष्ठलाई २६ मतान्तरमा पराजित गर्दै रमेश राई निर्वाचित हुनुभएको छ । राईले एक सय ७० मत प्राप्त गर्दा श्रेष्ठले एक सय ५३ मत प्राप्त गर्नुभयो । अन्य प्रतिस्पर्धी यामबहादुर राईले एक सय ३४ र मानविर लुहागुनले ५६ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै उपसचिव (महिला) मा प्रतिस्पर्धी विष्णुमाया रिमाल (आचार्य) लाई ९२ मतान्तरमा पराजित गर्दै दिलकुमारी लिम्बू निर्वाचित हुनुभएको छ । लिम्बूले तीन सय नौ मत पाउँदा रिमालले दुई सय १७ मत मात्र प्राप्त गर्नुभयो । बिहीबारदेखि सुरु भएको अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसङ्गठन र पेसागत सङ्गठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका पाँच सय ८७ प्रतिनिधि सहभागी थिए । मत भने पाँच सय ८१ मात्र खसेको थियो । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

