गण्डकी: बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त बनेको छ । दैनिक सरदर तीन सय बिरामीले सेवा लिने उक्त केन्द्र साघुँरो र अव्यवस्थित भवनबाट सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा स्वास्थ्य उपकरणकोसमेत अपुगता छ । भवन अभावमा प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन भइरहेको छ । प्रयोगशाला बातानुकूलित हुनुपर्नेमा पङ्खाबाट काम चलाइएको केन्द्रका चिकित्सक जनक खड्काले बताउनुभयो । बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवाका लागि उपयुक्त कोठा नभएको उहाँको भनाइ छ । महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधायुक्त बनाउनेतिर महानगरले चासो नदिएको स्थानीवासीको गुनासो छ । पोखरा महानगरपालिका–८ नयाँबजारमा रहेको उक्त केन्द्र पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट सञ्चालन भइरहेको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताउनुभयो । उहाँले केन्द्रमा पूर्वाधार व्यवस्थापनदेखि सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको बताउनुभयो । सुवेदीले गत असोज १३ गतेदेखि केन्द्र प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । “म आउनुपूर्व केन्द्र झनै लथालिङ्ग अवस्थामा थियो, खानेपानी, शौचालयसमेतको राम्रो सुविधा थिएन”, उहाँले भन्नुभयो, “अहिले भवन मर्मत, रङ्गरोगनलगायत आन्तरिक व्यवस्थापनको काम भइरहेको छ, केन्द्रको परिसरमा पर्खाल लगाउने काम भइरहेको छ ।” प्रमुख सुवेदीले स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर र प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो । खुला ठाउँमा भएकाले केन्द्रको सुरक्षामा पनि चुनौती रहेको उहाँको भनाइ छ । यसअघि सामान्य घेराबारसमेत नहुँदा केन्द्रको भवन परिसरमा सवारीसाधनको पार्किङ गर्ने, दुव्र्यसनमा फसेका युवाहरु सुत्ने आदि गर्दै आएका थिए । बिरामीको चापअनुसार चिकित्सक र स्वास्थ्यकर्मी अपुग रहेको प्रमुख सुवेदीले बताउनुभयो । अस्पतालमा १५ जनाको दरबन्दी रहेको उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् । दरबन्दी अनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ती हुन सकेको छैन । केन्द्रमा इसिजी, थाइराइडलगायतको जाँच गर्ने उपकरणसमेत नरहेको प्रमुख सुवेदीले बताउनुभयो । “उपकरण नहुँदा कतिपय बिरामीलाई अन्यत्रका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामीहरु आउने गरेका छन् । बीमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले केन्द्रमा सेवा लिन आउने बिरामीको जाप बढी हुने गरेको चिकित्सक खड्काले बताउनुभयो । उहाँका अनुसार गत भदौयता झण्डै ११ हजार जनाले उक्त केन्द्रबाट सेवा लिएका छन् । केन्द्रले स्वास्थ्यचौकी तहबाट प्रदान हुने सबै सेवासहित सामान्य सर्जरी, प्रयोगशाला सेवा, सुरक्षित गर्भपतनलगायत सेवा प्रदान गदै आएको छ । प्रयोगशालामा हर्मोनलबाहेकका सबै परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ । “भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई सुविधासम्पन्न नगर अस्पतालका रुपमा विकास गर्न सकिन्छ”, प्रमुख सुवेदीले भन्नुभयो, “यसतर्फ महानगर नेतृत्वको ध्यान जानु जरुरी छ ।’
दार्चुला: दार्चुलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो । दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका–८ निवासी जीप चालक सुनिल जोशी घाइते भएका छन् । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । जात्रा हेरेर फर्किएकाहरु सवार जीप दुर्घटनामा परहेको हो । यो पनि पढ्नुहोस दार्चुलामा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु दार्चुलामा दुर्घटना अपडेटः ७ को मृत्यु, ६ जनाको अवस्था गम्भीर
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी भएर आज बिहान स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसमभाका अध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखकले स्वागत गर्नुभयो । राष्ट्रपतिको स्वागतका लागि मन्त्री,सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।नेपाली सेनाको १ टुकडीले राष्ट्रपतिलाई सम्मानगारतबाट सम्मान गरेको थियो । राष्ट्रपति पौडेल अजरबैजानका आफ्ना समकक्षी इलहम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका जल तथा वातावरणविज्ञ डा परमेश्वर पोखरेल, राष्ट्रपति कार्यालयका सचिव नाराणप्रसाद शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर,राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, राष्ट्रपतिका सञ्चारविज्ञ किरणकुमार पोखरेल पनि स्वदेश फर्कनुभएको छ ।
सिरहा: मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् ।मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ । यहाँका किसानका लागि यो निर्विकल्प खेती हो । वर्षमा १ पटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन् । चुरेको फेदमा अवस्थित यो गाउँ सुक्खा क्षेत्र भएको र सिँचाइ सुविधा नहुँदा कोदोखेतीको विकल्प नभएको यहाँका किसानको भनाइ छ । “बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ । अन्य बालीका लागि सिँचाइको सुविधा छैन । पिउने पानी त नभएर छ महिना समस्या हुन्छ”, स्थानीय हर्कबहादुर परियारले भन्नुभयो, “जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ ।” यतिबेला कोदो पाकेको छ । किसान बाली भित्र्याउने तयारीमा छन् । परियारले दुई कठ्ठा बारीमा कोदो लगाउनुभएको छ । “यो अगौटे बीउको कोदो आजभोलि नै टिप्ने बेला भइसकेको छ । आफ्नो उत्पादनको दुई गेडा अन्न भए पनि स्याहार्नु त पर्यो”, परियारले भन्नुभयो । उहाँले उत्पादन गर्नुभएको १०÷१२ पाथी कोदोले केही महिना मात्र जोहो टर्छ, बाँकी महिना ज्याला मजदुरी गरेर छ जना परिवारको जीविका चलाउनुपर्छ । परियारको जस्तै भनाइ छ सोही बस्तीकी धनसरी विश्वकर्माको पनि । खडेरीले अन्य बाली खाने हुँदा आफूहरूले कोदा रोपेर जीविका चलाउनुपरेको उहाँको भनाइ छ । उहालेँ भन्नुभयो, “मान्छे र गाईवस्तुलाई खानेपानीका लागि छ महिना एक घण्टाको बाटो धाएर पानी बोक्नुपर्छ । भएका कुवा र इनार मङ्सिर नलाग्दै सुक्छन् । यस्तो ठाउँमा कोदोबाहेक अन्य अन्नपात उब्जदैन । मकै रोपे पनि खडेरीले खाइहाल्छ ।” कोदोबाहेक गहत, बोडी र तिललगायतका अन्नपात लगाउने गरेको उहाँले जानकारी दिनुभयो ।उब्जने त्यही कोदो बालीमा पनि स्थानीय सरकार तथा अन्य निकायले उन्नत बीउ तथा अनुदान सहयोग नगरेको यहाँका किसानको गुनासो छ । उत्तरी भेगका करिब १० प्रतिशत किसानले कोदोखेती गरे पनि नगरपालिले हालसम्म कोदोखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै प्रकारको नीति र योजना नरहेको मिर्चैया नगरपालिका कृषि शाखा प्रमुख नागेश्वर हाथीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका किसानलाई कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित नगरले अहिलेसम्म कुनै नीति बनाएको छैन । आगामी दिनमा नगरका तर्फबाट किसानलाई कोदो उत्पादनका लागि प्रोत्साहन, बजार व्यवस्थापन र व्यावसायीकरणका लागि सहयोग गर्न पहल गर्नेछौँ ।” यहाँका कर्जना, मिर्चैया, गोलबजार र धनगढीमाई नगरपालिकाका चुरेफेदका सुक्खा बस्तीका गाउँमा मुख्यगरी कोदोखेती गरिन्छ । कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार जिल्लामा करिब छ सय ४५ हेक्टर जग्गामा कोदोखेती गरिने तथ्याङ्क छ । त्यस्तै ९ सय ६७ मेट्रिक टन कोदो बर्सेनि उत्पादन गरिन्छ । प्रमुख महासेठका अनुसार स्थानीय तहले नै कृषिसम्बन्धी हेर्ने भएकाले किसानको प्रोत्साहनका लागि आफूहरूको कुनै विशेष योजना नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले जिल्लाको दक्षिणी भेगमा पनि यहाँका किसानले कोदोखेती गर्ने गर्थे । तर अहिले उत्तरी भेगमा मात्र सीमित छ । स्थानीय तहले कृषि शाखामार्फत प्रत्यक्ष किसानलाई हेर्ने हुँदा अहिले हामी एक हिसाबले अधिकारविहीनजस्तो भएका छौँ । स्थानीय तहसँग समन्वय गरेर भए पनि किसानलाई कोदोखेतीमा आकर्षित गर्नुपर्ने आवश्यकता छ ।” जिल्लाका परम्परागत बालीनालीको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुने गरे पनि अहिले मुख्य खाना भात भएकाले विभिन्न रोग पनि सँगसँगै आएको खोरिया बस्तीका खड्गबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा कोदोखेती विस्थापित हुँदै गएको छ । बजारका अन्य खानेकुराले मानिसलाई रोगी बनाउँदै छ । सरकारले कोदोखेतीको संरक्षणमा ध्यान नदिँदा सीमित किसानले आफ्ना लागि आवश्यक पर्ने मात्र कोदोखेती गर्ने गरेका छन् ।”
रौतहट: मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको थियो । त्यसैबीच, रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गर्नुभएको छ ।
दार्चुला: दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेको छैन । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । जात्रा हेरेर फर्किएकाहरु सवार जीप दुर्घटनामा परहेको हो । घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ । दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने उहाँको दैनिकी नै हो । ६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गर्नुभएको हो । बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उहाँले मादल बनाउन सिक्नुभएको हो । पुख्र्यौली पेसालाई निरन्तरता दिन आफूले यो पेसालाई अवलम्बन गरेको सार्कीले बताउनुभयो । तर केही समययता मादल बनाउन छाला नपाउँदा उहाँलाई समस्या हुन थालेको छ । “बाबुकै कारणले म यो पेसामा पनि छु, मसँगै सीप सिकेर छोराले खैरेनीटारमा मादल पसल खोलेको छ”, उहाँले भन्नुभयो, “अहिले छाला नपाउँदा मादल बनाउन समस्या हुन थालेको छ ।” नारायणगढ, कावासोती, पुट्टारलगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाइका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयस्तरमा छाला फालिएको छ । नगरपालिकासँग आग्रह गरेको छु । निश्चित शुल्क तिरेर यही छाला किन्न पाए सजिलो हुन्थ्यो ।” उहाँले मादलसँगै सारङ्गी, खैजडी, झ्याली, दमाहा, ढोलकी, टेम्पोलगायत बाद्यवादनका सामग्री बनाउँदै आउनुभएको छ । त्यसका अलवा आरन पेसालाई पनि सँगसँगै अगाडि बढाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “म यो पेसाबाट सन्तुुष्ट नै छु । तर विगतका वर्षजस्तो व्यापार छैन, निर्वाह भने चलेकै छ ।” पछिल्लो समय आधुनिक वाद्यवादनका सामग्री प्रयोग बढी हुँदा मादल बिक्री कम हुन थालेको उहाँको भनाइ छ । यही पेसाबाटै घरखर्च चलिरहेको बताउँदै सार्कीले भन्नुभयो, “अहिलेसम्म चलेको यही पेसाबाटै हो । यसमा सन्तुष्ट नहुनुपर्ने कारण छैन ।”
बैतडी: दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा परेका उहाँले बताउनुभयो । घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उहाँले मृतकको सनाखत हुन बाँकी रहेको बताउनुभयो। घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ । दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
पोखरा: भीमकाली क्लबले चौथों संस्करणको भीमकाली साँझ तथा देउसी भैलो कार्यक्रमबाट संकलितमध्ये केही रकम विभिन्न संस्थालाई सहयोग गरेको छ । पोखरामा महानगरपालिका १ मा क्रियाशिल क्लबले तिन दिने सहयोग कार्यक्रम अन्तरगत १ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । क्लबका सदस्य अनिश गुरुङका अनुसार पहिलो दिन मंगलबार पोखरा १७ छोरेपाटनमा रहेको चाँदनी एनिमल रेस्क्यु एण्ड केयर सेन्टरमा करिब २० हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको हो । उक्त सहयोग केयर सेन्टरका संचालक चाँदनी थापालाई क्लबका सल्लाहकार सूर्यमान गुरुङ, क्लबका अध्यक्ष कृष्ण गुरुङ लगायतले हस्तान्तरण गरे । यस्तै दोस्रो दिन बुधबार पोखरा २३ माझथुमस्थित सिद्धबराह गुरुकुल विद्याश्रममा करिब ४० हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको क्लबका सदस्य अन्जन देवकोटाले जानकारी दिए । उनका अनुसार उक्त विद्याश्रममा चामल ८ बोरा, दाल १ बोरा, सोयाबिन १ बोरा लगायतका अन्य समाग्री सूचना अधिकारी सुरेश लम्साललाई हस्तान्तरण गरिएको हो । यस्तै तेसो दिन बिहीबार ४० हजार बराबरकै पोखरा १ बगरस्थित संस्कृत माविमा अध्ययनरत जेहेन्दार विद्यार्थी तथा बटुकहरुलाई ६० वटा स्वीटर र ६० थान टोपी प्रदान गरिएको हो । उक्त सहयोग समाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीलाई प्रदान गरिएको देवकोटाले बताए । देवकोटाका अनुसार सो सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका सम्पूर्ण पदाधिकारीसहित अन्य सदस्यहरुको सहभागिता रहेको थियो । क्लबले बगरस्थित ट्याक्सीचोकमा गत २० गते आयोजना गरेको चौथों भीमकाली साँझबाट करिब १० लाख बढी रकम संकलन गरेको थियो । सो कार्यक्रमबाट संकलितमध्ये १ लाखको तिन दिने कार्यक्रम घोषणा गरि सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न संस्थालाई सहयोग गरेको क्लबका सचिव चाइना गुरुङले बताए । उनका अनुसार क्लबले हरेकवर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रमबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्चिदै आएको छ । बाँकी रकम भने, रकमको बचत कोषमा सुरक्षित राखिने उनले बताए । क्लबले स्थापना कालदेखि रक्तदान कार्यक्रम, राहात वितरण, सरसफाई कार्यक्रम, लागुऔषधविरुद्ध सचेतना कार्यक्रम, विविध खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

