पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:   नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।  आज संयुक्त रूपमा एनपीएलमा आबद्ध टोलीहरूले नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई रु १० लाख दिने घोषणा गरेका हुन् । युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।  नेपाली यु–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ । यसअघि नेपाल क्रिकेट सङ्घ ९क्यान०ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।  यु–१९ महिला विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ । त्यसअघि नेपालले यु–१९ एसिया कप खेल्नेछ । आगामी मङ्सिर ३० गतेदेखि मलेसियामा हुने एसिसी यु–१९ महिला एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ ।  एसियाली क्रिकेट परिषद् (एसिसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन्भने समूह ‘बी’मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

काठमाडौं:    रक्षामन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्ला नाम्चेमा तैनाथ भगवती प्रसाद गुल्मको निरीक्षण भ्रमण गर्नुभएको छ । त्यस क्रममा उहाँले गुल्मको कार्य, जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस अवसरमा उहाँले सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयका वरिष्ठ संरक्षण अधिकृत, खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडाध्यक्ष र अन्य सुरक्षा निकायका पदाधिकारीसँग त्यस क्षेत्रका गतिविधि र समस्याबारे केन्द्रित रही अन्तक्र्रियासमेत गर्नुभएको जनाइएको छ ।

काठमाडौं:    नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट चुनाव लड्ने कोशी र गण्डकी प्रदेशका उम्मेदवार सर्वसम्मत रूपमा चयन गरेको छ । कोशी प्रदेशको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडाध्यक्ष पदमा भीमकुमार लक्सम्वा, झापा कन्काई नगरपालिका-६ को वडाध्यक्ष पदमा रामगोपाल वली, मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा बलराम सरदार, तेह्रथुम लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष पदमा नगेन्द्र लिम्बू, सुनसरी जिल्ला गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा तेतर साह, ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा टेकराज भट्टराई, ओखलढुङ्गा मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा घनश्याम दाहाल, उदयपुर त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा सञ्जीव काफ्ले र बेलका नगरपालिका–९ को वडाध्यक्ष पदमा नवराज बस्नेतलाई सर्वसम्मत चयन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी गण्डकी प्रदेशअन्तर्गत गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा भाइकाजी आलेलाई सर्वसम्मत चयन गरिएको पनि जनाइएको छ । पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनको मैदानमा सामेल हुन कांग्रेस केन्द्रीय कार्यालयले अनुरोध गरेको छ ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो । आज यहाँ सोमत घिमिरेद्वारा लिखित ‘सामुदायिक समाजवाद’ पुस्तक सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले समाजवाद जबर्जस्ती थोपरेर आउने कुरा नभएको सुनाउनुभयो । कुनै पार्टीका दस्तावेजमा लेखेर या अरु देशको नक्कल गरेर वास्तविक समाजवादको मर्म पूरा नहुने उहाँको भनाइ थियो ।  “वास्तविक समाजवाद न कुनै किताबका पानाबाट निस्कन्छ न पार्टीका उपदेशबाट”, उहाँले भन्नुभयो, “समाजवाद जगैदेखि निर्माण गर्ने कुरा हो । हामीले अब समाजवाद उमार्नु छ, समाजवाद थोपर्नु होइन ।”  अध्यक्ष दाहालले मुलुकमा समाजवादको वैचारिक बहस गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।  पुस्तकका लेखक घिमिरेको लेखनमाथि समीक्षा गर्नुहुँदै उहाँले आफ्नो पार्टीले ‘२१औँ शताब्दीको नयाँ जनवाद’ पुस्तक निकालेर जनताको समाजवादको विषय उठान गर्दै आएको बताउनुभयो । अध्यक्ष दाहालले उक्त दस्तावेजमा असली समाजवादमा जनताको नियन्त्रण, निगरानी र सक्रिय हस्तक्षेपको कुरा उल्लेख गरिएको छ भन्नुभयो ।  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले २०४६ सालदेखि जनताले समाजवादको भाषणमात्रै सुन्दै आएको तर अहिले पनि व्यवहारमा लागू हुन नसकेको टिप्पणी गर्नुभयो । समाजवादले जनताको भोको पेटसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि नेपालको राजनीतिक दल सत्तामुखी भएको बताउनुभयो ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले समाजवादबाटै सीमान्तकृत समुदायको मुक्ति सम्भव हुने र आफ्नो पार्टी यसैका आधारमा सङ्घर्ष रहेको बताउनुभयो ।  आदिवासी जनजाति अधिकारकर्मी सरु सिङ्गक लिम्बूले लेखक घिमिरेको पुस्तकमा समाजवादको वास्तविक मार्गदर्शन चित्रण भएको टिप्पणी गुर्नभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत ९समाजवादी०का नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । घिमिरेको पुस्तक मदानी बुक्सले प्रकाशन गरेको हो । 

काठमाडौं:    वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायुको उच्च जोखिम भोग्ने राष्ट्रको रूपमा रहेकाले जलवायु उत्थानशील दिगो विकास आफ्नो प्राथमिकता भएको बताउनुभएको छ । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा आज ‘वल्र्ड ग्रिन इकोनोमी अर्गनाइजेसन’ (डब्ल्युजीइओ)का अध्यक्ष सईद मोहम्मद अल ताएरसँग भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले उक्त सङ्गठनमा सामेल हुने र यसको सामूहिक प्रयासहरूमा योगदान गर्ने सम्भावित लाभका बारेमा आफूहरू उत्साहित रहेको उल्लेख गर्नुहुँदै कुनै पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय सङ्लग्नतामा नेपालले स्थापित प्रक्रियाहरू पालना गर्ने र सम्बन्धित मन्त्रालयबाट आवश्यक अनुमोदन खोज्ने उल्लेख गर्नुभयो ।  “हामी संयुक्त अरब इमिरेट्स र डब्ल्युजीइओसँँगको सहकार्यका सम्भावित क्षेत्रहरू विशेषगरी नवीकरणीय ऊर्जा, दिगो कृषि र जलवायु वित्तको क्षेत्रमा प्राविधिक तथा वित्त सहयोग, ज्ञान, सीप तथा हरित वित्तका टुल्स हस्तान्तरण तथा क्षमता अभिवृद्धिलगायतका कार्यहरू अन्वेषण गर्न उत्सुक छौँ”, मन्त्री शाहीले भन्नुभयो । यस सहकार्यले नेपालका जलवायु चुनौतीहरूलाई सम्बोधन गर्न र हरित अर्थतन्त्रलाई बढावा दिन महत्वपूर्ण प्रगति हासिल गर्न सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो । त्यस अवसरमा मन्त्रालयका सचिव डा दीपककुमार खरालगायत उपस्थित हुनुहुन्थ्यो ।

काठमाडौं:    नेपाल प्रहरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँले अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रतापुर गाउँपालिका–७ का २४ वर्षीय अमनप्रताप हरिजन रहेका केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालयौन दुर्व्यवहारको सामग्री तयार पारी विद्युतीय माध्यमबाट प्रसारण गरेको विषयमा आवश्यक अनुसन्धान गर्दा निज अमनप्रताप हरिजन खुल्न आएकाले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सहयोगमा बिहीबार पक्राउ गरिएको हो ।” पक्राउ परेका निजउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी आज जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक अवस्थीले बताउनुभयो ।

बाँके:    नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुग्नुभयो ।  बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित भेडा जुधाउँदै आउनुभएका साइला यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ ।  “लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका साइलाले भन्नुभयो, “सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने रु १० हजार छभने त्यसको मूल्य रु २५–३० हजार भइहाल्छ ।” जानकी गाउँपालिका–६ कपासीबाट भेडा जुधाउन आउनुभएका सर्नाम खाँ यो खेल सौखका लागि हुने गरेको बताउनुहुन्छ । “भेडा लडाउने हाम्रो सौख हो, पाल्ने, लडाउने हारेपछि बुच्चडलाई दिने”, खाँले भन्नुभयो, “लडाकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।” उहाँका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडा गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु ३० हजार पर्छ ।  भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरेको जानकी–४ का भेडापालक किसान दौलतप्रसाद यादवले बताउनुभयो ।  मेलामा भेडापालक किसान स्वस्फूर्त रूपमा भेडा जुधाउन आउने गरेको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक टीकाराम यादवकोे भनाइ छ । केही सौखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिक रूपमा भेडा पाल्ने किसान भने नरहेको उहाँले बताउनुभयो ।  जानकी गाउँपालिका–५ स्थित गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न टाढा–टाढाबाट आउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुगेका शालिकराम यादव प्रत्येक वर्ष आउने गरेको बताउनुहुन्छ । गुरुवागाउँका ९५ वर्षीय भगौतिप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखि नै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताउनुहुन्छ ।  “पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैन्थ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएका छन्”, उहाँले भन्नुभयो । भेडा जुधाइ शनिबारसम्म चल्नेछ । 

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई अराजकताबाट मुक्त गरेर परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न पार्टीले जनजागरणसभा गर्न थालिएको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले समाजमा देखिएको अराजकतालाई निरुत्साहित गर्ने कर्तव्य प्रमुख राजनीतिक दलको रहेकाले सभाको आयोजना गर्न थालिएको बताउनुभयो ।  महासचिव पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी रहेको र त्यसका लागि समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो ।  “जनता असन्तुष्ट छन् भन्ने खालको कुरा खडा गर्न खोजिएको छ तर जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्छन् भन्ने सन्देश दिन जरूरी छ, त्यो हिसाबले हामीले जागरणसभा गर्दैछौँ”, उहाँले भन्नुभयो ।   महासचिव पोखरेलले  सरकारका बारेमा उठेका प्रश्नको जवाफ दिने परम्परा विश्वव्यापी नै रहेको उल्लेख गर्नुभयो । “छिमेकी भारतमा पनि प्रधानमन्त्री स्वयंले भाषण गरेर हिँडदै गरेको देखिन्छ ।  सत्तापक्ष भनेको जनताका बीचमा जानै हुँदैन भन्ने होइन”, उहाँले भन्नुभयो, “सत्तापक्ष पनि जनताका बीचमा जान्छ, आफ्नो दृष्टिकोण स्पष्ट पार्दछ । भ्रमहरूलाई चिर्दछ । जनतालाई आवश्वस्त बनाउँछ । निराशालाई आशामा बदल्छ ।” महासचिव पोखरेलले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि संयन्त्र बनाएको धारणा राख्नुभयो । “संयन्त्रले साझा धारणा बनाउने र सरकारलाई सुझाव प्रस्तुत गर्ने काम गर्छ । यसले सरकारको काममा हस्तक्षेप गर्ने होइन । सरकारको कामका लागि संयन्त्रले सहजीकरण र समन्वयको भूमिका मात्र निर्वाह गर्ने हो”, उहाँले भन्नुभयो ।   अहिले मुलुकमा अस्थिरता सृजना गर्नेको मनोबल घटेको महासचिव पोखरेलको भनाइ थियो । उहाँले अगाडि भन्नुभयो, “सरकारमा रहेका राजनीतिक दलको सामूहिक प्रतिबद्धता र प्रमुख राजनीतिक दलले राजनीतिक स्थायित्व खोज्ने जुन सङ्कल्प गरेका छन् त्यसले पनि मुलुकमा अस्थिरता सृजना गर्नेको मनोबल घटेको छ । अन्योलताको अवस्था एक हदसम्म अन्त्य भएको छ ।” पत्रकार सम्मेलनमा बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएकाले जनजागरणसभाको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार सभाका लागि बिहान ११ः३० बजे भद्रकालीबाट सुरु भई र्याली न्युरोड–रत्नपार्क–बागबजार–पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगी सभाआयोजना हुनेछ ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक अस्थिरता र अराजकताविरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्नका लागि जनजागरणसभा आयोजना गर्न थालिएको बताउनुभयो । उहाँले सभाले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्नेसमेत बताउनुभयो ।  एमाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको मुख्य आयोजनामा यही मङ्सिर ७ गते जनजागरणसभा हुँदैछ ।

पोखरा:    महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीका लागि गण्डकी प्रदेशको छलफल तथा सुझाव संकलन कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।    महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी)को आयोजना र युएन वुमनको आर्थिक सहयोगमा महिला अधिकार महासन्धि छायाँ प्रतिवेदनका लागि गण्डकीमा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो ।    आगामी मंसिर ६ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनको तयारीमा रहेको महिला, कानून र विकास मञ्चले सात प्रदेशमध्ये गण्डकी र कोशीमा एकैदिन सुझाव संलकन गरेको हो । मञ्चले मधेश प्रदेशमा मात्र सुझाव संकलन गर्न बाँकी रहेको जनाएको छ ।    महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीका लागि प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन कार्यक्रममा पोखरामा महिला विरुद्ध हुने भेदभाव उन्मूलन तथा महिला अधिकार महासन्धिको धारा १ देखि १६ सम्म छलफलसमेत गरिएको थियो ।   सहभागिहरुलाई ८ समूहमा विभाजन गरि छलफल पश्चात विभिन्न सुझाव दिएका छन् ।      छलफल तथा सुझाव संकलन क्रममा महिला अधिकारकर्मी सरु जोशीले अहिले सहकारीले सबैभन्दा भन्दा महिलालाई पीडित बनाएको बताइन् ।    ‘संविधानमा नै सहकारी सञ्चालनका लागि अनुमति दिएको छ, अहिले केही सहकारीबाट सबैभन्दा बढी महिला नै पीडित छन्’, जोशीले भनिन्, ‘सहकारीबाट ऋण लिएका महिलाहरु अहिले अधिकांश विदेश गएका छन् । ऋण उनीको नाममा छ तिर्नु त पर्याे जसको कारण उनीहरु सुरक्षित र असुरक्षित तबरबाट विदेश गएका छन् ।’   यस्तै उनले एउटै घरका दाजुबहिनीलाई गर्ने व्यवहार फरक भएको भन्दै प्रश्न उठाइन् ।      ‘समानता हामीले व्यवहारमा खोजेका हौं किताबमा होइन’, उनले भनिन्, ‘अहिले पनि एउटै घरमा दाजु बहिनीलाई गर्ने व्यवहार फरक छ, यो विभेद कहिले अन्त्य हुन्छ ?’   उनले गण्डकी प्रदेश सरकारले महिला विरुद्ध हुने भेदभाव उन्मूलनका लागि गरेका कामहरुका बारेमासमेत जानकारी लिनका लागि यो कार्यक्रम आयोजना गरिएको बताइन् ।       महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीको लागि प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन कार्यक्रममा गण्डकी प्रदेशमा क्रियाशिल मानवअधिकारीकर्मी फेडो कास्कीका डिष्ट्रिक प्रोक्जेट कोडिनेटर इश्वरी विक, बार एशोसियसन कास्कीका अध्यक्ष भगवती पहारी, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेल, अधिवक्ता इश्वरी पौडेल लगायत  सहभागीहरुले  सुझाव दिएका छन् ।   सो छलफलमा अधिवक्ता सुस्मा गौतमले महिला अधिकारसम्बन्धि कार्यपत्र प्रस्तुत गरेकी थिइन् । भने, अधिवक्ता कल्पना भण्डारीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।   कार्यक्रममा सहभागिहरुले दिएका सुझावले महासन्धिमा स्थान पाउनेमा विश्वास व्यक्त गरेका थिए ।