पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

तनहुँः   आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो ।  कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको  याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त हुनुहुन्छ ।  समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो । गतवर्ष दुई लाख पचास बराबरको सयपत्री निकासी गरिएको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष रु ८ लाख बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको बताउनुभयो ।    आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिलाहरु व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।  समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ ।  “आज र भोलि आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ”, महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उहाँले भन्नुभयो “केही माला तयार गरी कोल्डस्टोरमा राखिएको छ ।”  फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन् ।  

काठमाडौँः  चाडपर्वका लागि खर्च जुटाउन शङ्खमूलकी ३७ वर्षीया जैसरा दवाडी कामको खोजीमा भौतारिरहनुभएको थियो । जीविकोपार्जनका लागि आफैँले खर्च जुटाउनुपर्ने बाध्यतामा रहनुभएकी उहाँ छोटो समयमा पर्व मनाउने खर्च जुटाउन कामको खोजीमा हुनुहुन्थ्यो ।  काम खोज्ने क्रममा उहाँले एकजना साथीमार्फत काठमाडौँ महानगरपालिकामा रोजगार माग गर्न पाइने सूचना पाउनुभयो ।  तिहार आफैँमा खर्चिलो पर्व भएकाले दवाडीले सुरुमा श्रीमान्लाई निवेदन दिन आग्रह गर्नुभयो । श्रीमती र श्रीमान् भएर पालिकामा पुग्नुभयो र रोजगारको बारेमा सोध्नुभयो ।  सडक र बाटोघाटो सरसफाइमा काम पाइने जानकारी पाएपछि दवाडीका श्रीमान्ले काम नगर्ने जनाउनुभयो । “फोहर उठाउने काम गर्दिन भन्दै श्रीमान् घर फर्किनुभयो”, दवाडीले भन्नुभयो । दवाडीले भने पाएको रोजगारी गुमाउन चाहनुभएन् । उहाँले पालिका वरिपरिको बाटो, पार्क र सडक सफा गर्ने काम सुरु गर्नुभयो ।  ९ दिनका लागि उहाँले ज्यालादारीमा काम पाउनुभएको थियो । दिनको रु सात सय पाउँदा पर्व खर्च जुट्ने भन्दै उहाँको मुहार उज्यालो थियो ।  मङ्गलबार शङ्खमूलस्थित बागमती किनारामा बाढीले ल्याएका फोहरका पोका बटुल्दै उहाँले भन्नुभयो, “काम गर्न के को लाज रु जे जानेको छु, त्यही गर्छु ।”  श्रीमान्ले फोहर उठाउने काम गर्दिन भन्दै कामलाई गरेको अपमानप्रति दवाडी दुःखी हुनुहुन्थ्यो ।  १ सातादेखि ज्यालामा श्रम गर्न पाएकोमा तिहार रमाइलो गरी मनाउन सक्नेमा उहाँ खुसी हुनुहुन्थ्यो ।  सरसफाइ गरेर तिहार खर्च जुटाउने समूहमा हुनुहुन्थ्यो, धादिङकी चाँदनी पुन ।  उहाँको परिवारमा परिश्रम गर्न सक्ने छोराछोरी र श्रीमान् भए पनि उनीहरु मजदुरी गर्न लाज नमानेपछि पुनले आफैँ काममा जाने निर्णय गर्नुभयो ।  उच्चशिक्षा उत्र्तिण गरेको छोरो बेरोजगार भएर घरमा बस्दा ५५ वर्षिया पुन भने सरसफाइ गर्ने रोजगारी पाउनुभएकामा उत्साहित हुनुहुन्थ्यो ।  “छोराछोरी सानोतिनो मजदुरी गर्न मान्दैनन् बरु मोबाइल हेरेर बस्छन्”, पुनले भन्नुभयो, “पेट पाल्नै प¥यो । काम पाउनु ठुलो कुरा हो ।”  उहाँसँगै महानगरको श्रम बैंकबाट सरसफाइको काममा खटिनुभएकी कोटेश्वरकी ज्ञानु मर्हजन (नाम परिवर्तन)ले महानगरको सडक सफा गर्ने रोजगार पाएको कुरा घरमा सुनाउनुभयो । घरमा छोराछोरीले र श्रीमान्ले सडकमा काम गर्न अनुमति नदिए पनि उहाँले भने आर्जनको बाटो गुमाउन चाहनुभएन् । परिवारलाई थाहै नदिइ लुकेर सडकमा सफाइ गर्न आएको महर्जनले बताउनुभयो ।  बेरोजगार बस्नु भन्दा पाएको काम गर्नुपर्छ भन्ने उहाँको बुझाइ छ ।  “परिवारले भने सडकमा रोजगार गर्दा लाज हुने मान्यता राख्छन्”, महर्जनले भन्नुभयो, “मुख छोपेर कसैले न देख्ने गरी काम गर्छु । छोरोछारीले थाहा पाए भने गाली गर्छन् ।”    कामपाले बाढीका कारण फोहर बनेको सहर, बाटो, बगैँचालगायत स्थान सफा गर्न कामदार खटाएको छ । महानगरले श्रम बैंक खोलेर बेरोजगारलाई रोजगार दिने कार्य सञ्चालन गरेको हो । गत साउन, भदौ, असोज र कात्तिकमा श्रम बैंकबाट रोजगार लिने छ सय ४७ जना रहेका महानगरको श्रम बैंक शाखा प्रमुख पवनकुमार ठाकुरले जानकारी दिनुभयो ।  उहाँका अनुसार तीमध्ये ४६ जना अपाङ्गता भएका कामदार छन् ।शाखा प्रमुख ठाकुरले रोजगार लिनेमा महानगरको सरसफाइ व्यवस्थापनदेखि सिभिल इञ्जिनियर पदसम्म रहेका बताउनुभयो ।  अधिकांश काम सडक, सहर र बाटोघाटो सरसफाइमा जनशक्ति सक्रिय रहेका उहाँले उल्लेख गर्नुभयो ।  तथ्याङ्क छुट्याएर नराखिए पनि महानगरको सरसफाइ व्यवस्थापनमा महिला जनशक्ति बढी रहेको ठाकुरले बताउनुभयो । “पुरुष महिला सङ्ख्या छुट्याएका छैनौँ तर, सरसफाइको काममा महिला कर्मचारी बढी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “महानगरको सफाइमा उहाँहरुको योगदान बढी छ ।” काठमाडौँ महानगरपालिकाको महिला समूह परिचालन गर्ने भवानी कपालीका अनुसार सरसफाइमा महिला कामदार सजिलै पाउने गरिएको छ । महिला समूहमा पुग्दा उहाँहरुले महानगरको रोजगारबारे जानकारी दिँदा महिला बढी प्रोत्साहन हुने भएकाले सहभागिता पनि बढी देखिएको उहाँले बताउनुभयो । “कतिपय श्रीमान् घरमा समय खेर फाल्न रुचाउँछन्, सरसफाइ जस्ता काममा आउन नचाहेएको बुझेकी छु”, कपालीले भन्नुभयो, “त्यो भनेको पितृ सत्तात्मक धारणाको असर हो भन्ने मेरो बुझाइ छ ।”  समूहमा स्थलगत अवलोकनमा जाँदा आफूले महानगरमा रोजगारका लागि निवेदन दिनु भनेर सिकाउने गरेको महिला समूह परिचालिका कपालीले बताउनुभयो । धेरै महिलाले सरसफाइका काम गर्न अघि सरे पनि पुरुष कम मात्रामा रुचि देखाउने गरेका उहाँको अनुभव छ ।   

सर्लाहीः   सर्लाहीमा स्यालको आक्रमणबाट  यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् ।  मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन तथा बलरा नगरपालिकाका एक जना घाइते भएका छन् ।  स्यालको आक्रमणबाट बसवरिया गाँउपालिका–१ का १० वर्षीय  रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया  सिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षीय मदैनिया दर्जी र ६ वर्षीय राजु मुखिया, बसवरिया–३ का १५ वर्षीय दीपेन्द्र माझी, बसवरिया–४ का १५ वर्षीया करुणा साह र ६० वर्षीय बद्री मुखिया, गोडैता नगरपालिका–१० का ४० वर्षीया इन्दूदेवी बैठा, ४० वर्षीया प्रेमादेवी मण्डल, सोही ठाउँका ४१ वर्षीय विपद पासवान तथा बलरा नगरपालिका–४ का ६० वर्षीया सोमरी देवी घाइते भएका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।  घाइतेमध्ये इन्दूदेवी र प्रेमादेवीलाई थप उपचाररका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेलाई उपचारका लागि बसबरिया गाउँपालिकाको एम्बुलेन्समा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा पठाइएको छ ।  घाइते केही भने स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घर फर्किएका प्रहरीले जनाएको छ ।   

काठमाडौँः   तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।”   

गण्डकी:    मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ ।           कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे ।  कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ ।       कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको विस्तार गर्नुका साथै नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पु¥याइसकेको छ ।           कोरोला नाकामा चीनले आफ्नोतर्फ भन्सार कार्यालयका साथै अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ ।  गृहमन्त्री रमेश लेखकले आज कार्यालयको शुभारम्भ गर्दै अध्यागमन कार्यालय सञ्चालनसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।   उहाँले दुईदेशका नागरिक आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्वपूर्ण हुने छ भन्नुभयो ।   समुद्र सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा रहेको यो नाकाको गत वर्ष कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।       गण्डकी प्रदेशको उत्तरी भूूभागमा अवस्थित कोरला नाका सञ्चालनमा आएसँगै प्रदेशकै दक्षिणी नाका भारतसँग जोडिने त्रिवेणी रहेका कारण व्यापार प्रवद्र्धन, पर्यटन विस्तार आदिका लागि यो बहुुउपयोगी बन्ने विश्वास लिइएको छ । दुुई ठूला छिमेकी राष्ट्रसँग जोडिएको गण्डकी प्रदेशको समृद्धिमा यो नाका सञ्चालन कोषे ढुङ्गा सावित हुने विश्वास लिइएको छ । 

पोखरा:   हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्यले वर्षौैैँदेखि पर्यटकलाई आकर्षित गर्दै आएको पोखरा–१८ स्थित सराङकोट अब नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । उक्त क्षेत्रमा निर्माणाधीन ६१ फिट अग्लो पञ्चमुखी गणेश मूर्तिले पर्यटन प्रवर्द्धनमा नयाँ आकर्षण थप्न थालेको हो । अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रे हिमालको दृश्यावलोकन तथा सूर्योदय र सूर्यास्तको दृश्यमा रमाउने पर्यटकका लागि सराङकोट विशेष गन्तव्य हो । पछिल्ला दिनमा थपिएका पूर्वाधार र धार्मिक संरचनाले प्राकृतिक सौन्दर्यसँगै धार्मिक पर्यटकलाई लोभ्याएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले ५६ रोपनी जमिनमा उक्त पूर्वाधार बनाइएको हो । रु ४० करोड लगानीमा बृहत् सराङकोट धार्मिक पर्यटन गुरुयोजनामा निर्माण भइरहेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिनुभयो ।  समितिले गुरुयोजना सफल बनाउन र आर्थिक स्रोतका लागि विभिन्न समयमा ५महायज्ञ लगाएर रु ७ करोड आर्थिक स्रोत जुटाउन सफल भएको थियो । तीनै तहका सरकारको रु ४करोड ५० लाख लगानी यस क्षेत्रमा भएको छ । पोखरा महानगरले मात्र रु ३ करोड बढी सहयोग गरेको छ । व्यावसायिक प्रतिष्ठान, सङ्घसंस्था, स्थानीयको सहयोग उत्तिकै जारी रहेको छ ।निर्माण भइरहेको गणेश मूर्तिका लागि निर्माण संयोजक रहनुभएका अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङले आर्थिक स्रोत जुटाएर निर्माणकार्य अगाडि बढाउनुभएको छ ।  रु ७करोडमा गणेश मूर्ति र सहस्रधारा निर्माणमा खर्च हुने अनुमान गरिएको छ ।हालसम्म यहाँको पूर्वाधारमा रु २२ करोड बढी लगानी भइसकेको छ  । मूर्तिको संरचना दक्षिण भारतीय कालिगढहरूद्वारा निर्माण गरिएको हो ।  उक्त क्षेत्रमा गणेश मूर्तिसँगै कैलाशेश्वर शिवमन्दिर, एक सय आठ शिवलिङ्ग, सहस्रधारा, भैरव मन्दिर, चण्डीमन्दिर, भीमकाली मन्दिर, धार्मिक सभाहल, ऐतिहासिक प्रवेशद्वार, व्यवस्थित शौचालय, एक भ्यूटावर रहेका छन् । जिसीका अनुसार सराङकोटको नामाकरण शाहवंशीय राजाले हतियार भण्डारण गर्ने ठाउँका रूपमा प्रयोग गरेको ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित छ । यसैगरी तत्कालीन सेना र प्रहरीले त्यहाँ सराङ खेलको तालिम लिने भएकाले यस स्थानलाई सराङकोट भनिन थालियो । समितिका सदस्य कृष्ण थापाले ऐतिहासिक र धार्मिक महत्व बोकेको यस क्षेत्रका निर्माणाधीन पूर्वाधारले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भूमेकाली मन्दिरको पौराणिक धार्मिक महत्वले यहाँ धेरै भक्तजनलाई आकर्षित गर्दै आएको छ, विशेषगरी पोखरा र आसपासका क्षेत्रबाट दर्शन गर्न भक्तजन आउँछन्, अहिले शिव र गणेश मन्दिरको निर्माणले हिन्दू धर्मावलम्बीका लागि थप आस्था र आकर्षण थप्नेछ ।” पर्यटकीय आकर्षण सराङकोट पोखरा आउने पर्यटकको पहिलो रोजाइमा पर्ने उहाँले बताउनुभयो । विभिन्न सङ्घसंस्थाको समन्वयमा कार्यान्वयन भएको यस परियोजनालाई ‘शिव पञ्चमुखी गणेशधाम’ भनेर नामकरण गरिनेछ, जसले धार्मिक र सांस्कृतिक पर्यटनको नयाँ गन्तव्यका रूपमा यस क्षेत्रलाई स्थापित गर्ने लक्ष्य राखेको छ । देशमा पहिलोपटक निर्माण भइरहेको पञ्चमुखी गणेश मूर्तिले धार्मिक पर्यटनमा नयाँ अवसर सृजना गर्दै पोखराको पर्यटनमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्नुहुन्छ सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजु । “प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र धार्मिक आस्थाको सङ्गमका रूपमा रहेको सराङकोट भारतलगायत अन्य देशका हिन्दू तीर्थयात्रीका लागि आकर्षक गन्तव्य हुनसक्छ”, अध्यक्ष माकाजुले भन्नुभयो । हिन्दू धर्ममा विशेषगरी पञ्चमुखी गणेशको दर्शनले विघ्नबाधा हटाई समृद्धि र सिद्धी प्राप्त हुने विश्वास रहेको र दक्षिण भारतीय पर्यटकबीच गणेश भगवान्को ठूलो आस्था भएकाले यसको प्रचारप्रसारमा पनि जोड दिनुपर्ने उहाँको सुझाव छ । यस क्षेत्रमा विस्तार भएका पूर्वाधारले  पोखरा र सराङकोटका पर्यटन प्रवर्द्धनलाई सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुहुन्छ सराङकोट माउण्टेन लजका कार्यकारी निर्देशक एवं नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विप्लव पौडेल । उहाँ भन्नुहुन्छ, “सराङकोट आफैमा पर्यटकीय गन्तब्य हो, पछिल्लो समय शिव मन्दिर, गणेश मूर्ती लगायतकापुर्वाधारहरुले यहाँको पर्यटनलाई थप चलायमान बनाउने आशा गर्न सकिन्छ”, कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, “पर्यटनको प्रवर्द्घनले स्थानीय व्यवसायमा प्रभाव पार्ने र विशेषगरी होटल र होमस्टे व्यवसायको विस्तार गर्न पनि यसले थप अवसर सृजना गर्दछ ।”  उहाँले विकाससँगै आउने चुनौतीहरूका विषयमा पनि ध्यान दिन आग्रह गर्नुभयो । “धार्मिक पर्यटकलाई आकर्षित गर्ने पूर्वाधारको दिगो व्यवस्थापन र संरक्षण हुनुपर्छ, वातावरणीय संरक्षण र व्यवस्थित यातायातमा पनि उत्तिकै ध्यान दिन जरुरी छ ।” पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक र आध्यात्मिक पूर्वाधारमार्फत पोखरालाई बहुआयामिक पर्यटन थलोका रूपमा विकास गर्न पहल भइरहेको बताउनुभयो ।  “हिमालय शृङ्खला, फेवाताल, र पोखरा उपत्यकाको अनुपम दृश्यले आकर्षित गर्ने यस क्षेत्रले पछिल्लो समय पञ्चमुखी गणेश मूर्ति, शिवमन्दिर र भ्यूटावरजस्ता संरचनाको विकाससँगै पर्यटकीय महत्व थप्दैछ”, सराङकोट केवल सूर्योदय अवलोकनको गन्तव्यमात्र नभई धार्मिक र सांस्कृतिक पर्यटनको केन्द्र बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।   उहाँले सराङकोटको प्राकृतिक सौन्दर्य, धार्मिक, ऐतिहासिक सांस्कृतिक धरोहरको संयोजनले दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “हिमालको मनोरम दृश्यसँगै धार्मिकस्थलहरूको दर्शनले पर्यटकलाई नयाँ अनुभव दिलाउने र पोखरामा उनीहरूको बसाइ लम्ब्याउन सहयोग पुग्नेछ ।” पर्यटकीय राजधानीका रूपमा परिचित पोखरामा नयाँ गन्तव्यको विकास अत्यावश्यक भएको उल्लेख गर्दै आचार्यले महानगरपालिकाले यस अभियानमा निरन्तर लगानी गरिरहेको जानकारी दिनुभयो । सराङकोट क्षेत्रमा मात्र महानगरले रु तीन करोडभन्दा बढी लगानी गरिसकेको उहाँले बताउनुभयो ।    

ललितपुरः   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको सालिकमा माल्यार्पण गरेर उहाँको जन्मशताब्दीका कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । अध्यक्ष दाहालले स्वर्गीय नेता कर्मचार्यको सालिकमा गरेसँगै जन्मशताब्दीका कार्यक्रम आरम्भ भएका नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । “कर्माचार्यको जन्म भएको एक सय वर्ष भयो यो वर्षभरि नै कार्यक्रम गरिँदैछ, आज दिउँसो प्रज्ञा प्रतिष्ठानमा जन्मशताब्दी आरम्भका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ शीर्षकमा विचारगोष्ठी हुँदैछ, देशैभरि कार्यक्रम गर्न पार्टीपङ्क्तिलाई निर्देशन दिइएको छ”, कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो । गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेता मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । विसं १९८१ कात्तिक १४ गते भाइटीकाका दिन ललितपुरको झपाटोलमा बुबा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मनुभएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य हुनुहुन्थ्यो ।  उहाँ २००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो । पार्टी स्थापनापश्चात् कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष बन्नुभएको थियो भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवबहादुर गुरुङ, नेता रामनारायण बिडारीलगायत नेताहरूको उपस्थिति थियो ।  

ढोरपाटन:   १ दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो । खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे । तर हिजोआज जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन् । सीमित खेतबारीमा मात्रै किसानले खेती गर्ने छन् । पहिले हल गोरुको काम अहिले मिनिटेलर (आधुनिक हलो)बाटै हुन थालेको छ । बजार क्षेत्रमा एक दशक अगाडिदेखि नै आधुनिकको प्रयोग गरेर खेतबारी खनजोत गरिए गाउँमा त्यो सुविधा थिएन ।  अहिले यो सुविधा गाउँगाउँ र टोलटोलसम्मै पुगेपछि हल गोरु पाल्न छोडिएको हो । अहिले ग्रामीण क्षेत्रका किसानले अगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ ।  जिल्लाको ढोरपाटन, गलकोट, जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला गाउँपालिकाका एउटै परिवारले दस हलसम्म गोरु पाल्ने गरेको पाइन्थ्यो तर अहिले त्यो अवस्था छैन ।  अहिले बारी खनजोत र बाली लगाउने तथा भित्र्याउने कामका लागि अर्मपर्म गर्ने चलन पनि हटेको छ ।  पछिल्लो समय खनजोतका लागि मिनिटेलर हलो बढी प्रयोगमा आएपछि गोरुले दुई दिनमा सक्ने काम मिनिटेलरले दुई घण्टामै सकिदिन्छ । त्यसले गर्दा किसानको आधुनिक हलोप्रति आकर्षण बढेको गलकोट नगरपालिका–५ का कृष्णबहादुर खत्रीले बताउनुभयो ।  मिनिटेलर हलोले छिटोछिटो जोत्दा समयको बचत हुने र खर्च पनि कम हुने उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, “पाँच÷सात वर्ष पहिला गाउँमा धेरै मान्छे थिए, वरपरका छरछिमेकी भएर अर्मपर्म गथ्र्यौ, गोरु नपाल्ने कोही हुन्थेन, अहिले त युवा जति विदेश गए, हामी बुढाबुढी भयौँ, गोरु पाल्न सक्ने अवस्था छैन, बजारमा गएर हलो किनेर ल्यायो, गोरुले दिन भरि लगाउने काम एकै छिनमा सकिन्छ ।” निसीखोला गाउँपालिका–४ का मनप्रसाद पौडेलले गोरुले खेतबारी जोत्दा समय लाग्ने भए उत्पादन राम्रो हुने तर मिनिटेलरले छिटो भए उत्पादनमा ह्रास आउने बताउनुभयो । मिनिटेलरले बारी गहिरो गरी नजोत्दा मकै, धान धल्ने गरेको सुनाउँदै पहाडी क्षेत्रमा हल गोरु नै ठीक हुने उहाँको अनुभव छ ।  “अहिले गाउँमा गोरु पाल्ने किसान निकै कम छन्, पहिले प्रत्येकको घरमा एक हल गोरु हुन्थे, अहिले मिनिटेलर हलो छ, गोरुले जोत्दा खेतीपाती सप्रिन्थ्यो, उत्पादन राम्रो हुन्थ्यो, तर अहिले धान, गहुँ, मकै कम उब्जनी हुन्छ”, उहाँले भन्नुभयो, “सुरुसुरुमा गाउँमा मिनिटेलर आउँदा प्रयोग गरियो, तर उत्पादन घटेपछि अहिले त ओल्लोपल्लो गाउँमा गएर भए गोरु खोजेरै जोत्ने गरेको छु ।” बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ । अघिल्लो वर्षदेखि नै किसानले रु पाँच हजारका दिन थालेको हो ।  गत वर्ष नगरपालिकाले ८१ किसानलाई प्रोत्साहन रकम प्रदान गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  हाते ट्रयाक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ ।  नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आधुनिकीकरणको नाममा हाम्रो परम्परागत खेती प्रणालीलाई अन्त्य गर्नुहुँदैन, आवश्यकताको आधारमा हेरेर आधुनिकीकरण गर्ने हो, व्यावसायिक खेती गर्न परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो हुन्छ, नगरपालिकाले प्रोत्साहन गर्न थालेपछि किसान पनि खुसी हुनु भएको छ ।”  

बाँकेः  यसपटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धारयात्राअन्तर्गत बाँकेबाट पाँच जना सहयोगापेक्षीको उद्धार भएको छ ।    नेपालगञ्ज उपमहानगरपालिका–१८ बाट २, कोहलपुर नगरपालिका–११ बाट १, जानकी गाउँपालिका–६ बाट १र बैजनाथ गाउँपालिका–१ बाट १जना गरी ५सडक मानवहरूको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।  गत असोज २८ गते झापाको मेचीनगरबाट सुरु भएको यात्रा यहाँ आइपुग्दासम्म एक सय ३९ जना सडकआश्रित मानवको उद्धार भएको छ । उद्धार गरिएकामा एक सय छ पुरुष र ३३ जना महिला छन् ।