पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ । पछिल्ला वर्षमा सयपत्रीको उत्पादन बढेसँगै यसको मालाको कारोबार गर्न पनि व्यापारीलाई भ्याइ नभ्याइ हुने गरको छ । यसपटक माला बिक्रीका लागि भइरहेको प्रतिस्पर्धाले गत वर्षभन्दा मूल्य पनि सस्तो भएको छ । धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन् । धनगढी उपमहानगरपालिकाको मोतिचोकस्थित सनराइज मल्टी एग्रो प्रालिका इन्द्रबहादुर सेठी पुष्पखेती गर्ने किसान बढे पनि यसबाट अपेक्षित आम्दानी गर्न नसकिएको बताउनुहुन्छ ।   “जति माग हुनुपर्ने हो, त्यति भइरहेको छैन । स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास अझैँ भइसकेको छैन, त्यसैले पुष्पखेतीमा लागेकाहरूले उचित मूल्य पाउन सकेका छैनौँ”, उहाँले भन्नभुयो ।   व्यापारीसँग ग्राहकले सयपत्रीका मालाको मोलमोलाइ गरिरहँदा प्रतिमाला रु ६० सम्म पाउने गरेको माला खरिद गरेको भेटिनुभएका धनगढी उपमहानगरपालिका—४का हेमराज भट्टले बताउनुभयो ।   सयपत्री फूलका माला सहज रूपमा पाउन थालेसँगै विगतका वर्षमा जस्तो तिहारका समयमा बाहिरबाट आयात हुने कृत्रिम फूलमाला प्रयोग गर्नुपर्ने बाध्यता भने हटेको उहाँको भनाइ छ ।   “विगतमा तिहार नआउँदै धनगढीलगायत क्षेत्र भारतबाट आयातित कृत्रिम फूलले सिङ्गारेर झकिझकाउ देखिन्थे । भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायत कामका लागि कृत्रिम फूलको कारोबार बढी हुने गरेको थियो । यसपटक भने कृत्रिम फूलको आयात भएको देखिएन । त्यसले स्थानीय उत्पादनले बनार पाएको छ”, भट्टले भन्नुभयो ।   धनगढीको हावापानीमा कर्मा ट्रिपल प्रजातिको सयपत्रीको खेती निकै फस्टाएको छ ।   टिपेको पाँच÷छ दिनसम्म पनि नबिग्रिने भएकाले धेरैले यसैको खेती रोजेका पुष्प व्यवसायीले बताउने गरेका छन् । पुष्पखेतीसँगै फूल टिप्ने र माला उन्ने काममा रोजगारीको अवसर पनि प्राप्त भएको छ ।   धनगढी क्षेत्रमा पुष्पखेती गर्ने किसानहरूको सङ्ख्या करिब ३५ पुगेको बताइएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले बाहिरबाट हुने फूलको आयातलाई रोक्न स्थानीय किसानलाई पुष्पखेती व्यवसायतर्फ उत्प्रेरित गरेपछि पनि यसतर्फ आकर्षण बढेको हो ।   उपमहानले पुष्पखेती प्रवर्द्धनमा जोड दिदै नगर क्षेत्रमा सयपत्री, मखमली जस्ता फूलको खेती गर्न चाहने २६ किसानलाई गतवर्ष तालिमका साथै अन्य प्राविधिक सहयोग गरेको थियो ।   धनगढीलाई प्राकृतिक फूल सङ्कलनको ‘हब’बनाउने लक्ष्यअनुरूप उपमहानगरले प्राकृतिक फूलको प्रवर्द्धनमा जोड दिएको र बाहिरबाट भित्रिने प्लाष्टिजन्य कृत्रिम फूलमालाको कारोबारमा रोक लगाएको जनाएको छ ।   स्थानीय बजारमा बिक्रीका लागि ल्याउने गरिएको सयपत्री फूलमाला प्रतिगोटा कम्तीमा रु ६० देखि रु सयसम्म बिक्री वितरण भइरहेको छ ।

काठमाडौँ:    कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।   स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।   गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।   नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।   वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ ।   पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।   आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो ।   पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।   “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।   विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।   गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।   विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।   काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ । 

नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा एक सय रनमा समेटियो । अष्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए ।   त्यस्तै एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।   नेपालका लागि प्रतिशि जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय ११ रनको योगफल तयार पारेको थियो ।   नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे ।   यसैगरी लोकेश बमले ३३, राशिद खानले र विवेक यादवले समान १२/१२ रन बनाए । अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए । 

काठमाडौँ:   यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिनुभयो ।    “आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,” उहाँले भन्नुभयो, “तर पानी परे पनि क्षणिक रुपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन ।”   अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।   कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक-आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ ।   साता दिनपछि चिसो बढ्ने सम्भावना   अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ ।   जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताउनुभएको छ । “भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ”, उहाँले भन्नुभयो, “कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ ।”   शुक्रबार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ  ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ ।   चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।  

बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको छ । सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ । मङ्गलबारदेखि आएको बाढीले सवारी साधन बगाउने, पुल भत्काउने र शहरहरूलाई फोहरमा डुबाउँदा स्पेनमा दशकौँदेखि सबैभन्दा ठूलो विनाशकारी क्षति पु¥याएको छ । सबैभन्दा धेरै प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा आपत्कालीन सेवा समन्वय गर्ने संस्थाले त्यस क्षेत्रमा मात्र दुई सय दुई जनाको मृत्यु पुष्टि गरेको छ । छिमेकी काष्टिला–ला मान्चा र अन्दालुसिया क्षेत्रका अधिकारीहरूले पहिले नै तीन जनाको मृत्युको घोषणा गरिसकेका छन् ।   ड्रोन र कुकुरहरू सहित उद्धारकर्ताहरू पानीमा हिँडँदै र भग्नावशेषमा मलबामा खोजी गर्दै छन् । सरकारी अधिकारीहरूका अनुसार अझै धेरै व्यक्तिहरू बेपत्ता छन् ।   सरकारले पहिले नै एक हजार दुई सय सैनिक परिचालन गरिसकेको अवस्थामा अर्को पाँच सय सैनिक थप गर्न लागेको छ । बाढी सुरु भएको तीन दिनसम्म केही क्षेत्रहरू खानेपानी, खाद्यान्न र बिजुलीबाट वञ्चित छन् ।   धेरै सडक र रेल मार्गहरू अझै पनि अवरुद्ध हुँदा मृत्यु सङ्ख्या बढ्ने डर छ ।   चिभा शहरकी मेयर अम्पारो फोर्टले सार्वजनिक रेडियोलाई भन्नुभयो, “औद्योगिक क्षेत्रमा अझै पनि गाडीहरूको थुप्रो छ । धेरै गाडी खाली होलान् तर केहीमा मानिसहरू छन् भन्नेमा हामी निश्चित छौँ ।”   राष्ट्रिय मौसम सेवा एइमेटका अनुसार भ्यालेन्सिया शहर पश्चिमतर्फको चिभा शहरमा मङ्गलबार मात्र आठ घण्टामा चार सय ९१ मिमी वर्षा भयो । यो करिब एक वर्षको वर्षासँग बराबर हुन्छ ।

भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूहले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा सरस्वती टीका माध्यमिक विद्यालय द्वितीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगिताका विजयी समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।   पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी तथा   भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले ती समूहलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुुभयो ।   त्यस्तै एकल नृत्य प्रतियोगितामा स्वस्तीका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा बिक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गर्नुुभयो ।   विजयीलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।   सो अवसरमा नेपाली मौलिक कला सहित्य सङ्गीत र अभिनयका क्षेत्रमा कृयाशिल गण्डकी साहित्य संगमका अध्यक्ष साहित्यकार भिम रानाभाटलाई साहित्यका क्षेत्रमा, सनिशा भट्टराईलाई अभिनयका क्षेत्रमा, पुजा भण्डारीलाई अन्तर्राष्ट्रिय बुद्धिचाल खेलाडीका रुपमा र कलाकार सुरेश मल्ल ठकुुरी (टुुकी) लाई गायन तथा सङ्गीतका क्षेत्रमा योगदान पुुर्‍याएको भन्दै सम्मानपत्र, दोसल्लासहित सम्मान गरिएको थियो ।

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । बिहीबार साँझ माथागढीको खहरेबाट फेँदीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले पैदलयात्री ढेँगालाई फेँदीमा ठक्कर दिएको हो ।   ठक्करबाट गम्भीर घाइते भएका ढेँगालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइकोमा चिकित्सकले बिहीबार राति मृत घोषणा गरेको हो ।   ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ ।   १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो । यसपटक तिहार शुरु भएयता बेनी बजारमा देउसीभैलो खेल्ने जम्मा दुई वटा समूह मात्र छन् ।   बेनीको इन्द्रेणीचोकका व्यवसायी किरण कार्कीले यसपाली देउसीभैलोको रौनक नदेखिएको बताउनुभयो ।   “देउसीभैलो खेल्न आएका कलाकार पनि १२ कक्षासम्म अध्ययन गर्ने उमेर समूहका र आमा समूहका मात्र छन,” उहाँले भन्नुभयो “१२ कक्षा उत्तीर्ण गरेका धेरै युवायुवती विदेशिदाको असर देउसीभैलो खेल्ने संस्कृतिमा पनि देखिन थालेको हो ।”   सदरमुकाम बेनी बजार मात्र नभएर म्याग्दीका अधिकांश ठाउँमा पछिल्ला केही वर्षयताको तिहारमा देउसीभैलो खेल्ने युवा युवतिहरु कम रहेका स्थानीयबासीहरु बताउँछन् ।   बजारमा भएका युवा युवतिहरु विदेशिनु र गाउँघरमा धान, कोदो भित्र्याउने, कोदो, गहुँ छर्ने कामको चटारो भएकाले देउसीभैलो खेल्ने कम भएका लोक संगितकर्मी संघ म्याग्दीका अध्यक्ष गोकुल सुनारले बताउनुभयो ।   “देउसीभैलोसँगै विभिन्न किसिमका गितमा नृत्य प्रस्तुत गर्न एउटा समूहमा २० देखि ३० जना कलाकार आवश्यक पर्छ,” द साइनिङ नृत्य समूहको देउसीभैलोमा सहभागी उहाँले भन्नुभयो “पुराना कालाकार विदेशिएपछि नयाँलाई तालिम दिएर नचाएका छौ ।”     कलाकार र युवा पलायनको असर   नाचगानमा राम्रो कला भएका राजकुमार परियार, गोकुल वि.क, सोनिया पुन, मिलन थापामगरलगायत म्याग्दीका कलाकारहरु पछिल्लो एक वर्षयता रोजगारीको शिलशिलामा विदेशिएका सुनारले बताउनुभयो ।   जिल्ला बाहिरका सहर र विदेशमा रहेका म्याग्देलीहरुले भने तिहारको अवसरमा देउसीभैलो खेलेका छन् ।   पोखरामा म्याग्दी–पोखरा चौतारी, पोर्चुगल, बेलायत, अमेरिका, जापान, दक्षिण कोरीया, अस्ट्रेलीयालगायत देशमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा देउसीभैलो खेलीएको छ ।   भेला भएर आफ्नो जातीय पोशाकमा सजिएर मौलिक गीतमा नाचगान सहित देउसीभैलो देखिएको अमेरिकामा रहनुभएका म्याग्दी ताकमका राहुल केसीले बताउनुभयो ।   “बाध्यताले विदेशिनु परेपनि आफ्नो संस्कार र संस्कृति प्यारो लाग्दो रहेछ,” उहाँले भन्नुभयो “हाम्रो सन्तानहरुले चाडपर्व र संस्कृतिको बारेमा सिकुन भनेर पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएका छौ ।”   विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ छ ।   २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ थियो ।   पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ । हाल जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० छ ।   जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्या कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको छ ।   देसीभैलोको उद्देश्य, स्वरुप र शैली फेरियो   पहिले मनोरञ्जनका लागि खेलिने देउसीभैलोको शैली, स्वरुप र उद्देश्य पनि फेरिएको छ ।   संस्कृति संरक्षणसँगै आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो खेल्ने चलन बढेको छ । कलाकारहरुले आफै भट्याउने, बजाउने चलन कम छ । रेकर्ड गित स्पिकरमा बजाएर नाच्ने गरिएको छ ।   यसो हुँदा देउसीभैलोको मौलिक पक्ष ओझेलमा परेको कलाकार अमित विश्वकर्माले बताउनुभयो । प्रविधिको उपयोग र आधुनिकताको अनुशरणसँगै मौलिकतालाई पनि निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।   सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन, युवा क्लव, आमा समूह र विभिन्न संघ संस्थाले कोष स्थापनाको उद्देश्य राखेर देउसीभैलो खेल्ने गरेका छन् ।   देउसीभैलोमा पौराणिक कथा प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेलाई पनि आनन्द लाग्छ ।   देउसीभैलो खेल्न पुगेकाहरूले सम्बन्धित घरको वर्णन गर्दै आफूहरू आउनुको ऐतिहासिक कारण खोल्दै आशिषसमेत दिने चलन छ । घरधनीले पनि त्यस्ता समूहलाई गच्छेअनुसार फलफूल, रोटी र दक्षिणा दिने गर्दछन् ।   देउसी भैलोमा गाइने गीतमा बलिराजाको प्रसंङ्ग जोडिएको पाइन्छ ।   विभिन्न प्रसङ्ग र कथनसँग जोडिएको देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्ने देखिन्छ ।