म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार दसैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी दिनुभयो । बुधबारदेखि शिविरमा आन्तरिक र विदेशी गरी करिब तीन सय पर्यटक रहेको उहाँले बताउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ । सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानवपाईला परेको थियो । फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व गरेका मौरिस हर्जोगको सम्मानमा नारच्याङदेखि अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ । मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधता युक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विस २०६८ मा यस पदमार्गको पहिचान गरिएको थियो । तत्पश्चात् पदमार्ग, आश्रयस्थललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि ठूलो सङ्ख्यामा पर्यटकको आगमन भइरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको भनाइ छ । ‘‘पर्यटकको आगमन बढेको छ, हुमखोलादेखि आधार शिविरसम्मको दुई दिनको पदयात्रामा होटल सुविधा नभएकाले हामीले सामुदायिक लज बनाउने अवधारणा अघि सारेका छौँ, त्यसको लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढेको छ, मन्त्री परिषद्कै निर्णय आवश्यक पर्ने भएकाले तिहारलगत्तै सङ्घीय सरकारमार्फत निर्णय गराउन पहल गर्छौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाले गतवर्ष अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन विकासका लागि एकीकृत गुरुयोजना तयार गरिसकेको छ । गुरुयोजनाअनुसार आधार शिविर र भुसकेट मेलामा लज बनाउन चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको र त्यसको लागि जग्गा व्यवस्थापनको पहल थालिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । यस पदमार्गअन्तर्गत पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ । सडकको पहुँच पुगेको हुमखोलासम्म होटल सुविधा रहे पनि त्यहाँदेखि आधार शिविरसम्म होटल, लजको सुविधा नभएकाले पर्यटक आफैँले खाना बस्नको लागि बन्दोबस्त मिलाएर जानुपर्ने बाध्यता छ । आधार शिविरमा आरोही टेन्ट टाँगेर बस्छन् भने शिविरमै रहेको आश्रयस्थलले आन्तरिक पर्यटकका लागि बास बस्न सहज बनाइदिएको छ । पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, संधिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढु्ङ्गा र आधार शिविरमासमेत आश्रयस्थल निर्माण भएको छ । ठाउँठाउँमा खोला वारपार गर्न झोलुङ्गे पुलनिर्माण भएका छन् । आधार शिविर र पदमार्गको व्यवस्थित पूर्वाधार निर्माण गर्न गाउँपालिकाले एकीकृत गुरुयोजना निर्माण गरेर अघि बढेको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको पर्यटन प्रवर्द्धन गर्न अभियान नै सञ्चालन गरिरहेको जनाएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । पर्यटकको आगमनलाई थप वृद्धि गर्दै पर्यटन विकासका लागि पालिकाले पदमार्गलाई थप स्तरोन्नति गर्ने, सञ्चार, खानेपानीलगायत सुविधाको पहुँच विस्तार गर्ने योजना अघि सारेको गाउँपालिका उपाध्यक्ष क्षदिवाकुमारी तिलिजापुनले बताउनुभयो । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्ने अभियान सार्थक बन्दै गएको उहाँको भनाइ छ । पिताको आरोहणमार्ग पछ्याउँदै माथिएस आधारशिविरमा अन्नपूर्णमा पहिलो मानवपाइला टेक्ने मौरिस अर्जोगका छोरा माथिएस पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण आधार शिविरमा पुग्नुभएको छ । अन्नपूर्ण हिमालको पहिलो आरोहण गरेर कीर्तिमानी बनाउनुभएका फ्रान्सेली आरोही हर्जोगका छोरा माथिएस बुबाले आरोहण गरेको पदमार्ग हुँदै आरोहण आधार शिविर पुग्नुभएको हो । ७५ वर्षअघि पिता हिँडेको मार्ग हुँदै शनिबार उहाँ उहाँ पुगेर फर्किनुभएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो । माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड तालनजिक राखिएको पितामौरिसको सालिकमा माल्यार्पणसमेत गर्नुभएको थियो । आगामी सन २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा हुने र त्यस अवसरमा माथिएसले ८२ वर्षीया आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताउनुभयो । माथिएसले आफ्नो बुबाले आरोहण गरेको ठाउँमा आउन पाउँदा आफूलाई गौरबको अनुभूति भएको बतानुभएको थियो । पिताले लेखेको ‘द अन्नपूर्ण’ किताबलाई नेपालीलगायत अन्य भाषाहरूमा पनि अनुवाद गरेर प्रकाशित गर्ने माथिएसले बताउनुभएको छ । सर्वोच्च शिखर सगरमाथामा मानवपाइला पुग्नुभन्दा तीन वर्षअघि ३ जुन १९५० मा मौरिससहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो । हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरणसमेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड तालन जिकमौरिसको सालिकसमेत राखेको छ ।
सङ्खुवासभा: मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उहाँले बताउनुभयो । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरु पनि भारतीय नागरिक नै हुन् । उनीहरुको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं: नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ । नरक चतुर्दशी आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत रहेको आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले त्यस्तो आत्मसमीक्षा पार्टीको दस्तावेज, नेता र कार्यकर्ताको तहमा हुनुपर्ने बताउनुभयो । “कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैँभित्र र पार्टीभित्र आत्मसमीक्षा गरौँ । अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौँ”, अध्यक्ष दाहालले भन्नुभयो । क्रान्तिकारीहरूले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताउनुभयो । “म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु”– अध्यक्ष दाहालले भन्नुभयो, “म आदर्शका रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ ।” सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिए पनि हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध नलडी अरुलाई परास्त गर्न नसकिने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले, भन्नुभयो, “हिजो व्यापक कम्युनिष्ट एकता गरेर समावादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं । सँगै मिलेर चुनाव पनि लड्यौँ तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो । अब पहिले आफैँभित्रै वैचारिक स्पष्टताका लागि संघर्ष गरौं । त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौँ ।”
काठमाडौं: सत्तारूढ दल नेपाली कांग्रेसले ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति’ गठन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति गठन गरेको जानकारी दिनुभयो । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) बमोजिम पार्टीका महामन्त्री शर्माको संयोजकत्वमा उक्त समिति गठन गर्नुभएको हो । समितिको सदस्यमा पार्टीका सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव र जीवन परियार साथै प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य रहनुभएको छ । यस्तै, उक्त समितिको सदस्य सचिवमा प्रकाश शर्मा रहनुभएको मुख्यसचिव पौडेलले बताउनुभयो ।
काठमाडौं: नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन । साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन् । खेलको ८१औं मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बङ्गदेशको पोल्टामा पुग्यो ।
काठमाडौँः १ सय १६ औँ लक्ष्मीजयन्ती तथा तिहारका अवसरमा कपन साहित्य समाजका आयोजनामा आज स्थानीय स्थानीय आकाशेधारास्थित ‘यात्री स्मृति सभाकक्ष’ मा शारदीय कविता वाचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख एवं कवि अनिता लामा, समाजका अध्यक्ष गणेशकुमार मिश्र, महासचिव लक्ष्मण अधिकारी, सचिव त्रिलोचन आचार्य तथा स्थानीय साहित्यकार ओमप्रसाद कोइराला, ढुण्डिराज मरासिनी, बिसुकुमार केसी, थरेन्द्र बराल, भारद्वाज मित्र, श्याम रिमाल, विनोद दाहाल ‘वत्स’, माधवलाल श्रेष्ठ, पुरुषोत्तम नेपाल, रत्न उप्रेती, बद्री आचार्य, होमकुमारी दुलाल, श्यामा पन्त, पवित्रा चिमोरिया, कमला खनाल, अग्रता नेपाललगायतले देशप्रेम, आमाप्रतिको ममता, उपभोक्तावादी संस्कृति आदि विषयमा आआफ्ना कविता तथा महाकवि देवकोटाका कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख लामाले अरूले आ–आफ्नै किसिमले चाडबाड मनाए पनि साहित्यकारहरूले भने साहित्य सिर्जना र वाचन गरेर मनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय राजनीतिकर्मी एवं समाजसेवी लक्ष्मीप्रसाद सङ्ग्रौलाले कपनमा साहित्य, कला, संस्कृति विस्तार गर्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा सहभागी कविहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । समाजले बर्सेनि एकजनालाई ‘यात्री स्मृति सम्मान’, समय समयमा ‘कपन दर्पण’ सँगालो ९चार अङ्कसम्म० र ‘कविता क्यालेन्डर’ वार्षिक भित्रेपात्रो प्रकाशन, कृति विमोचनलगायत अन्य साहित्यिक कार्यक्रम पनि गर्दैआएको छ । साहित्यकार तथा अन्वेषक पूर्णप्रकाश नेपाल यात्री, साहित्यप्रेमी तथा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायतका सक्रियतामा बूढानीलकण्ठ–१० मा विसं २०६१ मा समाज स्थापना भएको थियो ।
कञ्चनपुरः कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ । केही तरकारी क्यारी बनाएर रोपिएका छन् ।केही तरकारी परिसर छेउमै बनाइएको पोलिहाउसभित्र रोपिएका छन् । उन्नत बढी मह उत्पादन गर्ने एपिस मेलिफेरा जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन् । घारमा मौरीपालन गरिएको छ । बारीमा लगाइएका बोटबिरुवामा मल राख्नका लागि गड्यौँलापालनको कार्य पनि गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाका कर्मचारीले कार्यालय परिसरमा बारी तयार गर्ने, बीउ रोप्ने, गोडमेल गर्ने, आवश्यकताका आधारमा मल राख्ने, सिँचाइ गर्ने लगायतका कार्य गर्दै आएका छन् । व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउनका लागि करेसाबारी तयार गरिएको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताउनुभयो । “करेसाबारीसँगै पोलिहाउसमा उन्नत जातका तरकारीका बिरुवा रोपिएका छन्”, उहाँले भन्नुभयो, “किसानलाई उन्नत जातको बीउ छनोट गर्ने तरिका, उन्नत बीउको प्रयोग गरे कुन तरिकाले बढी उत्पादन लिन सकिन्छ भन्ने कुरा बारीमै लगेर सिकाउँछौँ, त्यसैका लागि यो बारी तयार गरेका छौँ ।” पोलिहाउसभित्र कसरी तरकारीखेती गर्ने भन्नेबारे पनि किसानलाई सिकाउने कार्य हुँदै आएको उहाँको भनाइ छ । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भई दीर्घकालीन रोग देखापर्न थालेको उल्लेख गर्दै शाखा प्रमुख धामीले जैविक विधिको प्रयोग गरी मल तयार गर्नका लागि गड्यौँलापालन कसरी गर्ने, त्यसबाट उत्पादित मल खेतबारीमा कसरी हाल्ने भन्नेबारे किसानलाई जानकारी दिने गरेको बताउनुभयो । मेलिफेरालाई उन्नत जातको मौरीका रुपमा चिनिन्छ । यस मौरीको एक घारबाट वर्षमा ६० किलो बढी मह उत्पादन गर्न सकिन्छ । मौरीपालनमा लागेका किसानलाई उन्नत जातको मौरीपालन गरी बढी आम्दानी लिन सकिन्छ भन्ने जानकारी दिनका लागि घार राखेर मौरीपालन गरिएको शाखा प्रमुख धामीको भनाइ रहेको छ । कार्यालय परिसरमा बनाइएको बारी किसानको आकर्षणको केन्द्र बनेको छ । बारीको अवलोकनका लागि दैनिक कृषि विषय पढ्ने विद्यार्थीसँगै किसान अवलोकनका लागि पुग्ने गरेका छन् । किसानलाई सैद्धान्तिक ज्ञानसँगै प्रत्यक्ष रुपमा अवलोकन गराइने गरिएको छ ।
ढोरपाटनः नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई म्याग्दीबाट जोड्न थालिएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि दरबाङ–मुना–मरेनीदेखि पातीहाल्ना हुँदै ढोरपाटन जलजला जोड्न थालिएको हो । बागलुङतर्फबाट एक दशकअगाडि नै ढोरपाटन जोडिए पनि म्याग्दीबाट अझै १० किलोमिटर ‘ट्र्याक’ खुलाउन बाँकी रहेको छ । विसं २०६७ मा दरबाङबाट सुरु भएको सडकको ट्र्याकले अझै पूर्णता पाएको छैन । सङ्घीय सरकारले उक्त सडकका लागि यस वर्ष पनि बजेट विनियोजन गरेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत सडकको काम सुरु हुन थालेको हो । उक्त सडकको ट्र्याक खोल्नका लागि सङ्घीय सरकारले यस वर्ष रु पाँच करोड विनियोजन गरेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो । गत वर्ष पनि रु दुई करोड विनयोजन भएको हुँदा उक्त बजेटले पाँच किलोमिटर सडक खुलाएको उहाँको भनाइ छ । यस वर्ष ढोरपाटनसम्मै सडक पु¥याउनका लागि ठेक्का प्रक्रिया अगाडि बढेको अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गत वर्ष पनि त्यो सडकमा हामीहरुले काम गरेका थियौँ, यस वर्ष पनि बजेट आएको छ, भौगोलिक कठिनाइका कारण अहिलेसम्म ढोरपाटन जोड्न सकिएको छैन, चालु आर्थिक वर्षको बजेटले पनि भ्याउँछ कि भ्याउँदैन, ठेक्का प्रक्रिया अगाडि बढेको छ, पोहोर साल झन्डै पाँच किलोमिटर सडकको ट्र्याक खुलाएका थियौँ, यस वर्ष पनि अब केही दिनमा काम सुरु गर्छौं ।” धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले धवलागिरि–२ मरेनीदेखि पातीहाल्नेसम्मको १० किलोमिटर ट्र्याक खुलेपछि ढोरपाटन जोडिने बताउनुभयो । म्याग्दी सदरमुकाम बेनी बजारदेखि पातीहाल्नासम्म ८६ किलोमिटर दूरी रहेकामा हालसम्म करिब ७६ किलोमिटर सडक खुलेको उहाँको भनाइ छ । यो सडक ‘पर्यटकीय सडक’ हुने निश्चित रहेको भन्दै काठमाडौँ, पोखरा लगायतका सहरदेखि ढोरपाटन पुग्ने पर्यटकलाई छोटो पर्ने उपाध्यक्ष पुन बताउनुहुन्छ । “यो सडक निर्माण गर्न थालेको धेरै समय भयो, सडक खुलेर ढोरपाटनदेखि यातायात सञ्चालन हुन थाले भने म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका नागरिकलाई यातायातमा सहज हुने नै भयो”, पुनले भन्नुभयो, “त्यसका साथै म्याग्दी हुँदै ढोरपाटन पुग्ने पर्यटकलाई पनि धेरै छिटो हुने थियो, सडक सञ्चालनमा आयो भने ढोरपाटनमा ठूलो सङ्ख्यामा पर्यटक बढ्ने सम्भावना छ ।”

