मुस्ताङ:  मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...

सुनसरी:  सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

पोखरा:   श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा–८ रत्नचोकको आयोजनामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ ।  विगतका वर्षहरुमा जस्तै श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा आगामी अषाढ ३१ गते श्रावण कृष्ण पञ्चमी देखि श्रावण ३१ भाद्र कृष्ण अष्टमी सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको आयोजना गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्री कृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।  एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा आगामी असार ३१ गते पोखरामा कलश यात्रा सहित कार्यक्रमको शुभारम्भ गरिने बताउदै अध्यक्ष ढकालले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि श्रद्धालु भक्तजनहरुको साथ र सहयोगले कार्यक्रमले सफलता पाउने बताए ।  आषाढ ३१ गतेदेखि सुरु हुने एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन कार्यक्रम हुने र उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गर्ने  समितिका उपाध्यक्ष कार्यक्रम संयोजक केशव प्रसाद बरालले जानकारी दिए ।   बिगतका वर्षहरुमा सञ्चालित श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा पोखरेली तथा छिमेकी जिल्लाका भक्तजनहरुको उल्लासपूर्ण उपस्थितीले कार्यक्रम सम्पन्न भएको र यसपटक पनि भक्तजनहरुको साथ र सहयोग सहित कार्यक्रममा सहभागीताका लागि समितिका सचिव लक्ष्मण बरालले आग्रह गरेका छन ।

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाँडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो । विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यवसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफैँ उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारीखेती गरिएको जानकारी दिए । ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाडेर तरकारीखेती गरेका हुन् । बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् ।  करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक पाँच हजार रुपैयाँ तिर्नेगरी भाडामा लिएका छन् । विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनउपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् ।  गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमूना आवासीय माविका प्रधानाध्यापक शेरबहादुर केसीले बताए । छात्राबासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उनको भनाइ छ । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा एक लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रम सञ्चालन गरेको बताए । गत वर्ष तीन लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनको भनाइ छ ।

काठमाडौं:   हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहनेछ।  कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना छ ।

पोखरा:  संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा विशन क्षेत्री निर्वाचित भएका छन् । पोखरामा आज भएको मञ्चको छैटौँ साधारण सभा तथा चौँथो अधिवेशनबाट विशन अध्यक्ष निर्वाचित भएका हुन् । उनले २० मत प्राप्त गरे । उनका प्रतिष्पर्धी रोहितराज पराजुलीले १६ मत पाए । युवराज श्रेष्ठलाई १० मतले पराजित गर्दे अनुप पौडेल उपाध्यक्ष निर्वाचित भए । पौडेलले २३ र श्रेष्ठले १३ मत पाए । सचिवमा युवराज गुरुङ युनिस र सहसचिवमा उमा आलेमगर सर्वसम्मत चयन भए । फणिन्द्र अधिकारीलाई २ मतले हराउँदै ऋषिराम बराल कोषाध्यक्ष निर्वाचित भए । बरालले १९ र फणीन्द्रले १७ मत पाए । सदस्यहरु निर्विरोध निर्वाचित भए ।   दुर्गा राना, प्रतिक्षा काफ्ले, सुबास पौडेल, चन्द्रिका घिमिरे अनिता, सञ्चय रानाभाट र विमल तिवारी चयन भए ।

झापा:  प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताउनुभएको छ।  नेकपा (एमाले) को जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः  राष्ट्रिय शक्ति बनाएको बताउनुभयो।  केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरुको खेल भएको टिप्पणी गर्दै  उहाँले पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गर्नुभयो। ‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पुरा हुँदैन। एमाले साना स्वार्थ बोक्ने पार्टी होइन। यसको काँधमा देश बनाउने महान उद्देश्य छ। यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो’, अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेविरुद्ध जाल बुन्नेहरु सफल हुँदैनन्। माकुरोको जालोमा कहिल्यै भैसी पर्दैन। हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन। केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी  सहकारी ठगेर मुद्दा  झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन।’’  उहाँले नेपाललाई एमालेले नसके अरु कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौं  विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताउनुभयो।  अहिले नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरेको जनाउनुभयो।

काठमाडौं:    नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटको तयारीका लागि मोहम्मद आदिल आलमसहित ३२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले आइतबार खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । यसअघि खेल मिलेमतोको आरोप लागेका आदिल करिब तीन वर्षपछि प्रशिक्षण टोलीमा अटाउनुभएको हो । उहाँ मिलेमतोको आरोपमा प्रतिबन्धमा पर्नुभएको थियो । आरोप प्रमाणित नभएपछि उहाँ प्रतिबन्ध फुकुवा हुनुभएको थियो । यस्तै टोलीमा यु–१९ टोलीका युवराज खत्रीले पनि स्थान बनाउनुभएको छ ।  अक्टोबरमा ओमानमा आयोजना हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कुवेत र जापान परेको छ । पहिलो चरणको प्रतिस्पर्धामा सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । यस्तै समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार रहेको छ । समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र समओले रहेको छ । छनोट खेल अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा हुनेछ । सिंगल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् ।  सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् । छनोट खेलअघि नेपालले अस्ट्रेलिया भ्रमण गर्नेछ । त्यहाँ नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ ।  प्रशिक्षणमा परेका खेलाडी  रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भिम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतीस जिसी, ललित राजवंशी, कमलसिंह ऐरि, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दीपेन्द्र सिंह ऐरि, रुपेश सिंह, बसिर अहमद, युवराज खत्री, किरण ठगुन्ना, मोहम्मद आदिल अलाम, पवन शराफ, शेर मल्ल, शुभ कंसाकर र अर्जुन घर्ती । 

झापा:  प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज(आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो ।  प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आव्हान गर्नुभयो ।  उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।

पोखरा:   अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्दै छ । फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको बताएको छ । बागमती प्रदेशमा कमिटि गठन गरी सकेको र गण्डकी प्रदेशमा कमिटि गठनका लागि संयोजक तोकेको फिनेका आइसी महासचिब दिपेन घलेले बताए । गण्डकी प्रदेशमा पर्यटन व्यवसायी कृष्ण आचार्यलाई संयोजक तोकेको छ । अगस्ट २ तारिकमा पोखरामा भेला गरेर समिति बनाउने आचार्यले बताए । विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न संस्थाको स्थापना गरेको महासचिब घलेले बताए । उनले फिने विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरूलाई जोड्ने विश्वव्यापी सञ्जाल बनेको बताए । उनले अहिले सम्म १२ देशमा कमिटि विस्तार भैसकेको र अन्य देशमा पनि थपिदै जाने बताए । नेपालमा पहिले सबै प्रदेशमा कमिटि गठन गरेपछि नेपाल कमिटि बनाउने महासंघका नेपाल संयोजक रामशरण थापाले बताए । उनले संस्थाको उद्देश्य सहयोग, मार्गदर्शन, र व्यवसायिक अवसरहरूको माध्यमबाट नेपाली उद्यमीहरूलाई सशक्त बनाउने रहेको उल्लेख गरे । युवा उद्यमीहरूलाई जोड्ने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र विश्वव्यापी नेपाली व्यवसायिक समुदायको दिगो विकासलाई अघि बढाउन महत्वपूर्ण मञ्च भएको उनको भनाई छ । कार्यक्रममा बागमति प्रदेश कमिटीका संयोजक कृष्ण खतिवडा, सल्लाहारका रामकुमार थपलिया लगाएतले शुभकामना दिए ।