दाङ: दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ । बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का १८ वार्षिय कुशल बुढामगर र तुलसीपुर उपमहानगरपालिका ७ का १८ वर्षका बिधान केसी रहेको प्रहरीले जनाएको छ । ६ जनाको समुहमा साथीहरुसँग घुम्न गएका मध्ये ३ जना पौडीखेल्न खोलामा पसेको र एक जना पौडिएर बाहिर निस्किए पनि दुई जना डुबेर बेपत्ता भएका थिए ।
काठमाडौं: सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्य रहनु भएको छ । सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उहाँले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । यो समितिलाई पनि उहाँको योग्यता र कार्यशैलीप्रति छानबिन गर्ने कार्यादेश दिइएको छ । सरकारले समिति गठन गरेसँगै ओझा स्वतः निलम्बित हुनुभएको छ । अख्तियारले फर्जी काजजात पेस गरेको जान्दाजान्दै के आधारमा नियुक्ति दिइएको हो भन्ने प्रश्न उठाएपछि छानविनका लागि सरकारले समिति गठन गरेको हो ।
काभ्रेपलाञ्चोक: बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो । सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो । उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो । रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।
दाङ: दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल सिस्ने खोलामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनास्थलमा पुगेका स्थानीयले दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा सम्पन्न भएको ओपन फुटसल प्रतियोगिताको उपाधि रामघाट ह्वाइटले जितेको छ । बक्स पोखराले असार २७ देखि २९ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरेको ओपन फुटसल प्रतियोगिताको फाइनल खेलमा रामघाट ह्वाइटले ड्याडिज किचेनलाई २–१ ले गोल पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको रामघाट ह्वाइटले १ लाख ७० हजार र उपविजेता भएको ड्याडिज किचेनले १ लाख रुपैयाँसहित ट्रफी मेडलर प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा २६ समूहले सहभागिता जनाएको थिए । प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च भएको बक्स पोखराका अध्यक्ष प्रदिप गुरुङले बताए । अध्यक्ष गुरुङले खेलकदु मात्र नभएर सामाजिक सेवाको उद्धेश्यले प्रतियोगिता आयोजना गरेको बताए । बक्स पोखराले आगामी दिनमा पनि यस्ता सामाजिक उद्देश्यका लागि खेलकुद कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।
पोखरा: जब प्रकृति, संस्कृति र आतिथ्य एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यको सङ्गम हो भन्दा फरक पर्दैन । यहाँको मौलिक संस्कृति र यहाँबाट देखिने हिमश्रृङ्खलाका सुन्दर दृश्यले पर्यटकलाई लोभ्याइरहेको छ । पर्यटन राजधानी पोखराबाट करिब ६० किलोमिटरको दूरी र अन्नपूर्ण हिमालको काखमा लुट्पुटिएको घान्द्रुक पर्यटकीय गाउँ मात्रै होइन, गुरुङ जातिको जीवन्त सङ्ग्र्रहालय पनि हो । जहाँ ढुङ्गाले छाएका घरहरू, सफा र चिटिक्क परेका गल्लीहरू, हँसिला अनुहार र मुस्कुराइरहेका हिमालले घान्द्रुकलाई जीवन्त बनाएका छन् । काठमाडौँबाट घुम्न आउनुभएका शिक्षक छवि थापाले आँखै अगाडिको सुन्दर हिमाल र गुरुङ समुदायको आतिथ्यताबाट आफू निकै प्रभावित भएको बताउनुभयो । “बर्खायाम घुम्नका लागि उपयुक्त होइन भन्दाभन्दै पनि हामी घान्द्रुक आइपुगेका थियौँ, यहाँ आइसकेपछिको आनन्द बेग्लै पायौँ, बादलको घुम्टोभित्र लुकेको हिमालसँगै स्थानीयको आत्मीयताले हामीलाई लोभ्यायो”, उहाँले भन्नुभयो । पतिसँगै घुम्न आउनुभएकी बेसींसहरकी अनुजा न्यौपानेले यहाँको शान्त वातावरण र सुन्दर हिमालका दृश्यले यहाँ आइपुग्दाको थकान मेटाइदिएको अनुभव सुनाउनुभयो । “घान्द्रुकका बारेमा जति सुनिएको थियो, त्योभन्दा धेरै पाएँ, यहाँको सुन्दरता र आतिथ्य सधैंभरि सम्झनामा रहनेछ”, उहाँले भन्नुभयो । पर्यटन प्रवर्द्धनको कार्यक्रम लिएर घान्द्रुक आइपुग्नुभएका गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) गण्डकीका पूर्वअध्यक्ष नवराज अधिकारीले घान्द्रुक गुरुङ समुदायको जीवन्त संस्कृति र परम्परा धानेको गाउँ भएको बताउनुभयो । “घान्द्रुक गुरुङ संस्कृतिको एउटा धरोहर हो, यहाँका घरहरूको वास्तुकला अद्वितीय छ, ढुङ्गाले बनेका र स्लेटले छाएका परम्परागत घरहरूले गाउँलाई मौलिक रुप दिएका छन्, सफा र चिटिक्क परेका ढुङ्गे गल्लीहरूमा हिँड्दा बेग्लै आभास हुन्छ ।” पूर्वअध्यक्ष अधिकारीले गाउँमा निर्माण भएको गुरुङ सङ्ग्रहालयले गुरुङ जातिको परम्परागत जीवनशैली, प्रयोग गर्ने भाँडाकुँडा, हतियार र वेशभूषाको जीवन्त प्रदर्शनी गरेको बताउनुभयो । “हामीले प्रवर्द्धन गर्ने भनेको यही मौलिकता र आत्मीयपन हो, जसले पर्यटकलाई पटक–पटक यहाँ आउन प्रेरित गर्छ ।” यहाँका अधिकांश घरबास (होमस्टे) महिलाले सञ्चालन गरेका छन् । यसले महिलालाई आर्थिक सशक्तीकरणमा पनि टेवा पुर्याएको पूर्वअध्यक्ष अधिकारीको भनाइ छ । घान्द्रुकमा आशीष होमस्टे सञ्चालन गर्दै आउनुभएका हरिमाया गुरुङले घान्द्रुक आउने पर्यटकका कारण आफूहरु आर्थिक रुपमा आत्मनिर्भर भएको बताउनुहुन्छ । “घान्द्रुक हाम्रो जीवन र पहिचान हो, पाहुनालाई पारिवारिक वातावरणमा सेवा दिइरहेका छौँ, त्यसैले उहाँहरु फर्किफर्की आउनुहुन्छ”, उहाँले भन्नुभयो, “चुल्होचौकोबाट सुरु भएको मेरो यात्रा आज पर्यटन र आत्मनिर्भरताको कथा बनेको छ । हिमाल हेरेर हुर्किएका हामी महिलाहरू, आज आफ्नै खुट्टामा उभिएर संसारलाई स्वागत गरिरहेका छौँ ।” पछिल्लो समय यहाँका स्थानीयका लागि पर्यटन आयआर्जनको मुख्य स्रोत हो । होटल सञ्चालक विभिमाया गुरुङले भन्नुभयो, “होमस्टेमा आउने पाहुनाहरु यहाँको रहनसहन संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउने गर्छन्, हामीले पनि सकेसम्म राम्रो आतिथ्य प्रदान गर्दछौँ, पाहुनाहरुले विशेष गरी यहाँको सुन्दरता र परिकारमा बढी रमाउनुहुन्छ ।” पछिल्लो समय उहाँमा नयाँ पुस्ताले होमस्टे एवं होटल सञ्चालनमा चासो नदेखाउँदा घान्द्रुकको मौलिकता र सुन्दरता हराउने हो कि भन्ने चिन्ता छ । “नयाँ पुस्ता गाउँमा दुःख गर्न खोज्दैन, विदेश जाने रहरले गर्दा आफ्नो मौलिक पहिचान बोकेको घान्द्रुकको विशेषता लोप हुने हो कि भन्ने चिन्ता पो लाग्छ मलाइ त”, उहाँले भन्नुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले घान्द्रुक पर्यटकीय गाउँ भएकाले यसको विकासका लागि पर्यटन केन्द्रित कार्यक्रममा जोड दिएको बताउनुभयो । घान्द्रुक देश विदेशका पर्यटकको घुम्न आउने गन्तव्यको रुपमा विकास भएको उहाँको भनाइ छ । अध्यक्ष केसीले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा पर्यटन विकासका लागि रु। २० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ सञ्चालित अधिकांश होटल र घरबास (होमस्टे) हरूले पर्यटकलाई व्यावसायिक सेवा मात्र नभई पारिवारिक वातावरण प्रदान गर्छन् । यहाँ आउने पर्यटकले विशेष गरी कोदोको ढिँडो, गुन्द्रुकको अचार, सिस्नुको तरकारी र लोकल कुखुराको मासु मन पराउने गरेको उहाँको भनाइ छ । हिमशृङ्खला, चियावगान, मेश्रमबराहसँगै गाउँमा रहेको पुरानो गुरुङ सङ्ग्र्रहालय पर्यटकहरूका लागि अर्को आकर्षणको केन्द्र हो, जहाँ गुरुङ जातिको ऐतिहासिक रहनसहन, प्रयोग गरिने सामग्रीहरू र वेशभूषाहरूको अवलोकन गर्न सकिन्छ । साँझपख आमा समूहहरूले प्रस्तुत गर्ने परम्परागत सांस्कृतिक नाच (घाँटु, सोरठी) ले पर्यटकलाई गुरुङ संस्कृतिमा अझ नजिकबाट साक्षात्कार गराउँछ । घान्द्रुकमा प्राकृतिक सुन्दरता मात्र होइन, लोकजीवन, संस्कृति, अर्गानिक कृषि, पारम्परिक खाना, घरपसल र महिलाहरूको आत्मनिर्भरता पनि पर्यटकहरूका लागि आकर्षण बनेको छ । फागुन चैतमा ढकमक्क फुल्ने गुराँसको सौन्दर्य यस गाउँको थप विशेषता हो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो । उहाँका अनुसार राष्ट्रपतिले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन् ।
ढोरपाटन: यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फुलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ । एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटक निकै कम थिए । जनैपूर्णिमामा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजनबाहेक अन्य पर्यटक कमै पुग्थे । दर्शनका लागि पुगेको भक्तजनलाई फाँटैभरी फूलेको वनफूलले छुनै सकेको थिएन । तर पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटक रङ्गीचङ्गी वनफूलसँग पिरती नगाँसी फर्किनन् । खासगरी बर्खाको समयमा ढोरपाटन बढी रमणीय देखिन्छ । अझ पाटनभरी फूलेका वनफूलले यहाँको सुन्दरतालाई बढाएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रचारले वनफुलसँग तस्बिर र भिडियो खिच्न आउने पर्यटक बढी रहेका छन् । यो याममा दैनिक दुई सय बढी पर्यटक वनफूलसँग रमाउन ढोरपाटन उपत्यकामा पुग्ने गरेका छन् । स्थानीयले राके फूलका रुपमा चिन्ने वनफूललाई ढोरपाटा सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ । फूलसँग रमाउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटमा चहलपहल बढेको छ । देशका ठूला सहरबाट बढी पर्यटक रमाउन आउने गरेका छन् । फूलसँग रमाउन आउने पर्यटकको सङ्ख्या बढेपछि ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसाय फस्टाउन थालेका छन् । पहिले ढोरपाटन आउने पर्यटकले खास्सै चासो नदिए पनि हरेक पर्यटकको ध्यान पाटनभरी फुलेका फूलले खिच्ने गरेको होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा घुम्न आउने पर्यटकको सङ्ख्या अत्यधिक बढेको भन्दै फूलसँग रमाउने बढी भएको उहाँको भनाइ छ । पहिले खान बस्नका लागि सुविधा नहुँदा पर्यटक कम आउने गरेको स्मरण गर्दै अहिले धेरै होटल तथा घरबास (होम–स्टे) सञ्चालनमा आएपछि ढोरपाटन घुम्नेका लागि पहिलो रोजाइ परेको घर्ती मगर बताउनुहुन्छ । वनफूललाई पर्यटकले अत्यधिक रुचाएपछि त्यसको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो– “वनफूलको पहिले खास्सै महत्व थिएन, मान्छेहरु मन्दिरमा आएर पूजा गरेर जान्थे तर अहिले पाटननै घुम्ने गरी आउँछन्, त्यसले गर्दा उनीहरुको रोजाई वनफूल परेको छ, वनफूलले पछिल्लो समय हजारौँ पर्यटकलाई आकर्षित गरेको छ, यसको संरक्षण भने हुन सकेको छैन, स्थानीय, सिकार आरक्ष र सरकारले पनि संरक्षणमा ध्यान दिनुपर्छ, नत्र पछि यो फूल मासिन पनि सक्छ ।” वनफूल पाटनैभरी फूल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् । वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ । पछिल्लो समय पाटनमा जथाभावी रुपमा सवारीसाधान चलाउँदा फूल मासिने जोखिम बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा यो वर्ष कम फूल फुलेको उहाँको भनाइ छ । पछिल्लो तीन वर्षमा बर्सेनि फूल कम फूलेको पुनले बताउनुभयो । बर्खाको समयमा ढोरपाटन आउने अधिकांश पर्यटक फूलसँग रमाउने गरेको उहाँको भनाइ छ । बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडक अप्ठ्यारो हुँदा पनि वनफूलसँग रम्न पर्यटक आउने अध्यक्ष पुनले सुनाउनुभयो । वनफूल खासगरी असार पहिलो सातादेखि भदौ महिनासम्म पाटनमा रहने उहाँको भनाइ छ । वनफूल ढोरपाटनमा पर्यटक बढाउने माध्यम बनेको पुन बताउनुहुन्छ । “वनफूलसँग रमाउन मान्छेको घुइँचोनै लाखेको देख्दा हामीहरु निकै चकित छौँ, किनकी यहाँ त धेरै वर्ष पहिलेदेखि बस्दै आएका छौँ, पहिले कोही पनि मान्छे फाँटमा पुगेर फुल टिप्ने गर्दैनथे, तर अहिले ढोरपाटन आउने हरेक मान्छेले फाँटको बिचमै गएर फूल टिपेर फोटो खिच्छन्” उहाँले भन्नुभयो– “फूलसँग रमाउन आउने पर्यटकका कारण ढोरपाटनको होटल व्यवसाय पनि चलायमान बनेको छ ।” ढोरपाटन आउने पर्यटकमध्ये दैनिक करिब ५० जना बुकीपाटनसमेत उक्लिने गरेका छन् । ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्नका लागि करिब पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ । यति बेला समूहमा वनफूलसँग रमाउने आउने बढी छन् । बुटवलदेखि आउनुभएका आकाश गिरीले वनफूल र ढोरपाटनको सुन्दरताले मन फुरुङ्ग भएको बताउनुभयो । बुटवलमा अत्याधिक गर्मी रहेको हुँदा एक साताका लागि ढोरपाटन आएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमा ढोरपाटन र वनफूलको भिडियो देखिपछि आफूहरु यहाँ आएको गिरीले सुनाउनुभयो । “आहा ढोरपाटन कत्ति सुन्दर रहेछ, पोहोर साल हाम्रो साथीहरु यहाँ आएर फोटो र भिडियो खिचेर लगेका थिए, त्यो देख्दा आउन मन लागेको थियो, यसपाली आउने मौका मिल्यो, यहाँ आएपछि त स्वर्गमै आए जस्तो भयो, बुर्तिबाङबाट आउने सडक अलि खराब रहेछ, फूलसँग रमाउन त निकै मज्जा आउँदोरहेछ, यस्तो राम्रो ठाउँमा विकास भने हुन सकेको रहेनछ ।”
बागलुङ: बागलुङमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरूद्ध भएको छ। सोमबार गलकोट नगरपालिका–११ काउछेमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उनका अनुसार सुख्खा पहिरो खसेसँगै मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। सुख्खा पहिरो खस्दा ठूला ढुंगा पनि सडकमा खसेका छन्। अहिले पहिरो पन्छ्याएर राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

