पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

काठमाडौं:    म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ ।  बोटविरुवा देखेपछि मलाई माया लाग्छ, मलाई देखेपछि बोटविरुवाले पनि माया गर्छन् । मैले बारी कस्तो बनाएको थिएँ भने कुुटो कोदालो होइन कि हातका औँला घुुसारेर त्यसको गोडमेल गर्ने गर्थें । अरु साथीहरुले लगाएको चाहिँ त्यति राम्रो नफल्ने । साथीहरुले हामीले पनि उही काम गरिराखेका छौँ भन्थे । मैले तपाईंहरुले त्यसलाई माया कम गर्नु भएको छ, उसले बुझ्छ भन्ने जवाफ दिन्थेँ ।       म पोखरा जेलमा हुँदा अलिअलि खेती गर्थें । मैले रोपेको तरकारी, फलफूल राम्रो फल्थ्यो । अनि अरुहरु छक्क पर्थे । खासमा बोटविरुवाले मान्छेले कत्तिको माया गरेको छ भन्ने याद गर्छ ।  गाई, भैँसीलाई पनि माया गरे नगरेको थाहा हुन्छ । रिसायो भने गाई भैँसीले दूध लुकायो भन्छन् । खुसी भएन, प्रशन्न भएन भने दूध दिँदैन । उसको भकारो सोहोर्ने, मान्छेले सुम्सुम्याउने मान्छेले दुयो भने बढी नै दूध दिन्छ । दूध जतिबेला पनि आउँदैन, ऊ खुसी छैन, नाखुश छ भने पगारे पनि लुकाइदिन्छ ।  अहिले त मेसिनले चुसेर, तानेर भएजति तान्ने गरिन्छ । हामीले कृषि बालीको कुरा किसानहरुलाई सिकाउनुपर्छ कि खुसी हुनुपर्छ, यसलाई माया गरेको हुनुपर्छ, त्यो माया गरेपछि यसले प्रतिफल धेरै दिन्छ भनेर बुुझाउनुपर्छ । साँच्चै कस्तो वातावरण छ भनेर पशुबालीले हेर्छ । बाजा, सङ्गीत, गीत आदि इत्यादि त्यसलाई मनपर्छ । मन नपर्ने खालको क्रसर राख्दियो भने त्यसले मन पराउँदैन भने कर्कश आवाजले पनि त्यसलाई राम्रो गर्दैन ।       मत्स्यपालनका सन्दर्भमा अहिलेको उत्पादन कति छ ? कति माछापोखरी छन् ? कति खोलाबाट निकालिन्छ ? खोलाबाट निकालिने कुराको धेरै भर नपरौँ । खासमा भन्ने हो भने खोलाबाट धेरै माछा निकाल्ने पनि होइन, त्यहाँ यसलाई खेल्न दिने हो । भरपर्ने त तालका माछामा हो । खोलाका माछा त्यतिकै समाउन पाइँदैन नि । मत्स्यपालनसम्बन्धी लक्ष्य तोक्नुस् ।  चराको मासु खानु छ भने पालेको हुनुप¥यो । जङ्गलमा गएर फ्याट्टफ्याट्ट मार्न हुँदैन । खोलामा माछा मार्नु, जङ्गलमा चरा मार्नु ‘इकोसिस्टम’ विरोधी कुरा हो । फलफूल खानु छ भने फलाएको हुनैप¥यो । गाई र भैँसीबाटै दुग्ध उत्पादन हुने हो । गाईको दूधबाहेक मलमूत्र मात्रै काम लाग्ने हो । भैँसीमा जोड दिने तपाईंहरुले जोड दिएको पनि ठीक छ । भोलि गएर कतिपयले गाईको मात्रै दूध खाने, भैँसी, चौँरीको दूध नखाने भन्ने पनि हुनसक्छ । त्यसकारण डेरीको दूध नखाने स्वाभाविक हुन्छ । त्यहाँ गाईको पनि हुन्छ, भैँसीको पनि हुन्छ । त्यसो भएर गाईको दूध मात्रै भोलि कारोबार हुनसक्ने स्थिति नहोला भन्न सकिन्न । दूध खाँदा भैँसीको मीठो हुन्छ तर घ्यू गाईकै मीठो मानिन्छ ।       फलपूmल क्षेत्रमा के गर्ने र कहाँ कहाँको के भिन्नता छ ? हाम्रो उपलब्धि के हो ? हाम्रो लक्ष्य के हो ? गत वर्षको भन्दा यो वर्षको लक्ष्य र उपलब्धि अलिक माथि हुनुप¥यो । हामीले सबै क्षेत्रमा विगतका रेकर्ड तोड्नेछौँ । गत वर्षको भन्दा उत्पादन, बिक्री वितरणमा वृद्धिसँगै आम्दानीमा पनि रेकर्ड तोड्छौँ ।       कृषि क्षेत्रमा शिक्षाको ठूलो समस्या छ । यसमा १४ देखि ६५ वर्षको सक्रियता कम भएको छ । बूढाबूढी मात्रै त्यसमा निर्भर छन् । त्यो सक्रिय जनशक्ति होइन । बालबच्चा पनि कृषिमै निर्भर गरेका हुन्छन् । कूल जनशक्तिको ६० प्रतिशत वा त्योभन्दा बढी कति चाहिँ कृषिमा निर्भर छ स्पष्ट छैन ।  मानिसले व्यवसाय किसान लेखेको हुन्छ तर कृषिमा भर परेको हुँदैन । छोराबुहारी जागिर खाइराखेका हुन्छन्, आम्दानीको मुख्य स्रोत जागिर भइराखेको हुन्छ । त्यो जागिर कृषिले दिँदैन । कृषि त बाँच्ने पेट पाल्ने कुरा हो नी । सबै प्रणाली पेटबाट सुुरु हुन्छ । हरेक जीवित चिजलाई प्रकृतिले यस्तो बनाइदिएको छ ।       माटो पनि जीवित हो । माटो म¥यो भने उर्भरत हुँदैन । प्रकृतिमा यस्तो गुण हुन्छ कि जसले त्यसलाई ग्रहण ग¥यो, त्यसैसँग मिल्ने हुन्छ । त्यही चामल बाख्राको पाठोलाई दिनुस्, त्यो त्यही चामल बाख्रो हुन्छ । त्यही चामल खाएर मान्छे हुन्छ, त्यही चामल खाएर गाई हुनसक्छ । यो अनुकूलन प्रकृतिको विशेषता हो ।  यस अनुकूलनलाई हामीले प्रकृतिको ‘इकोसिस्टम’ भन्छौँ, यो त्यही इकोसिस्टम हो, सर्कल । एउटाको खाना अर्काको मल, अर्काको खाना अर्काको मल । अर्काले परित्याग गर्छ, अर्काले खान्छ । अलिक रुपान्तरित हुन्छ । हामी मल हाल्छौँ, त्यो मलबाट स्याउ फल्छ ।  त्यो चिज हामी खान्छौँ र त्यो मल फेरि उसैलाई काम लाग्छ । एउटाको मल अर्काले ग्रहण गर्छ, अर्काको अर्कोले ग्रहण गर्छ र रुपान्तरित हुन्छ । हरेक क्षेत्रमा फरक ल्याउनका निम्ति तपाईंहरुले ‘एक्सिलेन्स सेन्टर’हरु खोल्नुस् । अथवा कृषि टे«डिङका उपायहरु हुन् । गाउँगाउँमा गएर यसरी बाली लगाइन्छ है, यसरी लगाएपछि आम्दानी बढी हुन्छ र त्यसले बजार पाउँछ भनेर किसानहरुका प्रशिक्षित गराउन आवश्यक छ ।       हिजो परिवार उत्पादनको एउटा एकाइ हुन्थ्यो । आज परिवारमा उत्पादनको एकाइ छैन । मेरो हजुरबाको एउटा खेत, एउटा बारी, एउटा गोठ थियो । आफ्नै खेतमा धान, मकै, आलीमा मास, बारीमा तोरी उत्पादन हुन्थ्यो ।  पशुपालन आफ्नै गोठमा, आफ्नै चरिचरनमा सबै चिज हुन्थ्यो । एउटा नूनबाहेक केही पनि किन्न पर्दैन्थ्यो । एउटा परिवारको उत्पादन, परिवारको उपभोगमै हुन्थ्यो र अर्थतन्त्र त्यतिमै चल्थ्यो । तर अब सबै कुरा नकिनी नहुने अवस्थामा हामी पुग्यौ । उत्पादनको प्रवृत्ति, ढाँचा र तरिकामा फरक प¥यो ।  फरक परेको चिजलाई हामीले परिवर्तन गरेनौँ भने बाँझा बारी, बाँझा खेत भनेर हुँदैन । त्यसलाई अब व्यावसायिकतामा लैजानै पर्छ । दुनियाँ कहाँबाट कहाँ पुग्यो । परिवारलाई उत्पादनको एकाइ बनाउने हो भने एकै प्रकारको खेती उनीहरुले गरुन् । कान्लाभरि रुख, फलपूmल लगाऔँ, बारी र खेतभरि अन्न लगाऔँ ।       म सम्झिँन्छु, म सानो हुँदा सुन्तलाको बगैँचा आफ्नै घरमा हुन्थ्यो । दुई÷चार रुख नास्पातीका हुन्थे । असारमा पाक्ने ठूलो नास्पतीदेखि मङ्सिरमा पाक्ने नास्पाती हुन्थ्यो । सानो नास्पातीको स्वाद अनौठो हुन्छ । अम्बा कान्लाभरि जताततै हुन्थ्यो । केराघारी आफ्नैमा हुन्थ्यो ।  अनार पनि रोपिदिए राम्ररी फल्थ्यो । यी सबै खालका फलहरु आफ्नै बारीमा हुन्थे । अब त्यस हिसाबले चल्दैन । मैले अनार पनि लगाउँछु, अम्बा पनि लगाउँछु भनेर व्यक्तिगत हिसाबमा हिजो जसरी अब चल्दैन ।  किसानहरुले एउटा एउटा बाली लगाएर हुँदैन । यसरी लगाउँदा बालीको आफ्नोपन पनि बिग्रिन्छ । त्यसकारण यस्तोमा सहकारी भयो भने सहकारी, सहकारी भएन भने सामूहिक खालको खेतीमा जानुपर्छ । त्यसोगर्दा बजार पाउन सजिलो हुन्छ । एकैखालको खेती लगाएपछि ठूलोमात्रामा उत्पादन हुन्छ । त्यसले बजार पाउँछ ।       मैले सुनेको थिएँ–कैलालीमा पोहोर वा परार किसानहरुले घिरौँला खेतबारीमा फ्याँके, किनभने बिकेन । सबैको घरमा घिरौँला, कसले किन्छ ? कसैले किन्दैन । डोकामा बजार लग्यो, घरघरमा घिरौँला छ, कसले किन्छ, कसैले किन्दैनन् । यदि त्यो घिरौँला एक÷दुुई ट्रक भएको भए काठमाडौँ आउन्थ्यो ।  बिक्री नभएपछि बारीमा फ्याँक्नुको विकल्प हुँदैन । ठूलो परिमाणमा गोलभेंडा उत्पादन भयो भने त्यसको अचार उद्योग स्थापना गर्न सकिन्छ । गोलभेँडाको स्लाइस, जुस उद्योग, गोलभेँडाको चप उद्योग वा अनेक चिज उत्पादन गर्न सक्छन् । त्यसैले ठूलो परिमाणमा ध्यान दिऔं । नयाँ इनोभेसनमा ध्यान दिऔँ । नवप्रवर्र्तनभन्दा इनोभेसन शब्द ठीक छ, सजिलो छ । हरेक ठाउँमा नयाँ मार्क लगाउनेगरी नयाँ ‘इनोभेटिभ’ विचार लगाउनुस् । चिस्यान केन्द्र कति ठाउँमा खोल्न सकिन्छ, पशु स्वास्थ्य केन्द्र खोल्न सकिन्छ त्यतातिर ध्यान दिऔँ ।      सन् २०२० पछि अमेरिकाले मलेरिया उन्मूलनको काम ग¥यो । त्यसबेला उसले इन्स्पेक्टर र स्प्रेहरु राखेको थियो । स्प्रे गरेकाले घर नम्बर लेख्नु पर्दथ्यो । घरको परिवारको सङ्ख्या उनीहरुको खातामा हुन्थ्यो । घरको एउटा ठाउँमा रङ लगाएर लेखेको हुन्थ्यो र त्यहाँ सही गर्नु पर्दथ्यो । स्प्रेयरले सही गर्दथ्यो । इन्स्पेक्टर आउँन्थ्यो र स्प्रेयरको मुनि उसले पनि सही गर्दथ्यो ।  कहिले आउँछ इन्स्पेक्टर थाहा छैन तर घरघरमा आउँछ । जाँच गर्दा कसरी ग¥यो भन्ने मुख्य कुरा हो । हाम्रो प्रोजेक्ट राम्रो भएको छ कि छैन ? उदाहरणका लागि काठमाडौँबाट हेलिकप्टर लिएर अचानक जनकपुर गयो, एउटा स्कुलको मैदानमा हेलिकप्टर रोकेर वरिपरिका गाउँमा गयो, कुनकुन महिनामा जाँच भएको छ, कुनकुन महिनामा जाँच भएको छैन, कुनकुन घरमा पुगेको छ, कुनकुन घरमा पुुगेको छैन भनेर नमूनाका रुपमा पाँच÷सात घर हे¥यो ।  अर्को ठाउँमा पुुग्यो, त्यसैगरी हेरेर आयो । त्यहाँ उसले भने अनुसारको हस्ताक्षर गर्ने ठाउँ खम्बा वा भित्तामा हुन्थ्यो र त्यसमा गरेको हुन्थ्यो । त्यसो गरेर पक्का गर्दथ्यो । त्यसो भएपछि गएँ भनेर झुुट बोल्न पाएन । कुन घरमा कुन मितिमा गयो, त्यो घरमा सही गर्नु पर्ने । त्यहाँ भित्तामा ठाउँ बनाएर सही गर्नुपर्ने । हामीले त्यस्तै प्रणालीको किन विकास गर्न नसक्ने ? एक÷दुुई ठाउँमा नमुना हेरेपछि थाहा भइहाल्छ । यस्ता कुराहरुमा अप्रत्याशित र अनपेक्षित ठाउँमा गएर गर्ने छड्के नै जाँच गर्नुपर्छ । त्यसो भएपछि उनीहरुले ढाट्ने ठाउँ हुँदैन । यो कुरालाई क्षेत्र क्षेत्रको योजना बनाऔँ ।       कृषिमा परिवर्तन र रुपान्तरण नल्याई हाम्रो देशको विकास सम्भव छैन । सन् १९३० मा अमेरिकामा हरित क्रान्ति आयो, युरोपमा सन् १९४० मा आयो । भारतमा सन् १९६८ मा आयो । सन् १९६८ मा अमेरिकाले हरित क्रान्तिलाई धेरै अगाडि बढायो ।  त्यसकारण अहिले डेढ अर्ब जनसङ्ख्यालाई खुवाएर पनि बाहिर पठाउँछ, हामीलाई बेच्छ । हाम्रो जनसङ्ख्या तीन करोड मात्रै छ तर हामीले उत्पादन गरेको वस्तुले खान पुग्दैन । पहिलेको जस्तो ढाँचाले होइन, अहिले भारतीय प्याज हेर्नुभयो जापान र चीनको जस्तै भएको छ । जापान र चीनले ठूलो फलाउँछन् । अहिले भारतले पनि त्यही गर्छ । त्यो सन् १९६५ बाट सुरु गरेर १९६८ सम्ममा ग्रिन रिभुलुसन अगाडि बढायो ।  उसका भैँसी गुजराती भनेर चिनिने भए । बेलायतबाट ल्याएको गाई भनेर टाटेपाटी गाईलाई भन्ने चलन थियो । अहिले जर्सी गाई भन्छन्, उहिले बेलायती भन्थे । बैठक कक्ष अलिक गतिलो बनायो भने बेलायती हुन्थ्यो । गतिलो भएपछि बेलायती गाई, बेलायती कुकुर । केही अलि सप्रियो भने यो त बेलायती नै रहेछ नि भन्थे । भारतले बेलायतका र अन्यत्रबाट केही ल्यायो ।  अरु देशले प्रगति गरिरहँदा नेपालमा त चकमन्न थियो । पञ्चायतकाल आयो, महेन्द्रले विकास गर्न खोजेको अलिक देखियो । तर, महेन्द्रको विकासको गति २०२० देखि २०२४ सालसम्म रफ्तारमा चल्यो । अहिले पनि धेरै भवनहरु तिनैताका बनेका हुन् । पञ्चायतकालीन भवनमै हामी चलिराखेका छौँ । त्यतिबेला विश्वविद्यालय एउटै मात्र थियो होला तर पर्याप्त नै थियो नि त्यस बेलाको विकासको तहमा ।  अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा भनेर सुरु गरे । पाँच कक्षासम्म त मान्छेले अनिवार्य तथा निःशुल्क रुपमा पढ्न पाएका थिए । त्यसबेला उत्साह के थियो भने एसएलसी पास गरेका शिक्षकहरु पाइँदैन्थे । कोही कोही माविहरुमा त एसएलसी पास नगरेका शिक्षकहरु थिए र प्रधानाध्यापक नै एसएलसी पास गरेका थिए । आइए पास गरेका त यदाकदा थिए हाइस्कुलमा ।  त्यहीका तेज विद्यार्थीले त्यहीका विद्यार्थीलाई क्लास लिन्थे शिक्षक नभएर । तर नतिजा राम्रो थियो । पूर्वाधार थिएन, ज्ञान सम्प्रेषणको कला अलिक बढी हुन खोज्थ्यो । नजान्ने शिक्षकले इतिहास घोकाइदिन्थे । अब घोकाउने थालेपछि घोक्नै सकेन भने याद त हुने भयो नि । त्यसो भएर त्यो जमानाबाट हामी भर्खरै भर्खरै आयौँ । अब हामीले आमूल परिवर्तन ल्याउनुु छ, कृषिमै ल्याउनुु छ । त्यसकारण म तपाईंहरुसँग क्षेत्रगत रुपमा के के गर्ने योजना बनाउनुस् । सिँचाइका क्षेत्रमा के गर्नु पर्छ ? फलपूmलमा के गर्ने ? अन्नबालीमा पनि धान, गहुँ, मकै, फापर, कोदोलगायत विभिन्न बालीमा के गर्न सकिन्छ ? यसका हाम्रो लक्ष्य के हो ? गन्तव्य के हो ? तोकेर त्यसमा नीति बनाऔँ । त्यो नीति कार्यान्वयन गर्न कार्यक्रम बनाऔँ । कार्यक्रम बनाएपछि लक्ष्य तोकेर त्यसलाई हासिल गर्नेगरी अगाडि बढौँ । यसबाट नै सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियान पूरा गर्न सकिन्छ । (सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन ३२ मा कृषि तथा पशुपक्षी मन्त्रालयका पदाधिकारीहरुलाई दिनुभएको निर्देशनको सम्पादित अंश)

पोखरा:     गृह सचिव एकनारायण अर्यालले उपभोक्ता अधिकार संरक्षणमा क्षतिपूर्तिसहित अधिकारको व्यवस्था भएकाले सेवा र वस्तुमा उपभोक्तालाई ठग्ने काम नगर्न आग्रह गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि सञ्चालनमा ल्याइएको ‘क्यूआर कोड’ सहितको अनलाइन सेवाको आज उद्घाटन गर्दै अर्यालले उपभोक्ता ठग्नेलाई कारबाही गर्ने बताउनुभयो ।  चार्डपर्व सुरु भएसँगै खाद्य सामग्री र सार्वजनिक यातायातमा चर्को भाडा लिने काम हुँदै आएकाले यसलाई नियन्त्रण गर्न र त्यस्ता व्यक्ति वा संस्थालाई कडा कारबाही गर्न प्रशासनले जोड दिनुपर्ने उहाँको भनाइ छ ।  अझैपनि राजमार्गका होटलमा खानाको गुणस्तर नहुने र चर्को मूल्य लिने काम भइरहेकाले प्रशासनको ध्यान त्यसतर्फ जानुपर्ने उहाँले बताउनुभयो ।  नेपालमै पहिलो पटक जिल्ला प्रशासन कास्कीले सञ्चालनमा ल्याएको यस्तो सेवाले निरन्तरता पाउनुपर्ने बताउँदै अन्य जिल्लामा पनि सेवा विस्तार गर्न उहाँको सुझाव छ । उपभोक्ता संरक्षण अधिकारलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले दुर्गम गाउँका उपभोक्ता बढी मात्रामा ठगिने गरेकाले गाउँ तहसम्म उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रशासन कास्कीबाट सुरु भएको सेवाले निरन्तरता पाउनुको साथै यसको प्रभावकारिता गाउँगाउँसम्म पुग्नुपर्नेमा उहाँको जोड थियो ।  उपभोक्ता हित संरक्षण मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हित संरक्षण ऐन प्रभावकारी बन्न नसक्दा र अनुगमन प्रणाली प्रभवकारी नहुँदा बजारमा गुणस्तरहीन वस्तु र मूल्य नियन्त्रण हुन नसकेको धारणा राख्नुभयो ।  कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ‘क्यूआर कोड’लाई निरन्तरता दिँदै पर्यटकीय राजधानी पोखरामा पर्यटक ठगिएका गुनासा आएकाले ठगी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

काठमाडौं:    पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।  डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पु¥याउँदा अन्य ११ जना  घाइते भएका छन्  भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)का अनुसार जुलाई–१ देखि अगस्ट–१७  सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् । पिडिएमएका अधिकारी युनस मेङ्गलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्लाहरू प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताउनुभएको छ ।  बलुचिस्तानले जुलाई–१ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाहरूको सामना गरेको डन न्यूजले जनाएको छ । बर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ । सबैभन्दा बढी कलातमा त्यसपछि उस्ता मुहम्मद र सबिबीमा वर्षा भएको रेकर्ड भएको छ । सोहबतपुरकी बलुच उपायुक्त फरिदा तरीनले जुडाइर नदीमा जल सतह बढेको बताउँदै  यस क्षेत्रमा आएको बाढीले धान खेतमा क्षति पुगेको जानकारी दिनुभयो ।  बलुचिस्तानको राष्ट्रिय राजमार्ग प्राधिकरणका महाप्रबन्धक आगा इनायतुल्लाले उत्तरी बलुचिस्तानका सबै राष्ट्रिय राजमार्गहरू खुला रहेको र अधिकारी र ठेकेदारहरूले बाढीको क्षति मर्मत र सडक पहुँच कायम राख्न प्रयास गरिरहेको बताउनुभयो । RSS

नवलपरासी:    कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।       पहिरोका कारण आज बिहान साढे ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।   यस खण्डमा अहिले लगातार वर्षा भएकाले वर्षा रोकिएपछि मात्र सडक खुलाउने कार्य हुने बताइएको छ । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा र स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।      साथै गएरातिदेखिको वर्षाले नवलपरासी९बर्दघाट सुस्तापूर्व०का विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको समथर भूभागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको छ भने पहाडी क्षेत्रमा पहिरोका कारण अहिले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।         खहरे खोलामा पानीको बहाव बढ्दा मध्यविन्दु नगरपालिका–९ वसन्तपुमा मोटरसाइकल बगाएको छ । हुप्सेकोट गाउँपालिका–३ गिरुबारीका देवबहादुर फालमगर र उहाँकी छोरी तुलसी फालमगर बोडी बेच्न जाँदा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएकामा बाबु र छोरीलाई सकुशल उद्धार गरिएको तर मोटरसाइकल खोलाले बगाएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।       पछिल्लो तीन घण्टामा जिल्लास्थित डण्डा वर्षा मापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको र थप हुनसक्ने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।       जल तथा मौसम विज्ञान विभागले एसएमएसमार्फत दिउँसो १२ बजेसम्म नारायणी नदी, यसका सहायक नदी र अन्य ससाना खोलामा बहाव उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

काठमाडौं:     उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार पनि बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण भएको बताउनुभएको छ ।      संयुक्त राष्ट्रसङ्घले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘विकासका लागि वित्तसम्बन्धी संवाद’ कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालले पनि न्यून राजस्व सङ्कलन र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण सिर्जित समस्या भोगिरहेको बताउनुभएको हो ।  “राजस्वको अधिकांश भाग सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकास गतिविधिमा सरकारको लगानी सङ्कुचित हुने देखिएको छ । यसले दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्पलाई टाढा धकेल्ने जोखिम बढेको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।      ‘दिगो विकासको लक्ष्य हासिल गर्ने अभियानमा कोही पनि नछुटुन्’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घले विकासका लागि वित्त परिचालन गर्न जोड दिँदै आएको छ । विकासोन्मुख र अल्पविकसित मुलुकमा लगानीका लागि स्रोतको कमी मुख्य चुनौतीका रुपमा देखापरेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।  जलवायु परिवर्तनको प्रभावबाट ती मुलुक बढी प्रभावित बनेका छन् । उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि, विकास सहायताको घट्दो प्रवृत्तिले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा रहेको अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो । विकास वित्तका नवीन तथा वैकल्पिक उपायहरुको उपयोग गर्नुपर्ने देखिएको पनि उहाँको भनाइ छ ।       आन्तरिक स्रोतको अलावा निजी पुँजी तथा विकास सहयतालगायत सम्भाव्य सबै स्रोतको अधिकतम उपयोग गर्नेगरी विकास वित्तको खाका तय गर्नुपर्ने आवश्यकता पौडेलले औँल्याउनुभयो ।  कूल गार्हस्थ्य उत्पादनको तुलनामा राजस्वको अनुपात तुलनात्मक रुपमा राम्रो देखिए पनि यसलाई दिगो बनाउनुपर्ने चुनौती रहेको उहाँको भनाइ छ । “प्रत्यक्ष वैदेशिक लगानी र बाह्य क्षेत्रबाट हुने पुँजी प्रवाह तुलनात्मक रुपमा न्यून छ । सार्वजनिक ऋण सुरक्षित तहमा नै भए पनि आगामी दिनमा यसमा चुनौती थपिने देखिन्छ । उच्च व्यापार घाटा र न्यून आर्थिक वृद्धिदर र लामो समयदेखि संरचनात्मक समस्याका रुपमा अर्थतन्त्रमा विद्यमान छन्”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनको प्रभावबाट प्रत्यक्ष रुपमा प्रभावित भएको छ । हामीले कार्बन उत्सर्जनमा नगन्य योगदान रहे पनि हामीलाई गैरअनुपातिक असर परेको हुँदा अनुकूलनमा निकै ठूलो रकम छुट्याउनु पर्नेछ । यसैले नेपाल विकास वित्तका लागि नयाँ स्रोत र उपकरण जुटाउनुपर्ने पक्षमा उभिएको छ ।” विकास साझेदारहरुसँग यी विषयमा पर्याप्त अन्तरक्रिया गरी अगाडि बढ्न सरकार दृढ रहेको पनि उहाँले बताउनुभयो ।            अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई नेतृत्वदायी भूमिकामा राखेको पनि उहाँले उल्लेख गर्नुभयो । “सोह्राँै आवधिक योजनाले निजी क्षेत्रको भूमिकालाई अधिक महत्व दिएको छ ।  निजी क्षेत्र सरकारको साझेदार हो । हाम्रा लक्ष्य अलग छैनन् । सरकार निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न आवश्यक वातावरण बनाउन प्रतिबद्ध छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “निजी पुँजी आकर्षित गर्नेगरी विकास वित्तको खाका निर्माण तथा प्रतिफलयुक्त आयोजनाको सूची तयार गरी लगानी जुटाउनु आवश्यक छ ।”      स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयत्नरत रहेको पनि उहाँले उल्लेख गर्नुभयो । सरकारी र निजी लगानी बढाउनसकेमा स्वदेशमा नै कामका अवसर बढाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  आन्तरिक मात्र नभई वैदेशिक लगानी भित्र्याउनका लागि पनि सरकारले सहजीकरण गर्ने पौडेलको भनाइ छ । “नेपालको विकास प्रयासमा स्वदेशी पुँजी र प्रविधि मात्र पर्याप्त पर्याप्त छैन । सरकार विदेशी पुँजी र प्रविधि भित्र्याउन सबै नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न कटिबद्ध छ । कानुनी सुधार र नीतिगत स्पष्टताका लागि थप कामहरु गर्दै लगिनेछ”, उहाँले भन्नुभयो ।      सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नत हुने लक्ष्य रहेको तथा  त्यसका लागि सङ्क्रमणकालीन रणनीति विकास गरिसकेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले विकासोन्मुख मुलुकमा देश उक्लिएपछि अवसरहरूको उपयोग गर्न र थप लगानी आकर्षित गर्न देशले चाँडै नै सार्वभौम साख मूल्याङ्कन ‘सोभरेन क्रेडिट रेटिङ’ गर्न लागेको बताउनुभयो । सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नीतिगत प्रयास थालिएको उहाँले उल्लेख गर्नुभयो । मौजुदा कर व्यवस्थालाई थप प्रगतिशील बनाउने, करका आधारहरू सुदृढ र विस्तार गर्ने, राजस्व प्रणलीलाई विद्युतीकरण गरी विनियोजन र खर्च क्षमता बढाउनेलगायतका काम सरकारले गरिरहेको उहाँको भनाइ छ ।            नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था निकै कमजोर रहेको बताउनुभयो ।  “प्रत्यक्ष वैदेशिक लगानी हाम्रो कूल गार्हस्थ्य उत्पादनको शून्य दशमलव दुई प्रतिशत मात्रै छ । हाम्रो जस्तो देशका लागि यो एकदमै न्यून सङ्ख्या हो । वैदेशिक अनुदान पनि लक्ष्यअनुसार आएको छैन”, उहाँले भन्नुभयो, “यो अवस्थाले ऋणमा निर्भरता बढाएको छ । सार्वजनिक ऋण पछिल्लो नौ वर्षमा दोब्बर भएको छ । ऋणमा बढ्दो निर्भरता दीर्घकालीन रूपमा दिगो हुँदैन र यसले हाम्रो आर्थिक स्थायित्वमा ठूलो जोखिम खडा गर्छ ।” हाम्रो देश अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा ऋणमा बढ्दो निर्भरताले अरु चुनौती थप्ने उहाँले बताउनुभयो ।

बागलुङ (बलेवा):    बागलुङको वर्षे आलु उत्पादन  अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले घटेको छ ।  गत वर्षको कात्तिकदेखि वैशाखसम्मको खडेरीले वर्षे आलु उत्पादन पाँच प्रतिशत घटेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो ।  विशेषगरी ताराखोला र ढोरपाटनमा लगाइएको आलुमा  कमी आएको हो । बागलुङको ताराखोला र ढोरपाटनमा हिउँदमा लगाएर बर्खामा आलु खन्ने गरिन्छ । कात्तिकमा लगाएर फागुन–चैतमा खन्ने आलुमा भने खासै असर परेको छैन । ताराखोले आलुको स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा पर्ने गरेको अधिकृत पुन बताउनुहुन्छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सञ्जीव थापाका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ताराखोलाभित्र तीन हजार दुई सय ९७ मेट्रिक टन आलु फलेको छ ।  कुल एक सय ८४ हेक्टरमा किसानले आलु लगाएको शाखाको तथ्याङ्क छ । रासायनिक मल प्रयोग नगरेकाले उपभोक्ताले पनि ताराखोलाको आलु भनेपछि खोजीखोजी खाने गरेका हुन् । खडेरीकै कारण उत्पादन भने कमी भएको थापाले बताउनुभयो । ताराखोला–२ अर्गलका किसान अमृत घर्तीले आलुलाई उपयुक्त वातावरण भएकाले मिठो भए पनि यस वर्ष उत्पादनमा समस्या आएको बताउनुभयो । विकासे आलु प्रयोग नगर्ने, रासायनिक मल नहाल्ने र जैविक मल प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ । यसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो । तर खडेरीलगायत समस्यामा राज्यले साथ दिनुपर्ने उहाँले बताउनुभयो ।  घर्तीका छिमेकीले पनि आलु फलाएर जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएर ल्याउने गर्छन् ।  कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ । तर खडेरी, अतिवृष्टि र असिनाको क्षतिमा न्यूनीकरण गर्न नसकेको हो ।    “असिनाले क्षति भएमा केही राहत दिने कार्यक्रम भए पनि रोक्ने वा उत्पादन जस्ताको त्यस्तै बनाउने काम भने गर्न सकिएको छैन”, पुन भन्नुहुन्छ, “व्यवस्थापन गर्न सके हालको उत्पादनबाट २० प्रतिशतसम्म आलु बढाउन सकिन्छ ।” केन्द्रको तथ्याङ्कमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको छ ।  बागलुङमा हिउँदमा २३ हजार नौ सय मेट्रिक टन र बर्खामा ११ हजार छ सय ९४ मेट्रिक टन गरी ३५ हजार मेट्रिक टन आलु बजारमा आउने गरेको हो ।  त्यसबाहेक घरघरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्याङ्क छैन । यो वर्ष खडेरी धेरै परेको र वैशाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकाले आयात बढ्ने निश्चित छ ।  जिल्लामा उत्पादित आलुले वर्षको नौ महिनासम्म थेग्ने गरे पनि तीन महिनाका लागि आयात गर्नुपर्छ । त्यसका लागि भण्डारण क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताउनुभयो ।

दाङ:    लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे  बस्दै छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।    सङ्घमा सत्ता समीकरण फेरिएसँगै गत  साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ  । आचार्यलाई  एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ ।

रुकुमपश्चिम:     रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन् ।       पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मिनाकुमारी बुढाथोकी केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।      उहाँका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक शाहीको नेतृत्वमा आज बिहान प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना शङ्कास्पद देखिएपछि प्रारम्भिक अनुसन्धान गर्दा हत्या भएको खुलेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।       “प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बुढाले मादक पदार्थ सेवन गरेर सन्तोषकी श्रीमतीलाई अपशब्द बोलेर हातपात गरेको र त्यसको प्रतिकार गर्ने क्रममा सन्तोषकी श्रीमतीले दाउराको चिर्पटले प्रहार गर्दा बुढाको मृत्यु भएको खुलेको छ”,  प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “यसमा सन्तोषको पनि संलग्नता देखिएको छ, थप अनुसन्धानबाट खुल्नेछ ।” घटनास्थलको प्रारम्भिक अनुसन्धान सकाएर शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । 

काठमाडौं:     बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा ।  उहाँले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको त्यो अद्भूत संयोग सायदै कसैको जीवनमा हुन्छ । नेपाली समाज अनि राजनीतिमा एउटा कहिल्यै नभिभ्ने ‘दीप’ हो प्रदीप गिरी ।  समाजवादी चिन्तकको छवि बनाउनुभएका प्रदीप गिरीले कहिल्यै लालचको जिन्दगी जिउनु भएन । कहिल्यै लाभको पद खोज्नु भएन । राजनीतिलाई कहिल्यै आफ्नो स्वार्थको भ¥याङ बनाउनु भएन ।       समाज परिवर्तनको एउटा अभियान वा आन्दोलन र राजनीतिलाई फरकफरक आँखाले हेर्ने अनि त्यही आदर्शलाई जिन्दगीको बाँच्ने शैलीमा ढाल्नसक्ने एउटा अलौलिक क्षमता लिएर जन्मिने यस्ता मान्छे जगतमा बिरलै हुन्छन् ।  समकालीन नेपाली समाज र राजनीतिमा त्यही एउटा दुर्लभ नाम पनि हो, प्रदीप गिरी । विसं २००४ मा सिरहाको बस्तीपुरमा जन्मिनुभएका प्रदीप गिरीका पिता मित्रलाल आफैँ नेपाली काँग्रेसका नेता हुनुहुन्थ्यो । बुबाका औँला समाएर उहाँले यो धर्तीमा आफूलाई उभ्याउन र पाइला चाल्न सिक्नुभयो । बुबाकै दीक्षाले उहाँभित्र राजनीतिको चेत पनि उज्यालिइसकेको थियो ।       एउटा राजनीतिक परिवारमै हुर्के बढेका उहाँले सानै उमेरदेखि राजनीतिक शास्त्रका ठेलीहरूदेखि दर्शनशास्त्रका मोटामोटा किताबहरू कण्ठै पारिसक्नुभएको थियो । उहाँ जन्मिदाको समय राणा शासन थियो । एक सय वर्ष जहाँनीया शासन चलाइसकेको राणाका ती अन्तिम दिनहरू थिए । थिचिएका अनि मिचिएका नेपाली समाज भित्रभित्र राणाविरुद्ध विष्फोटक तयारीमा थियो । यसको परिणाम २००७ फागुन ७ गते नेपालका राजनीतिक दल, दरबार र राणाहरूबीच भएको एउटा समझदारीले देशमा प्रजातन्त्र आयो ।       नेपालमा जन्मिए पनि उहाँको शिक्षादीक्षा भने भारतमै भएको थियो । १३ वर्षको उमेरदेखि नै राजनीतिको सक्रिय बाटोमा आफूलाई हिँडाउन सुरु गरिसक्नु भएका उहाँ त्यसपछि समाजवादका एक साधकका रुपमा स्थापित हुनुभयो ।  भारतमै बसेर राजनीतिमा पाइला सार्दै गर्दा त्यो बेला नेपालमा राजा महेन्द्रले जनताको प्रजातान्त्रिक अधिकारमाथि ‘कु’ गरिसकेका थिए । २०१७ सालदेखि उहाँले जुन राजनीतिक बाटोमा आफ्ना पाइलाहरू अघि बढाउन खोज्दै हुनुहुन्थ्यो, त्यसपछिका ३० वर्षहरू फेरि दरबारसँग लड्दालड्दै बिते ।  भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनलाई कलिलो दिमागमै छापिसक्नुभएको उहाँलाई पञ्चायतविरोधी आन्दोलनमा अघि बढ्न झन सजिलो भयो ।       भारतमै पढ्ने बेलामा उहाँले बिपी कोइरालाको नाम धेरैपटक सुनिसक्नुभएको थियो । अरुजस्तै उहाँको मनमा पनि बिपीको एउटा अलग्गै तस्बिर छापिइसकेको थियो । भारतमै भएको एउटा कार्यक्रममा उहाँले बिपीलाई भेट्ने मौका पाउनुभयो । त्यही भेट नै उहाँको राजनीतिक जीवनको एउटा मोड बनिदियो ।  त्यही कार्यक्रममा उहाँले बिपीलाई प्रतिप्रश्न सोध्नुभयो । हत्तपत्त बिपीलाई प्रतिप्रश्न सोध्ने आँट कसैले पनि गर्दैनथे, यहाँसम्म कि अन्तर्वार्ता लिने पत्रकारहरूले समेत । एउटा कुनाबाट आफूलाई अप्रत्याशित त्यसमा पनि आलोचनात्मक प्रश्न गर्ने त्यो स्कुले ठिटो बिपीको नजरमा परिसकेको थियो ।  बिपीको त्यही नजर लागेको केटो २०२४ सालमा ‘नेपाल छात्र सङ्घ बनारस’को निर्वाचित उपाध्यक्ष बन्यो । बिपीभन्दा ३० वर्ष कलिला उहाँका राजनीतिक पाइलाहरू त्यसपछि फटाफट अघि बढ्न थाले ।       नेपाली कांग्रेसभित्र बिपीको राजनीतिक, सामाजिक र साहित्यिक दर्शन अनि सिद्धान्तहरूलाई आलोचनात्मक विवेचना गर्ने सायद उहाँ एक्लो प्राणी नै होला । र, पनि उहाँले आफ्नो राजनीतिक जीवनभरि बिपीकै व्यक्तित्व, विचार अनि राजनीतिक सिद्धान्तलाई अपनाइरहनुभयो ।  खासगरी राष्ट्रवादका सन्दर्भमा उहाँ र बिपीबीच जहिल्यै सैद्धान्तिक र व्यावहारिक मतभेदको खाडल रहिरह्यो । तथापि, बिपीले निर्माण गरेको राजनीतिक सिद्धान्त र क्षितिजबाट प्रदीप कहिल्यै टाढा हुनुभएन तर कहिल्यै प्रश्न गर्न छोड्नुभएन ।  युगभन्दा अलि चाँडै जन्मिएका बिपीलाई सायदै त्यो बेलाको समाजले चिन्यो । त्यस्तो रिक्तता बिपी आफैँले पनि अनुभव गरेको भनेर आफ्ना आत्मकथाहरूमा कताकता उल्लेख गर्नुभएको छ । उहाँको एउटै चिन्ताको बिषय हुन्थ्यो– शास्त्रीय बहस गर्ने समकालीन नै भएनन् ।       बिपीका अघि सधैंँ छाती तन्काएर उभिने उहाँ एउटा त्यस्तो तातोरातो युवा हुनुहुन्थ्यो, जसले बिपीसँग समाजवादका शास्त्रीय आयामहरूका बारेमा बहस गर्ने हिम्मत राख्थ्यो । अनि राष्ट्रवादका मुद्दामा बिपीसँग सवालजवाफ गर्ने हैसियत राख्थ्यो ।  बिपीलाई सिधासिधा प्रश्न सोध्न हिम्मत राख्ने उहाँलाई त्यही निहुँमा बिपीका विरोधी आँखाले हेर्नेहरूको कमी त थिएन तर पनि उहाँको अध्ययन अनि विश्लेषण क्षमताका अघि ती आलोचना र विरोधी नजरहरू कहिल्यै माथि उठ्न सकेनन् । उहाँको त्यो क्षमताका अघि ती सबै सधैंँ दबित रहे ।       यो आदत उहाँको आफ्नो निजी जीवनमा उत्तिकै थियो । जसले आफ्नाबारेमा प्रश्न गर्छ वा आलोचना गर्छ उसलाई नै उहाँले सधैँ नजिक राख्नभयो । अर्थात् न उहाँ प्रश्न गर्न डराउनुभयो न आफूमाथि आउने प्रश्नहरूलाई पन्छाएर भाग्नुभयो ।  त्यही राजनीतिक कुशलता र क्षमताले नै उहाँ आफ्नो राजनीतिक दर्शनको पथमा सधैँ प्रदीप्त भइरहनुभयो । राजनीतिक जीवनका आफ्नै सिद्धान्तहरू हुन्छन् । जिन्दगी बाँच्ने आफ्नै शैली हुन्छ । त्यसलाई जिउने आफ्नै स्वभाव हुन्छ । उहाँ जीवनभरि त्यस्तै रहनुभयो, जस्तो यो समाजले चिनेको प्रदीप थियो ।        एकपटक उहाँले बिपीलाई एउटा आग्रह गर्नुभएको थियो– ‘सान्दाजु अब म आफूलाई समाजवादको अध्ययनमा सक्रिय बनाउँछु । समाजवादीहरूसँग सम्पर्क बढाइदिनुप¥यो ।’  बिपीले भारतीय समाजवादी नेताहरूलाई पत्र लेखेरै उहाँलाई भेट्न र सम्बन्ध बढाउन सहजीकरण गरिदिनुभएको थियो । त्यसबाटै उहाँमा समाजवादको ब्याख्या विश्लेषण मात्रै होइन, त्यसको व्यावहारिकीकरणमा पनि आफूलाई अब्बल सावित गर्नुभयो । यसरी उहाँ एउटा राजनीतिक व्यक्ति मात्रै नभएर सिङ्गो वैश्विक समाजवादी आन्दोलनका एक प्रणेताका रुपमा आफूलाई स्थापित गर्नुभयो ।       उहाँको एउटा खासियत के पनि थियो भने उहाँले आफू बाँचिरहेको सामाजिक संरचनालाई ठाडै चुनौती दिनुभयो । त्यो भनेको उहाँमा एक प्रकारको बिद्रोही स्वभाव पनि जिउँदो र जाग्दो थियो ।  यसका कारण उहाँ परिवार र समाजबाट अलग हुनु परे पनि आफ्नो सिद्धान्तबाट कहिल्यै डग्मगाउनु भएन । उहाँले सधैँ भन्नुहुन्थ्यो– ‘यो समाज अनि सामाजिक संरचना हामी आफैँले आफ्नो सुविधाका लागि बनाएको हो । र त्यसलाई भत्काउन सक्ने पनि हामी आफैँ नै हो ।’  कुनै बेला दलित समुदायका व्यक्तिलाई आफ्नो भान्सेका रुपमा राख्दा उहाँ परिवारबाटै बहिष्कृत हुनुपरेको थियो । तर उहाँ कहिल्यै त्यसबाट विचलित हुनुभएन र बरु आफूलाई सधैंँ त्यस्तै दलित, पिछडिएका अनि सिमान्तकृत वर्गकै बीचमा राख्नुभयो ।  जीवनको अन्तिमसम्मै उहाँका सहयोगी त्यस्तै समुदायका व्यक्ति थिए । उहाँको त्यही अडिग विचारका कारण नेपाली काँग्रेसले आफ्नो समावेशी नीति नै बनायो ‘कदमजम’ । यो नीति नेपाली काँग्रेसले अबलम्बन गर्नुको पछाडि प्रदीपकै योगदान थियो ।        समाजवादपछि उहाँको अर्को विद्वता भनेको माक्र्सवादको अध्ययन हो । खासगरी कम्युनिष्टहरूले आफ्नो सिद्धान्तको ग्रन्थ नै ठान्ने माक्र्सवादलाई सरलीकृत गर्ने उहाँले कुनै बेला कम्युनिष्ट स्कुलमा कम्युनिष्टहरूलाई माक्र्सवाद पनि पढाउनुभएको थियो ।  यसकारण उहाँलाई आदर्श मान्ने कम्युनिष्टहरूको पनि कमी छैन । फरक विचारधार भए पनि उहाँले मुद्दा मिल्नेहरूसँग सधैँ सम्बन्ध बढाउँदै लैजानुभयो । चाहे युद्ध गरिरहेको माओवादी होस् वा अधिकारका लागि आन्दोलन गरिरहेको मधेसवादी दलहरू ।  युद्ध गरिरहेको तत्कालीन माओवादीविरुद्ध सारा रज्यशक्ति र राजनीतिक दलहरूसमेत एकातिर हुँदा प्रदीप एक्लै माओवादीको पक्षमा उभिनुभयो । उहाँले सधैँ माओवादीले उठाएका मुद्दाहरूको सम्बोधन हुनुपर्छ भनिरहनुभयो ।  माओवादीलाई संसदीय बाटोमा ल्याउन पनि उहाँको धेरथोर भूमिका रह्यो । अनि मधेसमा आन्दोलन गरिरहेका तथा उनीहरूले उठाइरहेका मुद्दा र मागका विषयमा पनि उहाँ आफ्नै पार्टी नेपाली कांग्रेसभन्दा माथि उठेर लड्नुभयो । मधेसको अधिकारका लागि उहाँले त्यहाँ संघर्षरत सबै पक्षसँग सम्बन्ध बलियो बनाउनुभयो ।       विसं २०७२ मा संविधानसभाले संविधान जारी गर्दा त्यसमा हस्ताक्षर नगर्ने एक सांसद उहाँ पनि हुनुहुन्छ । उहाँको यो संविधानप्रति सधैँ एउटै मत रह्यो– यो अपुरो संविधान छ । त्यसको संशोधन जरुरी छ । संविधान अझै संशोधन हुन सकेको त छैन तर अब संविधान संशोधनकै लागि सत्तागठबन्धन बनिरहेको यो बखत भने उहाँ हामीमाझ हुनुहुन्न ।  उहाँले सधै भन्नुहुन्थ्यो–‘जुनसुकै वाद होस् या सिद्धान्त त्यसले अन्ततः जनताको जीवनमा समृद्धि ल्याउनुपर्छ । जनताले त्यो महसुस गरेको दिन सबै सिद्धान्त र वादहरू बराबर हुन्छन् । त्यसैले कसैलाई वाद र सिद्धान्तका आधारमा हेरिनु हुँदैन । बरु मुद्दाका आधारमा उनीहरूलाई आफ्नो पराई सम्झनुपर्छ ।’ बिपीपछि शक्तिशाली सभापतिका रुपमा रहेका गिरिजाप्रसाद कोइरालासँग उहाँको सधैँभरि मतभेद यही कुरामा रहिरह्यो ।       पार्टीको नीति र सिद्धान्तभन्दा माथि उठेर ‘गणतन्त्र’को अभियान चलाउन प्रेरित गर्ने उहाँ कहिल्यै पनि कसैको नियन्त्रित घेराभित्र रहनुभएन । आफ्नो ब्रह्म, सिद्धान्त र विचारले जे देख्यो उहाँले त्यसै गर्नुभयो ।  यहाँसम्म कि विचारमा असहमति बढ्दै जाँदा उहाँ मूल पार्टीबाट अलग पनि हुनुभयो तर कहिल्यै आफ्नो आत्मसिद्धान्त विपरीत सम्झौता गर्नुभएन । त्यसैले कतिपयले उहाँलाई अराजक भनेर पनि आलोचना र टिप्पणी गर्छन् ।  तथापि उहाँ आफ्नै स्वभावमा बाँच्ने रमाउने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँमा कहिल्यै लोभलालच जागेन अर्थात उहाँले अपनाउनु भएको राजनीतिक सिद्धान्तले कहिल्यै पनि लाभको पदमा बस्न सिकाएन । मन्त्री बन्न आएका कतिपय प्रस्तावहरूलाई उहाँले ठाडै अस्वीकार गर्नुभयो ।  कहिल्यै कुनै राजनीतिक भाग खोज्नुभएन र आफूलाई अनि आफ्नाहरूलाई पनि त्यसका लागि रोज्नुभएन । तर जनताका कामका लागि भने उहाँ सधैंँ अघि लागेर खटिनुभयो । त्यसैको परिणाम हो उहाँले चुनावमा भोट माग्न कहिल्यै जानु भएन । बरु मतदाताहरू उहाँलाई भेट्न आएरै शुभेच्छा दिन्थे, अनि चुनावमा भोट हालेर उहाँलाई जिताउँथे ।      एउटा कुलीन परिवारमा जन्मिए पनि उहाँमा न कहिल्यै धन सम्पत्तिको लोभ रह्यो, न त्यसको रवाफ । उहाँ सधैंँ आफूलाई भूइँमान्छेका रुपमा उभ्यानुभयो । भूइँमान्छेहरूसँग रहनुभयो । समाजवादलाई आफ्नो आदर्श ठान्नेहरूको सबैभन्दा ठूलो गुण यही नै हो र समाजवादको असली अभ्यास नै यही हो ।  आफूलाई कहिल्यै बिलासी संस्कारमा नढालेका उहाँको यही सन्तपन नै आमनागरिकका लागि अनुराग बन्यो । आफ्ना आदर्श र सिद्धान्तहरूलाई उहाँले कतिसम्म व्यवहारमा उतार्नुहुन्थ्यो भन्ने यो एउटा बलियो उदाहरण हो ।  आफ्ना सारा सम्पत्तिलाई आफ्नै बस्तीमा आश्रम बनाएर उहाँले बेसहाराहरूलाई साहार दिने कोसिस गर्नुभयो । मृत्यु शैय्यामा जीवन चियाइरहँदा पनि धिपधिपारहेको त्यो उहाँभित्र उत्तिकै प्रदीप्त ज्योति थियो ।  परिवार अनि आफन्तहरूको घेरामा कहिल्यै नअटाएका उहाँका लागि बरू यो खुला संसार नै परिवारजस्तै थियो । त्यसैले त उहाँले नदीछेउमा आश्रम बनाउनुभयो । असहायहरूलाई पढ्न लेख्न सिकाउनुभयो । जातपातको भाषा कहिल्यै जान्न चाहनुभएन । सबै मान्छे बराबर देख्नुभयो ।  बरु आफूलाई सधैँ फकीर बनाइराख्नुभयो तर वंश अनि अंशमा कहिल्यै हक खोज्नुभएन । त्यो आफ्नो निजी जीवनमा पनि होइन र राजनीतिक जीवनमा पनि ।       कहिल्यै उहाँ सत्तामा जान चाहनुभएन । कहिल्यै त्यो चाह वा मोह पनि राख्नुभएन । राजनीतिक रुपमा एक नेता अनि शासक बन्ने चाहनाबाट उन्मुक्त उहाँ सधैँ जीवन दर्शनको खोजमै तत्लीन रहनुभयो । वंशका लागि कहिल्यै चिन्ता गर्नुभएन । सम्बन्ध र प्रेमलाई पनि कहिल्यै उहाँले महत्व दिनुभएन । परिवार अनि आफन्तहरूको घेरामा कहिल्यै नअटाउनुभएका उहाँका लागि बरू यो खुला संसार नै परिवारजस्तै थियो । अनि अरूका लागि प्रदीप बन्नुभएको थियो ।       भौतिक संरचनाको निर्माण मात्रै विकास होइन र त्यसले मात्रै समृद्धि ल्याउँदै भन्ने मान्यता राख्ने उहाँले विकासे संरचनाहरूले जनताको जीवनमा के चाहिँ परिवर्तन ल्यायो भनेर मूल्याङ्कन गर्नुपर्ने ठान्नुहुन्थ्यो ।  उहाँले विकासे अभियानलाई कहिल्यै समाजवादको जग मान्नुभएन । अर्थतन्त्रको उदारीकरणसँगै राज्य नागरिकप्रतिको आफ्नो दायित्वबाट बिमुख हुनु हुँदैन भनेर सधैँ खबरदारी गरिरहनुपर्ने उहाँको मान्यता थियो ।  यसैलाई लोकतान्त्रिक समाजवादका रुपमा ब्याख्या पनि गर्न सकिन्छ । राजनीतिक, आर्थिक तथा सामाजिक जीवनका दर्शन र सिद्धान्तका ठेलीहरू कन्ठस्थ पार्नुभएका उहाँ कहिल्यै एकाङ्की हुनुभएन ।  ज्ञानको भारीले उहाँलाई कहिल्यै थिचेन बरु उहाँ चङ्गाजस्तै फुरुङ्ग हुनुहुन्थ्यो, भूइँमान्छेहरूसँग रमाउँदा, उनीहरूसँग संवाद गर्दा र उनीहरूका समस्याको समाधान गरिदिँदा ।       उहाँको जीवनगाथा एउटा सानो आलेखमा अट्ने खालको हुँदै होइन । उहाँले बाँचेको जीवन अनि उहाँले अपनाएको जीवनशैलीका फेहरिस्त लेख्ने हो भने त जीवन दर्शनको एउटा सिङ्गो ठेली नै बन्छ । उहाँ एक नेता मात्रै हुनुहुन्न, राजनीतिज्ञ मात्रै पनि हुनुहुन्न उहाँ जीवनका साधकमात्रै होइन र  त्यसका लागि साधना मात्रै पनि गर्नुभएन । चिन्ता र चिन्तनमात्रै पनि गर्नुभएन । बरु जस्तो हुनुहुन्थ्यो त्यस्तै बाँचीदिनुभयो । जस्तो जीवन बाँच्नुभयो, त्यस्तै विचार निर्माण गरेर जानुभयो । एउटा त्यस्तो विचारको बत्ती जलाएर उहाँ जानुभएको छ, त्यसले नेपाली समाज र राजनीतिलाई जुगौँजुगसम्म आलोकित बनाइरहनेछ । (लेखक राजनीतिक विशलेषक हुनुहुन्छ)