पोखरा: मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ को पोखरामा दोस्रोपटक भव्य प्रदर्शन भएको छ । बागलुङ -पोखरा मगर समाजले आज (शुक्रबार) विरेन्द्रचोकस्थित समाजको आफ्नै हलमा विशेष प्रदर्शन गरेको हो । उक्त प्रदर्शनमा करिब ३ सय बढि दर्शकको उपस्थिति रहेको निर्माता मिना थापामगरले जानकारी दिइन् । गत ३ गते पोखरा सभागृहमा पहिलो पटक विशेष प्रदर्शन गरिएको सो चलचित्रले दर्शकको माया पाएको थियो । त्यसपछि चलचित्र प्रदर्शनको मिति तय हुन थालेको छ । अब उक्त चलचित्र तनहुँ, गलकोट लगायतको स्थानमा पनि प्रदर्शन गरिने तयारी भइरहेको निर्माता थापामगरले बताइन् । उनका अनुसार शनिबार चिलाउनेखर्कमा प्रर्दशन गरिनेछ । चलचित्रमा विपन्न परिवारमा जन्मेका नारीको सफलतापछाडिका सँघर्षलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । जसलाई मजबुद बनाउन प्रेमसम्बन्धको प्रसंगलाई निर्देशक अशोक थापामगरले बुनेका छन् । यस्तै समय समयमा हुने हास्य ब्यङ्ग्यले चलचित्रलाई स्वादिलो बनाउन मद्दत पुर्याएको छ । मेनोको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको हो । सो चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ । अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा (कथा) र मीना थापा मगर (पटकथा) छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् । यो पनि पढ्नुहोस चलचित्र ‘दिलसरा’ले ‘दिलसरा प्रभावशाली मगर महिला २०८१’ खोज्दै पोखरामा चलचित्र दिलसराको विशेष प्रदर्शन, दर्शकको सकारात्मक प्रतिक्रिया
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज एफसी अन्तिम चारमा प्रवेश गरेका हुन् । पोखरा १ पुरानो टुंडिखेलमा शनिबार कस्केरी र सनराइज एफसीबीच बिहान ८ बजे पहिलो सेमिफाइनल खेल हुने थपलियाले जानकारी दिए । उनका अनुसार दोस्रो सेमिफाइनल खेल क्लब डि र एट टु नाइनबीच हुनेछ । फाइनल खेल भने दिउँसो १ बजे सञ्चालन गरिने थपलियाले बताए । कुल ६१ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
म्याग्दी: धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो । “आज दिउँसो करिब १ः३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिदा दुई तिहाई पानीको मात्रा घटेको थियो,” उहाँले भन्नुभयो “दिउँसो ४ः३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ । हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौँ ।” खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताउनुभयो । बोक्सी खोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सी खोलामा पर्दछ । गाउँपालिका अध्यक्ष गौचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीसहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षणसमेत गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लीदाँसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । यसअघि विस २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले एक सय ५० भन्दा बढी चौरीगाई मरेका थिए । पछिल्लो पहिराबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पोखरा: पोखरामा डेराकोठाबाट हराएका बालक फेवातालमा मृत फेला परेका छन् । बिहीबार दिउँसो घरबाट हराएका प्रस्ताव क्षेत्री आज फेवातालमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वत फलेवास नगरपालिका–२ थापाठाना घर भई पोखरा महानगरपालिका–७ अन्नपूर्ण टोलमा आमाबुबासँग बस्दै आएका प्रस्ताव क्षेत्री बिहीबार दिउँसो घरमा कसैलाई नसोधी हिडेको प्रहरीले जनाएको छ । घरबाट बालक हराएको सूचनापछि खोजतलाजको क्रममा आज फेवातालमा डुवेको अवस्थामा बालक फेला परेको कास्की प्रहरीले जनाएको छ । मृतक बालकको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए । पन्ध्र महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा आज बिहान स्कुटर दुर्घटना हुँदा पर्वत घर भएका सुसान गुरुङको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ८ सभागृह चोकबाट सृजनाचोकतर्फ आउँदै गरेको ग २१ प ५४५० नम्बरको स्कुटर आकाशे पुलको पोलमा ठोक्किन जाँदा गम्भिर घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोलमा ठोक्किएर गम्भिर घाइते भएका गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतको पैयू गाउँपालिका ७ घर भएका गुरुङ पोखराको धौलागिरी दोहारी साँझ पोखराका व्यवस्थापक रुपमा रहेका थिए । यता पोखरा लोक दोहोरी रेष्टुरेण्ट व्यवसायी संघले गुरुङको निधनप्रति शोक व्यक्त गरेको छ । संघले आज पोखराका सबै लोक दोहोरी रेष्टरेण्ट बन्द रहने समेत जनाएको छ ।
तनहुँ: तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार २१ जनाको मृत्यु भएको हो। बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। मृतकको शव नेपालस्थित भारतीय दूतावासको टोलीले बुझेर पोखरा लगेको छ । आँबुखैरेनी अस्पतालमा चार वटा मात्रै शव राख्ने क्षमता भएकाले दूतावासले सबै शव पोखरा लगेको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्याङ्दी नदीमा खसेको हो। बसमा सवार यात्रु सबै भारतको महाराष्ट्रका भएको खुलेको छ। घाइतेमध्ये १८ जनालाई उपचारका लागि तनहुँ जिल्लाको आँबुखैरेनी अस्पतालमा लगिएको छ। ११ जना गम्भीर घाइतेलाई काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन भएको छ। अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ। घटनास्थलबाट बसमा सवार ४३ यात्रुकै उद्धार भइसकेको डिएसपी रायको भनाइ छ । घाइतेको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ। बस शुक्रबार बिहान ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो।
पोखरा: पोखराको रोलिङ स्टोन बारमा आज पूर्ण राई एण्ड दाजुभाईको कन्सर्ट हुने भएको छ । भिजुअल जोनको आयोजनामा रोलिङ स्टोन्स बारमा आज बेलुकी ८ बजेदेखि साढे १२ बजेसम्म कन्सर्ट हुने आयोजक कमिटीका सदस्री सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रवेश शुल्क नगद रु १ हजार २ सय ५० निर्धारण गरिएको छ । पूर्ण राई एण्ड दाजुभाईले यस अघि अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिएको थिए।
पोखरा: पोखरामा आज दिउँसो स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित हिमालय आँखा अस्पतालको भित्री सडक खण्डमा ग१ क ४६६१ नम्बरको स्कुल बस दुर्घटना हुदा बस चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटना हुँदा बस चालक स्याङ्जाको भिरकोट नगरपालिका–२ बयरघारी घर भई पोखरा–९ कृष्ण टोल बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते चालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चालकले नियन्त्रण गुमाउँदा नागढुङ्गास्थित न्यू मोडल सेकेण्डरी स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २० जना विद्यार्थीहरु सकुशल रहेको बताइएको छ । बस दुर्घटना हुँदा पार्किङमा राखिएका ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ ।

