पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:   पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सकिएका छन् ।   आजदेखि प्रिक्वाटरफाइनलका खेल जारी रहेको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।   उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा एट टु नाइन टिम ‘बि’ र कमलपोखरीबीच भएको आजको पहिलो खेलमा ४–१ गोलअन्तरले एट टु नाइन टिम ‘बि’  विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।   यस्तै दोस्रो खेल एट टु नाइन टिम ‘ए’  र भण्डारढिकबीच खेल्नेछ ।  तेस्रो खेलमा सनराइज र गेमशाला भिड्नेछन् ।   चौथो खेलमा क्रस एफसी र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । पाँचौ खेलमा मालेपाटन र केआइइसी बुनबीच  हुनेछ ।   छैटौं खेलमा आरटी एफसी र युनाइटेड बगर भिड्नेछन् । सातौ खेल मार्सल र मिलनटोलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।   सो प्रतियोगिताको  विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।  

मकवानपुर​:    मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ ।   मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।   निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो ।   बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो । “मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ”, उहाँले भन्नुभयो ।   शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

काठमाडौं:   फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ ।    मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो ।    फर्मुला वान र मोटोजिपी जस्र्ता भेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।    एफआईएम एसियाको संयोजनमा हुने मार्सल तालिममा एफआईएम एसियाका उपाध्यक्ष सुजित कुमार, एफएमएससीआईका वरिष्ठ प्रशिक्षक सञ्जय सुनेजा लगायतका अन्तराष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।    मार्सल तालिममा देशभरका ७० जनाले प्रशिक्षण लिने मोटोभर्स स्पोर्ट्सका अध्यक्ष आशिष रौनियारले जानकारी दिए ।      तालिम अन्तर्गत मार्सेलिङ टेक्निक, सेफ्टी प्रोटोकल, रेस अफिसियल्स, ईभेन्ट म्यानेजमेन्ट, र्याली र टुरिङ लगायतका विषयमा प्रशिक्षण दिईनेछ ।    नेपाल अटोमोबाईल्स एसोसियसन (नासा) नेपालसँग आबद्ध भएका क्लब प्रतिनिधि, स्वयमसेवक र मोटर स्पोर्ट्ससँग सम्बन्धित ईच्छुक व्यक्तिले मार्सल तालिकमा भाग लिन सक्नेछन् ।    सहभागिताका लागि नाम दर्ता प्रक्रिया भदौ २२ सम्म खुल्ला रहने क्लबले जनाएको छ ।    नेपाली मोटरसाईक्लिङको क्षेत्रमा पहिलो पटक सबैभन्दा ठुलो प्राविधिक तालिम आयोजना हुन लागेको क्लबले जनाएको छ । 

कैलाली:    चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।   कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।” गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भएपनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताउनुभयो । चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताउनुभयो ।  

म्याग्दी:     मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ ।  उहाँले भन्नुभयो “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हौं ।” अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहित वडाका जनप्रतिनिधिले बुधबार सम्बन्धित वडामा पुगेर चुलो वितरण गर्नुभएको हो  । विद्युतीय चुलो खरिदका लागि गत वर्ष रु आठ लाख विनियोजन गरेको लोमान्थाङ गाउँपालिकाले यस वर्ष पनि बजेट व्यवस्था गरेको र सोबाट खरिद गरेर बाँकी तीनवटा वडाका सबै परिवारलाई वितरण गरिने जनाएको छ । 

बागलुङ (ढोरपाटन):    नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही  थालेको छ ।  बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ ।  असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ ।  जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छलेर अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुका र ढुङ्गाको परिणाम मूल्याङ्कन गरी  नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइएको बताउनुभयो । “अहिले कालीगण्डकीबाट बालुवा निकाल्ल पाइँदैन, तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ”, जिसस प्रमुख थापाले भन्नुभयो ।  जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकासहितको अनुगमनबाट १५ स्थानमा सङ्कलन गरिएको बालुवा तथा ढुङ्गाको दण्ड तथा जरिवाना सङ्कलनकर्तालाई तिराउनेगरी नापजाँच भइरहेको छ ।” बागलुङ नगरपालिका राजस्व शाखा प्रमुख काशिराम शर्माका अनुसार१३ स्थानमा सङ्कलन गरेको बालुवा तथा ढुङ्गाको राजस्व सङ्कलनका लागि मूल्याङ्कन भइरहेको छ ।  आरएस कन्ट्रक्सनले बागलुङ नगरपालिकालाई अग्रिम आयकरवापत रु १८ हजार चार सय ६३, मूल्य अभिवृद्धि करवापत रु एक लाख ६० हजार पाँच र दण्ड तथा जरिवानावापत रु १२ लाख ५५ हजार आठ सय छ गरी रु १४ लाख ३४ हजार दुई सय ७४ र विष्णु चोखालमार्फत रु एक लाख ८७ हजार नौ सय ४४ दण्ड जरिवाना तिरेको छ ।  जिल्ला समन्वय समितिको रोहबरमा नगरपालिका क्षेत्रका १३ स्थानमा अवैध रूपमा उत्खनन गरिएको बालुवा तथा ढुङ्गा सङ्कलनकर्तालाई  जरिवाना तिराउन मूल्याङ्कन भइरहेको नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो । 

काठमाडौं:   देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने तथा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । 

इलाम:     देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन् ।  देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गरेको हो ।  देउमाईले आर्थिक वर्ष २०७९/८० मा नगरक्षेत्रका दुई सय सातजना एकल पुरुषलाई रु २४ लाख ८४ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो । देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिनुभयो ।  त्यसैगरी, आव २०८०/८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई रु १० लाख ८९ हजार सामाजिक सुरक्षा भत्ता प्रदान भएको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत मासिक रु एक हजारका दरले भत्ता प्रदान गरिएको हो ।  आव २०७९÷८० मा देउमाईका ८८ जनाले रु १० लाख ५६ हजार भत्ता पाएका थिए । तेस्रो लिङ्गीका लागि मासिक रु पाँच सय भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि कोही नआएको लेखा अधिकृत एक्तेनले बताउनुभयो । ‘ग’ वर्ग अपाङ्तागता भएका ९२ जनालाई रु पाँच लाख ४५ हजार पाँच सय  र आर्व २०८०/८१ मा ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनाले रु पाँच लाख ४५ हजार पाँच सय भत्ता पाएका छन् ।  यसैबीच, देउमाई नगरपालिकाले चालु आव २०८१/८२ का लागि नगरको तर्फबाट वितरण गर्दै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गरेको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रो लिङ्गी भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो । सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको नगरप्रमुख पोख्रेलले बताउनुभयो । देउमाईले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ । सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत रु पाँच हजारका दरले दुई पटकसम्म, दाहसंस्कारमा रु पाँच हजार र दीर्घरोगीलाई एकपटक रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । 

म्याग्दी:     बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मिना परियारलाई बेपत्ता बनाइ हत्या गरेको घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै आज बेनीमा प्रदर्शन गरिएको छ ।  दलित एकता सञ्जाल, परियार सेवा समाज र मिजार समाज म्याग्दीको संयुक्त आयोजनामा भएको ¥याली बेनी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।       गैरदलितसँगको प्रेम सम्बन्धका कारण गर्भवती अवस्थामा बेपत्ता बनाइ हत्या गरिएकी मिनाको कङ्काल भेटिए पनि सबै आरोपीलाई पक्राउ गरी अनुसन्धान छिटो अगाडि बढाउन दबाबका लागि प्रदर्शन गर्नु परेको परियार सेवा समाजका अध्यक्ष प्रेम परियारले बताउनुभयो ।  “छ महिनाकी गर्भवती मिनालाई बेपत्ता बनाउने उनका प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छौँ”, मिनाकी भाउजु कमला बर्देवाले भन्नुभयो, “जङ्गलमा गाडिएको अवस्थामा भेटिएको कङ्काल, गहना र कपडा मिनाकै भएको पहिचान गरेर जाहेरी दिए पनि प्रक्रियाको बहानामा सबै आरोपीलाई पक्राउ नगर्दा दोषी उम्कने खतरा छ ।”  विसं २०८० पुस १६ गतेदेखि मिना बेपत्ता थिइन् । गत साउन २७ गते बेनी नगरपालिका–९ आँखखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा भेटिएको मानव कङ्काल, सुनको सिक्री, कपडा र चप्पल उनकै भएको दाबीसहित आफन्तले गत साउन ३० गते प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले भने जाहेरीका आधारमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरी हिरासतमा राखिएको र एक जना फरार रहेको बताउनुभयो । मिनाका प्रेमी भनिएका रामलाई यसअघि नै पक्राउ गरी अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको उहाँले जानकारी दिनुभयो ।  विधिविज्ञान प्रयोगशालामा पठाइएको कङ्काल, सामग्री र शव परीक्षण प्रतिवेदनका आधारमा थप अनुसन्धान अघि बढाइने प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।  मानव कङ्कालको परीक्षण गरेर आफन्तलाई बुझाइए आफन्तहरुले भने कङ्काललाई सद्गद नगरी बेनी अस्पतालको शवगृहमा राखेका छन् ।